
लकडाउन वार्ताः छिमेकमा समस्या पर्दा थाहा नहुने युग सुरू भइसकेछ
नेपालनाम्चाको लकडाउन वार्तामा पूर्वमन्त्री पुरूषोत्तम पौडेल ।
लकडाउन छ । तर तपाइको कन्फिडेन्स त डाउन भएको छैन नि ?
अहिले लकडाउनभन्दा पनि निषेधाज्ञा लागु भएको छ । कोरोनाले गर्दा दैनिक जीवन एकदम असहज छ । फेरि पनि जीवन हो । यसले त अगाडि जानु नै छ । डराउन पर्ने, निराश हुनु पर्ने अनि हतास हुनुपर्ने कारण के छ र । आखिर जीवन त जीवन नै हो । एक पटक जानु नै छ । फेरि पनि सुरक्षित रहन लकडाउन भएको छ । यसले कन्फिडेन्स डाउन त किन हुनु पर्छ र ?
दिन कसरी बित्दै छन् ?
दिनहरू ठिकैसँग बितिरहेको छ । घरभित्रको जिन्दगी हो, हामी जस्तो डुलिरहने मान्छेलाई । फेरि पनि ठिकै छ । रमाइलो नै छ । घरमा सबै साथै छौं । सवैको आआफ्नो जीवन छ । श्रीमती, छोरीछोरा सबै साथमा बस्छौं । पकाउँछौं, खान्छौ । रमाउँदै खाने समय पनि पाइएको छ । खास कुनै अप्ठेरो आएको छैन । अहिलेसम्म मज्जाले समय बितेको छ ।
समयको सदुपयोग कसरी गर्दै हुनुहुन्छ ?
दैनिक नित्य कर्म छँदैछ । निषेधाज्ञापछि बिहानको समय सहज भएको छ । व्यायामको समय बढाइदिएको छु । रेडियोबाट समाचार सुन्ने र व्यायाम गर्ने सँगै चल्छ । खानापछि २-४ घण्टा लेखपढ चल्छ । केही समय टेलिभिजनमा बित्छ । केही समय घरको खुद्रा काममा बित्छ । बाँकी समय साँझ वाकिङ पनि चल्छ ।
अघिल्लो वर्षको लकडाउन र यस वर्षको लकडाउन तपाई लाई उस्तै लाग्दैछ कि फरक ?
अलि फरक छ । अघिल्लो लकडाउनमा नोक्सानी पनि थोरै भएको थियो । आम जनतामा भयको मात्रा पनि अलि कम थियो । अहिले नोक्सानी पनि धेरै भएको छ । आम जनतामा भय र त्रास पनि धेरै पसेको देखिन्छ । अघिल्लो लकडाउनको बेला सरकार पनि अलि बढी सचेत र सिरियस देखिन्थ्यो । आम जनतामा खास सिरियसनेस, त्रास र भयको अनुभूति देखिएको थिएन । अहिले जनता पुरै भयभित र त्रसित छ । सरकार आफ्नै धुनमा चलेको देखिन्छ । ऊ त्यती सिरियस भएको पनि देखिदैन ।
छिमेक र वरिपरीको वातावरण कस्तो लाग्दैछ ?
छिमेक र वरीपरी सबै घरमा कोरोना पसिसकेको अवस्था छ । कोरोनाको महामारीले पिडा दिएको गाउँवस्ती जस्तो छ । हाम्रो छिमेकको वातावरण पनि त्यस्तै छ । अलिकति शहरीकरण भइसकेकोले होला छिमेकमा समस्या पर्दा थाहा नहुने युग सुरू भइसकेछ । अझ कोरोनाको आतंकले स्वतः सुचना पनि कमजोर हुँदोरहेछ । अघिपछि गाउँ छिमेक डुलिन्थ्यो । सबैसँग हाई हलो हुन्थ्यो । आजकल मानिसहरूको समय घरभित्र वित्ने हुनाले बडो कठिन भएछ ।
यदि लकडाउन नभएको भए आज तपाई के गर्दै हुनु हुन्थ्यो ?
आफु त राजनितीक प्राणी परेँ । लकडाउन तथा निषेधाज्ञा हुँदैन थियो भने गाउँघरमा पुगिन्थ्यो । सामाजिक कामहरूमा सरिक हुने गरिन्थ्यो । पार्टीका कार्यक्रमहरूमा रमाइन्थ्यो । बाहिर घुमफिर गर्न निस्कने काम हुन्थ्यो । देशको राजनितीक सरगर्मी पनि अलि चर्को नै हुन्थ्यो, संसद विघटन भएको बेला, आफ्नै पार्टी विघटनको डिलमा अड्किएको बेला । अरू पनि अनेक चहलपहल हुन्थ्यो नि ।
लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झना होला ?
लकडाउनको समयलाई भविष्यमा सम्झनु नपरोस् भन्ने लाग्छ । यो लाखौ नेपालीले दुख पाएको समय हो । हजारौं नेपालीले आफ्नो जीवन गुमाउनु परेको समय हो । यो ज्यादै दुखद समय हो । यो अनन्त पिडाको समय हो । म यस्तो दुखद समयलाई सकभर सधैको लागि बिर्सिदिन चाहन्छु ।
के तपाईलाई लाग्छ, लकडाउन नै समस्याको समाधान हो ?
लकडाउन मात्र समस्याको समाधान होइन । कोरोना भाइरस सर्नबाट रोक्ने यो सहज तरिका हो । संसारभर यसलाई सबभन्दा प्रभावकारी तरिकाको रूपमा स्वीकार गरिएको छ । ठुल्ठुला विकसित देशले त लकडाउन गर्नुपर्यो । हाम्रो जस्तो गरिव देशलाई यो वाध्यता पनि हो ।
कोरोनाको यी वर्षहरूपछि तपाईको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?
कोरोनाले जीवनमा परिवर्तन ल्याउने कारण त म देख्दिनँ । तर, आफ्नो जीवनकालमा यो ज्यानमारा भाइरसको कारणले आधुनिक मानव संसारको चमत्कारलाई नै ठप्प पारेको देख्नुपर्यो । कतिपय संसार जीतेकाहरू र धनकुवेरहरू समेत क्षणभरमा दुनियाँबाट विदा भएको देख्नुपर्यो । यसले मानिसहरूमा केही शिख हुन्छ कि भन्ने लागेको थियो । यो सबैभन्दा ज्याद्रो प्राणी मान्छे शिख लिदैन । मर्ने बेलासम्म पनि आफ्नो स्वार्थ छोड्दैन । के गर्नु ? फेरि पनि मानिसहरूमा एउटा परिवर्तन जरूर आएको छ । उनीहरू सफाइमा ध्यान दिन थालेका छन् । यसले मानव सभ्यताको विकासमा सकारात्मक प्रभाव पार्छ ।
भविष्यप्रतिको तपाईको धारणा के छ ?
संसार जसरी अघि बढे पनि भविष्य सुन्दर हुन्छ । बिहानको सूर्य जहिले पनि सुन्दर र आकर्षक हुन्छ । दुनियाँ पनि त्यही हो । वर्तमानजस्तो भविष्य बिग्रने सम्भावना छैन । आधुनिकता र सुन्दरताको सिमा हुँदैन ।
अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
सबैले आफुलाई सचेत राखौं । सुरक्षित बनाऔं । खतरा अझै टरिसकेको छैन । सुन्दर भविष्य बनाउन आफ्नो सोच सुन्दर र सकारात्मक बनाऔं ।