
मेडिसिटी र पशुपतिनाथको दृश्यले पागल बनायो अनि लेखेँ
एकपल्ट गएर पशुपतिनाथमा हेर, बगर नै चिता बनेको छ । दिनरात चिता बनाएर भ्याएका छैनन् । लाशहरु जल्न नपाएर क्यूमा छन् । अस्पतालमा गएर हेर, मान्छेको आर्तनाद । सडकमा निस्केर हेर, रात पर्दानपर्दै भोका मान्छेहरु कसले देला र खाउँला भनेर बसेका छन् ।
ज्वाला जनमनको
कमल ढकाल
देश संकटमा छ भन्ने अनि आफू नै देश ठान्ने भुल गरेको धेरै भो । भो अब नगर त्यो भुल नेताज्यू ।
सामान्य काम गरेर सामान्य जीवन बिताएर राज्यले जे जे भन्यो त्यहि कर तत्तत् समयमा तिर्ने इमानदार नेपाली फेडअप भइसके । उसको धेरै चाहना छैन । सामान्य जीवन जिएर परिवारलाई र आफ्ना भन्नेलाई सुख दिन पाए पुग्यो ।
यो त्यो भीआइपी, भीभीआइपी बनेर दुखी हुनु र दिनुभन्दा नेताहरुले आफ्नो काम गर्ने बाटो नछेके मात्र आफू सुखी हुने सामन्य जनताले बुझिसके । उनीहरुलाई सरकारले स्वास्थ फ्रि दिन्छ, शिक्षा फ्रि दिन्छ। रोजगारी दिन्छ, दुखेको घाउमा मल्हम लगाउँछ भन्ने भ्रम हटिसक्यो ।
आज मेडिसिटी अस्पताल जाँदा गोलो सर्कलमा बसेका मान्छेको गुनगुन कानमा पर्यो, हामीहरु सबैले पैसा उठाएर उपचार गर्यौं, सक्ने गर्यौ, अब उहाँ रहनु भएन त के गर्ने ?
निराश मुद्राको त्यो आवाज मेरो कानमा पर्यो । दृश्य हेरेँ, सब घोप्टो परिरहेका थिए । हृदय छटपटियो ।
विचरा ! जनता पैसा उठाएर मागमुग गरी उपचाररत छन् अनि उनकै मान्छे मरिरहेको छ । अनाहकमा ज्यानहरु गइरहेका छन् ।
शिक्षा, स्वास्थ्यको पैसा तिर्न आफन्तसँग मागेर तिरिरहेका छन् ।
कतिको व्यापार बुङ्गो भैसक्यो । कति स्कुल बन्द भैसके । होटल, पार्टी प्यालेस र रेष्टुरेन्टहरु रोइरहेका छन् । रोजगार घटदो छ, महंगी बढ्दो छ । यस्तो बेला पनि पत्रकारिताले चेतना हैन, उत्तेजना भरिरहेछ । जनता झन्झन् निम्छरो बन्दै गएका छन् । तिनै सामान्य जनताको नाममा राजनीति गर्ने नेताहरुको ताल अचम्म र उदेकलाग्दो भएको छ ।
२००७ सालदेखि जनताको नाममा राजनीति गर्नेले जनताका नाममा जनतालाई तर्साइरहेका छन् ।
जहिले भन्छन्, ‘देशमा ठुलो संकट आउँदैछ ।’ सत्ता जाला कि भन्नेले पनि त्यहिँ भन्ने, आफू सत्तामा नहुनेले पनि त्यहि भन्ने । दशकौदेखि त्यहि त देखियो ।
दीपक मनाङ्गेकै कुरा गरौं न, रत्नाकरबाट वाल्मीकि र वाल्मीकिबाट रत्नाकर भईरहेका छन् उनी अहिले ।
आफू पक्ष भए ठीक अर्को पक्ष बेठिक, दीपकको हकमा पनि । अनि उनको बारेमा लेख्ने मिडियाहरु पनि त्यहि ।
हार पनि जीत हुन्छ । जीत पनि हार हुन्छ । एक पक्षले हारेर देशको जित हुन्छ भने हारौं न त भन्ने कुनै नेतामा कहिल्यै आएन ।
हरे नेपाल आमा पनि कत्ति अभागी रैछिन । कहिल्यै सच्चा सपूत जन्मिएनन् ।
यो नेता त गजब । अब केही हुन्छ भन्यो । देशको हैन गजब त उनकै आफन्तको हुन्छ ।
सत्तामा त हिजोदेखि आजसम्म कति आए, गए । एक पक्षको सत्ता आउँछ, त्यहि सत्ताको वरिपरिका मान्छे धनी हुन्छन्, पावरदार बन्छन् । अर्को पक्षको आउँछ, उसका वरपरका धनी हुन्छन्, पावरफूल हुन्छन् ।
सामान्य जनता कहिले सुखी भए र ? वास्तवमा हाम्रो देश र जनताले कहिल्यै सुख पाएनन् ।
यस्तो महामारीमा दीपक मनाङ्गेको गुणगान गर्ने मिडिया अनि नेताहरु ।
एकपल्ट गएर पशुपतिनाथमा हेर, बगर नै चिता बनेको छ । दिनरात चिता बनाएर भ्याएका छैनन् । लाशहरु जल्न नपाएर क्यूमा छन् । अस्पतालमा गएर हेर, मान्छेको आर्तनाद । सडकमा निस्केर हेर, रात पर्दानपर्दै भोका मान्छेहरु कसले देला र खाउँला भनेर बसेका छन् ।
आफूलाई सत्तामा जान र आफू सत्ताबाट ओर्लन पर्ला भनेर देश संकटमा छ नभन । संकट अब नेतालाइ हुँदैछ । कारण, जनता फेडअप भइसके ।
२००७ सालदेखि देश संकटमा छ भनेर आफू संकटमा परेको कुरालाई देशसँग नजोड ।
जनता मुडअफ भैसकेका छन् । यो पनि फेडअप र मुडअफकै अक्षर हो ।
लेखेर के हुने हो र गैडाको छाला भएकोलाई । ह्या के लेख्नु झै लागेको पनि हो । तैपनि मेडिसिटी र पशुपतिनाथको दृश्यले पागल बनायो । अनि लेखेँ ।
देशको माया गर्ने वास्तवमा हामी रहेछौ भन्ने पनि बुझेँ ।
नेताज्यूहरु आकाशमा धुम्मिएको बादल हेर, त्यो जनता हो । कालो बादल अब पानी बनेर बर्षदै छ, तिमीहरुलाई पखाल्न । रेनकोट र छाता बोकेर तयार रहनु ।
फेरि पनि देश संकटमा छ भन्ने भूल नगर्नु । त्यो तिम्रो संकट हो, सबले बुझिसके ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)