
नाथुराम गोड्सेको अप्रत्याशित चर्चा
टिप्पणी
श्रीरामसिंह बस्नेत
नेपालमा अप्रत्याशित रुपमा केही दिनदेखि नाथुराम गोड्से चर्चामा छन् । नयाँ पुस्ताका कतिलाई त उनका बारेमा थाहा नहुन पनि सक्छ ।
बाह्रबुँदे दिल्ली सम्झौताको परिणामस्वरुप आएको २०७२ को संविधानले जवर्जस्ती लादेको प्रदेशसभाका कारण माननीय बन्न पुगेका एक काँग्रेसी मनुवाले ‘प्रधानमन्त्री केपी ओलीको हत्या गर्न कोही नाथुराम गोड्से बनिदिनु प-यो, नभए म आफैं बन्छु’ भनेर प्रधानमन्त्रीको हत्या गर्ने आफ्नो आकाँक्षालाई संसदमै स्पष्ट गरे । बुझ्नु पर्ने कुरा के छ भने नेपालमा न त महात्मा गान्धीजस्ता कोही छन् न त नाथुराम जस्ता कोही । नेपालमा अमर लामा, विकास गुरुङ (पत्रकार पदम ठकुराठीलाई गोली हान्ने) हरु त पाइन्छन् तर नाथुराम पाइदैन । किनभने, नाथुराम सिद्धान्त र दृष्टिकोणमा स्पष्ट थिए ।
गान्धीलाई गोली प्रहार गर्नुको कारणमा उनले अदालतमा दिएको तर्क अझसम्म भारतमा चर्चाको विषय बनेको छ । तर, नेपालमा त्यस्तो तर्कका आधारमा कसैको हत्या गर्न अघि सर्ने साहस भएका ‘माइकालाल’ कोही छैनन्, पेसेवर हत्यारा वा निहित स्वार्थ भएका कसैबाट परिचालित भएर दुष्कर्म गर्न अघि सर्नु बेग्लै कुरा हो ।
गोड्सेको चर्चा उठाउनु अघि कहिल्यै चर्चामा नआएका ती काँग्रेसी मनुवालाई भने निकै ठूलो फाइदा भयो, रातारात चर्चाको शिखरमा पुगेर । पार्टी सभापति देउवा, असन्तुष्ट समूहमा मुख्य नेता पौडेल आदिले त यसअघि ती मनुवाको नाम समेत सुनेका थिएनन् होला । अब उनको नाम कसैले बिर्सदैन । अब उनको वास्तविक नामबाट भन्दा उनलाई ‘गोड्से’ नामले चिन्नेछन् धेरैले ।
अनायाश आएको यो गोड्से प्रसङ्गले हाम्रो राजनीतिक संस्कार, अहिलेको भाँडभैलो, संविधान र व्यवस्थाको कन्तविजोग, जनप्रतिनिधिहरुको बौद्धिक स्तर, जवर्जस्ती लादिएका परिपाटीहरुले देखाउन थालेका परिणाम आदि धेरै कुरालाई राम्ररी प्रष्ट्याएको छ । नेपाली काँग्रेस पार्टीका प्रवक्ताले वक्तव्य निकाली त्यस भनाईप्रति असहमति जनाउने औपचारिकता त पूरा गरे, तर के यति नै पर्याप्त हो त ? आज केपी ओलीका लागि गोड्से खोज्ने हो भने भोलि अरुका लागि पनि त खोजिएला नि । सत्ता राजनीतिकै नाममा विगतमा कति निर्दोष निमुखाहरुको प्राण हरण गरिएको रक्तरञ्जित पृष्ठभूमि आलै छ ।
उदेक र चिन्ता लाग्दो कुरा त के रह्यो भने ती मनुवाको गोड्से खोजी अभिव्यक्तिलाई घुमाउरो तरिकाले समर्थन गर्ने, ढाकछोप गर्ने आशयका टिप्पणीहरु पनि सामाजिक सञ्जालहरुमा देखिए । आफूहरुलाई निकै ठूलो बुद्धिजीवी ठान्ने र नेपालका सबैलाई अर्ति उपदेश दिनसक्छु भन्ने धारणा राखी मिडियाबाजी गर्ने केही परिचित नामहरु पनि यसक्रममा सक्रिय देखिए । जसले जे भने पनि दुईवटा कुरामा भने आम नेपाली जनता स्पष्ट छन् । पहिलो कुरो हत्या नै गर्नुपर्ने किसिमको कुनै पनि अपराध प्रधानमन्त्री ओलीले गरेका छैनन्, अनि अर्को हत्या कुनै पनि समस्याको सही समाधान कहिल्यै पनि हुन सक्दैन । प्रधानमन्त्रीसँग असहमत हुनु, उनका काम चित्त नबुझ्नु, उनलाई पदबाट हटाउने वैधानिक प्रयास गर्नु आदि स्वभाविक हो तर हत्या नै गर्न अघि सर्नु भनेको त अपराधिक मानसिकता भन्दा अरु केही पनि होइन । यसबाट अहिलेको राजनीतिक परिदृश्यमा कस्ता मनुवाहरु सक्रिय छन् भन्ने स्पष्ट हुन्छ ।
खसोखास् कुरा गर्ने हो भने त दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले जुन स्वस्थ्य र सक्रिय दैनिक जीवन पाएका छन्, त्यो नै धेरैका लागि सबैभन्दा तनावको विषय बन्न गएको छ । उनीहरुको परिकल्पना अर्कै थियो, जसमा उनीहरु ढुक्क थिए । तर, प्रधानमन्त्रीको स्वास्थ्यले उनीहरुको परिकल्पनालाई ‘उडायो सपना सबै हुरीले…’ बनाइदियो । त्यसैको परिणामस्वरुप सबै राजनीतिक भाँडभैलोको घनचक्कर चलेको यथार्थ सर्वसाधारण जनताले राम्ररी बुझेका छन् ।
नेपालका कुनै पनि नेतामाथि साँघातिक हमला नहोला भन्न सकिन्न । त्यतिखेरका सर्वाधिक प्रभावशाली र लोकप्रिय नेता मदन भण्डारीलाई नाटकीय ढँङ्गले सधैंका लागि सिध्याइदिन सफल नाट्य निर्देशकहरु अहिले पनि नेपालमा सक्रिय छन् । अनायास आएको नाथुराम गोड्सेको खोजीको प्रसङ्ग कुनै अर्को भयावह नाटकको ट्रेलर त होइन ?
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)




टिप्पणी सामयिक र रोचक लाग्यो।गोड्सेका प्रस्तुतकर्ताले क्षमा याचना गरेको प्रदेशसभाले त्यस सम्बन्धी टिप्पणी हटाइसकेको स्थिति अनि त्यस्तो आवेशको कारक अनि असम्बैधानिक कर्तुत माथि लगाम लगाउन यो कोरोना कहरमा चुनावै किन?