बुद्ध बहसः नेपालपुत्र भइकन नेपालका मात्र होइनन्

अरविन्द रिमाल

आफ्नो सात दशकको प्रजातान्त्रिक जागरणको इतिहासक्रममा नेपालले ऐतिहासिक महत्वका चार चरण पार गरेको छ, अर्थात् वि.सं. १९९७, २००७, २०४६ र २०६२–६३ सालमा । यो चानचुने उपलब्धि होइन । तर, विडम्बनाको कुरा के भने आम तवरमा २०४६ सालपछि र खास गरी २०६२–६३ सालपछिको राजनीतिक नेतृत्वको दृष्टिहीनता, परामुखता, सत्तालिप्सा र जातीय संकीणर्ताको सोचले गर्दा मुलुक अहिले कानूनविहीनता, दण्डहीनता, राजनीतिक अपराधीकरण जस्ताको चक्रव्यूहमा फसेको छ । फलस्वरूप राष्ट्रिय अस्तित्व नै संकटमा परेको छ । यस्तो संकटबाट बाहिर आउन देशको जनसमुदायको व्यग्रताले कहिले भौगोलिक सीमाको संरक्षणका लागि, कहिले राष्ट्रिय हितमा नदीनालाहरूको समुचित उपयोगका लागि त कहिले धार्मिक आस्था वा आध्यात्मिक जागरणको रूपमा अभिव्यक्ति लिन पुगेको देखिन्छ . ।

उत्तर र दक्षिणका छिमेकी स्वरूपका दुई विशाल ढुङ्गाहरूबीचको तरुल भएर बसेको भनिने नेपालमा अहिले यही तथ्यको दृष्टिगोचर भइरहेछ ।

“नेपाल अंग्रेज साम्राज्यवादले चीनबाट खोसेर लिएको प्रदेश हो … र नेपाल चीनका पाँचोटा भौगालिक औंलाहरूमध्ये एउटा हो” भनिएको कुरा चीनका कर्णधार माओत्से तुङलिखित “चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिष्ट पार्टी” नामक सैद्धान्तिक कृति पढ्दा यो पंक्तिकारसँग आफ्नो व्यथा र आक्रोश व्यक्त गर्ने न त ठाउँ थियो, न त नेतृत्व नै । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक–महासचिव पुष्पलालछेउ २००८ सालको शुरूतिर आफूले त्यसबारे गुनासो गर्दा उनको मौनताको अभिप्रायलाई आफूले ठम्याएको हिजो जस्तो लाग्दछ । “सर्वहारा अन्तर्राष्ट्रियतावाद” प्रति निष्ठाको नाममा आफ्नै राष्ट्रियतालाई गौण ठान्ने कोरा सैद्धान्तिक पराधीनताको कालखण्ड थियो, त्यो ।

यही पंक्तिकार पछि चिनियाँ कम्युनिष्ट पार्टीको आठौँ महाधिवेशनमा नेपाली पत्रकारको रूपमा २०१३ सालमा चीन जाँदा उसलाई आफूसँग सम्बद्ध उच्चस्तरीय चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको एकजना उच्च सम्पर्क–अधिकृत मिस्टर लिउले एक दिन नेपाल–भारत सम्बन्धका बारेमा चर्चा चल्दा “नेपाल भारतको प्रभाव क्षेत्रमा रहनुपर्ने” अभिव्यक्ति दिए । यो वाक्यांश यस पंक्तिकारले कहिल्यै चिताउँदै नचिताएको प्रयोग भएको पाउँदा र सो उक्ति नेपाल कम्युनिष्ट पार्टीको आधिकारिक नीति विपरीत भएकोले उसले त्यतिखेरै नै कडा आपत्ति जनायो । आफूभन्दा माथिको व्यक्तिले आदेश दिए बमोजिम होला मिस्टर लिउले ढिपी गर्न छाडेनन् । पंक्तिकारले उनलाई आफ्नो कोठाबाट बाहिर जान अनुरोध गर्नुप-यो । लिउ महोदयले आफ्नो सम्बन्धित तहमा यसको उजुरी गरे होलान् नै र त्यहाँबाट यस पंक्तिकारको तथाकथित उदण्डताबारे त्यतिबेला पेकिंगमै भएका कम्युनिष्ट नेतात्रय मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ तथा कमर शाहसमक्ष गुनासो गरियो । तर त्यतिबेला यो पंक्तिकार वैचारिक पराधीनताप्रति क्रिटिकल हुन थालेको थियो । यो विवरण उसको “१९९७ सालदेखि २०१७ साल- एक अवलोकन” पुस्तकको पृष्ठ ३२१–३२२ मा उल्लेख भएको छ । त्यतिबेला नै उसले सगरमाथामाथि चिनियाँ दाबीको पूर्वाभास पाएको आज झल्झली सम्झना हुन्छ । चीन सरकारले आफ्नो सीमा संरक्षणको नाममा सगरमाथामाथि नै गरेको प्रभुसत्ताको दाबीसित २०१६ सालतिर प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला अनभिज्ञ थिएनन् । त्यही सालको माघमा भारतीय प्रधानमन्त्री जवहारलाल नेहरुको निमन्त्रणामा भारत–भ्रमण गर्दा उनले “भारतको सुरक्षा सिमाना हिमालयसम्म फैलिएको छ” भनी प्रधानमन्त्री नेहरुले भारतीय संसद्मा दिएको वक्तव्यको जोडदार ढङ्गले प्रतिवाद गरेको र पछि प्रधानमन्त्री नेहरुले आफ्नो वक्तव्यलाई संसद्मै फिर्ता लिएको कुरा पनि उपर्युक्त पुस्तकमा उल्लेख छ । आज त्यो प्रतिवादको स्मरण गर्दा प्रधानमन्त्री कोइरालाले त्यतिबेला नै चिनियाँ नेतृत्वलाई पनि सगरमाथामाथिको दाबी छाड्न नेपालको अडानको संकेत दिइसकेका रहेछन् भन्ने लाग्दछ । २०१६ सालमा चीनको भ्रमण गर्दा उनले चिनियाँ प्रधानमन्त्री चाउ एन चाइलाई यस्तो दाबीबाट नेपाल र चीनबीच सम्बन्धमा नराम्रो असर गर्ने तथ्य अवगत गराएकोले नै २०१७ सालमा चिनियाँ प्रधानमन्त्रीले आफू नेपाल भ्रमणमा आउँदा “चीनले सगरमाथाको सम्बन्धमा नेपालद्वारा प्रस्तुत नक्शालाई मान्यता दिइसकेको छ” भनी पत्रकार सम्मेलनमा भनेका थिए । पछि २०१८ सालतिर राजा महेन्द्र चीन–भ्रमणमा जाँदा अध्यक्ष माओत्से तुङले पूरै सगरमाथामाथि दाबी गरेको त सर्वविदितै छ । राजा महेन्द्र चीनसँगको राजनीतिक मित्रताको महत्व राम्ररी जान्दथे । तर उनी माओत्से तुङको दबाबसामु झुकेनन् र माओ आखिरमा आफ्नो हठ छाड्न बाध्य भए भन्ने कुराको रोचक वर्णन अमेरिकी इतिहासकार लिओ रोजले लेखेका नेपालसम्बन्धी पुस्तक  ” Nepal: Strategy for Survival” मा पाइन्छ ।

त्यतिबेलासम्म नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताप्रति दृढ निष्ठा भएका सरकार प्रमुख तथा राष्ट्राध्यक्ष थिए । वर्तमान समयमा राष्ट्रिय हित र राष्ट्रिय स्वाधीनताप्रति नै असंवेदनशील शासकहरू हुँदागर्दा अथवा तिनीहरू इतिहासका कुनै कालखण्डका कुइसलिंग वा मिरजाफर नेपालको सत्तामा फर्केकाख जस्ता देखिँदा जागरुक जनसमुदाय आफू नै स्वतःस्फूर्त राष्ट्रिय पहिचानको अभियानमा लाग्नु स्वभाविक हो ।

सिद्धार्थ गौतमलाई लिएर हालै चलेको सार्वजनिक अभियानलाई यही श्रेणीमा लिनु उचित हुनेछ ।
सिद्धार्थ गौतमको जन्म तत्कालीन कपिलवस्तु अन्तर्गत पर्ने लुम्बिनीको सालवनमा भएको थियो र महाभिनिष्क्रमणमा प्रस्थान हुँदासम्म अर्थात् २९ वर्षको आयु उनले यसै भूमिमा बिताएका थिए । त्यो परम पावन स्थलले आज नेपालको गौरवलाई बढाइरहेको तथ्य इतिहाससिद्ध छ । “सिद्धार्थ गौतमले शरीर, भोग, मन, बुद्धि, मान्यता, अहंकारलाई देख्न सके । त्यसैबाट उनी क्रान्तिकारी संन्यासको पथमा अग्रसर हुन सके” भनी गुल्मी जिल्लाको कौली गाउँमा जन्मिएका नेपाल पुत्र एवं भारत विख्यात सन्त सत्यदेव स्वामी भन्नेगर्दथे । आफ्नो सन्यास पथको साधनामा उनले तत्कालीन मगध राज्यको बोधगयामा गएर सात वर्ष कठोर तपमा रहेर ज्ञान प्राप्त गरेका थिए । उनले बुद्धत्व प्राप्त गरेको त्यो पवित्र भूमि आज भारतको विहार राज्यमा पर्दछ । अतः उनको यशस्वी नामसित नेपालका लुम्बिनी र तिलौराकोट मात्र होइन भारतका सारनाथ र बोधगया पनि जोडिन्छन् ।

हजारौँ वर्ष पुराना धर्मग्रन्थ र पुराणहरूमा उनलाई विष्णुको एक अवतार भई यस धर्तीमा ज्ञानको ज्योति जगाउने महात्मा भनी वर्णन गरिएको छ । बौद्धमार्गीहरू उनलाई शाक्यमुनि बुद्ध र तथागतको संबोधनबाट पूजा अर्चना गर्दछन् । यतिमात्र नभई नास्तिक तथा अनिश्वरवादीहरू पनि उनलाई शान्तिपथका महामानव भनेर सम्मान गर्दछन् ।

गौतम बुद्ध नेपाल पुत्र भइकन पनि कालातीत एवं देशातीत छन् । उनी नेपालका त हुन् नै तर साथै उनी भारत, श्रीलंका, बर्मा, चीन, मंगोलिया, जापान, थाइल्याण्ड, कम्बोडिया, कोरिया र अफगानिस्तानलगायत सर्वत्रका हुन् र यसरी समस्त विश्वका आराध्य हुन् । उनीलाई लिएर संकीर्ण र साम्प्रदायिक रूपको राजनीतिक र जातीय अथवा हैकमवादी दाबी हुनु र गरिनु स्वयंमा उनको विश्ववन्दनीय विभूतिमाथि अपमान हुनेछ ।

नाजी जर्मनीविरुद्ध युद्धताका राष्ट्र संकटमा पर्दा रुसका जोसेफ स्तालिन जस्ता चरम नास्तिक शासकले सोभियत रुसका विभिन्न जतियताका सैनिक र नागरिकहरूलाई मातृभूमिको रक्षार्थ आ–आफ्ना इष्टको आराधना गर्न अनुमति दिनुपरेको थियो भने नेपाली मात्रका आराध्य भगवान् बुद्धको जयजयकार अहिले आफ्नै राष्ट्रिय संकट भागिरहेको नेपालीहरूले गर्नु सरासर उचित हो । यति भन्दाभन्दै पनि यहाँ एउटा कुरा उल्लेख हुनु सान्दर्भिक ठहर्दछ । तीस वर्ष जति अघिको कुरा हो, भारतको कश्मिर प्रदेशबाट आएर नेपाल भूमिलाई साधना क्षेत्र बनाउने एकजना सन्त सच्चिदानन्द विशुद्धदेव स्वामीको आध्यात्मिक प्रवचनमा यो पंक्तिकार पनि एकदिन उपस्थित थियो । प्रवचनक्रममा उनले नेपालबाट नै वेद भारतमा गयो र यहीँबाट बौद्धधर्म चीन गएको चर्चा गर्दै नेपालका यी दुवै विशाल छिमेकी देशहरूले नेपालमाथि क्यै गरी कुनै समय अहितकारी कार्य गरेको खण्डमा त्यसको नराम्रो असर प्रत्यक्षरूपले ती देशहरूमाथि पर्ने चेतावनी दिएका थिए । अतः यी देशका शासकहरूले नेपालप्रति बढी संयमी एवं सहयोगी व्यवहार गर्नुपर्ने कुरा पनि उनले थपे ।

यसबाट कुनै भू–भाग र कुनै व्यक्ति विशेषले विश्वव्यापी नाम र प्रतिष्ठा प्राप्त गरेको भए पनि त्यसको राष्ट्रिय विशेषता अक्षुण्ण रहेको कुरा सिद्ध हुन्छ । यसैगरी एउटा अर्को उदाहरण प्रस्तुत छ । महेन्जोदारो तथा हरप्पा क्षेत्र वर्तमान समयमा पाकिस्तानका भू–भाग हुन् । तर ती कुनै समयमा भारतवर्षीय सभ्यताका महान सम्पदा थिए भन्ने कुरालाई पाकिस्तानी अधिकारीहरूले लुकाउनुपर्ने कुनै अर्थ छैन ।

यहाँ एउटा रोचक चर्चा गर्नु  पनि अनुपयुक्त हुनेछैन ।

आखिर गौतम बुद्धलाई “नेपाली” बनाउने को हो र कसरी उसले “नेपाली” बनायो ? इतिहासको यस सन्दर्भ पनि कम रोचक हुनेछैन ।

यस कार्यको श्रेय जङ्गबहादुरका भाइ धीरशम्शेरका छोरा एवं पाल्पाका तत्कालीन बडाहाकिम खड्गशम्शेर जङ्गबहादुर राणालाई जान्छ । उनकै नेतृत्वमा लुम्बिनीमा उत्खनन् गराई गौतम बुद्धको जन्मस्थल पत्ता लागेको हो । अंग्रेज शासकहरूलाई यो तथ्य पहिला थाहा भएको भए त्यो भूभाग तिनीहरूले नेपालबाट खोसेर लिने थिए । अंग्रेज इतिहासकार भिन्सेन्ट स्मीथले त यसमा पछुतो गर्दै यो क्षेत्र आफूसँग राखेर बरु भारतको आधा क्षेत्रफल नेपाललाई दिनुपरेको भए पनि बरु उचित हुनेथ्यो भनी रोएका थिए ।

“नेपाल अध्ययनः अतीत र वर्तमान” संस्थाले यस घटनालाई आफ्नो एउटा कार्यपत्रमा यसरी प्रस्तुत गरेको छः

“सन् १८९६ को जनवरी १ तारिखका दिन त्यस समयका दुर्ईजना सुविख्यात पुरातत्वविद् पश्चिम नेपालका कमाण्डिड्ड जर्नेल, जर्नेल खड्गशम्शेर जड्डबहादुर राणा तथा जर्मनीका डा. आलाई फ्युहररले गौतम बुद्धको जन्मस्थल पत्ता लगाएका थिए । नेपालको दक्षिण–पश्चिमी तराई क्षेत्रमा पर्ने लुम्बिनी उद्यान नै सो जन्मस्थल थियो । जर्नेल खड्ग पाल्पाका बडाहाकिम थिए भने डा. फ्युहरर भारतको पुरातात्विक सर्भे नामक सरकारी विभागअन्तर्गत उत्तरपश्चिमी प्रान्तहरू तथा अवधका तत्कालीन पुरातात्विक सर्वेक्षणकर्ता थिए ।

“यो स्थल त्यस शताब्दीको लागिमात्र नभई पछिपछिका समयको दृष्टिबाट पनि विश्वका महानतम आविष्कारहरूमध्ये एउटा हो । यसका साथै यो भूमण्डलकै सर्वश्रेष्ठ चमत्कारहरूमध्ये एउटा थियो ।” भारतमा छाएको अंग्रेज साम्राज्यवादी सरकारले सन् १८१४–१५ सम्म नेपालमाथि लादेको युद्धपछि सन् १८१५ मा सुगौली सन्धि भयो । त्यसका कारण नेपालले गमाउनुपरेको विशाल भू–भागमध्ये बद्रीनाथधाम तथा केदारनाथधाम आदि क्षेत्र पनि पर्दथे । तर वर्तमान नेपाली समाजले ती क्षेत्र हाम्रा हुन् र हुनुपर्दछ कहिल्यै भनेको छैन । यसको विपरीत भारतीय समाजले कुनै ऐतिहासिक घटनाबाट नेपाली भूमिसँग मिलेको लुम्बिनी क्षेत्र र त्यहाँ जन्मेका सिद्धार्थ गौतममाथि आफ्नो दाबी गर्न छाडेको पाइन्न । यहीँ हामी सानो राष्ट्र भएबाट ठूलो देशको राष्ट्राहंकारवादको चपेटामा परिरहेको पीडा भोगिरहेका छौँ ।
यहाँ के उल्लेख गर्नु उपयुक्त छ भने गौतम बुद्ध र लुम्बिनीलाई लिएर एउटा विश्वव्यापी संगठनका इसाई धर्मावलम्बी सर्वोच्च अधिकारीको संरक्षणकत्वमा हिन्दू धर्म तथा संस्कृतिप्रति शत्रुभाव भएका नेपालका एकजना पूर्व प्रधानमन्त्री र इसाई धर्मावलम्बी एकजना चिनियाँ व्यक्तिलाई सम्मिलित गरी एउटा बृहत् अन्तर्राष्ट्रिय संगठन गरिएको छ । यस्तो संगठनले निःस्वार्थ ढङ्गले गौतम बुद्ध र उनको जन्मस्थल लुम्बिनीको कीर्ति बढाउने काम गर्न सक्ला ? यो प्रश्न पनि अहिलेको सन्दर्भमा नउठिरहन सक्तैन ।

गौतम बुद्ध र लुम्बिनीको नाममा नेपालको उत्तरी छिमेकी देश चीनका घरेलु मामिलामा हस्तक्षेप गर्ने चालामाला नेपालकै राष्ट्रिय हितका लागि घातक हुने कुरामा नेपाली समाज सजग हुनै पर्दछ ।

जय नेपाल !

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा,मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

  1. रोचक लेख, बिश्व युद्धपछि दुनियामा धेरै ऊथलपुथलहरु हुदै आएका छन, जीतने पक्छ्यकै बिचारहरु लादीदै गएको हो जस्तो लाग्छ .

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button