
गिरिजाले जसरी ओलीले पनि खेर फाले
नेपालनाम्चाको पोलिटिकल टकमा साहित्यकार तथा ‘काँग्रेस’ हरि अधिकारी ।
तपाइँको मुख्य चिनारी साहित्यकार र पत्रकारको भए पनि राजनीतिमा पनि गहिरो रुचि राख्नु हुन्छ । नेपालको पछिल्लो राजनीतिक परिस्थितिको आँकलन गर्नु भएको छ ?
हो म पूर्णरूपेण राजनीतिक प्राणी हुँ । लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने भएकोले नेपालका दलहरूमध्ये नेपाली कांग्रेसलाई आफ्नो दिल र दिमागको निकट मान्दछु ।
म ३ वर्षदेखि अमेरिकामा छु तर नेपालको राजनीति मेरो चिन्तन र चिन्ताको परिधिबाट एकपल पनि ओझेल भएको छैन ।
पछिल्लो कालखण्ड, खड्गप्रसाद ओलीले संसदको ६४ प्रतिशत मत लिएर प्रधानमन्त्री पद सम्हालेका दिनदेखि त्यहाँ विकसित भएको राजनीतिक परिस्थितिलाई हेर्दै, बुझ्दै र त्यसको आँकलन गर्दै आएको छु ।
कस्तो पाउनु भएको छ त नेपाल कम्युनिस्ट पार्टीको पूर्ण बहुमतको सरकारको कार्यशैली र प्रधानमन्त्रीका रूपमा केपी ओलीलाई ?
नेकपाका नेताहरूले नेपाली जनताद्वारा आफूलाई दिएको सुदृढ बहुमत दीनहीन नेपाली जनताको हितमा उपयोग गर्नका लागि होइन कि आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि दिएको जस्तो ठानेकाले शुरूदेखि नै राजकाजमा गम्भीर समस्या पैदा भए । तृणमूलदेखि केन्द्रसम्म राज्यका तमाम स्रोत र साधनमाथि नेकपाले एकलौटी कब्जा गर्ने सोच बनायो ।
प्रमका रूपमा खड्गप्रसाद ओली पूरै बेकम्मा साबित भए । नेपाली जनताले उनलाई बलियो वहुमत दिएर उनीबाट सुशासनको जुन प्रत्याशा गरेका थिए त्यो आशा र भरोसामाथि कुठाराघात गरे उनले । २०४८ सालमा जनान्दोलन ४६ को समेत म्यान्डेट लिएर प्रधानमन्त्री भएका नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले जसरी आफूले पाएको ऎतिहासिक अवसर गुमाएका थिए, खड्ग ओलीले पनि त्यसै गरी देश र जनताको सेवा गर्न आफूले पाएको महान् अवसर खेर फाले । ओलीले उनको दललाई जनताले दिएको बहुमत आफू र आफ्नो समूहका दुईचार मानिसहरूको भ्रष्ट मनोरथ पूरा गर्नका लागि हो भन्ने ठाने र पतनको गर्तमा भासिँदै गए । ओलीप्रति दया लाग्छ मलाई ।
प्रम ओलीको यो ‘कथित पतन’को कुरामाथि थप प्रकाश पार्नुहुन्छ कि ?
हेर्नुहोस् ओली तृणमूल तहबाट माथि उठेको कम्युनिस्ट नेता । उनले त्यत्रो ठूलो जनादेश पाएर देश हाँक्ने मौका पाउँदा नेपाली समाजको तल्लो तप्कामा रहेका सर्वसाधारण जनताको हित हुने नीति र कार्यक्रम पो लागू गर्न खोज्नु पर्ने हो त! देशलाई खोक्रो बनाइरहेका आर्थिक अनुशासनहीनता, भ्रष्टाचार, बिचौलियाहरूद्वारा हुने शोषण, कालाबजारीलाई दृढतापूर्वक रोक्नु उनको पहिलो कर्तव्य थियो । खेदका साथ भन्नू पर्दछ: प्रमका रूपमा काम थालेको पहिलो दिनदेखि नै ओलीले ती तमाम गलत तत्वसँग हातेमालो गरे जसको विरुद्ध उभिनु जरूरी थियो । उनको कार्यकालमा बिचौलियाहरूको पौ-बारह भयो । देशका कुख्यात बिचौलियाहरू आङ छिरिङ शेर्पा समूह, भट्ट भाइहरू, मीन बहादुर गुरुङ, शोभाकान्त ढकाल, दुर्गा प्रसाइँ, नसीरुद्दीन अन्सारी, दीपक मलहोत्रा आदि आदिको हालीमुहाली भयो राज्यको स्रोत र साधनमा । प्रमको देखासिकी सत्ताको अर्को साझेदार प्रचण्डले पनि आफू निकटका बिचौलियाहरूलाई लूटखसोटको खुला छुट दिए ।
प्रधानमन्त्री केपी ओलीप्रति तपाइँ अलि बढी नै नकारात्मक हुनु भएको जस्तो लाग्यो नि, के भन्नू हुन्छ ?
रत्तिभर पनि होइन । तपाइँ नै फ्याक्ट् चेक गर्नोस् न! ओली शासनको यो ३ वर्ष २ महिनाको अवधिमा उनको प्रशासनले गरेका काम के के छन् ? आम नेपाली जनताको जीविकाका लागि, सर-सुविधाका लागि, भोजनपानी, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको सहज पूर्तिका लागि कुनै दीर्घकालीन वा अल्पकालीन योजना बनाएको छ ? समाजको तल्लो तप्काका जनतालाई राहत दिने एउटा मात्र पनि नीति र कार्यक्रम ल्याएको थाहा पाउनु भएको छ तपाइँले ? छ भने भन्नुहोस् मैले त थाहा पाएको छैन ।
तपाइँको विचारमा प्रम ओलीले बितेको ३ वर्ष कसरी बिताए त ?
उनले धेरैजसो काम नलाग्ने र व्यवहारमा लागू नै गर्न नसकिने हावादारी योजनहरूको गफ दिएर जनतालाई अल्मल्याउँने काम मात्र गरिरहे ।
उनको अर्को काम भनेको पार्टीभित्रको आफ्नो गुटका भ्रष्टाचारीहरूलाई चोख्याउँने रह्यो । रवीन्द्र अधिकारी, ईश्वर पोखरेल, विष्णु पौडेल, विष्णु रिमाल, गोकुल बाँस्कोटा, पद्मा अर्याल, भानुभक्त ढकाल, प्रेमकुमार राई, सुशीलकुमार घिमिरे, सुगतरत्न कंसाकार आदिमाथि लागेका भ्रष्टाचारका आरोपहरूको छानबीन रोकेको मात्र होइन, ती मध्ये कतिजनालाई ठूल्ठूला पदमा नियुक्ति दिएर ओलीले भ्रष्टाचारप्रतिको आफ्नो मोहलाई उजागर गरेका छन् ।
प्रम ओलीको आलोचना गर्नुपर्ने अरू विषयहरू के के हुन सक्छन् भन्ने ठान्नू हुन्छ ?
ओलीले सत्तामाथि एकाधिकार कायम गर्ने आफ्नो आभ्यन्तरिक बद्नियतको वशीभूत पार्टीभित्रका आफ्ना समकक्षी नेताहरूको लगातार मानमर्दन गर्दै आएका कारण पार्टीमा गहिरो मनभेद भएको कुरा तपाइँलाई थाहै छ । यो अति नै आलोच्य विषय हो । प्रम र पार्टी अध्यक्षका रूपमा उनले सन्तुलित दृष्टिका साथ साथीहरूको विश्वास जितेर देशमा सुशासन कायम गर्न सक्नु पर्दथ्यो ।
केपी ओलीले एमालेसँग एकीकृत हुन आएका नेकपा माओवादी केन्द्रका नेता प्रचण्डसँग एकीकरणका बेलामा गरेका कबूलहरू पनि पूरा नगरेर बेइमानी गरेका कारण एकीकृत नेकपामा विभाजन भएको पनि सारा संसारका सामु छर्लङ्गै छ ।
यसबाहेक कुनै दृष्टिले पनि राष्ट्रपतिको पदका लागि योग्य र सुहाउँने व्यक्तित्व नभएकी तर आफूप्रति वफादार विद्या भण्डारीलाई दुई पटक राष्ट्रपति बनाएर केपी ओलीले त्यो विशिष्ठतम् पदको नै जसरी अवमूल्यन गराएका छन् त्यसलाई उनले वर्तमान राजनीतिक पद्धतिलाई नै बदनाम गराउन रचेको षडयन्त्रका रूपमा लिन सकिन्छ भन्ने मेरो धारणा छ । राष्ट्रपति विद्या भण्डारीले कार्यपालिकाको निरीह नोकरका रूपमा काम गरेको देखेर धेरै नेपालीहरू संवैधानिक नै भए पनि राष्ट्रनायकका रूपमा राजा नै चाहिने रहेछ भन्न थालेका छन् । आम जनताको यो मत गणतन्त्रको स्वास्थ्यका लागि हानिकारक छ ।
प्रम ओलीका पछिल्ला कदमहरू बारे के भन्नू हुन्छ ?
ओलीका पछिल्ला कदमहरू धेरै जसो गलत छन् र तिनले उनलाई त पतनको खाडलमा खसालिदिएका छन् नै सारा राजनीतिक पद्धतिलाई पनि जोखिममा पारिदिएका छन् । उनले पार्टीभित्रको अन्तर्द्वन्द्वको व्यवस्थापन द्वन्द्वका पक्षहरूका बीच सल्लाह-साउती र छलफलका आधारमा सल्टाउनु पर्नेमा प्रतिनिधि सभा नै भङ्ग गर्ने जस्तो गैर-अख्तियारी र अवैधानिक कदम उठाए जसलाई अदालतले निरस्त गरिदियो । आफूले चालेको त्यत्रो ठूलो राजनीतिक कदम अवैधानिक साबित भएपछि प्रम ओलीले पदत्याग गरी नयाँ प्रम चुन्ने मार्ग प्रशस्त गर्नु पर्ने थियो । त्यो गरेनन् यिनले । आफूले नै भङ्ग गरेको तर अदालतले जीवनदान दिएको त्यही प्रतिनिधि सभासँग विश्वासको मत मागे त्यो पनि पाएनन् । त्यसपछि पनि अनेक खुराफात गरी, खासगरी आफ्नो खल्तीकी राष्ट्रपतिको सहयोगमा फेरि प्रधानमन्त्री बने ।
पछिल्लो समाचार अनुसार अब ओलीले विश्वासको मत नलिई संविधानको धारा ७६ (५) अनुसार नयाँ प्रम चुन्ने अभ्यासका लागि बाटो बनाइदिएका छन् । अब के होला जस्तो लाग्छ तपाइँलाई?
संविधानको धारा ७६ (५) अन्तर्गत नयाँ सरकार बन्ने प्रक्रिया शुरू हुनुलाई म सकारात्मक रूपले लिन्छु । यस स्थितिमा पनि केपी ओलीप्रति वफादार राष्ट्रपतिले प्रम पदका नयाँ प्रत्याशी सांसदलाई सार्है कम समय दिएर कपटपूर्ण व्यवहार गरेकी छिन् ।
म आशा गर्दछु: यस स्थितिमा एमालेइतर राजनीतिक दलहरू विशेषगरी नेपाली कांग्रेस, नेकपा माके र जसपाले झिनामसिना मतभेदहरूलाई थाँती राखेर एउटा मजबूत गठबन्धन बनाउने छन् र नयाँ सरकारको गठन गर्ने छन् । त्यस्तो गठबन्धनको नेतृत्व शेरबहादुर देउवाले नै गर्नु पर्दछ भन्ने केही छैन नेपाली राजनीतिक आकाशमा खड्गप्रसाद ओलीले लगाएको खग्रास ग्रहणको अन्धकार हट्छ भने महन्थ ठाकुर वा अरू कुनै बहादुरलाई प्रधानमन्त्री बनाउँदा नि हुन्छ ।