‘म र मेरो एमाले’
भरतमोहन अधिकारी
०७१ साल असारमा काठमाडौंमा सम्पन्न नेकपा एमालेको नवौं महाधिवेशनमा मैले लिखित वक्तव्य पढेर अब उप्रान्त आफू पार्टीको कुनै पनि नेतृत्वदायी कमिटीमा नबस्ने घोषणा गरेको थिएँ । मैले भनेको थिएँ, ‘म पार्टीको साधारण सदस्य, शुभचिन्तक, समर्थक र अनुशासित कार्यकर्ताको रूपमा बाँकी जीवन बिताउनेछु । जीवनको अन्तिम क्षणसम्म एमाले नै रहनेछु ।’
सन् १९५२ मा आजभन्दा ६५ वर्षअघि बनारसमा मैले भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिएको थिएँ । त्यसबखत म १६ वर्षको थिएँ र बनारसको डीएभी इन्टरकलेजमा पढ्थें । त्यसयताको ६५ वर्षको समय नियाल्दा म कम्युनिस्ट आदर्श र सिद्धान्त, आफू आबद्ध पार्टीप्रति इमानदार रहें भन्ने मलाई लाग्छ । अर्थशास्त्रमा एम.ए. गरेपछि मैले पीएचडी गर्ने विचार गरेको थिएँ । तत्कालीन सोभियत सरकारले मलाई लुबुम्बा विश्वविद्यालय, मस्कोमा पीएचडी छात्रवृत्ति पनि दिएको थियो । त्यसैबेला २०१७ सालमा राजा महेन्द्रले नेपाली जनता र प्रजातन्त्रमाथि षड्यन्त्र गरे । संसदीय व्यवस्थामाथि ‘कू’ गरेर मुलुकमा तानाशाही व्यवस्था लागू गरे । निर्वाचित सरकार अपदस्थ गरी नेताहरूलाई थुने । यसबखत पीएचडी गर्न पाएको छात्रवृत्ति छोडेर म तानाशाहीविरुद्धको आन्दोलनमा होमिएँ । देश गम्भीर संकटमा परेको बेला पढाइ छोड्नुपरेकोमा अहिले मलाई कुनै अफसोच छैन ।
म युवावस्थामा प्रवेश गर्दा राजा महेन्द्रको असंवैधानिक तानाशाही कदमको खिलाफमा सशक्त आन्दोलन उठाउन नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन सम्पन्न गरियो । यस महाधिवेशनपछि पार्टी एक ढिक्का भएर संघर्षमा होमिनुपर्नेमा एकपछि अर्को समस्या देखिन थाल्यो । समय कस्तो थियो भने चारजना कम्युनिस्टहरू एक वर्ष पनि सँगै हिँड्न सक्दैनथे । कम्युनिस्ट आन्दोलनमा विभाजनको शृंखला नै सुरु भयो । पार्टी फुटेर साना गुटहरू बने । ती गुटहरू उपगुटमा विभाजित हुन्थे । कम्युनिस्टहरू राजा महेन्द्रविरुद्ध संघर्ष गर्नुको साटो आपसमा खोइरो खन्थे । यी सबै मैले आफ्नो जवानीकालमा व्यहोरें । देश निर्माणको सुन्दर सपना बोकेर म कम्युनिस्ट आन्दोलनमा लागेको थिएँ, तर आफ्नै पार्टी सानो गुटमा विभाजित भएर छ्यालब्याल हुँदै समस्या नै समस्यामा फस्न पुग्यो । पाकिस्तानका सैनिक तानाशाह जिया उल हकले त्यहाँका प्रधानमन्त्री जुल्फिकर अली भुटोलाई फाँसी दिएको विरोधमा नेपालमा विशाल विद्यार्थी आन्दोलन उठ्यो । यस आन्दोलनले भने नेपालका कम्युनिस्टहरूमा मिलेर काम गर्ने भावना जागृत गरायो । त्यसबेला मेरो कार्यक्षेत्र विराटनगर थियो । विराटनगरमा मैले त्यहाँका माले, चौमलगायतका विभिन्न कम्युनिस्ट समूहबीच एकताको लागि सक्दो प्रयास गरें । हामीले त्यहाँ स्थानीय आधारमा किसान, मजदुर, युवा, विद्यार्थीका समस्यालाई समूहगत रूपमा अगाडि बढाउन थाल्यौं । नभन्दै त्यसबेला विराटनगरमा अघोषित वाममोर्चा बनाउन हामी सफल भयौं । राष्ट्रिय स्तरमा वाममोर्चा बनाउन म सक्रिय हुन थालें । त्यसको लागि कहिले काठमाडौं, कहिले भैरहवा, पोखरा, नेपालगन्जलगायतका स्थानमा दौडिन थालें । ०४६ सालमा राष्ट्रिय स्तरमा सात पार्टीहरूको वाममोर्चा बनाउन हामी सफल भयौं । वाममोर्चाको गठनलाई मैले आफ्नो जीवनको एउटा ठूलो उपलब्धिको रूपमा लिएको छु ।
०४६ सालमा वाममोर्चा र कांगे्रसको संयुक्त आन्दोलनको धक्काबाट पञ्चायती व्यवस्था ढल्यो । २९ वर्षपछि नेपालमा बहुदलीय व्यवस्था आयो । कृष्णप्रसाद भट्टराई (नेपाली कांग्रेस) को नेतृत्वमा कांगे्रस, कम्युनिस्टको संयुक्त सरकार बन्यो । नयाँ संविधान लेख्ने आयोग बन्यो । वाममोर्चाबाट माधवकुमार नेपाल, निर्मल लामा र म आयोगको सदस्य बन्यौं । संविधान लेखनमा मैले धेरै मेहनत गरेको थिएँ । त्यसबेलाको परिवेशमा धेरैले संविधानको प्रशंसा पनि गरे । त्यसपछि हामी माले र माक्र्सवादी पार्टी एकता गर्ने प्रयासमा जुट्यौं । पार्टी एकीकरण भयो पनि । नेकपा एमाले बन्यो । नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित मनमोहन अधिकारीको अभिभावकत्व र मदन भण्डारीजस्तो कुशल नेताको नेतृत्वमा नेकपा एमाले बन्यो ।
नेकपा एमालेको उदय नेपालको कम्युनिस्ट वाम आन्दोलन र लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक घटना थियो । नेकपा एमालेले आफ्नो प्रभाव देखाउन थाल्यो । ०४८ सालको संसदीय निर्वाचनमा कांगे्रसलाई टक्कर दिने प्रमुख प्रतिपक्षी पार्टीको रूपमा एमाले स्थापित भयो । त्यसबेला काठमाडौं आउनुभएका भारतको पश्चिम बंगालको विधानसभाका सभामुख भन्नुहुन्थ्यो, ‘तपाईं नेपाली कम्युनिस्टहरूले यत्रो विजय पाउनुहोला भनेर हामीले सोचेका पनि थिएनौं ।’ राजा वीरेन्द्र भेटघाटका क्रममा मनमोहन अधिकारीसँग भन्थे रे, ‘तपाईंहरूले यसरी जित्नु हुन्छ भनेर मैले कल्पना पनि गरेको थिन ।’
त्यसबेला मदन भण्डारी र माधव नेपालसँग मिलेर नेकपा एमालेको निर्माण गर्न आफूले खेलेको भूमिकाप्रति आज मलाई गर्व लाग्छ । गिरिजाप्रसाद कोइरालाले टनकपुरमा राष्ट्रघात गरेकोले संसद्मा लगातार सात घन्टा नारा लगाएर राष्ट्रियताको विषयमा प्रमुख प्रतिपक्षको तर्फबाट हामीले सशक्त भूमिका निर्वाह ग-यौं । त्यो कामको अगुवाइ गर्ने अवसर मैले पाएको थिएँ । ०४९ सालमा नेकपा एमालेको पाँचौं महाधिवेशन काठमाडौंमा भयो । त्यो महाधिवेशनले एउटा नयाँ सोच ‘जनताको बहुदलीय जनवाद’ (जबज)को कार्यक्रम ल्यायो । त्यो कार्यक्रम मदन भण्डारीको अगुवाइमा उहाँकै सोचमा आएको थियो । त्यो कार्यक्रम निर्माणमा मैले मदन भण्डारीको एक महत्वपूर्ण सहयोगीको रूपमा भूमिका निर्वाह गरें । त्यो सम्झँदा आज मलाई आत्मसन्तुष्टि हुन्छ ।
०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमाले सबभन्दा ठूलो राजनीतिक दल भयो । मनमोहन अधिकारीको नेतृत्वमा नेकपा एमालेको एकल सरकार बन्यो । म त्यो सरकारको अर्थमन्त्री भएँ । त्यो सरकार नौ महिना चल्यो । मैले दुइटा बजेट पेस गरें । महेश आचार्यले पेस गर्नुभएको ०५१-०५२ को बजेटलाई परिमार्जन गरेर ०५१ साल पुसमा पहिलो कम्युनिस्ट बजेट पेस गरें । पछि ०५२ सालको असारमा अध्यादेशमार्फत पूर्ण बजेट पेस गरें । मैले पेस गरेका ती दुईवटा बजेट नेपाली अर्थतन्त्रको विकासमा कोसेढुंगा सावित भए । आफ्नो गाउँ आफैं बनाऔं, वृद्धभत्ता, सामाजिक सुरक्षा, नौ सलगायतका कार्यक्रमको सर्वत्र प्रशंसा भयो । नेकपा एमालेले दुइटा बजेटमार्फत देशको अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ भन्ने नयाँ सोच ल्यायो । यी केही यस्ता उपलब्धि छन्, जसले मलाई कम्युनिस्ट आन्दोलनमा लागेकोमा सधैं खुसी र गर्वको अनुभूति गराइरहन्छन् ।
सोभियत रूस र पूर्वी युरोपमा कम्युनिस्टहरू असफल भइरहेको अवस्थामा नेपालमा दन्दनाउँदो रूपमा कम्युनिस्ट आन्दोलन अघि बढिरहेको थियो । मलाई याद छ, भारतको केरला कम्युनिस्ट पार्टीका नेता यहाँ आउँदा ‘अब त, माउन्ट एभरेस्टबाट कम्युनिस्टको रातो झन्डा फरफराइरहेको छ’ भन्नुहुन्थ्यो । सबैतिर निराशा छाइरहेको अवस्थामा ‘बाटो यो हो’ भनेर देखाउने काम हामीले गरेका थियौं । मदन भण्डारीको अगुवाइमा अघि सारिएको जनताको बहुदलीय जनवादको कार्यक्रमले स्पष्ट दिशानिर्देश गरेको थियो, ‘अहिलेको बाटो शान्तिपूर्ण र प्रतिस्पर्धाको बाटो हो र जनजागरणको बाटो हो । यही बाटोबाट अघि बढ्दै नेपालमा सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरण गरेर नयाँ बहुदलीय जनवादी व्यवस्था कायम गर्न सक्छौं र चौतर्फी समृद्धि ल्याउन सक्छौं ।’ समाजलाई समाजवादको बाटोमा लम्काउन सकिन्छ भन्ने विश्वासका साथ हामीले नयाँ चिन्तन अगाडि बढाएका हौं । यसले देशमा नयाँ लहर नै ल्यायो । नेकपा एमालेको पक्षमा देशमा लहर देखियो । जबजको विचार नेपाल सानो भएकाले मात्र धेरै चर्चामा नआएको हो । यो विश्व कम्युनिस्ट आन्दोलनमै नयाँ चिन्तन हो । जबजको कार्यक्रम ल्याएको डेढ–दुई वर्षभित्रमा नेकपा एमाले सरकार बनाउन सफल भयो ।
सरकार सञ्चालन गर्दा हामीले सामाजिक तथा आर्थिक रूपान्तरणलाई कसरी अगाडि बढाउन सकिन्छ, देशको समग्र विकास कसरी गर्न सकिन्छ भन्ने सोच अगाडि बढायौं । आर्थिक विकासको लागि राज्य, निजी क्षेत्र र सहकारीको भूमिकालाई प्रस्ट पा-यौं । नेपालजस्तो आर्थिक रूपले अत्यन्त पछाडि परेको देशमा आर्थिक समृद्धिको लागि लगानी, रोजगार र उत्पादन बढाउने र सामाजिक सुरक्षालाई फराकिलो गर्दै जाने प्रस्ट सोच अगाडि बढायौं । कृषिको उन्नति, गाउँको विकास, पूर्वाधार, उद्योग, पर्यटन र जलस्रोतको विकासलाई तीव्र गति दिन राज्य, निजी क्षेत्र र सहकारीको भूमिकालाई प्रस्ट्यायौं । जबजको कार्यक्रमलाई आर्थिक क्षेत्रमा यसरी परिभाषित ग-यौं ।
देश विकासको सोच र त्यसको भावना बुझ्ने र आन्दोलनलाई सही दिशाबोध गर्न सक्ने नेता मदन भण्डारी हुनुहुन्थ्यो । राजनीतिक फाँटमा शान्तिपूर्ण आन्दोलन, जनपरिचालन, बहुदलीय प्रतिस्पर्धा, खुला समाज, आर्थिक रूपमा राज्य, सहकारी र निजी क्षेत्रको प्रभावकारी भूमिकाबाट आर्थिक विकासलाई तीव्रता दिने, सुकुम्बासी, कमैया, हली, महिला, दलित, पछाडि परेका समुदाय, ज्येष्ठ नागरिक र अपांगहरूका लागि सामाजिक सुरक्षा व्यवस्था सुदृढ गर्ने र फराकिलो पार्दै जाने काममा वैचारिक रूपले सशक्त ढंगले अघि बढाउने बेलामा मदन भण्डारीको अभाव मैले गम्भीररूपमा महसुस गरेको छु ।
००६ सालमा कमरेड पुष्पलालले आफ्ना सहयोद्धाका साथ नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो र नेपालको राजनीतिमा कम्युनिस्ट वामपन्थी विचार र धारको आन्दोलनको सुरुआत भयो । प्रारम्भिक कालमा कमरेड पुष्पलालको नेतृत्वमा र पछि मनमोहनजीको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी दन्दनाउँदो रूपमा अगाडि बढ्यो । केशरजंग रायमाझी महासचिव भएपछि पार्टीलाई केही धक्का लाग्यो । तर, तेस्रो महाधिवेशन भएपछि हामी फेरि सशक्तरूपमा अगाडि बढ्यौं । फेरि, आन्दोलनमा केही काल टुटफुटको शृंखला चले पनि अन्त्यमा हामीले जीउको धुलो टक्टक्याउँदै नेकपा एमाले बनायौं । ०४७ सालमा गठन भएदेखि नै नेकपा एमाले सानदार रूपमा अघि बढिरहेको छ । आज, नेकपा एमाले नेपालको कम्युनिस्ट वाम आन्दोलनको मूल प्रवाह भएको छ ।
देशमा अरू पनि कम्युनिस्ट पार्टीहरू छन्, जसको इतिहास र अस्तित्वको सम्मान हामीले गर्नुपर्छ । नेपालको राजनीतिक क्षितिजमा एमालेसँग टक्कर लिन प्रचण्ड नेतृत्वको माओवादी पार्टी केही समय देखा प¥यो । तर, अहिले उक्त पार्टी चिराचिरामा विभाजित हुँदै निरन्तर अधोगतितिर लाग्दो छ । प्रचण्डले नेतृत्व गरेको माओवादी पार्टीसँग र अरू साना वाम पार्टीसँग सहकार्य गरेर कम्युनिस्ट वाम आन्दोलनलाई अगाडि बढाउने दायित्व अब एमालेको काँधमा आएको छ । आज, नेकपा एमाले पार्टीको देशभरि बलियो नेटवर्क छ । गाउँ–सहरमा स्थानीय आधारमा लोभलाग्दा स्थानीय नेताहरू छन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा देशव्यापी रूपमा एमालेको जुन विजय भयो, त्यसबाट पनि जनतामाझ यो पार्टी लोकप्रिय छ भन्ने स्पष्ट भएको छ ।
वास्तवमा, नेपालको भविष्य भनेको एमाले हो । एमालेका हजारौं उज्याला पक्ष छन् । त्यसकारण अरू पार्टी छोडेर एमाले प्रवेश गर्नेहरूको लहर नै चल्न थालेको छ । जनतामा एमालेको आकर्षण बढ्दो छ । यसमा हामी एमालेजन सबैले गर्व गर्नुपर्छ । तर, यसका साथसाथै हामीले विगतमा थुप्रै गल्ती र कमजोरी गरेका छौं । यसलाई पनि हामीले हेक्का राख्नुपर्छ । आर्थिक तथा सामाजिक रूपान्तरण गर्दै देशलाई आर्थिक समृद्धिको बाटोमा अग्रसर गराउन सक्ने राजनीतिक शक्ति एमाले नै हो । यो आजको वास्तविक यथार्थ हो । जनभावना पनि यही हो । यो जनभावना पूरा गर्न एमालेले केही कुरामा ध्यान दिनैपर्छ । चीनको कम्युनिस्ट पार्टी गएको ६५-६६ वर्षदेखि लगातार सत्तामा छ । हाम्रो पार्टी नेकपा एमालेको अवस्था भने भिन्न छ । एमाले कहिले सत्तासीन हुन्छ त कहिले प्रतिपक्ष हुन पुग्छ । कुनै बखत यो पार्टी राष्ट्रिय एकताको सूत्रधार पनि बन्छ । आज, एमालेको अवस्था यस्तो छ । यसलाई ध्यानमा राखेर एमालेले आफ्नो कार्यनीति निर्माण गर्ने, जनतासँग सम्बन्ध कायम गर्ने र नेता तथा कार्यकर्ताहरूका व्यवहार÷आचरण व्यवस्थित गर्नुपर्छ । खासगरी पाँचवटा कुरामा एमालेको ध्यान जानु आवश्यक छ :
पहिलो– पार्टीका नेता र कार्यकर्ता अध्ययनशील हुनुपर्छ । अध्ययनबिना जबजको नीतिअनुरूप आजको कार्यनीति निश्चित गर्न सकिँदैन । आर्थिक समृद्धिको बाटोमा हिँड्दा हामी राजनीतिक फाँटमा के भन्छौं ? कृषि, उद्योग, पर्यटन, पूर्वाधारको विकास र ऊर्जा विकासमा हाम्रो दृष्टिकोण के हो ? समग्र समृद्धिको यात्रामा राज्य, नीजी क्षेत्र र सहकारीको भूमिकालाई व्यवहारमा कसरी व्यवस्थित गर्न सक्छौं ? यसमा प्रस्ट भएर एमालेका नेता र कार्यकर्ताले तदनुरूप बोल्नुप¥यो र त्यहीअनुसारको आचरण हुनुप-यो । जबजको आफूखुुसी व्याख्या गर्दै हिँड्नुभएन । जबज हिन्दुहरूको गीता र क्रिस्चियनहरूको बाइबलजस्तो पढेर थन्क्याउने विषय होइन । जबज भनेको त जीवन हो । यो जीवनको गतिसँग जोडिएको छ । आजको सन्दर्भमा जबजलाई व्यवहारमा कसरी उतार्ने भन्ने प्रमुख कुरा हो । जबज जनताको जागरण हो । संगठित, जागृत र देश विकासमा संकल्पित जनता नभई जबज कार्यान्वयन नै हुँदैन । सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरण गर्न समाजलाई जागरुक नगराई हुँदै हुँदैन । मैले भन्ने गरेको छु– जबज अंगीकार गरेको नेकपा एमाले एउटा राजनीतिक पार्टी मात्र होइन, यो त समाज बदल्ने आन्दोलन हो । हामी सडकमा हौं या सदनमा हौं या सरकारमा हौं, हामीले जबजका कार्यक्रम कार्यान्वयन गर्न लागि पर्नुपर्छ ।
दोस्रो– नेकपा एमालेभित्र बलियो एकता कायम गर्नुपर्छ । अहिले एमालेमा गम्भीर वैचारिक मतभेद देखिँदैन, तर पनि पार्टीभित्र समस्या जरुर देखिन्छ । आज एमालेभित्रको समस्या भनेको नेता तथा कार्यकर्ताको उचित व्यवस्थापन नै हो । संघीयता लागू भएपछि केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको संरचना हुन्छ । पार्टीको सांगठनिक संरचना पनि यसैअनुरूप निर्माण हुने हुँदा अब त, हजारौं नेता र कार्यकर्तालाई व्यवस्थापन गर्न सजिलो हुन्छ । मुख्य कुरा, केन्द्रका चार–पाँचजना नेताको व्यवस्थापन हो । यसलाई मैले महत्वपूर्ण व्यवस्थापनको रूपमा लिएको छु । छाती फराकिलो पारेर आलोपालो गरेर सम्मानजनक व्यवस्थापन गर्ने सोचका साथ अघि बढ्ने हो भने यो ठूलो समस्या होइन । लामो समयसम्म एमालेको नेतृत्वमा बस्दा मेरो अनुभव पनि यही छ । अहिले पनि नेकपा एमालेले चाहेमा पार्टीमा नेतापुन्जको सम्मानजनक व्यवस्थापन कार्यमा सहयोग गर्न तयार छु । यसमा म खुसी पनि हुनेछु । प्रमुख नेताहरूको सम्मानजनक व्यवस्थापन र उहाँहरूबीचको आपसी सद्भाव र विश्वासलाई सुदृढ गर्न सकेको खण्डमा अरू नेता र कार्यकर्ताको व्यवस्थापन सहज हुन्छ । यसो भएमा हामीले योग्यता, क्षमता र उसको योगदानलाई आधार बनाएर अगाडि बढाउन सकिन्छ ।
तेस्रो कुरा– नेकपा एमालेमा माथिदेखि तलसम्म आर्थिक कुरामा ज्यादा आसक्ति बढेको देख्छु । कार्यकर्ताको जीविकोपार्जन र सुरक्षा व्यवस्था हुनुपर्छ । अब त पार्टी खुला छ । सरकारमा आउने–जाने भइरहेको छ । कार्यकर्तालाई हामीले आर्थिक उत्पादनमा संलग्न गराउने र आर्थिक स्वावलम्बन हुनेतर्फ प्रशिक्षित गर्नुपर्छ । हामी एमाले पंक्ति आर्थिक स्वावलम्बनमा गयौं भने यसले अहिले देखिएका धेरै विकृतिहरू ठीक पार्छ ।
चौथो– यता म अर्को के देख्छु भने, एमाले पंक्तिमा सामूहिक भावना घटिरहेको छ । हामी व्यक्तिकेन्द्रित भइरहेका छौं । व्यक्तिगत लाभको लागि प्रयत्नसील छौं । त्यसो हँुदा पनि यसले विकृति ल्याएको छ । पद र सुविधाको वितरण गर्दा पनि न्यायोचित ढंगले नगरी तेरो र मेरोको आधारमा भइरहेको छ । यो सबै त बुर्जुवा पार्टीहरूमा देखिने कुरा हुन् । हामी समाज बदल्न आएको एमालेलाई यो सुहाउने कुरा होइन ।
पाँचौं– हाम्रो जीवनशैली पनि ज्यादा तडकभडक भयो । जीवन बढी सुविधाभोगी बन्न थाल्यो । जनताकावीच रहनुको सट्टा अन्य पार्टीका नेताजस्तो सुविधा र सुरक्षा घेरामा बस्ने चलन हुन थाल्यो । चीनमा माओत्से तुङले जब १० करोड जनसंख्या भएको क्षेत्रमा शासन चलाउँथे । उनको फोटो भएको नोट चल्थ्यो । त्यसबखत माओ टालेको कोट र पाइन्ट लगाउँथे । हो ची मिन्हले राष्ट्रपति हुँदा पनि टायरकै चप्पल लगाए । यसो नगरे भियतनामी जनतालाई अमेरिकाविरुद्ध संघर्षमा आन्दोलित गर्न सकिँदैनथ्यो । मूल नेता त्यागी नभई जनता आन्दोलित हुँदैनन् । हामी पनि कांगे्रस र राप्रपाजस्तो यथास्थितिवादी पार्टी भएर बस्ने हो भने त यो सबै ठीकै होला । होइन, आमूल परिवर्तन गर्ने पार्टी हुने हो भने, नेपालजस्तो गरिब देशमा जनताको नेता त्यागी बन्नैपर्छ । साधा जीवनयापन गर्नैपर्छ । भारतमा महात्मा गान्धीले त्यसै लगौंटी लगाएर हिँडेका थिएनन् । बेलायतबाट ब्यारेस्टरी गरेका सुट र टाई लगाउने गान्धी लगौंटी र धोती लगाउन पुगे । एकजना अमेरिकी लेखकले गान्धीलाई ‘धूर्त बनियाँ’ भनी लेखेका छन् । धोती र लगौंटी लगाएका गान्धीको फोटो अखबारमा देख्नासाथ भारतमा आम जनताले आफूलाई त्यहाँ पाउँथे । मैले यी सबै कुरा यहाँ उल्लेख गर्नुको कारण के हो भने, देशको नेतृत्व लिन एमालेले आफूलाई आजको अवस्थाबाट केही कुरामा सच्याउन र सुधार गर्नैपर्छ । जनताका बीचमा उभिँदा एमालेका नेता र कार्यकर्ता एउटा आदर्श व्यक्तिका रूपमा देखिनुपर्छ । हाम्रो सम्पूर्ण प्रयत्न यतातिर हुनुपर्छ । एमालेको नेतृत्व नभई नयाँ नेपाल बन्दैन, जुन यथार्थ हो । यसकारण नयाँ नेपाल बनाउने राष्ट्रिय अभियानको नेतृत्व गर्न हामीले केही सुधार गर्नुपर्छ । एकताबद्ध रूपमा सुन्दर र समृद्ध नेपालको सपना बोकेर जनजागरण अभियानलाई अगाडि बढायौं भने एमालेको उचाइ छुन कुनै पार्टीले सक्दैन ।
कम्युनिस्ट आन्दोलनमा लाग्दा मैले पार्टीबाट सधैं माया र स्नेह पाएँ । राम्रा राम्रा अवसर पाएँ । म आज ०११ सालमा मोरङ जिल्लाका गाउँहरूमा सँगै साइकल चढेर पार्टीको प्रचार गर्दै हिँडेका कमरेड ब्रह्मलाल चौधरीलाई सम्झिरहेको छु । उहाँसँग थारू गाउँहरूमा कैयन् दिन बसेको छु । त्यहीं खाने, त्यहीं सुत्ने गरेको छु । उहाँ बितेको धेरै दिन भइसक्यो । हाम्रो पार्र्टीका तत्कालीन मोरङ जिल्ला सचिव हरिहर उपाध्यायलाई सम्झिरहेको छु । उहाँ ०१०-०११ सालतिर मोरङको लोकप्रिय किसान नेता हुनुहुन्थ्यो । उहाँले नै मलाई किसान आन्दोलनको महत्व बताउनुभयो, संलग्न गराउनुभयोे र किसानहरूलाई प्रशिक्षित गर्न सिकाउनुभयो । कैयन् दिन उहाँको पछि–पछि म किसान आन्दोलनमा हिँडेको छु । उहाँ बितेको पनि धेरै भइसक्यो । यस्ता धेरै साथीहरू हुनुहुन्छ, जो आन्दोलनकै क्रममा मारिनुभयो । कम्युनिस्ट आन्दोलनमा लाग्दा धेरै साथीहरूले जीवनभर दुःखकष्ट भोगेको देखेको छु । त्यसरूपमा त म निकै भाग्यमानी रहेछु । मैले त कम्युनिस्ट आन्दोलनबाट धेरै कुरा पाएको छु । कमरेड पुष्पलाल, मनमोहन, तुलसीलाल, मदन भण्डारी, माधव नेपाल, झलनाथ खनाल, केपी ओली, वामदेव गौतम, जीवराज आश्रित, सीपी मैनाली, मोहनविक्रम सिंह, निर्मल लामा, जय गोविन्द शाह आदिसँग एउटै कमिटीमा बसेर काम गर्ने सौभाग्य पाएँ, जुन बिरलैले पाउने अवसर हो । म ०४७ सालमा संविधान आयोगको सदस्य भएँ । ०४८ सालयता चारपटक सांसद निर्वाचित भएँ । अवधी छोटै रहे पनि पाँचपटक विभिन्न मन्त्रालय सम्हाल्ने मौका पाएँ । दुई पटक उपप्रधानमन्त्री भएँ । पार्टीको कार्यवाहक महासचिव भएँ । देश–विदेश घुम्ने मौका पाएँ । कतिपय आफूले सुरु गरेका कामको सफलता देख्न पाएँ । यस अर्थमा अब मैले गुनासो गर्नुपर्ने कुनै ठाउँ छैन । तर, यो ८१ वर्ष टेक्दा म पूर्ण सन्तुष्ट भने छैन । हामीले त्यत्रो संघर्ष र बलिदानी ग-यौं । देशमा युगीन परिवर्तन ल्यायौं । तर, आम जनता, किसान, सुकुम्बासी, दलित, महिला, कमैया, हलिया, मजदुरको जीवनमा आशातित परिवर्तन र खुसीयाली ल्याउन अझै सकेका छैनौं । गाउँको मुहार अझै फेर्न सकेका छैनौं । यो कुराले अहिले पनि मलाई चिन्तित तुल्याउँछ ।
ऋषिकेश शाहले एकपटक मलाई बीपी कोइरालाले भनेको कुरा सुनाउनुभएको थियो, ‘ऋषिकेश शाहजी, मैले ००७ सालको क्रान्ति सम्पन्न गरी प्रजातन्त्रको स्थापना गराएँ । यसले मुलुकमा नेपाली कांगे्रसको उच्च प्रतिष्ठा छ । पार्टीको देशभरि संगठन छ । यस्तो पार्टी नेपाली कांगे्रसलाई म तीन नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई दिइरहेको छु । यो पार्टीलाई अगाडि बढाउने त यी नेताहरूको जिम्मेवारी र दायित्व हो ।’ नेकपा एमाले, कमरेड पुष्पलाल, तुलसीलाल, मनमोहन अधिकारी र मदन भण्डारीले निर्माण गरेको, हुर्काएको र बढाएको पार्टी हो । यो पार्टीलाई अहिलेको अवस्थासम्म ल्याइपु¥याउन कैयन्ले बलिदानी गरेका छन् । हजारौंले रगत–पसिना बगाएका छन् । अहिले यो पार्टीको देशभर सबैभन्दा बलियो सांगठनिक नेटवर्क छ । जनताको उच्च सम्मान, माया, आशा, विश्वास र भरोसा छ । यस्तो लोकप्रिय पार्टीको नेतृत्व अब युवाहरूले लिनुपर्छ । गणतान्त्रिक संविधान निर्माण भएपछि अब नेपालको मुख्य एजेन्डा आर्थिक समुन्नति र चौतर्फी विकास हो । आर्थिक समृद्धिको अभियानलाई जबजको मार्गदर्शनमा अघि बढाउन युवा पुस्ताले पहलकदमी लिनुपर्छ । विगतको हाम्रो गौरवशाली इतिहासप्रति गर्व गर्दै युवा पुस्ताले त्यसलाई स्मरण गरिरहनुपर्छ । विगतमा एमालेबाट गल्ती तथा कमजोरी पनि भएका छन्, त्यसलाई सधैं हेक्का राखेर अघि बढ्नुपर्छ ।
नेपालमा एमालेको भविष्य उज्ज्वल छ । तर, चुनौतीहरू पनि त्यत्तिकै छन् । आज दक्षिणपूर्वी एसियामा कम्युनिस्ट वाम आन्दोलन ओरालो लागेको छ । दक्षिणपन्थी शक्तिहरू हावी भइरहेका छन् । दक्षिणपूर्वी एसियामा नेपाल मात्र एउटा यस्तो देश हो, जहाँ कम्युनिस्टहरूको लोकप्रियता बढिरहेको छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिक्रियावादीहरूले नेपालमा पनि कम्युनिस्टहरूलाई असफल पार्न हर प्रयत्न गर्नेछन् । एमालेलाई एक्लो पार्ने खेल शुरु भएको छ, यसतर्फ चनाखो हुन जरुरी छ । वामपन्थी, लोकतान्त्रिक, राष्ट्रवादी शक्ति, पार्टी र व्यक्तिहरुलाई अधिकतम रुपमा सँविधान वरिपरी एकताबद्ध गर्दै राष्ट्रिय सहमती र सहकार्यतर्फ अग्रसर गराउनेतर्फ पहल गर्ने थप जिम्मेवारी एमालेमाथि थपिएको छ । यसमा व्यवहार कुशलता देखाउन सक्नुपर्छ । माक्र्सवादको सिर्जनात्मक विकास गर्ने मदन भण्डारीको सोचलाई नयाँ पुस्ताले सधैं सम्झनामा राख्नुपर्छ । देश विकासको क्रममा नयाँ परिस्थितिले नयाँ सम्भावना र चुनौतीहरू अगाडि ल्याइरहनेछ । यस्तो बखत एमाले पंक्तिले परिस्थितिको गम्भीरतातिर अध्ययन गरी सिर्जनात्मक सोचका साथ आम जनताको हित र मुलुकको समृद्धितर्फ अघि बढ्नुपर्छ । जबज भन्छ– जनतालाई सँगै साथ लिएर हिँड । एमाले पंक्तिले वामपन्थी, लोकतान्त्रिक शक्ति, पार्टी, समूह र व्यक्तिबीच व्यापक एकता गरी प्रतिगामी तत्वहरूका अनेक षड्यन्त्र निस्तेज पार्दै देशलाई समृद्धितर्फ लैजान अग्रसरता लिनुपर्छ ।
(घोस्ट राइटिङले छापेको स्वर्गीय अधिकारीको पुस्तकको ‘म र मेरो पार्टी’ बाट)