‘सकारात्मक सोच समूह’ के हो ?

कर्ण शाक्य

राज्यलाई सरापेर देश पार लाग्दैन । जति बेलासम्म जनताले नागरिकको जिम्मेवारी बहन गर्दैन, त्यो बेलासम्म समाज परिवर्तन हुँदैन । यही सोचबाट अभिप्रेरित भई क।स।को सकारात्मक सोच समूह गठन भएको हो ।

यो समूह कुनै राजनैतिक, धार्मिक गैरसरकारी संघ संस्थासँग आबद्ध छैन । मन मिल्ने साथीहरूसँग मिलेर पुगेन, भएन, हुँदैन, सकिदैनजस्ता नकारात्मक कुरा नगरी मैले ‘के गर्न सक्छु र के गर्दा राम्रो होला’ भन्ने बिषयमा चिन्तन मनन गर्ने हो । हाम्रो समस्या आकाशमा हैन, नाकमुनि छ । तर, ती साना समस्याहरू हामी बिर्सन्छौ । ‘बस यूँ’ सानो तर महत्वपूर्ण कुरालाई झकझकाउने अभियान हो यो ।

जुन बेलासम्म आममान्छेलाई विवेकको नियमले नियमन गराउन सक्दैन, त्यो बेलासम्म देशको कानुन प्रभावकारी हुँदैन । शैक्षिक प्रमाणपत्रले मान्छेलाई सफल त बनाउला तर असल नागरिक बनाउन सोचमै परिवर्तन आउनुपर्छ । ‘सकारात्मक सोच समूह’ भनेको ‘मैले के गर्नु हुन्छ, के गर्नु हुंदैन’ भन्ने चेतना, विवेक जगारण गर्ने अभियान हो । यो हरेक टोल, गाँउ, स्कुल, कलेज, अफिस, स्वदेश, विदेश जहाँ पनि खोल्न सकिन्छ । कसैलाई सोध्नु पर्दैन, कहीं दर्ता गर्नु पर्दैन, कुनै शुल्क तिर्नु पर्दैन ।

फुर्सत मिलाएर साथीहरू संगै बसेर ‘न’ भन्ने शब्दलाई नकारेर सकारात्मक सोचको मानसिक अभ्यास गर्ने र छलफलको क्रममा हरेकले आआफ्नो बिचार, उपलब्धी, अनुभव, सफलताको कथा सुनाउने हो । हाम्रो देशमा गाली गर्ने निकाय र संजालहरू धेरै छ। बस् यहाँ कसैले कसैलाई आलोचना, आक्रोश, तिक्तता पोख्न पाइदैन ।

‘सकारात्मक सोच समूह’ महत्वकांक्षी परियोजना हैन । मन, वचन र कर्मले स्वतस्फुर्त समाजसेवा गर्न चाहने अभियन्ताले फुर्सतको समयमा सकारात्मक सोच बाँड्दै समाज परिवर्तन गर्दै जाने एउटा सानो र सरल प्रयास र अभ्यास हो । आउनु होला, साथ दिनुस् ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button