अरुणा ! ग्रेट थ्यांक्यु फर मह एन्ड ‘कितने पाकिस्तान’

कमलेश्वरकाे अनुपमकृति ‘कितने पाकिस्तान’मा घाेत्लिँदा

अरविन्द रिमाल

२०७६, बैशाख २८ गतेकाे “नयाँ पत्रिका”काे “झन नयाँ” अङ्क । हिन्दी साहित्याकाशका एक नक्षत्र कमलेश्वरकाे कालजयी रचनाकाे परिचय गराउँदै डा.अरुणा उप्रेतीकाे भावविव्हलकारी चिट्ठीमा संक्षिप्त पाठकीय मन्तव्यसहितआफ्नाे प्रतिक्रिया पस्केकाे थिएँ । त्यसै दिनदेखि “कितने पाकिस्तान”काे शीर्षकले आकर्षण गरिरह्याे । याे कृति प्रकाशककै परिचयात्मक शब्दलाई नेपालीमा रुपान्तरण गर्दा “मानवताकाे ढाेकामा इतिहास र समयकाे एउटा दस्तक” हाे । उपयुक्त नेपाली शब्द चयन गर्न नपाउँदा उर्दूकै याे मनछुने शब्द नै माैलिक लागेकाेले त्यही राख्न मनलाग्याे । तर याे कृति त्यस्ताे हाेला भन्ने कतई कुनै छनक थिएन, आफूलाई ।

अरुणाले किताब ल्यायेर दिई, साथमा चिताैनकाे विशुद्ध मह पनि- पूरै एक लिटरकाे ! बिहान एक ठूलाे चम्चा बेसारसँग नटूटाई खानु भनेर ! दमकाे बिरामी जाे ठहरिएँ ।

बावुजत्तिकै माया गर्दछे, मेरा बालसङ्गाति चन्द्रधर उप्रेतीकाे याे छाेरी, मलाई । उत्साह- उमङ्ग- जाँगर- प्रेम – प्रसन्नता एवं सद्भावकी सिङ्गाे प्रतिमूर्ति छे, मेरी अरुणा । अथकरुपले गतिशील !

“डिल्लीबजारकाे लप्टनकाे हाटेल”लाई, प्रतिकूल स्वास्थ्यबीच, अन्तिमरूपले परिमार्जन गर्दाकाे बेला थियाे, त्याे । आफ्नाे देशकाे इतिहास- अवलाेकन गाथा हाे, मेराे प्याराे डिल्लीबजारकाे “लप्टनकाे हाटेल” । कवि श्यामदास वैष्णव यसलाई “जागरुकताकाे गाथा” नाम दिन्छन् ।

याे दायित्व पूरा गर्न सकेकाे आनन्दाेल्लासबीच एकदिन “कितने पाकिस्तान”काे पहिलाे संस्करणदेखि नवाैँ संस्करण पढ्न पुगेँ । त्यसपछि आफूभित्र भावनाकाे ज्वालामुखी जुन फुट्याे, त्यसकाे याे स्यानाे अंश मात्र हाे । झन, आठाैँ संस्करणमा अरुणाकाे ९ फेब्रुअरी, २००९ काे चिट्ठी पढ्दा आफूभित्र फूटेकाे भक्कानाे उसँग बाँड्दा “अरविन्दचाचा, किताबभित्र अदालती कार्बाई चल्दा कत्ति भक्कानाे फूट्छन् कत्ति, के बताउँ ?” भन्दा त आँशु नराेकिइकन, हरफहरु पढ्दै गएँ ।

याे विश्वब्रह्माण्डीय इतिहासवृत्तलाई सरसर्ति पाना पल्टाउँदै पढ्न सकिन्न । लेखककै भाषालाई नेपालीमा रुपान्तरण गर्दा: “मेरा दुई बाध्यताहरु (मजबूरियाँ) पनि यसकाे लेखनसित जाेडिएका छन् । एउटा त के भने कुनै नायक या महानायक सामुन्ने थिएनन्, त्यसैले मैले सयमलाई नै नायक- महानायक र खलनायक बनाउनु पर्‍याे अनि, दाेस्राे बाध्यता के भने यसलाई लेख्दै जाँदा मानाैँ याे मेराे पहिलाे रचना हाे भन्ने जस्तै आभाष लगातार भइरह्याे– लगभग त्यस्तै बयान गर्न नसकिने छटपटाहट (बेचैनी) र आफ्नाे असमर्थताकाे बाेधबाट गुज्रिरहेँ, म, आखिर याे उपन्यासलाई कहीँ गएर टुङ्गिनु नै थियाे । टुङ्गियाे पनि। तर मनकाे अभिलाशा (जिरह) अहिले पनि थामिएकाे छैन ।”

जहाँजहाँ साहित्यकार पाठकलाई अदालती कारबाहीकाे वर्णनमा पुर्‍याउँद छन्, त्यहीँ आफू पनि नपुगिरहन सकिन्न ।

महाभारतकाे युद्धमा मर्नेहरुकाे संख्या यमराजकाे किताबखानाका हाकिम चित्रगुप्तबाट सुन्दा एक सदस्यीय र एक कारिन्दावाला विश्व अदालतका न्यायाधीश अदीवलाई भयानकसँग रिङ्गटा लाग्छ, टाउकाे समातेर, दुवै हतकेलाले आँखा छाेप्दा आँसुले हतकेला भिजेकाे हुन्छ । निकैबेर यस अवस्थामा अदीव हुन्छन् । चित्रगुप्तलाई अरु काम भ्याउनुपर्ने हुँदा अन्तर्ध्यान हुन्छन् । केही बेरपछि आँखा खुल्दा अदीव आफ्नाे अघिल्तिर एकजना प्राणरहित जर्जर बूढाे मान्छेलाई पाउँदा चकित पर्दै साेध्दछन्:

“तपाईं काे हुनुहुन्छ ?”

“म तिमीजस्तै जनसाधारण हुँ। तिमी लेख्दछाै, म लेख्दिन । तर त्यस्तै खाले काम गर्दछु ।”

“कस्ताे काम ?”

“मेराे एउटा प्रयाेगशाला छ । म हरेक अभावग्रस्त, शाेषणग्रस्त, यातनाग्रस्त र मृत्युग्रस्त मान्छेकाे आँसू जम्मा गरेर राख्दछु ।”

“ए ! अनि तपाईँले के खाेज्नु’भा, मसँग ?”

“तिम्रा आँसू !”

“मेरा आँसु ?”

“हाे, मान्छेका आँसू जत्ति पवित्र अरु कुनै छैन यस दुनियामा, अदीव ! म तिनै पवित्र आँसूलाई अजुँलीमा भरेर लैजान्छु । तिनकाे अध्ययन गर्छु, तिनकाे सन्ताप, दुख, यातना र पीडालाई चिन्ने जाेहाे गर्दछु ।”

“तपाईं त बडाे आश्चर्यजनक प्रयाेग गर्नुहुँदाे’रै छ, हजुरबा ! यिनकाे कुनै निष्कर्ष पनि झिक्नुभएकाे छ, तपाईँले ?”

“छ,बाबू, छ ! तर मेरा निष्कर्षलाई काेही पनि वास्ता गर्दैनन् । न दुख टुङ्गिन्छ, न दुखहरु र विषमताका कारण । मेरा कुरा काेही सुन्दैनन् । म त खाली आँसु जम्मा गर्दै जान्छु, त्यत्ति ।”

“कहाँ जम्मा गर्नुहुन्छ ?”

“अश्रु सागरमा, बाबू ।”

अदीव झस्किन्छन् ।

“म सयाैँसय वर्षदेखि यही गरिरहेछु र यति नै समयदेखि मान्छेले प्रकृतिकाे शाेषण गरेकाे देखिरहेछु ! प्रकृति बाँझाे भएपछि मान्छेले मान्छेकै शाेषण गर्न थाल्याे । त्यसैले अब आँसूकाे बाढी नै आएकाे छ किनभने मान्छले मान्छेकै विरुद्ध अब यन्त्रकाे आविष्कार गरेकाे छ ।”

अदीव बूढालाई अरु छक्क परेर हेर्छन् ।

“हेर अदीव ! ब्रह्माण्डकाे अमूर्त पराशक्तिले त अशक्त भएकाे शरीरबाट आत्माकाे स्वाभाविक मुक्तिकाे लागि मृत्युकाे एउटा सामान्य विधान बनाएकाे थियाे । तर मान्छेले मृत्युकै आविष्कार गर्न थालेपछि युद्धहरुमा अप्राकृतिक मृत्यु हुन थालेका छन्, नरसंहार हुन थालेका छन् । म क्यै गर्न सक्दिन, बेवस छु ! त्यसैले अदीव, हरेक अप्राकृतिक मृत्युसँगै म पनि मरेकाे हुन्छु । … म कराेडाैँ, पद्म र नीलकाे संख्याहरुमा म बारम्बार र हरेक पटक मरिरहेछु, किनभने मनुष्यहन्ता मान्छेले एउटा अप्राकृतिक मृत्युकाे अन्वेषण गरेकाे छ ।”

“याे जरुरतै न’भा मृत्युकाे प्रतिकार कसरी हुन्छ त हजुरबा ?”

“हामीले मृत्युकाे साटाे जीवनलाई खाेज्नुपर्छ, अदीव ! र याे खाेजीकाे लागि मलाई तिम्रा आँसु चाहिएकाे छ । आँसु नै जीवनलाई जीवित राख्न सक्दछन् ।” वृद्ध अदीवका आँखाबाट आँसु निचाेर्दछन् अनि भन्छन्: “तिम्रा यी आासूकाे म अध्ययन गर्नेछु । मेरा कुरा त काेही सुन्दैनन् ! काेही रुन्छ भने आँसु लिन जान्छु । हाेइन भने म त्यही समुद्रकाे तीरमा बसेर काे राेएकाे छ, त्याे सुनिरहने छु । त्यसैबाट काे अप्राकृतिक मृत्युबाट मारिएकाे, त्याे थाहा हुनेछ, मलाई ।”

“याे अनावश्यक मृत्युबाट त्राण पाउन, जिन्दगीकाे सार्थक खाेजीमा काेही न काेही त निस्कनै पर्‍याे नि, हाेइन त हजुरबा ?”

“त्याे खाेजीकाे लागि हित्ती सभ्यताकाेे गिलगमेश निस्किसकेकाे छ, बाबु ! उसले त ‘म पीडासित लड्ने छु, यातना सहने छु, जे जसरी हाेस् मृत्यलाई जिती छाड्ने छु’ भनी घाेषणा गरिसकेकाे छ ।’

यसरी युरुककाे सम्राट गिलगमेशकाे धीर- गम्भीर साह्रा ब्रह्माण्डमा गुँञ्जिदै जान्छ !

यात्राकाे क्रममा उसले मित्रता भन्ने तत्त्वलाई पनि खाेजेर पत्ता लगाउँछ । मृत्युविरुद्ध बाँच्ने ओैषधि राख्ने वैद्यकाे जानकारी उसले आर्य सभ्यताकाे एउटी मत्स्य कन्याबाट पाउँछ । उ त्याे सागरतटमा पुग्छ जहाँबाट अथाह जलतलमुनिकाे प्रदेशमा पुग्ने जलमार्ग जान्छ जहाँ ती धन्वन्तरि आफ्नाे मुक्तिदायक ओेैषधिलाई लुकाएर बसेका हुन्छन् ।

गिलगमेश अथाह पानीकाे त्याे तलहीन संसारमा ओर्लिँदै जान्छ, ओर्लिँदै जान्छ ।

सयाैँ सय वर्ष भइसक्छ, गिलगमेशकाे जलयात्रा थामिएकाे हुँदैन । ओेषधि खाेज्दै उ सागरतलकाे गहिराईमा ओर्लिँदै गइरहेकाे हुन्छ, फर्केकाे हुँदैन ।

र, त्यति बेलै ब्रम्हाण्डकाे कुनै कुनाबाट फलामे जंजीरा ठाेक्किएकाे आवाज आउँदछ अनि प्रमथ्युकाे आवाज सुनिन्छ:

“गिलगमेशलाई सुरक्षित राख, उसलाई भन: तुलसीकाे दाहिने दिशाबाट पातालकाे आखिरी तहतिर एउटा जलमार्ग जान्छ । बाटाेमा अग्निवन आउँछ। त्यही अग्निवनकाे एकापट्टि सूर्यकाे अस्ताचल छ, र अर्काेपट्टि चाहिँ सपना नगरी छ । त्यसै नगरीमा लुकेर बसेकाे छ धन्वंतरि– जीवन ओेषधिकाे उत्तराधिकारी ! त्यही ओैषधिले नै मृत्युबाट मुक्ति दिन सक्दछ ।”

यसपछि अनेक पटक इतिहास राेकिँदै जान्छ । मनुष्य पछुताउँदै जान्छ ! शासकहरुले छिनभरमा गरेका गल्तीबाट जनसाधारणले सयाैँ वर्षसम्म दण्ड- सजाय पाउँदै जानू परेकाे हुन्छ ।

यता इतिहासका अपराधलाई दाेहाेर्‍याएर बुझ्दै जाँदा अदीवलाई भारतमा अङ्ग्रेज उपनिवेशकाे आखिरी गभर्नर जनरल आततायी Louis Mountbattenले आफ्नी पत्नी इडविनालाई सुनाएकाे मानवद्वेषी शब्दहरु सुन्नै पर्नेहुन्छ, जसकाे विभाजनकारी याेजनाका कारण बगेकाे रगतकाे खाेलाेकाे दाँजाेमा त पहिलाका आक्रमणकारीहरु पनि “संवेदनशील” लाग्छन् ।

आफ्नाे मुलुककाे माटाे-हावापानीले सिंचित माैलिक विचार एवं धारणालाई आधार बनाएर यी सर्जकले भारतकाे साहित्यिक इतिहासमा एउटा बेजाेड, विलक्षण, अप्रतिम तथा अतुल्य प्रगतिशील रचना सिर्जेका छन् । यसप्रकारबाट उनले विश्व साहित्य- भण्डारमा एउटा अमिट धराेहर थपेका छन् ।

आज प्रगतिशील शब्दकाे सच्चा माने एवं भाव अनूभुत गर्न पाइन्न । आजकाे “प्रगतिशीलता” त यात दलीय स्वार्थपूर्तिकाे साधन भएकाे छ, या आफ्नाे नेपाली राष्ट्रियतालाई नकार्ने धृष्टताकाे अभिव्यक्ति भएकाे वा कुनै कुत्सित अभिष्ट साध्ने मखुण्डाे भएकाे छ । अनि हुन पुगेकाे छ, बाह्य शक्तिकेन्द्रकाे दुहुनाे साेझ्याउने राष्ट्रियताविराेधी परियाेजना तथा मुलुककाे सार्वभौमिक अखण्डतालाई टुक्याउने एउटा प्रायाेजित अभ्यास । त्यसैले त कमलेश्वरका शब्दहरु पढ्दा मानवता आज पनि संसारमा कहीँ न कहीँ जीवित भएकाे अनुभूति हुन्छ । त्यसैले त याे कृतिले विश्व नागरिक बन्ने चेत जगाउँदछ, असीममा प्रवेश गराउँदछ किनभने, मेरा सद्गुरुदेव स्वामी सत्यदेवका शब्दमा “सीमाभित्र त पशु रहिरहेकै छन् नि !”

यहाँ पनि बाेकासा, ईडि अमीन,चाेम्बेका पूर्वजहरुका नृशंसतालाई इतिहासकाे अदालतमा डाम्न माग गर्ने “मुर्दाहरु”काे ज्यूँदाे आवाज टडकारै सुनिन्छ । त्यहाँ हाम्रै प्रजातन्त्र पुनर्स्थापना आन्दाेलनमा शहीद भएकाले पनि आततायीहरुमाथि फैसलारुपी ओैँला ठड्याएकाे पाइन्छ । यस कृतिमा के पाे छैन ? प्रख्यात भारतीय साहित्यकार राजेन्द्र यादव भन्छन्: “इस रचना मे लेखक ने इतिहास ओैर भूगाेल की सीमाओं काे ताेड्ने का प्रयास किया है । यह मनुष्य की वास्तविक समस्याओं ओैर चिन्ताओं काे सामने रखने की काेशिश करती है ।” लेखक स्वयंले पाँचाैँ संस्करणकाे भूमिकामा लेखेका छन्: “वैश्विक चिन्तओं के बीच इसमे हर देश मे माैजूद ‘अपने देश’ काे पहचानने की काेशिश की गई है ।” त्यसैले हाेला, उनले याे उपन्यासकाे संक्षिप्तमा पनि संक्षिप्त भन्नमिल्ने मन्तव्य कुनै अज्ञात शायरका पङ्तिकाे सहाराबाट यसरी व्यक्त गरेका छन्:

इन बन्द कमराें मे मेरी सास घुटी जाती है
खिडकियाँ खाेलता हूँ ताे जहरीली हवा आती है

आजकाे रावण
र त्यसकाे सरदार!

यहाँ वर्तमान कालखण्डकाे दशानन NATO ले स्वतन्त्र- सार्वभाैम राष्ट्र युगाेस्लाभियालाई टुक्याउँदै गरेकाे आपराधिक कर्तूतकाे भण्डाफाेर छ- “सागर पार एक ओैर राक्षस उसका सरगना है”, कृतिकाे एउटा पात्र हामीलाई सचेत गराउँदछ, जुन हाे United States Military – Industrial Complex, अर्थात् विश्व साम्राज्यवादकाे छद्म शक्तिकेन्द्र । यहाँ, हामीकहाँ पनि Magna Charta काे दुहाई दिँदै, Bill of Rights काे ड्रम बजाउँदै, Liberty, Equality and Fraternity काे बिगुल फुक्दै, कहीँ तु EU रुपी Social Democracy, कहीँ त Peoples’ Welfare काे लेबुल लगाउँदै, कहिले त लाल किल्लाबाट “वन्दे मातरम्” काे माला घुमाउँदै अरु देश र जनताकाे संस्कृति, सभ्यता, इतिहासआदि मानवीय मूल्य एवं मान्यतालाई विध्वंश तथा हिँसाद्वारा धरासायी गर्न र गराउनमा लागिपरेका मखुण्ठाेहरुले अट्टहास गरिरहेकाे देख्दछाैँ । यहीँ हामी “हाम्रा” लाेकतन्त्रवादी, गणतन्त्रवादी, राजतन्त्रवादी तथा नामधारी नागरिक अधिकारवादीहरु तिनै मखुण्डाेधारीकाे खटनपटनमा आआफ्ना राजनीतिक जडाउरी मखुण्डाे प्रदर्शन गरिरहेका पनि देख्दछाैँ । तसर्थ, फेरि पनि मेरा सद्गुरुका शब्दमा “सृजना मिथ्या हाेइन, हाम्रा कामनाहरु मिथ्या हुन्” भन्ने शब्दध्वनिलाई जाेडदार ढङ्गले यी आध्यात्मिक सर्जकले इतिहासकाे ढाेकामा “दस्तक” दिइरहेका छन्, उपन्यासकाे अदालती सुनवाईबाट ।

एकछिन पख्नाेस्, है, म एउटा आर्तनाद सुनिरहेछु: “नाटाे के राक्षसाें र तिनकाे सरदारले आफ्ना स्वार्थका लागि हामीलाई बर्बाद गरिदिएका छन् । वे तिनीहरु मेरे स्वायत्तता संपन्न देशलाई टुक्र्याएर काेसाेवाेलाई नियन्त्रणमा राख्न चाहन्छन् ।”

“तर किन ? आखिर याे नियन्त्रणकाे राजनीति भन्या के हाे ? अदीव दस्तकलाई साेध्छन् ।

“श्रीमान अदीव ! नियन्त्रणद्वारा आत्माहरुलाई फाेडिन्छ … अनि तिनलाई विभाजित गरिन्छ … तिनमा साँस्कृतिक प्रतिराेधकाे शक्ति विखण्डित गरिन् अनि बाजारवादी जुकाहरुले त्यस विभाजित राष्ट्र र जातिका सारा रगत चूस्दछन् । खण्डित सँस्कृतिका मशानहरुमा अनि उत्सवकाे बाजार स्थापित लाग्दछन् …!”

ओहाे ! अध्येताका मखुण्ठाे लाएका म्लेच्छहरु, हाे, म्लेच्छहरुकै खटनपटनमा हाम्रा, राष्ट्रिय अखण्ड संस्कृतिका महाअभियन्ता डा. जगमान सिँह गुरुङ्गलाई तिनले डाम्न थालिसकेका छन् । अब त्यही प्रहार हाम्रा शताब्दी संस्कृतिविद् सत्यमाेहन जाेशीमाथि नपर्न कति बेर ? हाम्रा इतिहासपुरुषत्रय टङ्कप्रसाद आचार्य, विश्वेश्वरप्रसाद काेइराला तथा पुष्पलाललाई तिनीहरुले हदैसम्म ओझेलमा पारिसकेका छन् भने, अरु काे बच्लान् ?

पुस्तककाे आखिरी आखिरीतिर:

“श्रीमान, मृत्युबाट मुक्तिका लागि केही त गर्नैपर्ने भाे, हजुरले”, एकदमै स्वाँफ्वाँ गर्दै कारिन्दा महमूद अली अदीवकाे अदालतमा हाजिर हुन्छ ।

“उता जीवनाैषधि कसैले कब्जा गरेर राख्याराख्यै छ, यता संसारमा सबै प्रयाेगशालाहरुमा भीषणतम र अधिकतम मात्रामा मृत्युकाे उत्पादन गर्ने हाेडबाजी मच्चिरहेछ । सफल परीक्षणपछि युद्धरत राजनीतिक सत्ताहरु मृत्युकाे थाेक उत्पादन गर्नेछन् ।केही गर्नाेस्, श्रीमान, केही गर्नाेस् । नत्र भने ब्रह्माण्डबाट पृथ्वीकाे नामनिशानै मेटिने छ ।”

यस कुराबाट चिन्तित भएका अदीवले अमेरिकाकाे लाेस- अलामाेसकाे प्रयाेगशालामा ओपेनहाइमर, जाेन मेनली, टेलर र फर्मी आणविक र हाइड्राेजन बमजस्ता सृष्टिसंहारक बम बनाउनमा लागीपरिरहेका थाहा पाउँदछन् । कुनै कुनै प्रतिभासम्पन्न वैज्ञानिक बम बनाउने काममा सहयाेग गर्न नमानेकाे सुन्दा काेही र कसैकसैले त जिन्दगीलाई साथ दिइरहेकाे खबरबाट चैनकाे सास फेरिरहकै एकदिन हालैकाे अतीतकाे रगतपच्छे इतिहास फर्केर आउँद छ !

६ अगस्ट १९४५, अमेरिकाद्वारा हिराेशिमामा आणविक हमला, पृथ्वीमा प्रलय, पूरै शहर ध्वस्त । डेढ सय माइल परकी एउटी अन्धी केटीले दनदन बलेकाे सूर्य देखेकाे बताउँछे ।

आणविक बमबाट भएकाे विनाशकाे खबर थाहा नपाएकाे एउटा नागरिकले घर फर्किँदा आफ्नाे घर फेला पार्न नसक्दा ९ अगस्ट १९४५ मा खसेकाे हाइड्राेजन बमले उसलाई त्यस्ताे हुनुमा छक्क नपर्नु भन्दै नागासाकीलाई पनि अब चिन्न सक्नेछैन भन्ने खबर सुनाउँछ ।

पत्याउनै नसकिने अपराधकाे खबरबाट विक्षुब्ध भएका अदीवकाे अदालतकाे ढाेका ढक्ढकाउँदै क्षत- विक्षत हिराेशिमा न्याय पाउन आउँदै भन्छ: “विनाश वर्षाउने यी बमहरु बनाउने वैज्ञानिकहरु र तिनलाई चलाउने राजनेताहरु त अहिलेसम्म खुला घुमिरहेका छन् ! तिनलाई कुनै सजाय दिने तजवीज हुनुपर्‍याे, श्रीमान ! नत्र त तिनकाे हाैसला बेकाबू हुन जानेछ ।”

महमूद ती अपराधीहरुलाई एकएक गरी हाजीर गराउँदछ अदालतसामु ।

अमेरिकी राष्ट्रपति आफ्नाे थ्री पिस सूट सम्हाल्दै आउँदछन् ,ट्रूम्यान बडाे अक्कड देखाउँदै आफ्नाे टाईकाे गाँठाे मिलाउँदै आउँदछन् । उनीसँगै म्यानहैटन परियाेजनका सर्वेसर्वा नाेकरशाह ग्राेब्ज आफ्नाे बाहिर निस्केकाे भूँडी सहलाउँदै आउँदछ । सारा अणु वैज्ञानिक पनि हाजीर गराइए हुन्छन्– ओपनहाइमर, फर्मी, इडवार्ड टेलर, आर्थर काेम्पटन र कानेन्टसँगै जिलार्ड पनि । ती सबैलाई देख्नासाथ हिराेशिमा चिच्याउँछ: “यिनै हुन् सबै राक्षस ! हत्यारा ! मानवीय सभ्यता र सँस्कृतिका अक्षम्य शत्रु”। अनि चित्कार गर्दै हिराेशिमाले राष्ट्रपति ट्रूम्यानकाे घाँटी समात्छ । महमूदले बल्लबल्ल छुट्टाउँछ । ट्रूम्यानकाे पूरै लुगा हिराेशिमाकाे पीपले भिज्दछ ।

भरिभराउ अदालतमा सीधा सीधा नृशंस मानव- हत्याकाे मुद्दा चल्छ ।

ट्रूम्यान जिम्मेदारीबाट पन्छिन खाेज्दै यताउति हेदै निरुत्तर हुन्छन् !

“याे अमानुषिक र बर्बर फैसला यी यी तीन राक्षसहरुले गरेका हुन्, हजुर” भन्दै महमूद अलीले ट्रूम्यानकाे राजनीतिक सल्लाहकार स्टिमसन, लाेस- अलामाेस प्रयाेगशाला र म्यानहैटन परियाेजनका तानाशाह जर्नेल ग्राेब्ज र भाैतिकशास्त्री ओपनहाइमरलाई ओैल्याउँदै भन्छ: “श्रीमान अदीव ,यी तीनैजना हिटलर, मुसाेलिनी, ताेजाे जत्तिकै युद्ध अपराधी मात्र हाेइनन्, यी त तीभन्दा पनि सङ्गीन अपराधी हुन् ।”

” यी हत्यारा हुन् !”

“यी मानवजातिका शत्रु हुन् !”

“यी रक्तजीवी राक्षसहरुलाई यही अदालतमा मृत्यदण्ड दिइयाेस्” भन्दै हिराेशिमा चिच्याउँदछ, उसैसँग आहत नागासाकी पनि उभ्भिएकाे हुन्छ ।

न्यायमूर्ति अदीवकाे गर्जनाद हुन्छ: “हाेइन, हाेइन ! धूर्त, दुष्ट, दुर्जन मानवहन्ताहरुका लागि मृत्यदण्ड त वरदान हुनेछ, किनभने यमराजकाे नर्क र हेडीजका यन्त्रणास्थलले पनि यी अधम आत्माहरुलाई लिन मान्ने छैनन् । सृष्टिको इतिहासमा याे जघन्यतम र कल्पनातीत पापकाे एक्लाे उदाहरण हाे । पापीहरुका पापकाे याे पराकाष्ठा हाे । यी एटमयुगकाे पुराणकथाका हिंसक दैत्यका रूपमा चिनिने छन् । यिनका नैतिक आत्माले कतै कुनै अन्तिम विश्रामस्थल पाउने छैनन् । हत्याबाट यी शाेकमुक्त हुने छैनन् । आत्महत्याबाट यिनले पश्चाताप पाउने छैनन् । प्रेत पनि विक्षिप्त हुँदैनन् । परन्तु यी तीनैजना विक्षिप्त प्रेतात्माका रूपमा सृष्टिको अन्त्यसम्म आआफ्नाे खप्पर ठटाएकाेठटायै हुन्छन् । यी अधम आत्माले टाउकाे ठाेकेकाे आवाजले मनुष्यकाे विवेकमा सधैं दस्तक दिइरहेकाे हुनेछ । अनि, अनि,” भन्दाभन्दै उनकाे चेहरा पसीनाले लथपथ हुन्छ, उनलाई सासै थुनिएकाे जस्ताे हुन्छ । महमूद दगुर्दै आएर “लाै न, हजुरलाई के भाे ?” भन्छ ।”

“महमूल अली, दिल भएकाे बस्ती भयङ्करसँग दुखिरहेछ,” अदीव बल्लबल्ल बाेल्न सक्छन् ।

दिलका बचेखुचेका बस्तीहरु अब खाली अस्पतालमा बसेका हुन्छन्, महमूदले न्यायमूर्ति अदीवलाई त्यस्तै एउटा बस्तीमा भर्ना गरेकाे हुन्छ ।

तीन दिनपछि अदीवकाे हाेश खुल्छ ।

सन् १९९८,मे महीनाकाे ११ तारीख, दिउँसाे ३:४५ बजे, बुद्धपूर्णिमाकाे दिन ! मरुभूमिमा धमनीहरु फाट्दछन् । धर्ती थर्किन्छ ।

भारतकाे पाेखरानकाे काेखमा नाै सय फीट तल एकपछि अर्काे गरी तीन पटक विष्फाेट हुन्छ ।

अदीवलाई फेरि मुटुमा असह्य पीडा हुन्छ ।

फेरि पाकिस्तानकाे बलुचिस्तानकाे चगाईमा विष्फाेट हुन्छ । फेरि पाेखरानमा एउटा, फेरि चगाईमा एउटा अर्काे विष्फोट हुन्छ ।

अदीवलाई पहिलेकाे भन्दा बढी मुटुकाे व्यथा हुन्छ । चिन्ताग्रस्त महमूदलाई अदीव यसपाला त दिलका बस्तीहरु खरानी भएकाे बताउँछन् ।

अदीव फेरि आईसीयूमा पुर्‍याइन्छन्, यसपाला आफू कति दिन बेहाेश भएकाे थाहा हुँदैन, उनलाई । हाेश खुल्दा उनले पसीनाले लथपथ शरीरलाई प्रेमिका सलमाले ताैलियाले सम्हालेर पुछिदिरहेकाे देख्छन् । विचरी सलमा, उसकाे आफ्नै पीर– आमाबाबु भारत विभाजनताका पाकिस्तान सरेका, बज्यैबाजे भारतकाे बिहारमै बसेका, हुकिँदाे छाेरा, यता प्रियतमकाे याे अवस्था ।

अश्रुवैद्य, प्रमथ्यु, हिराेशिमा, नागासाकी एकएक गरी अदीवकाे हालखबर बुझ्न आउँदछन्, उनकाे लागि शीघ्र स्वास्थ्यलाभकाे कामना गरेर फर्किन्छन् ।

साँझपख महमूदले एकजना महिलाले भेट्न चाहेकाे बताउँदछ । महिलासँग झम्का भेटहुँदा अदीव चकित पर्छन्, उनै विद्या — उहिल्यै कलेजकी सहपाठी । अहिले भाग्यचक्रले गर्दा पाकिस्तानमा घरजम गरेकी परी नामकी महिला !

“कितने पाकिस्तान” अनेक दृष्टिबाट उल्लेखनीय छ, जसकाे बारेमा सुुविख्यात भारतीय साहित्य सर्जक अमृता प्रीतम यसरी वर्णन गर्दछिन्: “याे उपन्यास बीसाैँ शताब्दीकाे उपलब्धि हाे । राम्रा पुस्तकहरु हर कालमा हाम्राे सामु आउँछन् नै, आउँदै जाने पनि छन् तर यस्ताे सृजनाकाे अभाव रहिरहने छन् ।”

उनले “टाइम्स अफ इण्डिया”मा लेख्दै भनिन्: सलमान रुश्दीलाई भारतीय साहित्य जान्नु- थाहापाउनु छ भने उनी ‘कितने पाकिस्तान’ पढून् ।”

यहाँ “मनुष्यले पत्ता लगाई सकेका प्रेम, मित्रता र शान्ति जस्ता तत्वहरु पत्ता लगाउन तिमीहरुलाई कसले राेकेकाे थियाे, हँ ?” भनी विभिन्न देवलाेकका अधिपतिहरुलाई प्रश्न गर्दै तिनकाे व्यभिचार र यथास्थितिवादकाे भर्त्सना गरी देवलाेक छाडेर पृथ्वीलाेकका मित्रता तथा शान्तिप्रेमी मनुष्य समुदायसँग मितेरी लगाउन आएका देवदूतहरुकाे पनि प्रसङ्ग छ, यस उपन्यासमा ।

अब परीकाे प्रसङ्ग !

परी विस्तारै मुस्काउँछिन् ।

“थाहा छैन, तपाईँले पाउनुभयाे कि भएन, शुरुमा मैले तपाईँलाई एउटा चिट्ठी पनि लेखेकी थिएँ– बाल्यकालका भावनाले भरिएको एउटा चिठ्ठी थियो, त्याे ।”

“मैले चिट्ठी पाएँकाे थिएँ । अहाेभाग्य नै भन्नुपर्‍याे, नत्र ठेगानाहरु यति काटिइसकेका थिए कि यति धेरै फेरिएका कि चिट्ठीकाे विषयकाे त के कुरा सलाम, नमस्मार पनि भेटिने थिएन,” अदीव प्रसन्नभावले जवाफ दिन्छन् ।

त्यतिकैमा छोरा आइपुग्छ । परी परिचय गराउँछिन्:

“परवेज ! मेरो छोरा, र परवेज…उहाँ नै ती सर्जक, जसको एउटा कथा मैले तिमीलाई सुनाएकी थिएँ ।”

“नमस्कार !”

“नमस्कार !”

परी कुर्सीबाट उठ्दा उनको रुमाल तल खस्छ । अदीव रुमालतिर हेर्दै भन्छन्: “तपाईँकाे रुमाल ।”

“धन्यवाद” भन्दै परीले रुमाल उठाउँछिन्, “खुदा हाफिज” भन्दै परवेजसँगै बाहिर निस्किन्छिन् ।

अदीव हेर्‍याहेर्‍यै हुन्छन् ! उनी आफ्नाे कुरा भन्न र साेध्न पनि चाहन्थे, परीलाई, “पोखरानपछि हाम्रा सबै मुजूरहरु कि त मरे कि त देश छाडेर गए .. तर के चुगाईपछि तपाईँका खजूरका बाेटहरुमामाहुरीहरू अझै पनि आउँछन् ?”

साेध्न पाउँदैनन्, परी हिँडिसकेकी हुन्छिन् । तर रुमालले अदीवलाई बिर्सिसकेकाे कहानी सम्झाउँदछ । गर्मीकाे छुट्टीमा आआफ्नाे घर फर्किँदा कानपुर रेलवे स्टेशनमा विद्याले उनलाई अगाडिकाे पढाइ बाबुआमाकाे चाहनाले गर्दा राेकिनुपर्ने भएकाे बताउँदा कस्ताे कस्ताे नरमाइलाे मानेका थिए, दुवैले । आफ्नाे घर पुर्‍याउने छाेटी लाइनकाे रेल समात्न पुलमाथि उक्लिँदै आफ्नाे प्लेटफार्मतिर माेडिँदा विद्याले आफ्नाे रुमाल तलतिर खसालिदिएकी थिइन् । उनकाे गाडी पनि छुट्ने सिट्ठी बजिसकेकाेले उनी रुमाल टिप्न जान भ्याएनन् । विद्याकाे कुराबाट उनकाे बिहे चाँडै हुनेभन्ने बुझिन्थ्याे । त्यसपछि विद्यासँग उनकाे भेट हुँदैन– “उ जिन्दगीकाे कुन सफरमा हाेली !”

कति वर्ष बिते कति, कति शहर र कति घरडेरा सरे कति उनी !

पाँच पटक ठेगाना फेरिएकाे लेखिएर उनकाे हात परेकाे चिठी त्यही थियाे, जसकाे उल्लेख परीले अस्पतालकाे काेठामा सुनाएकी थिइन् । अहिलेकी परी, खसेकाे रुमाल, उहिलेकी विद्या र खसेकाे रुमाल– एउटै कथाका गाँसिएका थुँगा ! अदीव जिन्दगीकाे रहस्यमयी खेलमा डुब्दछन् ।

उनका कहानी चलिरहेका हुन्छन् जसकाे दु:ख वा सुख आफैँ हेर्न चाहने बम्बईकाे बाँद्रा मशसजिद वा माउण्ट मेरी गिरजाघरमा मागेर जेगारा गर्ने कबीर अब खालि सुन्नसक्ने मात्र भएकाेमा बिला‌ैना गर्छन् । यता सम्राट गिलगमेशलाई पनि अग्नि नदीकाे किनारामा उम्रेकाे तुलसीकाे बाेटका श्यामल पातहरुले छाया दिएर अग्निल लहरहरुबाट तुलसीका मञ्जरीहरुले बचाइदिएकाे त हुन्छन्। तर उनी धर्तीमा फर्किसकेका हुँद‌‌ैनन् । त्यस‌ले प्रमथ्यु “गिलगमेशलाई सकुशल राख, सुरक्षित राख” भनी अह्राइरहेका हुन्छन् ।

अन्धा कबीर अब माहुरी, मुजुर ,परेवा, बुलबुल, पुतली, जुनकिरी हाम्राे क्षितिजमा कहिल्यै आउने छैनन् भनी दु:ख मनाउँद‌ै सेताे लट्ठी लिएर कतै हिँडेका हुन्छन् ।

कबीरलाई अदीव साेध्दछन्: “हाेइन ? कहाँ, टाढै ?”

आफू यस पटक निकै टाढा जाने, पहिले पाेखरान, त्यसपछि चगाई जाने कुरा बताउँछन् कबीर ।

“किन र !”

केही बहुला मान्छेहरुले त्यहाँ शक्तिपीठ स्थापना गरी विषालु धुलाेलाई विभूतसरि बाँड्न चाहेकाे र साेमनाथ मन्दिरबाट रथयात्रा झिकी बावरी मस्जीद भत्काउनेहरुका अनुहार अखबारमा देख्या हाेइन ? भनी अदीवसँग झर्किन्छन् । अनि “त्यहीँबाट अघिलागेर तिनीहरुले बाबरी मस्जिद ढालेका हाेइनन् ?”

कबीरका आवाजमा निहित पीडा सहज बुझ्दछन्, अदीव । तर, “अन्धा कबीरले कसरी देख्ने ?” भन्ने कुरा अदीवकाे मनमा खेलेकाे बुझ्दा कबीर भन्दै जान्छन्: “अन्धाे छु म भनेका हाेलाउ, हाेइन ! हाे,अन्धाे भएकाेले नै म छर्लङ्ग देख्नसक्छु ।”

“तर त्यहाँ गएर तिमी गर्छाै, के ? तिमी गर्नै के सक्दछाै र,? मेराे मतलब, त्यहाँ जानाकाे उद्येश्य के भनेर साेधेकाे पाे ?”

“त्यहाँ गएर म रुख राेप्छु !”

“रुख ?”

“हाे बाेधिवृक्ष । मेराे याे झाेलामा त्यसकै बिरुवा छन् । बाेधिवृक्षका जरा नीलकण्ठले जस्तै साह्रा विष खाई दिन्छन् । पहिला ,बाेधिवृक्ष म पाेखरानमा राेप्छु, अनि सिमाना तरेर अर्काे बाेट चगाईका डाँडाहरुमा राेप्छु । अब म जाउँ ?

अदीव हेरिरहन्छन्: पहिले कबीरकाे लट्ठी अघि लागेकाे, त्यसपछि उसका पाइला अघि बढेकाे ।

यसरी आणविक खतराबाट हाम्राे यस दक्षिण एशियाली भूभागलाई बचाउनुपर्ने जीवन्त चेत अन्धा, भीखमङ्गा कबीरबाट दिएर कमलेश्वर यस अद्वितीय सृजनकाे बीट मार्दछन् भनेमा अत्युक्ति हुनेछैन !

जय नेपाल !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button