भ्रम भएपछि मान्छे सकिन्छ, डाइनोसर झैं

स्रष्टा र सृष्टि

दीन पन्थी

पृथ्वी गोल छ भकुण्डो झैं र सूर्यको वरिपरि घुम्छ भन्ने हामीले पढ्यौं । उखु गुलियो छ भन्ने हामीले जान्यौं । आगाले पोल्छ भन्ने हामीले बुझ्यौं । पृथ्वीलाई हामीले गोल बनाएका होइनौं । उखुलाई गुलियो रसले भर्ने हामी होइनौं । आगोलाई तातो बनाउने पनि हामी होइनौं ।

पृथ्वी रत्नगर्भा हुन् भन्ने हामीले बुझ्यौं । भूगर्भ खोतलेर हामीले रत्नहरु झिक्यौं । रत्नहरु हामीले बनाएका होइनौं । मान्छे स्रष्टा होइन । मान्छे आफै सृष्टि हो स्रष्टाको । स्रष्टाभन्दा सृष्टि शक्तिशाली हुँदैन । प्रकृति हुन् सृजनाकी खानी । मान्छे हो प्रकृतिको अनुयायी प्रत्यय । अन्वेषण, संयोजन र रुपान्तरणद्वारा प्रकृतिका रहस्यहरु बुझ्दैछ मान्छे । प्रकृतिलाई जित्ने असफल प्रयासमा छ मान्छे । पानी पर्दा छाता ओढेर हिड्छ । जाडो हुँदा आगो ताप्छ, लुगा ओड्छ । आँधी, तूफानमा घरभित्र ओत लाग्छ । यहाँ नभएको वस्तु छैन, भएको वस्तु हराउँदैन । तत्वहरु अविनाशी छन्, रुपहरु नाशवान् छन् । मान्छेले खेती गर्छ अर्थात् खन्छ, खोस्रन्छ, छर्छ ।

उम्रिने, हुर्किने, फुल्ने, फल्ने, पाक्ने प्रक्रिया मान्छेको होइन । मान्छेले भकारीमा राखेको धान उम्रिन्न, खेतमा छरेको उम्रिन्छ । पृथ्वी, जल, तेज, वायु र आकाशको संयोजन र सहकार्यमा खेती फल्छ । मान्छेले भन्छ, मैले खेती गरेँ । स्रष्टाको भावको भ्रम छ मान्छेमा । सृष्टिको प्रक्रिया स्वस्फूर्त, रहस्यमय र जादूगरी छ । विशिष्ट नियम र प्रक्रियामा चले झैं लाग्छ सृष्टि । विशिष्ट प्रयोजनका लागि भए झैं लाग्छ सृष्टि ।

व्यवस्था छ व्यवस्थित सृष्टिमा । भाले–पोथीको व्यवस्था सकल प्राणीमा छ । भाले पोथीमा मैथुनको प्रेरक कामवासना दुर्जेय छ । कामवासनाको व्यवस्था नभएको भए सबै भालेपोथी ब्रह्मचारी बस्थे । प्राणीविहीन बन्थ्यो जगत् । वनस्पतिमा पनि वृक्षमा बीजको व्यवस्था छ । बीजरोपणको व्यवस्था झन् दृढ छ । मान्छेले तोरी छरे झैं कुनै स्रष्टाले वनस्पतिका बीजहरु छर्दैन । आफै छरिने व्यवस्थित प्रक्रिया हुन्छ प्रकृतिमा ।

Ad

वृक्षमा बीज र बीजबाट वृक्ष बन्ने निरन्तर प्रक्रियामा सृष्टि जीवन्त बन्छ । स्रष्टा लुक्दछ, सृष्टि देखिन्छ । सबै वनस्पतिका बीज बन्छन् । उन्यूका पनि पातको पृष्ठमा सूक्ष्म फल लाग्छन् । भुवा वा पंख भएका बीजहरु हावाद्वारा छरिन्छन् । सिमल, सिसौ, सल्ला, लाँकुरी, टुनी, मौवाजस्ता वृक्षका बीजहरु उडेर कोशौं पर पुगेको हामी देख्छौं । जुन वनस्पतिका बीजहरु चराद्वारा छरिने व्यवस्था हुन्छ त्यस्ता वनस्पतिका फलमा मिठो आवरण हुन्छ । जस्तो पीपल, वर, स्वामी, खन्यू, खरी, घँगारु, चुत्रो आदिका मिठा फल चराले खान्छन्, उड्छन्, कोशौं पर गएर बिष्टाबाट बीजहरु वनभरि छर्छन् । कस्तो व्यवस्थित व्यवस्था छ सृष्टिको ! मान्छेले खेती गर्ने अन्नका बीजहरुले प्राकृतिक व्यवस्था गुमाएका हुन्छन् । ती नछरी, स्याहारसुसार नगरी हुर्कन्नन्, फल्दैनन् ।

हामी सृष्टि स्वतः हुन्छ भन्छौं । विना व्यवस्था आफै केही हुँदैन । व्यवस्था र प्रयोजन हुन्छ सबै प्रक्रियामा । पृथ्वी नघुमी सूर्य उदाउँदैन । सूर्य नउदाई, ताप नभई बाफ उड्दैन । बाफ नभई बादल बन्दैन । वायु विना बादल उड्दैन । बादलविना वर्षा हुँदैन । वर्षाविना लोकको पालना हुँदैन । सबै व्यवस्था प्रकृतिमा सृष्टि, स्थिति र प्रलयका निम्ति व्यवस्थित छन् । ब्रह्माण्डको गति, यतिमा लयबद्ध छन् स्रष्टाका व्यवस्थाहरु ।

प्राणीमा पनि बीजको व्यवस्था छ । बीजरोपणका लागि वासनाको प्रबन्ध छ । मातामा दूध र शिशुप्रतिको मोहभाव पनि एउटा व्यवस्था हो । जताततै प्रबन्ध, प्रयोजन र त्यसमा लयबद्ध छ सारा सृष्टि । कल्पवृक्ष हो पृथ्वी जे माग्यो त्यही दिने । जे रोप्यो त्यही फल्ने । स्रष्टाको सृष्टिमा अक्षय भण्डार छ । यो कुवेरको ढुकुटी हो । यहाँ फल छन्, जल छन्, अन्न छन्, धातु छन्, रत्न छन्, वृक्ष छन्,अमृत छन्, सञ्जीवनी बुटी छन् । अन्वेषण, संयोजन र रुपान्तरण गरे हुन्छ ।

सृजना गर्नु पर्दैन र मान्छे स्रष्टा पनि होइन । म स्रष्टा हुँ भन्ने भ्रम उत्पन्न भएपछि मान्छे आफै सकिन्छ, डाइनोसर झैं । सृष्टिका रहस्यहरु खुल्दै जालान्–अन्वेषणबाट । स्रष्टाको रहस्य रहस्य नै रहला । धेरै रहस्यहरु छन् प्रकृतिमा । अविदित छन् अझै मान्छेले जान्नु पर्ने कुराहरु । आजसम्मको उपलब्धि नै पूर्ण होइन । कहिल्यै पूर्ण हुँदैनन् खोजहरु । प्रकृतिमा सृष्टि, स्थिति र प्रलय तीनै छन् । सृष्टिका लागि मात्र व्यवस्था छैनन्, स्थितिका लागि पनि छन् । सकल प्राणीका लागि भोजनका प्रबन्ध छन् । जसको सृष्टि भयो, आज त्यसको स्थिति छ, भोलि त्यसको प्रलय अनिवार्य छ ।

स्रष्टाको अन्त्य छैन तर सृष्टिको अन्त्य निश्चित छ । स्रष्टामा जन्म र मृत्यु छैनन्, सृजनामा जन्म छन्, मरण छन् । त्यस महान् स्रष्टाप्रति नतमस्तक भएर भक्तिभाव अर्पण गर्छु, जसले यस सुन्दर धराधाममा प्रकट भई मनुष्यलीलाको कौतुकमय अभिनय गर्ने भूमिका दियो ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button