
वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका झुकाव
सम्वाद बस्नेत
आजभोलि आफ्नो मुलुक छोडेर विदेशमा गएर आफ्नो उच्च शिक्षा पूरा गर्ने प्रवृति बढेको छ । झनै नेपाल जस्तो विकासोन्मुख मुलुकका विद्यार्थीहरुले त उच्च शिक्षाको लागि विभिन्न देश छानेका हुन्छन् । आजसम्म आउँदा विभिन्न कारणले गर्दा वैदेशिक शिक्षामा आधुनिक विद्यार्थीहरुले निकै झुकाव राख्ने गरेका छन् ।
विगत ७ वर्षको तथ्यांकलाई केलाउने हो भने यस समय अवधिमा ३ लाख २३ हजार, ९ सय ७२ विद्यार्थीहरुले देश छाडेको पाईन्छ । आर्थिक वर्ष २०७५र७६ मा मात्रै ६३ हजार ३ सय ५९ विद्यार्थीले देश छोडेका थिए । २०६८र६९ को तुलनामा यो ७ गुणाले बढी हो । आजसम्म नेपालका ३ लाख भन्दा बढी विद्यार्थी विश्वभरीका विभिन्न विश्वविद्यालययहरुमा अध्ययनरत रहेको पाइन्छ ।
कोरोना महामारीका कारण अहिले यो दर केहि घटे पनि विद्यार्थीहरुले देश छोड्ने अवसरहरु खोजिरहेको पाइन्छ ।
नेपाली विद्यार्थीहरु १२ कक्षा उतीर्ण नगरी बाहिर पढ्न जान भने पाउँदैनन् । त्यसैले १२ कक्षा वा त्यही स्तरको ए लेभल्स, सिबिएसई वा अन्तरराष्ट्रिय बोर्ड जस्ता बोर्ड पढेर बाहिर जाने गर्दछन् । प्रायः १२ कक्षा पछि वा नेपालमा स्नातक सम्म पढिसकेर विदेशमा पढाई पूरा गर्न गएको पनि पाइन्छ ।
विद्यार्थीहरुको अध्ययन गर्न जाने पहिलो रोजाई भने अष्ट्रेलिया रहेको पाईन्छ । चालिस हजारको हाराहारीमा नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा पढाई पूरा गरिरहेका छन् । दोस्रो स्थानमा भने जापान पर्न सफल भएको छ । त्यसैगरी बेलायत, अमेरिका, क्यानाडा, भारत, बंगलादेशजस्ता मुलुकमा नेपाली विद्यार्थीहरुले अध्ययन गर्न रुचाएको देखिन्छ ।
नेपालको शिक्षा प्रणालीमा केही कमी कमजोरी देखिएर अथवा बाहिरको अध्ययनले आफूलाई दक्ष बनाउन या विकसित देशमा पढेर उतै रोजगारी हाँसिल गरी उतै जीवन ज्यूने हेतुले नेपाली विद्यार्थीहरु बैदेशिक शिक्षामा लाग्ने गरेको पनि पाइन्छ । कोही भने विदेशमा हाँसिल गरेको उच्च शिक्षाको माध्यमबाट आफ्नो देश बनाउँछु भन्ने उद्देश्यका साथ वैदेशिक शिक्षा अध्ययन गरिरहेका हुन्छन् ।
नेपालको राजनैतिक खिचातानी, व्यवहारिक, गुणस्तरीय र व्यवहारमुखी शिक्षाको कमी , शिक्षित र सम्पन्न जीवन जिउन मिल्ने खालको आर्थिक अवस्था नमिल्ने भएका कारण पनि नेपाली विद्यार्थीहरुको विदेशिने चाहना बढेको भन्नेहरु पनि छन एकथरी । आफ्ना छोराछोरीले आफूले जस्तै बर्षौसम्म दुःख गर्दा पनि जीवनस्तर उस्तैको उस्तै नहोस भन्ने चाहनास्वरुप अभिभावकले पनि विदेशतिरै पढ्न जाने वातावरण बनाइदिइराखेका हुन्छन् ।
वैदेशिक अध्ययनको डिग्रीलाई स्वदेशमै पनि रोजगारीको सिलसिलामा भिन्नै मान्यता दिने भएकोले पनि नेपाली विद्यार्थीहरु वैदेशिक अध्ययनमा आकर्षित हुने गर्दछन् । विश्व परिवेशसंगै भविष्य सुखी र समृद्ध बनाउने हेतु नै विद्यार्थीहरु विदेशतिर तानिने भएकोले नेपाल सरकारले शिक्षामा सम्भावना बढाउने, रोजगारीको प्रत्याभूति गराउने र विद्यार्थीहरुलाई विदेशमा पढेपनि आफ्नो माटोमा फर्केर देशको विकास गर्ने खालका उत्प्रेरणा जगाउनुपर्ने देखिन्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)




बस्तुगत लेख