
कोरोना समयले के सिकाउँदैछ ?
मृत्युबोध
आर.के. बस्न्यात
जन्म र मृत्युको बीचको अवधीलाई जिन्दगी भनिँदोरहेछ । जिन्दगीमा सुख र दुःख अनिवार्य भोग्नु र देख्नु पर्ने हुन्छ नै । कसैले सुखको मात्र चाहना राख्नु जीवनकै महाभूल हुन्छ । अनि दुःख मात्र भयो भन्ने बुझाइ पनि असन्तोषको उपज हो । प्रत्येक जिवित प्राणीको कुनै एक दिन अन्त्य ध्रुवसत्य छ । यति हुँदा पनि मान्छे किन हरपल डराएको हुन्छ ? मूल प्रश्न यहीँबाट शुरू हुन्छ ।
जीवनमा बिमारी पर्नु वा कुनै समस्या आइपर्नु सकारात्मक चक्र भित्र पर्दोरहेछ । सधैं सुखको चाहना राख्ने व्यक्तिले प्रायः जिन्दगीभर तनावग्रस्त समय व्यतीत गर्दोरहेछ । ढिलो वा चाडो एकदिन जिन्दगीको अन्त्य हुन्छ भन्ने सत्यलाई बुझेको व्यक्तिले मृत्युलाई खासै महत्व दिएको पाइएन् । इतिहास भन्दा अर्को सत्य दुनियाँमा अर्को पक्कै नहोला । विगतको जीवनचक्रलाई नियाल्दा क्षणिक अनुभूति मात्र होला तर त्यो विगतलाई गहिरिएर घोत्लँदा पक्कै जिन्दगीको परिभाषा बुझ्न कठिन पर्दैन । एक पटक हामीले आफ्ना अग्रज जिजुबराजुलाई सम्झने हो भने मात्र पनि मृत्यु र जिन्दगी बुझ्न सजिलो हुँदोरहेछ ।
आजको दिनमा धेरै मानिस आर्थिक रुपले धनी छन् । कार, हवाइजहाज, बैंक ब्यालेन्स, जग्गा जमीनसहित अमिर देखिन्छन् । धेरै मानिस ठाटको जीवन बिताउदै गरेका देखिन्छन् । उनीहरुको वास्तविक जिन्दगी साच्चै नारकीय हुन्छ भन्दा तपाईहरूलाई अचम्मलाग्दो हो । तर सत्य यहि हो झुपडीमा बस्ने जतिको सुखी र खुशी महलमा बस्नेहरू पक्कै छैनन् ।
यतिसम्म हुन थाल्यो कि आखिर मर्नदेखि डराएर महलमा बस्नेलाई जिन्दगीभर आफूलाई कडा दबाइको सहारा बनाएर नपुगेर मर्ने बेलामा समेत सजिलै मर्न दिँदैनन् । उनीहरू जिन्दगीको अन्तिम क्षणमा समेत ढुकढुकी बचाउन कडाभन्दा कडा दबाईले यातना दिन पछि पर्दैनन् । तर झुपडीमा बस्नेले मृत्युलाई सजिलै पचाइदिन्छ । आफूले मृत्युवरण गर्नुपूर्व आफुले आफैँलाई यातना दिने चेस्टा कदापी गर्दैन । जसले मृत्युलाई बुझ्न सक्यो त्यसले दुनियाँमा बाचुन्जेल भोग गर्यो । मोजमस्ती उसैले गर्यो । आनन्दमयी जिन्दगी उसले बितायो । तनावग्रस्त जीवनबाट ऊ मुक्त भयो ।
तर, आलिसान बङगलाको मालिक, पैसाको मालिक, गाडीको मालिक भने जीवनभर तनावग्रस्त जीवन बिताउदै अन्तिममा समेत आफू र आफ्नालाई झनै तनाब थपेर लिला समाप्त गर्छ । यति हुँदा पनि बाँकी सदस्यले चेत नखुलेर होला पुनः दुःख निम्त्याउदै अग्रजको मार्ग समाउन पुग्छन् ।
तसर्थ एकपटक जिन्दगीको परिभाषा वास्तवमै बुझ्न सक्ने हो भने सरुवा रोगब्याधी, कालचक्र, रुढीवादी अनि मृत्युको भयबाट तुरुन्तै मुक्त हुनसकिन्छ । मुखले खुब क्रान्तिकारी बहस गर्ने तर वास्तविक जिन्दगीमा खासै उतार्न नसक्ने एकप्रकारका आडम्बरी अनि समाजमा दासत्वको जग नस्ट गर्न नचाहने एकप्रकारका रुढीवादीहरू भने सदासर्वदा तनावमय र भयवित जिन्दगी ब्यतित गर्न अग्रसर हुँदाहुदै जीवन लिला समाप्त पार्छन् तर आफूले मात्र होइन बाँच्नेलाई पनि तनाव थोपरेर ।
तनावग्रस्त होइन वास्तविक जिन्दगी रोजौं । मिहिनेत र परिश्रम बिनाको आयलाई तनाव ठानौं ।
सहयोगी भावनाको अन्त्य भएको दिन आफूले आफैलाई परिभाषित गरौं कि म आफू दुनियाँमा बोझ भएर बाँच्दैछु । मान्छे विवेकशील छ त्यसैले मरणशीलताको नियमलाई आत्मसात गर्दै बाँचुन्जेली असल कर्म गर्न सकौं । कोरोना समयले यही सिकाउँदैछ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



