ऊ किन र कसरी ‘इतिहासकार’ ?

१० वर्षसम्म दिल्ली लाहुरिई प्रकाशप्रसाद उपाध्याय भाइ, सहयाेगी एवम् मित्र हुनुभन्दाअघिकाे उसकाे सत्यकथा ! इतिहास के र इतिहासकार काे मात्र ? यसैमा घाेत्लिँदा !

अरविन्द रिमाल

२०१५ सालकाे गर्मीबाट ह्वात्तै २०६२ काे चीसाे मंसीरमा !

दिल्लीमा ‘साेभियत भूमि’ पत्रिकामा कामकाे पहिला दिनका कथाहरु त उसले आफ्नाे ‘१९९७ सालदेखि २०१७ साल: एक अवलाेकन’मा हुबहु शब्दाङ्कित गरेकाे छ । याे कथा मित्रजनमा प्रस्तुत गर्नुअघि उसकाे मनमा २०६२ सालकाे कठ्याँग्रिदाे बिहानकाे ‘वाक’मा निँस्कदा डिल्लीबजारकाे चाेकमै उसकाे नाम लिएर एकजनाले बाेलाएकाे सुन्याे । उसले पछाडि फर्केर हेर्‍याे । टाेल नजिकै घट्टेकुलाेतिर घर बसाएका एकजना इतिहासका प्राेफेसर रहेछन्, डा. पनि बनिसकेका । सामान्य चिनजान, त्यति निकटता नभएका ।’ तपाईँले राजा त्रिभुवनबारे आफ्नाे कितापमा लेख्नुभएकाे कुरालाई इतिहास मानिँदैन, बुझ्नुभाे ?!’ उसले बुझिहाल्याे, माम्लाे के रहेछ भन्ने । ती विद्वानले उसकाे कितापका पछिका अध्याय पढी नसकेका रहेछन् । नत्र यस्ताे हठात् नकारात्मक टिप्पणी उठ्ने थिएन हाेला भन्ने लाग्याे, उसलाई ।

उसले ‘ए, त्यसाे पाे ? मैले त जे भएकाे थियाे त्यही लेखेकाे हुँ !’ भन्याे ।

‘जेहाेस्, त्यसलाई इतिहास मान्न सकिँदैन’ भनेर टर्टरिँदै, च्याँठ्ठिदै, हिँडे, तिनी ।

अचम्मलाग्दाे कुरा, केही दिनपछि डिल्लीबजारकै पद्मकन्या क्यामसबाहिरकाे एउटा पुस्तक पसलमा झम्का भेट भयाे, तिनै प्राडासँग । ओहाे, गज्जबकै किताब लेख्नुभएको रहेछ ! बधाई छ, साँच्चै राम्राे किताब रहेछ’, भने– तर आफ्नाे पहिलेकाे टिप्पणीलाई ‘मध्येनजर’ गरेरै हाेला, उसकाे पुस्तकलाई ‘इतिहास’ भन्ने ‘सम्मानजनक’ नाम दिएनन्, यद्यपि उनी भेटमा राम्रै भलाकुशारी गर्छन् ।

यत्ति टिप्पणी पनि आफ्नाे किताबमा उसले तिनकाे ‘नेपालमा कम्युनिष्ट आन्दाेलनकाे इतिहास’प्रति जनाएकाे खुला आभारकै परिणाम हाे भन्ने बुझ्न उसलाई गाह्रो परेन । तथापि, उनका विचार एवम् प्रतिक्रियामा इतिहासका उजस्ता अरु साधकहरुप्रति जुन असहिष्णुता सुनिन्थ्याे, त्याे ‘स्थापित’ इतिहासकारहरु सबैमा व्याप्त प्रतिनिधिमूलक अवधारणा नै भएकाे लागेर नै उसले याे ‘घटना’मा यतिका चर्चा गरेकाे हाे ।

कुरा के भने, उसले आफ्नाे ‘अवलोकन’मा ‘जब राजा समाजवादकाे पक्षमा थिए’ भन्ने अध्यायमा साँच्चै एउटा ऐतिहासिक घटनाकाे विस्तारपूर्वक चर्चा गरेकाे थियोे ।

नेपालकाे राजनीतिमा भारतीय सत्ताकाे हुकुमी शासन नै चलेकाे बेला जस्ताे थियोे । आलङ्कारिक भाषामा भन्दा, राजा त्रिभुवनकाे खाेपीमा रानीहरुलाई छाडेर कदाचित छाेराछाेरी-नातिनातिनीहरुलाई समेत ‘भाइसराय’ गाेविन्दनारायण सिँहकाे अनुमति विना प्रवेश हुँदैनथ्याे कि ? स्थिति यस्ताे थियाे भने अरु के हाल के थियाे हाेला ? त्यस्ताे बेलामा नेपालका चार विद्यार्थी सँस्था– कम्युनिष्ट अखिल- नेपाल विद्यार्थी फेडरेशन, कांग्रेसी नेपाल छात्र संघ, नेपाल कम्युनिष्ट पार्टीप्रति विराेधभाव राख्ने लाल कम्युनिष्ट पार्टीवाला नेपाल स्टुडेन्ट यूनियन, स्वतन्त्र सँस्कृत छात्र संघकाे सम्युक्त प्रतिनिधिमण्डलले मूलत: देशकाे राजनीतिमा भारतीय हस्तक्षेप र तत्कालीन नेपाल सरकारकाे अकर्मण्यताकाे बारेमा राजासँग १५ मिनेटकाे भेट पाएकाे थियाे । त्यतिबेला ‘दर्शनभेट’काे चलन चलिसकेकाे थिएन । प्रतिनिधिमण्डलकाे नेतृत्व उसैले गरेकाे थियाे, त्यसैले सबै कुरा उस‌ले बताउने तय भएकाे थियाे । कुनै फिलिमी कथाजस्तो त्याे भेट लम्बिएर ४५ मिनेट नाघेपछि ‘भाइसराय’काे खपिनसक्नु छट्पटी राजाका विश्वासपात्र डिठ्ठा विचरा दयारामभक्त माथेमाले डराईडराई बताए । अनि, राजाले ‘त्याे गाेविन्दनारायणले पनि कहिलेकाहीँ हदै गर्छ’ भन्दै ‘धेरै इन्फर्मेटिभ कुरा गर्नुभयाे, तपाईँहरुले । खुशी लाग्याे । हेर्नाेस्, नेपलिज पिपुल साेशियालिज्मलाई अप्ट गर्छन् भने पनि त्रिभुवन विल नट् बी अ बैरियर टु इट्’ भनेर भेट टुंगाए !

उसका सद्गुरुले उसलाई टिपाएका एउटा सूत्र उ मित्रहरुलाई सुनाउन वा चर्चा गर्न बडाे मनपराउँथ्याे: ‘घटनाहरु पछिकाे पुन:स्मृति नै अनुभव हाे ।’ अहिले उ यही नै पुन:स्मृति र अनुभवलाई इतिहास मान्छ भने के गल्ती भयाे, र ?

अनि, नेताहरुमा राजनीतिक वैरभाव भए पनि, कार्यकर्ताहरुमा याे मित्रता आफैमा ऐतिहासिक हाेइन, र ? यसमा ‘विद्वता’ वा ‘उपाधि’काे प्रमाणपत्रे कागतकाे बलले इन्कार गर्ने किन ?

एकदिन, यिनै राजा आफ्नाे कान्छा छाेराकाे ताहाचल घरबाट ‘लञ्च’ खाएर काठमाडौँ गणेशथानकाे उकालाेबाटाे गरी वसन्तपुर हुँदै नारायणहिटी दर्बार फर्किरहँदा न्यू राेडमा छात्र जुलुसमा ‘त्रिभुवन मुर्दावाद’ नारा लागेकाे सुनेछन्। दर्बार पुगेर उनले नेछासंका अध्यक्ष सुरेन्द्रराज शर्मालाई बाेलाई पठाएछन् । न्यूराेडकाे नामी मुञ्चाहाउस माथिकाे तल्लामा संघकाे अफिस थियाे । उसका टाेले मित्र, नेछासंका खँदिला विद्वत् सदस्य भइकन पनि कम्युनिष्ट प्रगतिशील अध्ययन मण्डलका संस्थापक कार्यसमितिसदस्य, हरिचरण श्रेष्ठ पनि त्यतिबेला त्यहीँ रहेछन् । एकछिन त खलबली नै परे छ! स्वाभाविकै थियाे । गए, लिन पठाइएकाे माेटरगाडी चढेर । फर्केर आएपछि, भएकाे घटना बताए ।

राजाले साेधेछन्: ‘हाेइन, सुरेन्द्रराजजी, तपाईँहरुले किन मलाई मुर्दावाद भनेर नारा लगाएकाे, हँ ? मैले के गरेर त्यसाे ?’

सुरेन्द्रराजले डराईडराई भनेछन्: ‘हाेइन सरकार, हामीले होइन ! कम्युनिष्ट विद्यार्थीहरुले हाेला ।’

राजा: ‘किन र, त्यसाे ! म तिनीहरुकाे पनि त कुभलाे चिताउँदिन नि ।’

हरिचरणले उसलाई ‘अवलाेकन’ लेख्दा त्रिभुवनप्रसङ्ग आउँदा बताएकाे यस कुरालाई यसरी नाटकीय रूप दिएकाे हाे, उसले !

याे घटना पनि ऐतिहासिक हाेइन, र ! यसका लागि पनि ‘दसी प्रमाण’ चाहिने ?

इतिहास जनसाधारणका उल्लेखनीय कामहरुकाे समुचित- सम्मिलित दस्तावेज हाे भने तिनका साक्षी पात्रहरुद्वारा वर्णन गरिएका कुराले स्वीकृति किन नपाउने ?

उसमा उकुसमुकुस भएका विचारबीच उसलाई याे ठट्यौलाे उखान सुझेछ: ‘लङ्का जलाउने हनुमान, जस पाउने ढेडु ?’ घटनाका साक्षीहरुले बताएका कुरामा दुई पुस्तापछिका जस्ताले ‘लालपूर्जा’ दिने ?

‘सामन्ती’ राजाकाे बारेमा भएर हाेला ? ‘प्रगतिशील’, ‘वामपन्थी’ , ‘लाेकतन्त्रवादी’ वा अचेलकाे फेशनमा चलेकाे ‘प्रतिगमनविरुद्ध अग्रगमनवादी’ विचारप्रस्तुति यस्तै हुन्छ भन्ने उसले समझ्याे । तर यस्ताले त राणाजहानियाँ शासनविरुद्ध पहिलाे सङ्गठित राजनीतिक आन्दाेलन रहेकाे १९९७ सालकाे पर्चा संघर्षका नायक, शहीदहरुका नेता टङ्कप्रसाद आचार्य, २००७ सालकाे क्रान्तिका नेता विश्वेश्वरप्रसाद काेइरालालाई पनि त कहाँ बाँकी राखेका छन् र, भन्ने पनि नसम्झिरहन सकेन । आचार्यलाई त ओझेलमा पार्न गाह्राे परेन, तिनीहरुलाई । तर विप्र काेइराला नै‌ पनि विकृति वा ओझेलीकृत कहाँ नभएका छन् र ?! उसका विशेषत:, ‘डिल्लीबजारकाे लप्टनकाे हाेटेल’ निबन्ध सङ्ग्रहमा आचार्य एवम् काेइरालाकाे यथाेचित ऐतिहासिक चित्रण याे विकृतिकाे काेलाहले नाटकसामु के र कहाँ टिक्ने?! झन यी सबमाथि डा. केशरजङ्ग रायमाझी कुन ड्याङ्गकाे मूला हुन् र, उनकाे यथार्थ चित्रण हुने ? उनी त विश्व शीतयुद्ध कालखण्डकाे रुसी- चीनी शीतयुद्धका महाबदनाम नेपाली खलनायक भइहाले! आखिर यिन‌काे राजनीतिक लाश न ताने नव वर्गवादी ‘कम्युनिष्ट’ अधिनायक समूहले आआफ्नाे दुर्गन्धित राजनीति कहाँ र कसरी गर्ने ?

उसले दुखदरूपमा आफ्नाे राजनितिक गुरु पुष्पलाललाई सम्झयाे ! विचरा उनकाे क्षणिक आवेगका कारण, भारतीय साहित्यकार कमलेश्वरकाे ‘कितने पाकिस्तान’काे मार्मिक शब्दलाई उल्लेख गर्दा, शताब्दी नभए पनि ६ दशक नाघिसककाे दण्ड भाेगिरहेछ, नेपालकाे कम्युनिष्ट आन्दाेलनकाे इतिहासले ।

२०१३ सालकाे गर्मीमा नेपाल कम्युनिष्ट पार्टीले चिनियाँ कम्युनिष्ट पार्टीको आठाैँ महाधिवेशनमा भाग लिने निम्ता पायाे।तीनजनाकाे लागि । दुर्भाग्यवश, चुनाव भयाे । पुष्पलाल चुनिएनन् ।महासचिव मनमाेहन अधिकारी, पीबी सदस्य शम्भुराम श्रेष्ठ, केक सदस्य शैयद कमर शाह चुनिए । पुष्पलालले यसलाई घाेर अपमान ठाने । कार्यवाहक महासचिव हुन अनुराेध गरिँदा तिरष्कार गरे । महत्त्वाकांक्षाहीन केक सदस्य डा. केशरजंग रायमाझीलाई कामु हुन बाध्य, हाे बाध्यै, गरियाे । यी सबै उ उत्तर गण्डक प्रान्तीय समितिकाे सचिवकाे रूपमा त्यसदिनकाे बैठकमा उपस्थित हुँदा भएकाे घटना हाे । अनि त पुष्पलाल र रायमाझी अनायास आफूहरु नै ‘रायमाझीवादी भूत’काे शिकार भए । त्यही भूतकाे व्याख्या, दुर्व्याख्या, अपव्याख्याले पुष्पलाललाई पनि माेहन बिक्रम सिँह- उत्पादित ‘गद्दार’ बनायाे । रायमाझीकै राजनीतिक ‌लाश उछाल्दै तर उनकाे वैचारिक लाइनलाई आफ्नाे सत्तास्वार्थमा भजाउँदै, अर्थात्, राजा वा राष्ट्राध्यक्षसामु किरिया खाँदै आफूहरु सत्तामा जाने गइरहेे । तीनजनालाई छाडेर रायमाझी लाइनरूपी नून खाएर सत्ता टप्काउनेहरुमा नूनकाे साेझाे गर्नचाहिँ काेही भएन । तीनजनामा पहिला, पुष्पलाल क्रान्तिकारी परिव्राजक भए । सत्ताबाजीसँग उनकाे नातासम्बन्ध नै भएन । दाेस्रा, मदन भण्डारी । नेपाल कम्युनिष्ट आन्दोलनलाई मातृभूमिकाे हितार्थ अनुकूल बनाउने माैलिक साेच, सङ्गठनका भएकाले उनकाे नियति ‘दुर्घटना’मा पर्नेगरी समाप्त हुने ताेकिइसकिएकाेले गर्दा । यस सम्बन्धमा उसकाे मन नेपालमा राष्ट्रप्रेमी एवम् देशभक्त राजनेता वा राजनीतिज्ञकाे भलाे छैन, कि त हत्या गरिन्छन्, कि त ओझेलमा पर्नेगरी खेदिन्छन् भन्ने कुराले नराम्ररी बिझ्याे ।

प्रसङ्गवश, विश्वेश्वरप्रसाद काेइरालाले जनमत सङ्ग्रहमा पञ्चायतले जितेपछि राजाकाे स्वेच्छाचारी शासन क्रमिकरूपले समाप्त भई राजनीतिक दलहरुकाे तानाशाही शासन बढ्ने खतराकाे पहिलाबाटै आशङ्का टङ्कप्रसाद आचार्यकाे घरमा वरिष्ठ पत्रकार- सम्पादक मणिराज उपाध्यायकाे पनि उपस्थितिमा व्यक्त गरेअनुसार नै यस्ताे हुनु स्वाभाविक थियाे ।

तेस्रोमा, नारायणमान बिजुक्छे, आफ्नै एक्कलकाँटे धारका । चाैथाे पनि त छ नि भन्लान् काेही, माेहनबिक्रम सिँहलाई औंल्याएर । हाे, आफूबाहेक अरु सब गद्दारधारका राजनीतिक अधिनायक हुन् सिँह । अनि उनी यता आफू सत्तामा नगए पनि आफ्नाहरुलाई सत्ताकाे बरण्डामा पुर्‍याउने खेलमा र अब त सत्ताकाे ‘राजा बनाउने’ खेलबाजीमा निकै अगाडि आएकाले उनी सत्तामाेहबाट अलग हुन सक्दैनन् भन्ने ठहर भयाे, उसलाई ।

अरु विस्तारकाे वर्णन त उसले आफ्नाे पुस्तकमा यथार्थ तवरले बताएकै हाे ।

दाेस्राे पार्टी महाअधिवेशनस्थल फाेहाेरा दरबार उपलब्ध भएगरेकाेबारे, पार्टीको जन्म मितिकाे उलटफेर आदिइत्यादि काण्डहरु पनि मूलत: २०१७ पछिकाे फाटाेवादी राजनीतिकाे र त्यसमा पनि, विश्व कम्युनिष्ट आन्दाेलनविरुद्ध माओ त्से तुंग हमलापछि गुट विभाजनकाे ‘औचित्य सिद्ध’ गर्ने खेल मात्र हुन् । त्यसैले, सत्य र यथार्थ त जुनसुकै राजनीतिक सत्ता खेलमा सबभन्दा फाल्तु वस्तु हुनेहुँदा उसकाे पुस्तकलाई कसले पाे आधार मान्ने ?

फेरि उ त कमलेश्वरकाे उपन्यासमा झैँ काेही न्यायइन्साफ माग्न अदालतकाे ढाेका ढकढकाउने वा अदालतकाे अर्दलीले कुनै राजनीतिक असुर पात्रलाई घाँटी मुन्ट्याएर एकल न्यायाधीश अदीबसामु उभ्याउन सक्ने हैसियतमा परेन । तर उसकाे माम्लामन एउटा उल्लेखनीय घटना हालै मात्र भएकाेलाई उसले देख्यानदेख्यै गर्न सकेन। कुरा के भने, २०४९ सालमा उ एउटा ऐतिहसिक घटनाक्रमकाे साक्षी र शिकार दुवै भयाे । २०६२ सालमा उसले यस वृतान्त आफ्नाे ‘अवलाेकन’मा ‘निजी अखबारकाे क्षेत्रका एक प्रवर्तक– श्याम गाेयन्का’ शीर्षकमा छाप्याे ।कसले वाे टेरपुच्छर लाउने उसका कुरालाई ! तर अचम्म, अद्भुत घटना भयाे, २०७८ काे यही साउन महीनामा तिनै श्याम गाेयन्काले ‘अन्नपूर्ण पाेष्ट’ दैनिकसँगकाे अन्तर्वार्तामा उसकाे लेखकाे पुष्टि- सम्पुष्टि नै गरेकाे पढ्दा । खाली दुई विवरणमा अलिक फरक परेकाे रहेछ । उनकाे बुबाकाे काका रामनाथ गाेयन्कालाई उसले नाताले जिजुहजुरबुबा भनेकाे रहेछ, र ‘रकमी साझेदारहरु’मा उनले खाली एक जना रामनामी ओढेर बधिक कुकृत्य गर्नेलाई मात्र दाेषी ठहराए छन् । अनि, काठमाडौँका उनका आफ्नै जातियजनहरुले कसरी रिसईर्ष्याले उनकाे ऐतिहासिक उद्यमलाई विज्ञापनरहित गरेर विस्तारै घाँटी रेटेर सिध्याए भन्ने उसकाे वर्णनलाई उनले आफ्नै पाराले पुष्टि गरेकाे पढ्दा इतिहास अर्काले प्रमाणित गरे वा नगरे पनि लेख्न- उल्लेख गर्न छाेड्नु हुँदैन भन्ने नेपाली सन्त महीधराचार्यका वाणीकाे सत्यता बु्झ्न पुग्याे ।

तर पनि ऊ किन र कसरी समीक्षकहरुबाट ‘इतिहासकार’ हुन जान्छ वा उसकाे पुस्तकबाट अनेक इतिहास रचिनसक्ने सामग्री पाइन्छ भनिन्छ, याेचाहिँ उसले बुझ्न नसकेकाे कुरा पर्‍याे । जय नेपाल !

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

One Comment

  1. आफु जन्मिनु अगाडी को कुरो रोचक लाग्यो , खास्सै उसबेला को कुरो ,कम्युनिष्ट हरु एस्ता उस्ता , काँग्रेस बारे पनि त्येस्तै सुन्दै हुर्कियो यो बाबजूद पनि , टंकप्रसाद आचार्य , पुष्पलाल , हरु आफ्नो घर मा देखेको र कोई आफ्त हरु पनि कम्युनिष्ट थिए भन्ने थाहा पाएको भएर एस्ता उत्सा कुरो हरु ले खाशई मलाई त्यति ठुलो अशर परेन , फेरी बिश्वेस्वोर प्रसाद कोइराला संग पनि भेट भाको ले म न त यिनी हरु को कट्टर समर्थक न बिरोधि दुवै भईन , सधै केहि सिकिन्छा कि भन्ने नै रह्यो ,,,,र छ पनि !
    एस्तो लेख हरु पढ्न पाउदा कुन्नि किनहो रमाईलो लाग्छ,,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button