
पुरुषको नामले लेख्ने लेखिका
‘एउटा पहाड छिचोलेर हेर अनि धेरै पहाड आउँछ ।’ पहाडतिर हिँड्दा यो भनाई झलझली आउँछ । किनकी, बाटो जति हिँडे पनि पुग्न समय लाग्दछ । तसर्थ हामीले के सिक्न पर्ने रहेछ भने समाज एक दिनमा परिवर्तन हुँदैन । परिवर्तन एक प्रक्रिया हो । निरन्तर लागिपरेमात्र परिवर्तन देख्न सकिन्छ । एउटा पहाड छिचोलेर हेर, अनि धेरै पहाड आउँछ भनेको जस्तै रहेछ ।
महिला र सामुदायिक विकासको काम र अध्ययनलाई सँगै लिएर अगाडि बढ्दै जाँदा २०४८ सालमा ‘विविध पक्षमा नेपाली नारी’नामक पुस्तक प्रकाशित गर्ने सामथ्र्य जगायो । विभिन्न जिल्लाका गाउँहरुमा महिला समूह, महिला विकास, कृषि विकास, बालबालिका शिक्षाजस्ता सामुदायिक विकास देख्दा र महिला बचत समूह गठन, सहकारी गठन गर्ने कामले विभिन्न अनुभव र ज्ञान हाँसिल गरायो । यी अनुभवहरुलाई बेलुका बेलुका लेखेर साच्ने गर्दथिएँ, जसले मेरो पुस्तक लेखनमा जीवन्तता दिए । जति विभिन्न जिल्लाका नया“ स्थानमा यात्रा गर्न थालेँ, मभित्र लेख्ने भावनाहरु पनि त्यति नै आउन थाले ।
मानिसका जीवनका सत्यकथाहरुले जीवनमा धेरै कुरा सिकाउँदो रहेछ । आत्मविश्वासयुक्त बनाउन किताबी र व्यवहारिक जीवनको ज्ञान दुवै आवश्यक रहेछ । लेखनकार्यको पहिचान अर्को महत्वको विषय हो । एक जना मेरो भावना र कामबारे थाहा पाउने बृटिस नागरिक स्वयंसेवीकारुपमा नेपालमा कार्यरत थिईन । यी फिविरेभेनहल नामक साथीले नेपालमा स्वंयसेवा गरेपछि जापान गएर अंग्रेजी शिक्षिको रुपमा काम गरिन् । उनी नेपाल आउँदा मलाई भेटिन् । कुरैकुरामा मैले किताब लेख्दै गरेको बताएँ । उनले पुस्तक प्रकाशन गर भनी उत्साहित गरिन् । उत्साह दिने मानिसहरुको भूमिका महत्वपूर्ण हुन्छ । पुस्तक एक हजार कपि छापिएको थियो, सबै बिक्री भयो ।
उक्त पुस्तक तात्कालिन कृषिमन्त्री शैलजा आचार्यले विमोचन गर्न स्वीकृति दिनुभयो र गर्नु भयो । विमोचन समारोहमा मैले घेरै जनाको बधाई पाएँ । त्यो दिन खुब खुशी लाग्यो । त्यो पहिलो पुस्तक थियो, यद्यपि लेखहरु त धेरै पहिलेदेखि लेखिरहेको थिएँ । मेरो पहिलो पुस्तक विविध पक्षमा नेपाली नारी प्रकाशन भएपछि विभिन्न पत्रिकामा पुस्तक विषयमा समालोचनाहरु पनि आए । डा. ध्र्रुवचन्द्र गौतमजस्तो प्रख्यात व्यक्तित्वले तात्कालिन विमर्श साप्ताहिकमा नारी चेतनाको स्वर भनेर पुस्तक समीक्षा लेखेका थिए । तापनि हाम्रो समाज महिलालाई नपत्याउने समाज पनि थियो । त्यो पुस्तक मैले लेखेको होइन । मेरो श्रीमानले लेखिदिए भनेर आलोचना गर्ने पनि भेटिए । सुनेँ तर प्रतिकार गरिन अनि चुप लागेर बसेँ । आफुलाई विश्वाश लागेको काम गर्दै गएँ ।
पछि त्यही पुस्तक अंग्रेजीमा ‘नेपाली वुमन राईजिङ’ निकाल्न पनि ती स्वंयसेवी साथीले सुझाईन । पछि जापानी भाषामा पनि उल्था भयो । त्यस पछि विभिन्न देशका महिला समूह र विश्वविद्यालयहरुमा मलाई मेरो अनुभव सुनाउन बोलावटहरु आउन थाले । साथै नाम चलेका महिला संस्था संचालन गरेका महिलाहरु र लेखिकाहरुसँग पनि चिनजान भयो, जसले मलाई अघि बढन थप हौसला र प्रेरणा दियो । देशमा पनि महिला अध्ययन संस्थान खुलेको थियो पद्यकन्या कलेजमा मैले पनि बेला बेलामा कक्षा लिन निम्ता पाउन थालेँ । शिक्षकहरु पनि तपाईको किताब हामीलाई पनि उपयोगी भएको छ भन्थे । तर, मेरा पुस्तकहरु महिला अध्ययन संस्थानको कोर्समा रिफरेन्समा पनि राखिएको थिएन र छैन । जब कि त्यतिबेला इन्टरनेट थिएन । महिलाको क्षेत्रमा त्यति धेरै पुस्तकहरु पनि थिएनन । महिलाका लेखनलाई महत्व दिने चलन पनि हाम्रो समाजमा रहेन छ ।
पुरुषको नामले लेख्ने विश्वप्रसिद्ध लेखिका भन्ने शिर्षक देखेको र पढेको थिएँ । भिक्टोरियन युगका विश्व साहित्यमा विशिष्ट नाम जर्ज ईलियट धेरै नाम चलेका र प्रशंसा पाएका उपन्यासकार थिए । उनको नामबाट उपन्यास लेख्ने मेरी एन इभान्स वास्तवमा महिला थिइन् । एक त उनलाई पुरुषजस्तो स्वभाव भएको भन्दथिए । अर्को कुरा, महिलाहरुको लेखाइलाई ओजन पनि दिइदैंन थियो । अर्को महिलाको लेखन नम्र किसिमको हुन्छ भन्ने मान्यता थियो । त्यसमाथि आफनो व्यक्तिगत जीवनलाई दाँजेर उनको कृति पढदा पाठकले आलोचना नगरुन भन्ने पनि उनको धारणा थियो । उनी विवाहित जर्ज हेनरी लुईस नामक पुरुषसँग वैवाहिक सम्बन्धमा थिइन् । त्यसमाथि उनको सामाजिक पहिचानलाई निर्धक्क प्रस्तुत गर्न संकोची बनिन । अनि संकोचले गर्दा महिलाको नामबाट लेख्न सकिनन् । उनले पुरुष जर्ज ईलियटको नामबाट पुस्तकहरु प्रकाशन गर्न लागिन ।
यो सन्दर्भ मैले शनिवार परिशिष्टाङ्क गोरखापत्रमा सन् १९९० जुन २३ मा पनि पढेको थिएँ ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



