
धत्त ! गर्भवतीको पेट प्रदर्शन ‘अटोनोमी’को अभ्यास रे
प्रतिभा सुवेदी
‘नायिकाको पेट र राष्ट्रपतिको हाँसो’ शिर्षकको कान्तिपुरमा प्रकाशित लेखमा राजेन्द्र महर्जनले नायिका प्रियंका कार्की, सिर्जना सुब्बा र मानुषी यमीहरुले आफनो गर्भावस्थाको पेट समाजमा सबैलाई देखाउनु र प्रियंकाले लगाएको अर्धवस्त्रका विषयलाई खुशियाली मनाएको भन्ने तर्क राखे । गर्भिलो पेट देखाउनुलाई महिलाहरुले स्वयत्तताको अभ्यास गरेको अर्थात आफनो विषयमा आफैले ‘अटोनोमी’ प्रयोग गरी निर्णय लिन सकेको निष्कर्ष पनि निकाले । उनीहरुको यो निर्णयले समाजलाई के सन्देश दिन्छ त ? उनले यो कृयाकलापलाई महत्व दिन राष्ट्रपतिको कृयाकलाप पनि यस्तै हो भन्ने उपमा दिए ।
राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिपछि ओलीले शपथ खाँदाताकाको ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ नभनेर त्यो पर्दैन भनी राष्ट्रपति र संवैधानिक प्रावधान उल्लंघन गरेको विषयलाई अश्लिल भनेका छन् । । त्यो अश्लिल होइन, अटेर गरेको हो र राष्ट्रपतिलाई अनादर गरेको हो । राष्ट्रपति र प्रधानमन्त्रीको शपथमा भएको विषय अश्लिल भने होइन । शव्दहरुका चैनमा पनि यो आलेख चुकेको छ ।
गर्भवती युवतीहरुको बढेको पेट दुनियाँलाई प्रदर्शन गर्नु र राष्ट्रपति हा“स्नुसँग पटक्कै तालमेल खाँदैन । हो, उनको हा“सो बेठिक थियो र सामाजिक सन्जालमा व्यापक विरोध पनि भयो । यसमा गर्व गर्न पर्ने गर्भिलो केही थिएन । राष्ट्रपतिले अडान लिन नसकेका धेरै विषयहरु छन् ।
आमा हुनु गर्वको विषय हो तर शरीरको अर्धनग्न प्रर्दशन गर्वको विषय हुन सक्दैन । यो कुनै उदाहरणीय काम होइन, बहसको विषय बनाउन पर्ने पनि होइन । बहसको विषय बनाउन लेखकले अनेक संवैधानिक नियुक्तिहरुको अनियमितता र बढ्दो भ्रष्टाचारका विषयहरु प्नि अश्लिल हुन भनेर त्यसमा मसला थपे । यी लेखकले पुरुष सत्ता आफैभित्र मौलाएर अर्धनग्न शरीर प्रदर्शनमा गर्वसाथ खुशियाली मनाएका अर्थ लगाए । यसको पुष्टि गर्न भए भरका देशमा भइरहेका अलोकतान्त्रिक अभ्यासहरु श्लील कि अश्लिल भनी उदाहरणका लागि प्रस्तुत गरे । ‘सामाजिक संजालका फेसबुके, टुइटे र ईन्स्ट्रागामेहरुको टाउको एकदमै दुखेको र मन भतभती पोलेको’ टिप्पणी गरे । सामाजिक संजालमा सक्रिय नभएका महिला पुरुषहरुले पनि पेट देखाएको उठाएको विषय मनपराएका छैनन्, अपवादबाहेक ।
हाम्रो समाजमा महिला स्वतन्त्रता र स्वयत्तताका नाममा केही हदसम्म अतिवाद मौलाउन थालेको छ । अन्य मुुलुकका उदाहरणीय र राम्रा भन्दा पनि यस्तै उच्छश्रृँखलताका विषयचाहिं अनुकरण गरिएका छन् । यसरी सकारात्मक परिवर्तन आउँदैन । धेरैले यस्तो कृयाकलापलाई पचाउन सक्दैनन् ।
समाजमा अनेकौ राजनीतिक क्षेत्रका अलोकतान्त्रिक अभ्यासहरु प्रशस्त छन् । ती सबै उदाहरणहरु लेराएर यो गर्भलाई देखाउनु राम्रो हो भनी पुष्टि गर्न खोजे पनि पाठकको मन तान्न सकेको छैन । उनले पुरुषसत्ताकै उदाहरण दिएर आफैभित्र हुर्केको पुरुषसत्तालाई कलमबाट अभिव्यक्त गरे ।
सुन्दरी प्रतियोगिताको नाममा महिला अर्धनग्न नै हुन्छन् र जो व्यापारिक उत्पादनका विज्ञापनमा एजेन्ट हुन्छन् । आममहिलाको हितभन्दा पनि विभिन्न बजारमा आउने उत्पादनका प्रमोटर बन्दछन् । तर, यी गर्भवती महिलाहरु जसले नितान्त व्यक्तिगत गर्भधारण र बच्चा जन्माउने प्रक्रियामा रहँदा आफ्नै गर्भधारणको विज्ञापनमा गरेको देखिन्छ । स्तम्भकारहरुले यसको वकालत गरेको देख्दा सुन्दरी प्रतियोगिताको अर्को रुप समाजमा आउन लागेको हो कि अश्लिता ? नारी शरीरको मर्यादाको वरपर मात्र केन्द्रित छैन भन्न खोजिए पनि नाङ्गै हिँडे पनि हुन्छ भनी बहसको विषय बनाउन आवश्यक छैन । लेखकले दिनहुँ भइरहेका बलात्कार र हिंसाका बारेमा बहस चलाएको भए उनको कलमको पनि मर्यादा बढ्ने थियो । विकृति विभिन्न किसिमले भैरहेको छ भनी लेख्दालेख्दै यस आलेखले थप विकृतिलाई उक्साहट दिएको छ ।
लोकतन्त्रले दिएको संचार स्वतन्त्रताको दुरुपयोग भएको छ । स्पष्ट भन्नुपर्दा यी गर्भवतीहरुले आफ्नो गर्भ रहेको ठूलो आकार भएको पेटको तस्वीर खिचेर सामाजिक संजालमा राख्दा मातृत्वको अनादर गरेको महिलाको शरीरको गरिमा घटाएको नै हो । हामी कतिपय महिलाहरुलाई हेर्दा पनि आफु अपमानित भएको महशुस भएको छ । यो पेट प्रदर्शनको त होडबाजी नै चल्न थाल्यो । समाजमा महिलाका हत्या हिंसा व्यापक भएका समयमा यो मुद्धा कति समयसामयिक भयो त ?
बच्चा जन्माउँदा गर्भवती महिलाको ज्यानकै जोखिम हुन्छ । हाम्रो स्वास्थ्य व्यवस्था सर्वसुलभ छैन । छोरा पाउनका लागि पनि महिलाहरुले अनिच्छित गर्भधारण गर्ने बाध्यता छ । जब कि वार्षिक मातृ मृत्यु दर नेपालमा १ लाख महिलामा १ सय ८७ रहेको छ । प्रजनन स्वास्थबारे आम महिला बेखवर जस्तै छन् र दुर्गम जिल्लाहरुमा त संकोच मानेर महिलाहरु स्वास्थ्य परीक्षण गर्न पनि जाँदैनन् । यस परिवेशमा आममहिलाको स्थिति सामान्य सेवा सुविधावाट बंचित छ भने केही महिलाहरु आधुनिकताका नाममा शरीर प्रदर्शन गर्न नहिच्किचाउने भएको देखियो ।
लेखकले महिला सत्ता र पुरुष सत्ता भनेर विभाजनको धर्को कोरेका छन् । महिला पुरुषबीच आ–आफना सत्ता कायम गरेर स्वतन्त्रता र स्वयत्तताको सकारात्मक फल समाजले पाउला त ? यो लेखको आशय राजनितिक क्षेत्रमा निर्णायक तहमा भएका महिलाहरु स्वचालित हुन सकेनन् र पुरुषहरुबाट संचालित भए भनिएको छ र राष्ट्रपतिलाई धेरै व्यंग्य गरिएको छ । यी आफनो गर्भलाई देखाउने महिलाहरु नै ‘स्वचालित’ महिलाहरुका प्रतिनिधित्व गर्दछन् त । यो अटोनमीको प्रयोगले समाजलाई के सन्देश दिएको छ, त्यो मुख्य हो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



