
रोपाइँः एक विशेष पर्यटन प्रडक्ट
राजेन्द्रमान डंगोल
कभरफोटोमा विश्व साइकलयात्री पुष्कर शाह
नुवा र कोटको साततले दरबार त्रिशूली बजार
बार्दलीबाट गैरीखेत हेर्दा लागेछ असार ।
असारै महिना पाकेको फलफूल हरियो खुर्सानी
असारे भन बाउसे दाजै सम्झाउनी बिर्साउनी ।
असारेमासको दबदबे हिलो छिः मलाई घिन लाग्यो
पातली ज्यानलाई फरिया किन्दा छः बीस रिन लाग्यो ।
रोपाइँँलाई भनि कुेटेको च्युरा म कति साँचुला
सौताको हात दुई कुड्की भात म कति बाँचुला ।
बाटै र मुनी बाटै र माथि बुढो स्याल करायो
यही थियो अघि बाउसे दाइ कता पो हरायो ।
नेपाल अनगिन्ति चाड पर्वहरूको देश हो । हामी दिनहुँजसो कुनै न कुनै पर्व मनाइरहेका हुन्छौँ । असार १५ को दही–च्यूरा र रोपाइँसित हामी परिचित छौँ । नेपालमा धान बालीको बीजारोपण गरिने कार्य अर्थात् रोपाइँँलाई पनि परापूर्वकालदेखि नै एउटा महत्वपूर्ण पर्वको रूपमा मान्दै आइरहेको छ । बाजागाजासहित विभिन्न देवी देवता र नागहरूको पूजा गरेर विधिपूर्वक रोपाइँको थालनी गरिन्छ । कामको चटारोको भए पनि मानो खाएर मुरी उब्जाउने हर्ष र उल्ल्लाससँगै किसानहरूमा एकखालको उन्माद भरिएको हुन्छ । यति बेला उनीहरू यति खुसी हुन्छन् कि त्यसको कुनै सिमा नै हुँदैन । फागुपूर्णिमाको दिनमा थरीथरीका रङ्गहरूले रङ्गिएझैँ किसानहरू रोपाइँमा असारमासको दबदबे हिलोले रङ्गिन्छन् । यतिखेर हिला, हिलो हुँदैन । त्यो प्रसादजस्तै हुन्छ र टीकाको रूपमा ग्रहण गरिन्छ । ठाउँ र परिवेश अनुसार विभिन्नखाले असारे भाकाका गीत र दोहरी गाएर रमाइलो गर्ने गरिन्छ । माथिका हरुफहरू रोपाइँँमा गोरू साउने हली, बाउसे गर्ने लाठे र रोपो रोप्ने रोपाहारहरूले गाउने मौलिक भाकाहरू हुन् । यी भाकाहरू, प्रेम र रसरङ्ग मात्र होइन, वियोग र पिडाका जीवन्त अभिब्यक्तिहरू पनि हुन् । र, यो कृषकहरुको वास्तविक दिन चर्या पनि हो ।
धान नेपालको मात्र नभई संसारभरिकै प्रमुख अन्नबालीमध्येमा पर्दछ । धानको बारेमा सुक्ष्म अध्ययन र अनुसन्धान भएता पनि यसको पहिलो बीजको उत्पति कहाँ भयो भन्ने कुरा अझै पनि एकिन गर्न सकिएको छैन । यद्यपी सृष्टिको पहिलो अन्न जौ र तिलपछि उत्पति भएको मानिन्छ । वनस्पति वैद्धिक साहित्य एवम् पुरातात्विक उत्खननमा पनि धान पुरानो बालीमध्ये एक भएको प्रमाणहरू पाइएका छन् । भारतको उत्तर प्रदेशमा पर्ने हस्तिनापुरमा इसापूर्व ७५० को समयमा उत्खनन गर्दा धानको सबैभन्दा पुरानो नमूना डढेको अवस्थामा पाइएको थियो । त्यसैले भारतमा धेरैअघि नै यसको उत्पादन हुने गरेको विश्वास गरिन्छ । धानलाई घरेलुकरण गरिने प्रकृया सबैभन्दा पहिला चीनमा भयो र यो सँगसँगै युरोप र अमेरिकालगायत विश्वका सबै देशहरूमा विस्तार हँुदै गएको मानिन्छ । नेपाली संस्कारमा जसरी उल्लासमय वातावरणमा रोपाइँँ गरिन्छ, त्यसैगरी नयाँ धान भित्रयाएपछि साइत हेरी विधिपूर्वक होमन गरेर टीका लगाएपछि मात्र विधिपूर्वक नयाँ अन्नको रूपमा सेवन गरिन्छ । यसैलाई “न्वागी पर्व” पनि भनिन्छ । यो एउटा अर्को विशेष पर्व हो ।
मानवजातिको अस्तित्व धानसित जोडिएको छ । विश्वकै जनसंख्याको ६५ प्रतिशतभन्दा अधिक मानिसहरूको प्रमुख्य खाद्य चामल नै हो । सतबिजहरू मध्यको धान एउटा यस्तो अनाज हो, जसको अभावमा नेपालीहरूको जीवन असम्भव प्रायः हुन्छ । बाँच्नका लागि मात्र होइन, वैदिक परम्परा धान्न पनि धान–चामल नै चाहिन्छ । नेपालीहरूको धर्म र परम्परा अनुसार जोगीलाई गरिने भिक्षादान र हिन्दु समाजमा टीकाटालो गर्न, देउदेवतालाई पूजा गर्न र धार्मिक कार्यदेखि पितृ कार्यसम्म धान–चामलको विकल्प छैन । त्यसैले पनि यो अरू बालीनालीहरू भन्दा विशेष महत्वको छ ।
विगत अठार वर्षदेखि नेपालमा प्रत्येक वर्ष असार १५ गते रूपमा ‘राष्ट्रिय धान दिवस तथा रोपाइँँ महोत्सव’ हँुदै आइरहेको छ ।
कृषि पेशा प्रति स्वयं कृषकहरू नै विकर्षित भईरहेको वर्तमान एथास्थितिमा एकातिर उनीहरूलाई कृषि पेशा र श्रम प्रति आकर्षण बढाउन र समग्रमा मुलुकको खाद्यान्न उत्पादनमा बृद्घि गर्न समेत यो महोत्सवले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको छ भने अर्कोतिर यसले परम्परागत उत्पादन प्रणालीका बारेमा नयाँ पिँढीलाई जानकारी गराउँछ ।
नेपालको यो पर्वलाई पर्यटकीय उपजको रूपमा विकास गर्नसके यसले कृषकरूलाई कृषि पेशामा निर्भर रहन टेवा पु-याउँछ । आन्तरिक तथा बाह्य पर्यटकहरूका लागिसमेत यो नौलो हुन सक्दछ । प्राङ्गारिक मलको प्रयोगबाट उत्पादित जैविक कृषि उत्पादन स्वस्थकर हुने भएकोले पर्यटकहरू आकर्षित हुन्छन् ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)