
आफ्नो मान्छेलाई छुन नहुने, साथ बस्न नहुने
नेपालनाम्चाको लकडाउन वार्तामा पत्रकार तथा सगरमाथा आरोही कल्पना महर्जन ।
लकडाउन छ । तर तपाईको कन्फिडेन्स त डाउन भएको छैन नि ?
छैन, समय अनुसार आफूलाई ढाल्ने प्रयासमा छु । लकडाउनकै मौकामा घरपरिवारसँग विशेष गरी ८ वर्षको छोरासँग समय बिताउने मौका पाएकी छु । हिमालतिर व्यस्त हुँदा ४ वर्षदेखि प्राय घरबाहिर हुनुपरेको थियो । आज त्यो सयमलाई सम्झेर पनि धेरै सयम घरमा बिताउने प्रयासमा छु ।
कसरी बित्दै छन् दिन ?
पहिलो लकडाउनको समयमा अस्पतालमा थिएँ । ससुरा बुवा बिरामी भएकोले लकडाउनको समयमा नै उहाँ बित्नुभयो । त्यसैले घर परिवारमा नै व्यस्तव्यस्त रहियो । दोस्रो लकडाउनमा केहि सयम घरबारीमा व्यस्त भइयो । त्यसपछि विस्तारै आफूले सक्ने सहयोगको लागि बाहिर निस्कन सुरु गरेँ । बोधिसत्व विहारले विभिन्न स्वास्थ्यसँग सम्बन्धित सामाग्रीहरु सहयोग गरिरहेको छ । यस संस्थाको ललितपुर जिल्लाको दक्षिण क्षेत्रको संयोजन सहकार्य गर्ने मौका पाएको छु । विभिन्न अस्पताल, आइसोलेसन केन्द्र र स्वास्थ्य चौकीहरुमा सामाग्री प्रदान गर्ने कार्यहरुमा व्यस्त छु ।
अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडाउन तपाईंलाई उस्तै लाग्दैछ कि फरक ?
उस्तै ।
छिमेक र वरिपरिको वातावरण कस्तो छ ?
सबैजना खेतिपातीमा व्यस्त छन् । त्यस्तो डरलाग्दो छैन ।
यदि लकडाउन नभएको भए, आज तपाईं कहाँ र के गर्दै हुनुहुन्थ्यो ?
लकडाउन नभएको भए सायद हिमालतिर व्यस्त हुने थिएँ । पछिल्लो समयमा हामीले यूरोप भ्रमण गरेर प्रचार प्रसार गरेको अनुसार केहि विदेशी ब्यक्तिहरु एभरेष्ट जान आउने कार्यक्रम थियो । लकडाउनको कारण स्थगित भएको छ । यसपछि हामी एक्सपिरियन्स् आउटर्डोस् नेपालबाट साउदी अरब, अष्ट्रेलिया र अमेरिकाको भ्रमण गर्ने कार्यक्रम थियो ।
लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झनु होला ?
यस्तो पनि समय आएको थियो कि आफ्नो मान्छेलाई छुन नहुने, साथ बस्न नहुने ।
के तपाईंलाई लाग्छ, लकडाउन नै समस्याको समाधान हो ?
यदि सरकारको तर्फबाट केहि सहयोग पाएको भए यो नै समस्याको समाधन भन्ने हुने थियो । तर, त्यस्तो कुनै पनि सहयोग नभएको अवस्थामा सुरक्षाको मापन मिलाएर सबैले आफ्नो गरिखाने बाटो खुल्ला गरिदिनु पर्छ । लकडाउनको कारण धेरैले आफ्न काम गुमाएका छन् भने धेरैलाई दुई छाक जोर्न पनि धौधौ छ । त्यसैले मेरो विचारमा लकडाउन नै समस्याको समाधान होइन ।
कोरोनाको यी बर्षहरुपछि तपाईंको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?
पर्यटन पत्रकारिताको साथसाथै पर्यटन व्यवसायमा लाग्ने लक्ष्य लिएर यात्रा सुरु गरेँ । हालको लागि यो व्यवसायलाई थाँती राखि पारिवारिक व्यवसायलाई अगाडि बढाउने सोच आएको छ ।
भविष्यप्रतिको तपाईंको धारणा के छ ?
आजको दिन मेहनत गरौं । संघर्ष गरौं । भविष्यले त वर्तमानमा गरिएका कामको नतिजा मात्र दिने हो ।



