पर्यटनको डरलाग्दो डार्कसाइड

शल्यक्रिया

ध्रुव सिम्खडा
अध्यक्ष, गाउँ पर्यटन प्रवर्दन मञ्च, नेपाल
संयोजक, आन्तरिक पर्यटन पुनरुत्थान समिती, बागमती प्रदेश ।

सन् १९५० को दशकबाट केही हजारको संख्यामा हुन थालेको नेपालको पर्यटन आगमन सन् २०१९ सम्म आइपुग्दा लगभग १२ लाखमा पुग्न सफल रहेको थियो । नेपालको कुल ग्राहर्स्थ उत्पादनको करिब ४ दशमलब २ प्रतिशत वैदेशिक विनिमयको १७ दशमलव ३५ प्रतिशत हिस्सा र हजारौ संख्यामा रोजगारी प्रदान गर्न पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहेको देखिन्छ । सेवा तथा आतिथ्यतासँग सम्बन्धित भई उद्योगको रूपमा रहेको यस क्षेत्रले नेपाललाई विश्व पर्यटकिय मानचित्रमा एक सामान्य रूपमा रूचाइएको पर्यटकिय गन्तब्यको रूपमा रहेको छ । नेपालको भौगोलिक बनावट, साँस्कृतिक विविधता एवं प्राकृतिक मनोरमताले गर्दा पर्यटन क्षेत्र देशको आर्थिक विकासको बलियो आधार बन्न सक्नेमा कसैको दुईमत छैन ।

नेपालको प्राकृतिक वातावरणमा रहेको विश्वका सर्वोच्च शिखरहरू तथा यहाँको प्राचीन ग्रामीण संस्कृतिक, धार्मिक तथा आध्यात्मिक परम्पराहरू विश्वभरका पर्यटकलाई प्रमुख आकर्षण हुन् । यसकै परिणामस्वरूप नेपालले विश्वभरबाट विदा मनाउदै मनोरञ्जन गर्न रूचाउने, साहसिक गतिविधि गर्ने, तिर्थाटन गर्ने तथा बिशेष पर्यटकिय उत्पादन तथा सेवामा चासो लिने अन्तराष्ट्रीय पर्यटकहरू भित्राउन सफल भएको छ । यसै स्वरूप पर्यटक आगमनको संख्यात्मक बृद्धिको लागि विभिन्न राष्ट्रीय प्रयासहरूको सन्दर्भमा एक थप कडीको रूपमा २०२० मा २० लाख पर्यटकहरू भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण बर्ष २०२० मनाइदै थियो । तर, २०१९ डिसेम्बरमा चीनको वुहानबाट शुरू भएको नोभल कोरोना भाइरस (कोभिड-१९) संक्रमण र महामारीले विश्वलगायत नेपालको पर्यटन उद्योगको संचालन तथा विकासमा तगारो लागेको छ ।

नेपालमा विभिन्न विधामा मनोरञ्जन लिन पर्यटकहरू आउने गर्छन् र त्यसै विधासँग सम्बन्धित केही मुख्य ब्यबसाय तथा संस्थाहरूको बारेमा अब यो लेखमा म छोटो जानकारी गराउन चाहन्छु ।

नेपाल पर्यटन बोर्ड

नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्दै पर्यटकको आगमन बढाउन मुख्य भुमिका खेल्ने एकमात्र सरकारी निकाय नै पर्यटन बोर्ड हो । नेपालको पर्यटन र विश्व पर्यटन बजारबीच सेतुको काम गर्ने बोर्ड पीपीपी अवधारणामा चलिरहेको छ । यसले गर्नुपर्ने कामहरू थुप्रै छन तर यहाँभित्र रहेका कर्मचारी र निजी क्षेत्रका प्रतिनिधिहरू मुख्य उद्देश्य हासिल गर्नभन्दा पनि विदेश सयर गर्न हानथाप र लालायित हुन्छन् । यसले विभिन्न देशमा हुने ट्राभल फेयरहरूमा गएर नेपालको प्रचार प्रसार गर्ने काम गर्दछ । यस्ता इभेन्टहरूमा विदेश जान बोर्डका कर्मचारीहरूबीच गज्जबकै होडबाजी चल्छ र पनि जो फेयरमा जान्छन उनीहरू स्टलमा नबसी घुम्नतिर मात्र लाग्दछन्, जसले नेपालको पर्यटन प्रवद्र्धन कसरी होला ? कर्मचारीको त कुरा के भयो र पर्यटन क्षेत्रको विकास गर्छु भनी निजी क्षेत्रबाट नेताको चाकरीमा बोर्ड सदस्य बन्न गएका पात्रहरू पनि कहिल्यै भिषा नलाग्ने देशहरूको भिषा लगाई आफ्नो स्टाटस बढाउने काम भन्दा बढी आजसम्म कसैले केही गर्न सकेको देखिएको छैन ।

हुन त बोर्ड को पुनर्संरचना एवम् सुधार हुनु पर्छ भनी गरिएका आन्दोलनका अगुवाकर्ता नै त्यहाँ पुगेको देखिन्छ । तर, गर्न सकेका केही होइनन् । बोर्डले गर्नु पर्ने काम धेरै छ । तर, भने जति गर्न सकिरहेको छैन । अन्तराष्ट्रीय मार्केटिंग गर्न अहिले विभिन्न माध्यमहरूको भरपुर उपयोग गर्नु पर्ने देखिन्छ भने आन्तरिक पर्यटन प्रवद्धन गर्न त झनै बोर्डले खासै महत्व दिएको पाँइदैन । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने संस्थासँगको सहकार्यलाई महत्व नदिई फगत कार्यक्रमका लागि कार्यक्रम ल्याउनेहरूसँग बढी साँठगाँठ चल्ने गर्दछ । अन्तराष्ट्रीय हवाई यात्रूहरूको एनक्यु ट्याक्सबाट चलेको बोर्डमा धेरै सुधार गर्नु पर्ने देखिन्छ ।

ट्रेकिङ तथा पर्वतीय पर्यटन

नेपालको मुख्य पर्यटनको आकर्षणको क्षेत्र भनेको नै यही क्षेत्र हो । हिमालय चढ्नेदेखि पदयात्रामा रमाउने पर्यटकहरू नेपालमा बढी आएको पाइन्छ । करिब २ हजारभन्दा बढी कम्पनीहरू यस्ता खालका गतिविधि गर्ने पर्यटकहरूलाई सेवा दिन खोलिएका छन् । शुरूमा अनलाइनको सुविधा नहुँदा आफै पर्यटकहरू अफिसमा आउने वा कम्पनीले होटलहरूसँग समन्वय गरी पर्यटकलाई आफ्नो प्याकेज बेच्ने गर्दथे भने अहिले अनलाइनको जमाना भएकोले सबैजसो पर्यटकहरू कम्पनीको सेवा, सुविधा अनि बजेट हेरी आफै कम्पनी छानेर बुक गरी भ्रमण गर्न आउँछन् ।

यसरी बुक गर्दा पर्यटकले कम्तिमा पनि ४-५ वटा ट्रेकिङ कम्पनीसँग इन्क्वायरी गर्ने गर्दछ र जसले सस्तो दियो उतै बुक गर्दछ, जसले गर्दा अस्वस्थ प्रतिस्पर्धा भई थोरै मुनाफामा प्याकेज चलाउनु पर्ने बाध्यता छ। नेपालमा ट्रेकिङ कम्पनी दिनहु जस्तै खुले । १-२ पटक फिल्डमा गइसकेपछि विदेसीले म तसँग मेरो साथीलाई ट्रेकिङ गर्न पठाईदिन्छु भन्न पाएको छैन, उसले कम्पनी खोल्न भ्याइसक्छ, जसले व्यवसायिकतामा अब्बलता हासिल हुँदैन । प्रायः आफन्तहरूबाटै शुरू गर्छन् व्यवसाय र कामदारहरू पनि आफ्नै मान्छेले मात्र राम्रा र ठुला ग्रूपहरू हात पार्छन् । त्यसैले आफन्त नहुनेले यो क्षेत्रमा काम पाउन ठुलै चाकरी गर्नु पर्ने हुन्छ । यहाँका कर्मचारीहरूको स्थायी तलब हुँदैन । र, फिल्डमा गएको बेला मात्र तलब पाउँछन् र पर्यटकले दिने टिप्स नै मुख्य कमाईको बाटो हुन्छ । त्यसैले यस क्षेत्रका मजदुरहरू सामाजिक सुरक्षा सुविधाबाट बन्चित छन् ।

नेपालको पर्वतीय पर्यटन राम्रो अवस्थामा चलिरहेकै थियो । तर यहाँ रातारात धनी हुने नाममा नक्कली हिमाल आरोहण प्रमाणपत्र बेच्नेदेखि पर्यटकलाई बिरामी बनाई फेक रेस्क्यूको धन्दासमेत शुरू भयो । त्यसले गर्दा आज विश्व बजारमा नेपाल आउनको लागि इन्सुरेन्स कम्पनीले इन्सुरेन्स गर्न नमान्ने स्थिति आइपुगेको छ र पर्यटकको संख्या बढ्न सकेको छैन । ट्रेकिङ कम्पनी, हेलिकोप्टर कम्पनी र हस्पिटलको मिलेमतोमा सिमीत व्यवसायीहरूले २, ४ वटा महलहरू ठड्याए होलान् तर यसबाट समग्र व्यवसायीहरूले ठुलो क्षति बेहोर्नु मात्र परेको छैन, देशकै पर्यटन उद्योगप्रति प्रश्न चिन्ह खडा गरेको छ । हजारौंलाई रोजगार प्रदान गर्ने यो क्षेत्रलाई सफल पार्न यहाँ हुने अनैतिक गतिविधि गर्नेलाई कडाई गर्दै नियमसंगत ढंगबाट स्वस्थ प्रतिस्पर्धा गरी केही सुधारहरू गर्न सके पर्यटकको ओइरो लाग्ने वातावरण बन्दछ ।

ट्रेकिङ व्यवसायलाई ब्यबसायीहरूको अनैतिक धन्दाबाट मात्र हैन, विकासको नाममा ट्रेकिङ रूटमा जथाभावी खनिएका बाटाहरूले यो क्षेत्र अपाङ्गसरह भएको छ ।हिजो २१ दिनको पदयात्रा चल्ने ठाउमा आज ७ दिनमै पदयात्रा गर्न सकिन्छ, जसको कारण पर्यटकको बसाई घट्न गई व्यवसायी, मजदुर र राज्य सबैलाई घाटा हुन गइरहेको छ । नेपालमा भएका निषेधित क्षेत्रको प्रावधान हटाउनु पर्छ भन्ने व्यवसायीहरूको मागको सन्दर्भमा मरो फरक धारणा छ । मलाई चाही यस्ता ठाउँहरू पनि चाहिन्छ भन्ने लाग्छ, जसले गर्दा गुणस्तरिय पर्यटक भित्र्याउन सकिन्छ । अझै नेपालको पर्यटन गुणस्तरिय बनाउन, जिडिपीमा यसको धेरै योगदान हुन र विशाल उद्योगको रूपमा अगाडि बढाउन भुटानी मोडलमा जाँदा राम्रो परिणाम हात पार्न सकिन्छ ।

ट्राभल एन्ड टुर्स

पर्यटन क्षेत्रमा ट्राभल एन्ड टुर्सलाई सम्मानित व्यवसाय मानिन्छ । समाजका अलि प्रतिष्ठित व्यक्तिहरू यस पेशामा लागेका छन् । बिशेषतः यो क्षेत्रमा ३ किसिमका व्यवसायीहरू हुन्छन् । कोही टिकेटिङको मात्र व्यवसाय गर्छन्, कोही टुर्सको मात्र व्यवसाय गर्छन् त कोही दुवै गर्ने गर्दछन् । टुर्समा पनि धेरैले विदेशी पर्यटकहरूलाई आफ्नो देशमा घुमाउने काम गर्दछन् भने नेपालीलाई विदेश घुमाउने व्यवसायीचाहीँ कमै छन् । यसमा पनि व्यवसायीहरूबीच अस्वस्थ प्रतिस्पर्धा धेरै नै छ । यस क्षेत्रमा पनि टुर गाईडहरूको स्थायी तलब सुविधा हुँदैन । उनीहरू फिल्डमा गएको समयको मात्र तलब पाउने गर्दछन् । तैपनि टुर गाइड एउटा सम्मानित पेशा हो र उनीहरुले आकर्षक कमाई गर्न सक्दछन् ।

सबैभन्दा धेरै व्यवसायीहरूले टिकेटिङ गर्ने गरेका छन् । यसमा पनि आइटाका सदस्य भएका कम्पनीहरूले आफै टिकट काट्न पाउँछ भने नभएका कम्पनीहरूले तिनै आइटामा सदस्य भएका कम्पनीबाट नै टिकट बनाउनु पर्ने हुन्छ । यो पेशामा अनेकौं चलखेलहरू हुन्छन् । जस्ले पायो, उसले टिकेटिङ पेशा गर्न धेरै गार्हो छ । केही कम्पनीहरू एयरलाइन्ससँगको मिलेमतोमा कार्टेलिङ गरी आफैले मात्र एकछत्र व्यापार गर्न माहिर छन् । केही कम्पनी यस्ता खेलाडी छन्, जो एयरलाइन्सको हाकिमसँग बिहान ब्रेकफास्ट अनि बेलुकी डिनरसम्म सँगै भेटिन्छन् अनि कमिसनको खेलमा कार्टेलिङ गरी सिट दिने गरिन्छ, जुन ट्राभल क्षेत्रमै सबैभन्दा ठुलो बद्मासी हो । त्यतिमात्र होइन, विदेशी एयरलाइन्स कम्पनीले केही ट्राभल कम्पनीलाई अनि नेपाल एयरलाइन्सकै कर्मचारीलाई नेपाल एयरलाइन्सको सिट होल्डिङ गर्न लगाई कमिसन दिएर आफ्नो एयरलाइन्समा टिकट काट्न बाध्य पारिन्छ । अनि, नेपाल एयरलाइन्स उड्ने बेलामा रित्तै उडाएर डुबाउने खतरनाक खेल हुन्छ । त्यसरी सबैको मिलेमतोमा नेपाल एयरलाइन्सलाई डुबाउने काम भैरहेको छ ।

कार्टेलिङ र सिट होल्डिङ यो क्षेत्रको मुख्य समस्या हो । यसलाई हटाउन नसकिए धेरै व्यवसायीहरूको व्यसाय धरापमा पर्ने निश्चित छ । त्यस्तै आन्तरिक हवाई उडानमा विदेशीलाई चर्को रकम लिएर नेपालको टुर्स महंगो छ भन्ने पारिदिइएको छ, जसलाई समायोजन गरिनु पर्दछ । जस्तो कि काठमाडौं पोखरा उड्न विदेशीलाई १ सय ५ डलर छ तर एयरलाइन्सले त्यसैलाई ३५ डलरमा बेच्छ । अनि किन १ सय ५ डलर राख्नु पर्यो ? त्सैले डलर फेयरमा समायोजन भयो भने विदेशी नागरिकलाई टुर प्याकेज सस्तो पर्न जान्छ र धेरै विदेशी आकर्षित गर्न सकिन्छ ।

होटल

आतिथ्यता र स्वागत सत्कारबाट पर्यटक आकर्षित गर्ने होटल व्यवसायमा अहिले धेरै व्यवसायीहरूले लगानी गरिरहेका छन् । केही बर्ष पहिले पर्यटक सिजनमा कोठा पाउन मुस्किल थियो भने अहिले त्यो समस्या छैन र प्रतिस्पर्धामा व्यवसाय संचालन गर्नु परेको छ । कतिपय होटलले आफ्नो एजेन्टलाई दिने रेटभन्दा सिधै बुक गर्ने पर्यटकलाई धेरै सस्तो दिएर एजेन्टलाई समस्यामा पारिहेका छन् । कतिपय होटलहरू आफ्नो होटल फुल गर्न अनलाइन सर्भिस प्रोभाइडरसँग मिलेर राम्रो आम्दानी गरिरहेका छन् भने कसैलाई खर्च धान्न पनि मुश्किल भइरहेको पाइन्छ । प्रतिस्पर्धात्मक रूपमा यो क्षेत्रमा व्यवसायीहरू लागिपरिरहेका छन् ।

नेपालमा पर्यटकिय गतिविधिहरूका एड्भेन्चरका धेरै क्षेत्र छन् । पर्यटकहरू मुख्यतः जंगल सफारी, राफ्टिङ, बन्जीजम्प, प्याराग्लाइडिङ, स्काइडाईभिङ, माउन्टेन फ्लाईट आदि गरेर धेरै मनोरञ्जन लिने गर्दछन् । यी सबै एड्भेन्चर व्यवसायले पर्यटकलाई थप मनोरञ्जन दिएर आकर्षित गरिरहेको छ । साथै, अब पर्यटकहरू ग्रामीण क्षेत्रमा समेत आकर्षित हुन थालेका छन् । गाउँघरमा त्यहाँको आतिथ्यता, कला, संस्कृति तथा स्थानीय खानपान अनि राम्रो घरबासको सुविधाले आन्तरिक मात्र होइन, बाह्य पर्यटक समेत ग्रामीण पर्यटनमा आकर्षित हुँदै गइरहेका छन् ।

नेपालको पर्यटन यस्तै र यसकै पेरिफेरिमा परम्परागत ढङ्गले चलिरहेको छ । अब नयाँ निती र नियम अनि अवान्छित कार्य गर्नेलाई कारवाही गर्दै संख्यात्मक भन्दा गुणस्तरिय पर्यटक तान्ने हिसाबले पर्यटन क्षेत्रलाई अगाडि बढाउनु अबको आवश्यकता हो । तर, कोरोनाको असरले यो क्षेत्रमा झनै अस्वस्थ प्रतिस्पर्धा बढ्न जाने निश्चित नै छ, जसले झन् नेपालको पर्यटनलाई उद्योगको रूपमा विकास गर्न समस्या उत्पन्न हुनेछ ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button