बाले भनेजस्तै हिमालमा सुन, हिरा र मोती रहेछ

भारी बोकेर पहिलो ट्रेक

जय भण्डारी

धेरै इच्छा र धेरै समयको पर्खाइ । अन्तत म हेलम्बु जाने भएँ । पर्यटकसँगको पहिलो यात्रा र जीवनको पहिलो गन्तव्य । बन्दोबस्तीका सामाग्री सबै तयारी अवस्थामा थिए । थर्डपोल ट्रेकका दीपक महतले यात्रामा मेरो सहभागिता जुराइदिएका थिए ।

यात्रा सुन्दरीजल, चिसापानी, कुटुमसाङ्ग, ठाडेपाटी हुँदै हेलुम्बको मेलम्ची, तार्केघ्याङ्ग, सेर्माथाङ्ग, तालामराङ्ग र चिसापानी भएर फेरि सुन्दरीजल बजारमा अन्त हुन्थ्यो । विदेशीहरुसँग काम गर्न उत्सुक र उत्साही तर अनुभवशुन्य । म त्यो यात्रामा दुईजना विदेशी पाहुनाको भरियाको रुपमा थिएँ भने बुद्धिमान कर्मोचा पथप्रदर्शक ।

हाम्रो जीप सुन्दरीजलको बस बिसौनीमा रोकियो । बुद्धिमान र दुईजना विदेशीसँगै हाम्रो पदयात्रा सुन्दरीजलबाट शुरु भयो । सुन्दरीजलको सुन्दर झरना नजिकै पुग्यौं । मैले सानोमा सुन्दरीजलको एउटा महिमा गीत सम्झेँ र सम्झिइनँ गीतकारको नाम ।

सुन्दरीजल छललल झरनाहरु गाउने ।
ढुँगाको बाजा माछाको नाच पहरै थर्काउने ।

उकालो लाग्दै गर्दाका दृश्य पनि काव्यात्मक । पाहुनाहरु कोही फोटो खिच्दै त एकले अर्काको हात समाउँदै उकालो चढ्दै थिए ।

चाहेको ट्रेकिङ क्षेत्रमा काम शुरु गर्न पाएकोले मनमनै मुसुमुसु हाँस्दै हिँंड्दै थिएँ ।

भण्डारी

कुनै बेला भारीले न्याकेर थाक्दा भने कता कता कठिन काममा हात हालेँ कि भन्ने लाग्थ्यो ।

‘भारी बोक्न सजिलो हुँदैछ कि असजिलो ?’, बुद्धिमानले टक्क अडिएर सोधे, ‘भोक पनि लाग्यो कि ?’

अलिअलि थकाई र भोक दुवै लागेको बताएँ ।

‘अब यही माथि गाउँमा खाने हो र थकाई पनि त्यही बेला मर्छ’, उनले भने ।

काठमाडौंबाट नजिकै रहेको तामाङ बस्ती थियो त्यो । सुन्दरीजल गाउँ । लगभग काठमाडौको धरैजसो भाग देख्न सकिन्थ्यो त्यहाँबाट ।

मूलखर्क भन्ने ठाउँबाट बाटो वनभित्र पस्यो । भलपानीले खियाएको गल्ली कहिले सुरुङभित्र अजङ्गको सर्पजस्तै भित्र पस्थ्यो त कहिले डाँडो चढ्थ्यो । यस्तै यस्तै गौंडा र खुड्किला कट्दै जाँदा एउटा भञ्ज्याङ आइपुग्यो । त्यहाँ फूलपाती र धजाजस्तै लुड्डटाहरु बाटोको वारपार टाँगिएका थिए । निकै रमाइलो थियो र साना साना ढुड्डा र फूलका गुच्छाको ठाउँमा वनस्पतिका पात र मुन्टा चढाइएका थिए । त्यसले मलाई सानो छँदा सुनेको गीतको याद आयो र त्यही गुनगुनाएँ,

जाँदा जाँदा उकालीमा देउरालीलाई पाती,
यती राम्री तरुनीको पोई मरेको जाती ।

मेरो त्यो बेलाको उमेर अनि भञ्ज्याङमा चढाइएका पूmलपातीले गीतको याद दिलायो होला ।

भञ्ज्याङबाट उत्तरतिरको पानीढलो हुँदै चिसापानीतिर बाटो ओरालियो ।

हामी पनि खुट्टा बजारदै ओरालोतिरै बाटो पछ्यायौं ।

केहि समयको ओरालोपछि चिसापानी पनि आइपुग्यो । त्यस दिनको गन्तव्य पनि त्यही भएकोले त्यो बेलाको अन्नपूर्ण गेष्टहाउसमा हाम्रो बास रह्यो ।

साँझको समय । चिसो सिरेटो । थाकेको शरीर । तर, मनमा स्वैरकल्पनाहरु मडारिइरहेका थिए । किनकि युवा अवस्थामै सम्पूर्ण पारिवारिक जिम्मेवारी थाप्लोमा बोक्दा, विभिन्न हण्डर खाँदा अनि कुनै आय आर्जनको बाटो भेट्न नसक्दा ऋण र दुखले थिचेको उपायबिहिन जिन्दगी उठाउन त्यो दिनको यात्राले नै बाटो तय गर्दै थियो । खानापछाडि गाइड बुद्धिमानले भोलिपल्टको गन्तव्य र बाटोको अवस्थाबारे पर्यटकलाई के भने मैले केही मेसो पाइनँ ।

मलाईचाहिँ भोलि हामी कुटुमसाङ पुग्नुपर्छ भनेका थिए ।

बिहानै चिसापानीबाट कुटुमसाङ जाने बाटो लाग्यौं । बाटो ओरालिँदै पाटीभञ्ज्याङ पुग्यो । पर्यटकको ट्रेकिङ परमिट जाँच गर्न बुद्धिमान पुलिस चौकीभित्र गए । मैले भने बिसौनी खोजेर भारी बिसाएँ ।

खुईय !

दोश्रो दिनमै यसरी थाकिन्छ भने बाँकी अरु पाँच दिनसम्म कसरी पार लगाउने ? त्यहाँबाट आधा घण्टाको तेर्पाएँ उकालोपछि चिप्लिङको नाकै ठोक्किने उकालो । त्यहीमाथि गेग्य्रान अनि चट्टान । हिँड्दा पाइला अघि बढ्लान् भन्दा पछिपछि लतारिने । अलिक ध्यान तलमाथि भयो भने ज्यान जोखिममा ।

तरेली परेका बारीका कान्लाहरु मनोरम देखिन्थे । तिनलाई हेर्दा थकित तनमन त्यसैत्यसै आनन्दित हुन्थ्यो, पुलकित हुन्थ्यो ।

एउटा गाउँ कटेर पोथ्रे बन सकिएपछि सल्लाको रुख मिसिएको हरियो छिर्के डाँडो आयो । बाटो त्यहाँबाट गोलभञ्ज्याङतिर ओरालो लाग्यो । भञ्ज्याङमा केही पसल, भट्टी र एक दुईवटा गेष्टहाउस देखिन्थे । लञ्च त्यहीँको कुनै एउटा अन्नपूर्ण नामको लजमा खाइएको थियो ।

खानापछिको बाटो रमाइलो थियो तर उकालो । जति माथि गयो, उति रमाइलो । उकालो सकिने बेलामा रमाइलो चौर आयो । केही समय हामीले आफुलाई रमणीय चौरमा बिसायौं । थकाइपछिको रमणीय ठाउँको बिसाइ अति आनन्ददायक ।

‘अब कति घण्टा हिड्नु पर्छ कुटुमसाङ पुग्न ?’, मैले सोधेँ ।

‘ओन एण्ड हाल्फ आवर जति हिँडे हुन्छ आजलाई’, बुद्धिमानले बताए ।

पाहुना र बुद्धिमान अघि लागे, म पछिपछि । बाटो अलि बाक्लो बनभित्र पस्यो । बीस मिनेटको उकालोपछि हरियो मिश्रित बन, जसले शरिर र आँखालार्ई शितलता प्रदान गर्दै थियो । बाटो पनि त्यत्तिकै सहज र रमाइलो थियो । दशमिनेट जतिको उकालो हिँडेपछि ओरालो आयो । र, पर दुवैतिर पानीढलो घाँटीजस्तो ठाउँमा गाउँ देखियो । बुद्धिमानले भने, ‘त्यही हो कुटुमसाङ ।’

दास्रो दिनको बसाई दोर्जे शेर्पाको गोसाईंकुण्ड लजमा भएको थियो । पहिलो चोटी शेर्पाको घरमा बास । के होला ? कस्तो होला ? म उत्सुक थिएँ ।

न्यानोको लागि डाइनिङमा तिब्बती चुलो । अलमारीमा सेट मिलाएर राखिएका भाँडा । साहुजी दौरा–सुरुवालमा त साहुनी चुवा र आड्डीमा । पहिलो नजरमा सबै चीज राम्रा ।

हेलम्बुको पछिपछिका ट्रेकिङमा पनि त्यो ठाउँ तुलनात्मक रुपमा राम्रो लाग्थ्यो तर त्यस ठाउँमा अन्य लज बनेपछि भने त्यसले कमै प्राथमिकता पायो ।

कुटुमसाङबाट लाङटाङ राष्ट्रिय निकुञ्ज शुरु भएपछि अटुट उकालो आयो । र, मागिनगोठ पुग्ने बेला पन्ध्र मिनेट जति ओरालो । भोक र थकाईले लोत भएको बेला दश–पन्ध्र मिनेटको बाटो पनि एक–डेढ घण्टाको जस्तै लाग्यो ।

‘लञ्च खाने भए बस्नुस् । जे खानुहुन्छ, त्यही बनाईदिन्छु’, त्यही ठाउँमा रहेको एउटा सानो टिहाउसमा भएका एकजना वयोबृद्धले भने ।

हुन्छ भनेर बुद्धिमान पनि त्यहीँ रोकिए । पाहुनाले नुडल सुप र टिबेटन ब्रेड खाने भए ।

बाजेले खाना बनाउन थाले । म भोकले छटपटिएकोले उनले कसरी र कतिबेला बनाउँछन् भनी नजिकै बसेर हरिरहेको थिएँ । एकातिर अँगेनामा कालो डेक्चीमा पानी बसाले । त्यस्तै कालो भाँडोमा आँटा मुच्छ्न थाले । उनको नाक पनि त्यत्तिकै रसाइरहेका थिए । उनले आँटा मुछिरहेकै हातले नाकको रसलाइ पुच्छ्दै र मुच्छ्दै गर्थे । उनको त्यो रीत अरु खानेकुरा बनाउँदा पनि चलिरहेकै थियो ।

बाजेले खाना तयार भएको जानकारी गराए । मलाई ‘नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार’ भइरहेको थियो । किनकि उनले खाना पकाउँदै गर्दाको चर्तिकला देखिसकेको थिएँ ।

भोक मिठो कि भोजन मिठो महाराज !

मेरो लागि त्यो बेला भोक मिठो भयो । जेनतेन गाँस निलेर फेरि ठाडेपाटीतिर उकालो लाग्यौं ।
मौसममा बद्लाव आएर अलिअलि बादलका धर्काहरु आकाशमा तन्किन थाले । हजारौंहजार बर्ष पुरानो जस्तो लाग्ने घना बनभित्र पस्दा कपासका थुप्रा जस्ता आकृति बाक्लिंदै गए । रुखहरु हरिया र खैरा भ्mयाउका परिधानले गजधम्म ! कुनै कुनै त भयंकर रौद्र मुद्रामा बसेर जो कोही सामुन्ने पर्नासाथ झम्टिएलान जस्ता त कुनै भने गएर अंगालोले बेरौं बरौंजस्ता । यस्तै यस्तै आकृतिहरु पार गर्दै उकालो लाग्दै जाँदा पहिला आकाशमा देखिएका कपासजस्ता बादलका धर्साहरु भयंकर आँधी बोकेर हिँड्न थालिसकेका थिए ।

बीस मिनेट जतिको उकालो निकै चुनौतिपूर्ण रह्यो । त्यसपछि चिसो मौसम तथा हावापानी भएको त्यो पदयात्राको सबैभन्दा उचाइमा रहेको गन्तब्य ठाडेपाटी पुग्यौं । बुद्धिमानका अनुसार त्यो ठाउँ समुन्द्र सतहदेखि लगभग ३५ सय ९० मिटरको उचाइमा अवस्थित थियो । म जीवनमा पहिलो चोटी त्यति उचाइमा पुगेको थिएँ ।

पाहुनाहरुको लगेज उनहीरुको कोठामा पुराइदिएँ ।

जीवनमा पहिलो पटक पदयात्रा गरेको हुँदा न्यानो लुगाफाटो जोहो थिएन मसँग । न्यानो ठाउँको खोजी गर्दै किचनतिर गएँ ।

थकाई र जाडोले गर्दा अरु कुरामा मेरो ध्यान गएन । खाना खाने बित्तिकै घुप्लुक्क सुतेँ ।

बिहान उठेर ठाडेपाटीको डाँडाबाट सुनौला सुन र टलक्क टल्किने हिरामोती फलाउने हिमाल हेर्न गइयो । मेरो बालस्वप्न साकार भएको महसुस गरेँ ।

सानो हुँदा घरनजिकैको ढिस्कोमा आएर विदेशी पर्यटकहरुले माछापुच्छ्रे हिमाललाई ताकेर फोटो खिच्दा बाले भन्नुभएको थियो, ‘हिमालमा सुन, हिरा र मोती हुन्छ । यिनीहरुले तिनै ज्वहारतहरुको फोटो खिचेर लान्छन् ।’

त्यो कुराले मनमा अमिट छाप पार्यो । त्यसपछि मैले सपना देख्न थालेँ, पर्यटहरुसँगै ती ज्वहारतहरु हेर्ने ।

ठाडेपाटीको डाँडाबाट जुगल, रोल्वालिङ हिमश्रृंखलाका दोर्जेलाक्पा, फूर्विछ्याछु, छोरेभाम्रे र गौरीशंकरजस्ता सुन्दर हिमालहरु हेर्दैगर्दा मेरो वालस्वप्न सपना साकार भइरहेको थियो ।

सोचेँ हिमालहरु देश र जनताका दौलत र गौरव हुन् ।

हिमाल नै हुन् हिरा र मोती ज्वहारत नेपालको
सुन्दर शान्त देश विशाल गौरव नेपालीको ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button