
‘उता गोदावरी जम्मै फुलेर ढकमक्क छ, यता सरस नेवारी त्योदेखि अकमक्क छ’
मेरो माटो
ऋषभदेव घिमिरे
गोदावरी–३, ललिपुर ।
‘गोदावरी’ गोदावरीको नामले परिचित रहनुका सम्बन्धमा एउटा किंवदन्ती पाइन्छ, जुन स्थापित मान्यता भएर रहेको छ ।
परापूर्व कालमा वर्तमान गोदावरी क्षेत्रको उत्तरी क्षेत्रमा अवस्थित काठमाडौँ उपत्यकाभित्रको प्रमुख चार नारायण– शेषनारायण, चाँगुनारायण, इचङ्गुनारायण, विशङ्खुनारायण मध्ये विशङ्खु नारायण तथा गोदावरी क्षेत्रलाई आफ्नो यौगिक वासस्थान बनाई बहादुर पुरी नामका एक सिद्ध योगी बसेका थिए । बहादुर पुरी आफ्नो योगबलका प्रभावले वायु मार्गबाट भारतको दक्षिण गोदावरीको तीर्थाटनमा नित्य गङ्गास्नान गर्न जान्थे । वायु मार्गको लामो यात्रा गरी आफ्नो आराधना र स्नान गर्न आएकोमा गङ्गा प्रसन्न भई गोदावरी गङ्गाले सपनामा आएर बहादुर पुरीलाई भनिन् रे, ‘अब तिमी यति टाढाको यात्रा गरेर गङ्गा स्नानको लागि धाउनु पर्दैैन, म स्वयं तिमी भएको ठाउँमा नै प्रकट हुनेछु, त्यहीँ स्नान गर्नू ।’
त्यो स्वप्नवाणी भएपछि योगीले म कसरी विश्वास गरूँ भन्ने प्रश्न गरेछन् । गोदावरी गङ्गाले पुनः भनिन् रे, ‘नित्य स्नानमा आउँदा तिम्रा साथमा रहेको कमण्डलु, झोली, खराउ, माला, चिम्टा सबै वस्तु स्नानपछि गङ्गामा हालिदिनू, पहिले प्रमाणस्वरुप तिम्रा समानहरू आउनेछन् अनि म प्रवाहित भएरबहने छु’ । त्यो स्वप्नवाणीपछि योगीले त्यस दिनको स्नानपछि सोही अनुरूप गरे ।
तत्पश्चात् योगी आफ्नो कुटीमा फर्केर गङ्गाको ध्यान, जप, उपवास र उपासनामा लिन भए । सोही दिनको मध्यरात आपूm बसेको पूर्वी दक्षिण भागमा धर्तीको गर्भबाट ठूलो विष्फोटको आवाज आएको सुनेर बहादुर पुरीको ध्यान टुटेछ र त्यस आवाज आएको स्थानमा हेर्न जाँदा ठूलो ढुङ्गाको चेपबाट ती आफ्ना सामानसहित निर्मल कञ्चन पानीको प्रवाह हुन थालेको देखेपछि बहादुर स्वामी प्रसन्न भई जय गङ्गे, जय गोदावरी भनी स्नान गरेर आफ्नो कुटीतर्फ लागे भन्ने किंवदन्ती आज पनि जीवन्त छ । सोही कारण यस गोदावरी क्षेत्रको महत्व सँगै ‘गोदावरी’ भन्ने नामबाट परिचित रहेको हो भन्ने मत छ ।
पवित्र गोदावरी गङ्गाको प्रतीक रहेको गोदावरी क्षेत्र धार्मिक महत्वको रूपमा स्थापित भएर रहेको छ । सौर्यमण्डलको परिक्रमा अनुसार १२ राशिहरूमध्ये सिंह राशिमा बृहस्पति र सूर्य रहने क्रम प्रत्येक १२–१२ वर्षमा पर्न आउँछ । १२ वर्षको अन्तरालपछि ज्योतिषशास्त्रानुसार सूर्य र बृहस्पति एकै स्थानमा (भाद्रमासमा सिंह राशिमा) रहने भएको हुँदा यस पुण्य घडीलाई गोदावरीको १२ बर्से मेलाको रूपमा मनाउने गरिन्छ । पवित्र धार्मिकस्थलको रूपमा गोदावरी परिचित रहेको धारणालाई युक्तिसङ्गत रूपमा ग्रहण गर्न सकिन्छ ।
धार्मिक/सांस्कृतिक सम्पदा
गोदावरी पुण्य क्षेत्रको उत्पत्ति पौराणिककालबाट नै भएको मान्न सकिने आधारहरू छन् । स्कन्दपुराणको हिमवत्खण्ड, नेपाल माहात्म्य, पद्मपुराणको उत्तरखण्ड, गरुडपुराणको विविध तीर्थमा भएका गोदावरी गङ्गालाई महातीर्थ मानिएका विभिन्न प्रसङ्ग गोदावरी महिमा तथा माघस्नानमा सप्त गोदावरीको उल्लेख आदि विभिन्न पौराणिक कालखण्डका आधारमा दृष्टिगत गर्दा गोदावरी, पौराणिक कालदेखि नै स्थापित तीर्थस्थलको रूपमा रहेको छ भन्न सकिन्छ ।
शिवपुराणअन्तर्गत कोटी रुद्रसंहिताको अध्याय २४, २५, २६ मा भएका गङ्गा, गोदावरी तीर्थको महत्व एवं सिंह अस्त पर्वको प्रसङ्गहरू मध्ये अध्याय २६ का केही श्लोकहरू उद्धृत गर्नु सान्दर्भिक ठहरिन्छ ।
सर्वे उचुः ।।
सिंह राशौं यदा स्याद्वै गुरुस्सर्वसुत्द्दत्तमः ।
तदा वयं च सर्वे त्वागमिष्यामो न संशयः ।।४३
एकादश च वर्षाणि लोकानां पातकं त्विह ।
क्षालितं यद्भवेदेवं मलिनास्स्मः सरिद्वरे ।।४४
तस्यैव क्षालनाय त्वायास्यामस्सर्वथा प्रिये ।
त्वत्सकशं महादेवी प्रोच्यते सत्यमादरात् ।।४५
अनुग्रहाय लोकनामस्माकं प्रियकाम्यया ।
स्थातव्यं शंकरेणापी त्वया चैव सरिद्वरे ।।४६
यावत्सिंहे गुरुश्चैव स्थास्यामस्तावदेव हि ।
त्वयि स्नानं त्रिकालं च शंकरस्य चदर्शनम् ।।४७
कृत्वा स्वपापं निखिलं विमोक्ष्यामो न शंसयः ।
स्वदेशांश्च गमिष्यामो भवच्छासनतो वयम् ।।४८
माथि उद्धृत श्लोकहरूले गोदावरी, यमुना, पुष्कर आदि गङ्गास्नान महत्वका साथै सिंह अस्तका वेलामा गोदावरी स्नान मात्र गर्नाले देवताहरूको समेत पाप मोचन हुने प्रसङ्गहरू उल्लेख भएका पाइन्छन् । (नेपाल माहात्म्यको अध्याय १८६ को श्लोक ८४)
गोदावरी महातीर्थे सिंह हस्तो यदा भवेत् ।
स्नाल्लभदेगवां कोटि भवन्फलविकिल्विषः ।।
(गोदावरी महातीर्थमा सिंह राशिमा सूर्य बृहस्पति हुँदा त्यसमध्ये पनि हस्ता नक्षत्र भएको समयमा र अरू समयमा समेत स्नान गर्नाले (नुहाउनाले) सबै पापहरू नाश भई करोडौँ गाई दान गरेको फल प्राप्त हुन्छ । द्वारकामाहात्म्यमा उल्लेख भए अनुसार उल्लेखित श्लोकले ‘गोदावर्या गुरौ सिंहे हरिक्षेत्रे च कुम्भगे । रविग्रहे कुरुक्षेत्रे कास्यां चन्द्रग्रहे तथा’ ।१८। सिंह अस्त स्नान महत्वलाई व्याख्यान गरेको छ । श्रमिद्भागवत्महापुराणको दशमस्कन्दमा बलरामबाट सप्त गोदावरी तीर्थ यात्रा गरेको महिमा वर्णन गरिएको छ ।
‘सप्त गोदावरी वेणां पम्पां भीमरथीं ततः ।।’ (७९.१२)
गोदावरी क्षेत्रको बारेमा १३ औँ शताब्दीको लिच्छविकालमा पनि वर्णन गरिएको कुरा यहाँको शिलालेखहरूबाट पुष्टि हुन आउँछ । माथि उल्लेख गरिएअनुरूप सिद्ध पुरुष बहादुर पुरीको तपस्या तथा योगबलबाट प्रार्दुभाव भएकी गङ्गा गोदावरी क्षेत्रमा ‘सिद्धेश्वर’ नामबाट शिव भगवान्का रूपमा रही तपस्वीको तप सिद्ध गराएको भन्ने विश्वास जनमानसमा छ । यस पवित्र धार्मिकस्थल गोदावरी क्षेत्रमा साक्षात् शिव स्वरूप सिद्धेश्वर, फुल्चोकी, नवधारा जस्ता अन्य तीर्थहरूको समागम भएर रहेको छ । गोदावरी कुण्ड परिसर भित्र सानो कुण्डमा जलेश्वर भगवान्को शिवलिङ्ग एवं सप्त ऋषिको थान समेत रहेको छ । कुण्ड परिसर बाहिरको धुनी घर (गौतम कुटी) र कुण्डबाट करिब ५ सय मिटर पर गौरीकुण्ड पनि रहेको छ । गोदावरीकुण्डको तलतर्फ रहेको लामकुण्ड तटमा कोत पर्वमा काटिएका पाँच भारदारहरूको सम्झनामा निर्मित पञ्चदेवल मन्दिर रहेको छ । १२ बर्से मेला भर्न टाढा–टाढाबाट श्रद्धालु भक्तजनहरूको घुँइचो लाग्ने गर्दछ । यसै गरी १२ वटा ज्योतिर्लिङ्गमध्ये ‘त्र्यम्बकम गौतमी तटे’ भने अनुसार भारतको नासिक सहरबाट करिव ३० किलोमिटर दुरीमा रहेको त्र्यम्बकम ज्योतिर्लिङ्गको सामीप्यमा अवस्थित गोदावरी गङ्गामा पनि ठूलो मेला लाग्ने गर्दछ । साथै गोदावरीकुण्डबाट जल लिएर भक्तजनहरू नजिकै रहेको सन्तानेश्वर महादेव स्थानमा जल चढाई ‘श्रावणी पर्व’ मनाउने परम्परा रहेको छ । यस श्रावणी पर्वमा भारतबाट समेत तीर्थयात्री आउने गर्दछन् ।
गोदावरी क्षेत्रमा रहेका अन्य धार्मिक सम्पदाका रूपमा राममन्दिर र बुद्धबिहार, नवधारा देवीमन्दिर (जहाँ महाकाली, महालक्ष्मी, महासरस्वती रहेका छन्) राममन्दिर, बौद्ध गुम्बा र ॐकारेश्वर महादेव मन्दिर, ओघरनाथ मन्दिर एवं, आनन्देश्वर मन्दिर एवं शान्तिवन बुद्धमन्दिर, राधाकृष्ण मन्दिर, श्वेतवाराही, वज्रवाराही, सन्तानेश्वर, कालेश्वर र फुल्चोकी लगायतका मठ मन्दिरले गोदावरी क्षेत्रलाई धार्मिक क्षेत्रको रूपमा चिनाउँछन् ।
भौगोलिक पृष्ठभूमि
काठमाडौँ उपत्यकाबाट १४ कि.मी. दक्षिणपूर्वी भागमा अवस्थित प्राकृतिक एवं धार्मिक महत्वको रूपमा रहेको गोदावरी ललितपुर जिल्लामा पर्दछ । समुदी्र सतहबाट करिब ५,००० फिट उचाइमा रहेको गोदावरी क्षेत्र मौसम विज्ञानमा अत्यन्त महत्व राख्ने क्षेत्रको रूपमा परिचित छ । काठमाडौँ उपत्यकाको ‘चेरापुञ्जी’ नामले चिनिने गोदावरीबाट विभिन्न हिमशिखरहरू प्रत्यक्ष रूपमा देख्न सकिन्छ । जलवायुको विविधता रहेको गोदावरी क्षेत्र जाडोमा अलि जाडो र गर्मीयाममा ज्यादा गर्मी नहुने विविधात्मक मौसमी अभिलेख नै यहाँको विशेषता हो । यस क्षेत्रको औसत तापमान जाडोमा ०–२० डिग्री र गर्मीमा १७–३२ डिग्री सेल्सियससम्म रहेको पाइन्छ । मनसुनी याममा धेरै पानी पर्ने र सुख्खा मौसममा औसत वर्षा हुने भएको गोदावरी क्षेत्र समशीतोष्ण प्रदेशीय भू–भागमा पर्दछ । काठमाडौँ उपत्यकाको मनसुनी जलवायु फुल्चोकी शिखर हुँदै गोदावरीबाट काठमाडौँ उपत्यका प्रवेश गर्दछ भन्ने भनाइ रहेको छ ।
प्राकृतिक सम्पदा
गोदावरी साँच्चै नै प्राकृतिक विविधताको रूपले परिचित नाम हो । अति सुन्दर मौसम मानिने गोदावरी क्षेत्र अन्यत्र नपाइने वनस्पति एवं वन्यजन्तु, चराचुरुङ्गी, पुतली जस्ता प्रकृतिका वरद उपहारले भरिएको प्राकृतिक खुल्ला सङ्ग्रहालय हो । जैविक विविधताको अद्वितीय स्थल गोदावरी क्षेत्रमा विश्वमै नपाइने दुर्लभ जातका सुनाखरी ३५० जाति प्रजातिका विविध फूलहरुमध्ये २५ जातको सुनाखरी फुल्चोकी तथा गोदावरी क्षेत्रमा पाइन्छ । यसै गरी फुल्चोकी क्षेत्रको २४००–२७०० मिटरको उचाइमा पाइने एक दुर्लभ वनस्पति गोदावरी फुल्चोकी क्षेत्रमा बाहेक अन्य नपाइएको कुरा जापानका एक वनस्पति विज्ञ श्री मुराताले आफ्नो अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेका छन् । जुन वनस्पति फुल्चोकीको नामबाट नामाङ्कित भएको छ । खनिजजन्य वस्तुहरू (फलाम, मार्बल) को प्रचुर भण्डार रहेको गोदावरी क्षेत्र जीव जन्तु, वनस्पति आदि सबैको समागम स्थल हो ।
औषधीय गुणहरूले पूर्ण भएका कतिपय गुणकारी वनस्पति जडीबुटीका रूपमा गोदावरी क्षेत्रमा फैलिएको उत्तर पूर्वी जङ्गलमा पाइन्छन् । उचित वैज्ञानिक अनुसन्धानका अभावमा कतिपय जडीबुटीहरूको समुचित उपयोग हुन भनेको सकेको छैन । विभिन्न आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुने जटामसी, हलेदो, अविजालो, निम, घोडताप्रे, टिम्मुर, गुर्जो, पाँचऔँले, लौठसल्ला आदि जडीबुटी पाइने गोदावरी क्षेत्रमा यससम्बन्धी गहन अध्ययन अनुसन्धान भने भएको पाइँदैन । केही जडीबुटीहरूको सङ्कलन गरी कच्चा पदार्थको रूपमा प्रशोधन गर्नको लागि भने गोदावरी क्षेत्रको वडा नं. ५ मा ‘प्राकृतिक सम्पदा विकास महाशाखा’ अन्तर्गत पाइलट प्लान्ट स्थापित भएको छ । यस क्षेत्रका जडीबुटी प्रशोधन एवं विकासका लागि यो पर्याप्त आधार भने होइन ।
सामाजिक तथा आर्थिक अवस्था
सामाजिक रूपमा सहयोगी, सहयात्री एवं सहभागी भावनाबाट प्रेरित सामाजिक संरचना यहाँको पहिचान हो । उच्च सम्भ्रान्त वर्ग, मध्यम वर्ग तथा निम्न वर्गका मानिसहरू रहे तापनि सामाजिक परिवेश भने विभाजनात्मक अवस्थाको छैन । भौतिक सम्पन्नताको पक्ष बाहेक अन्य क्रियाकलापमा सबैको भूमिका समानुपातिक रहेको पाइन्छ । गोदावरी क्षेत्रका अधिकांश परिवारहरू कृषिमा नै आश्रित छन् । अन्य पेसाका रूपमा व्यापार, उद्योग, नोकरी, ज्याला–मजदुरी आदि पेसालाई आफ्नो जीवन–यापनको श्रोत बनाएको पाइन्छ । कुल जनसङ्ख्याको ७८ प्रतिशत मानिसहरू कुनै न कुनै पेसामा सम्बद्ध भएको पाइन्छ । यो सङ्ख्यामध्ये ४२ प्रतिशतले कृषि, अध्यापन एवं नोकरी तर्फ २२ प्रतिशत, ज्याला–मजदुरी गर्नेहरू १० प्रतिशत, व्यापार–व्यवसायतर्फ २ प्रतिशत र उद्योग एवं अन्यमा २ प्रतिशतले आ–आफ्नो पेसा बनाएका छन् । कृषि प्रमुख पेसाको रूपमा रहे तापनि सोचेअनुरूप उत्पादन वृद्धि भने भएको पाइँदैन । सिँचाइ, आधुनिक कृषि प्रणाली आदि विषयले सुविधा एवं विकास पु¥याउन नसकेको यस क्षेत्रमा परम्परागत कृषि प्रणाली नै विद्यमान रहेको पाइन्छ । दक्षिण ललितपुरकोकेही क्षेत्रमा चिया, कफीलगायत आधुनिक खेतीको सुरुवात भएको अवस्थालाई राम्रो सङ्केत मान्नु पर्दछ ।
पर्यटकीय महत्व
प्राकृतिक एवं धार्मिक विशिष्टताले परिचित गोदावरी क्षेत्र पर्यटकीय रूपमा पनि अति नै महत्वपूर्ण रहेको छ । प्रकृतिले वरदानको रूपमा प्राप्त गोदावरी क्षेत्रलाई यहाँ अवस्थित ‘शाही वनस्पति उद्यान’ पुरानो नामले अझ गहन र व्यापक बनाइदिएको छ । २०१९ सालमा स्थापित उद्यान खोज, अनुसन्धान तथा अध्ययनका लागि शैक्षिक केन्द्रका साथै प्राकृतिक खुला सङ्ग्रहालय एवं मनोरञ्जनको अनुपम स्थल पनि हो । तत्कालीन श्री ५ महाराजधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट २०१९ साल कार्तिक १२ गते उद्घाटित उक्त वनस्पति उद्यान ८२ हेक्टर (१६८० रोपनी) क्षेत्रफलमा फैलिएर रहेको छ । उद्यान भित्र १५ बागबगैँंचा तथा ग्रिनहाउसहरू रहेका छन् । त्यहाँ नेपाली जातका १५८६ बोटबिरुवाहरू सङ्कलित छन् भने १४२० विभिन्न जाति उपजातिका गैह्र नेपाली बिरुवाहरू समावेश गरिएका छन् । उद्यानभित्र रक गार्डेन, बग गार्डेन, लिली गार्डेन, फन गार्डेन, जापानी गार्डेन, लोटस पण्ड, कोरोनेसन पण्ड (शुभ–राज्याभिषेक स्तम्भ), दरबार मन्दिर आदि रहेका छन् । वि.सं. २०३१ सालमा काठमाडौँको टुँडिखेलमा निर्मित शुभ–राज्याभिषेक मन्दिर (जहाँबाट तत्कालीन श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहदेव सरकारबाट प्राथमिक विद्यालयस्तरको शिक्षा निःशुल्क गरिने घोषणा गरिएको थियो) लाई २०३४ सालमा नेपाली उत्कृष्ट कलात्मकताको नमुनास्वरुप वनस्पति उद्यानलाई हस्तान्तरण गरी उद्यानभित्र पुनस्र्थापित गरिएको छ । नेपालमा पाइने ६४५ जातिका विभिन्न पुतलीहरू मध्ये २५० जातजातिका पुतलीहरू गोदावरी क्षेत्रमा मात्र पाइन्छन् । तीमध्ये पनि अति दुर्लभ मानिएका १६ प्रजातिका पुतलीहरू गोदावरी क्षेत्रमा रहेका छन् ।

गोदावरीमा अवस्थित वनस्पति उद्यान एक प्राकृतिक खुला अन्वेषण र अनुसन्धानशाला भएको हुँदा विभिन्न जातजातिका वनस्पतिलाई सङ्कलन गरी व्यवस्थित रूपमा राखिएका छन् । नेपालकै एक मात्र राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालामा वनस्पतिहरू अनुसन्धानसहित सङ्ग्रहालयको रूपमा राखिएका छन् । यहाँ तन्तु प्रजनन प्रविधिबाट कृत्रिम तरिकाले बोटबिरुवा, वनस्पति तथा बिउहरू हुर्काउने प्रविधिको विकास समेत वि.सं. २०३४ सालदेखि नै हुँदै आएको छ । यहाँ संरक्षण तथा शैक्षिक उद्यानसमेत रहेको छ । यहाँ गोदावरी पूmललाई बाह्रै महिना फुलाउने प्रविधिको विकास गरी बाह्रै महिना गोदावरी पूmल फुलेको देख्न पनि पाइन्छ । जसले गोदावरी नामलाई अझ जिउँदो बनाएको छ ।
समद्री सतहबाट २७१५ मिटर उचइमा रहेको फुल्चोकी क्षेत्रबाट अन्नपूर्ण, मनास्लु, गणेश हिमाल, लाङटाङ हिमाल, गौरीशङ्कर हिमाल सजिलै देख्न सकिन्छ । नेपालकै सञ्चार, हवाई सेवा तथा खानी तथा भू–गर्भको निमित्त राखिएको भूकम्पमापन यन्त्र एवं माइक्रोवेभ टावरहरू फुल्चोकी डाँडामा नै राखिएका छन् । फुल्चोकीमा देवीको थान, भैरव र सरस्वतीका थानहरू रहेका छन् । फुल्चोकी डाँडाको अर्कोपट्टि गुप्तेश्वर महादेव रहेका छन् । फुल्चोकीको पाउ भनेर काभ्रेपलाञ्चोकको दोभान र गोदावरीको नौधारालाई भन्ने गरिन्छ । पलाञ्चोकको दोभान र नौधारामा विशेष मेला पनि लाग्ने गर्दछ ।
गोदावरी–फुल्चोकी क्षेत्रमा २५ प्रजातिका स्तनधारी जनावर, ३९० प्रजातिका चराहरूर ५७३ जातका पूmल फुल्ने वनस्पतिहरू पाइन्छ । वास्तवमा पूmल, पुतली एवं चराचुरुङ्गी उद्यानभित्रका गहना हुन् । साँच्चै भन्ने हो भने चराविनाको उद्यान हामी कल्पना गर्न समेत सक्दैनौँ । विश्व प्रख्यात पुस्तक ‘साइलेन्ट स्प्रिङ्ग’ मा चराको वर्णन एवं महत्वको व्यापक चर्चा गरिएको छ । गोदावरी क्षेत्रमा बसाइँसराइँका क्रममा विभिन्न देश विदेशबाट समेत चराहरू आवत–जावत गर्ने गरेको पाइन्छ । गोदावरी फुल्चेकी क्षेत्रमा मार्बल तथा उन्नत जातका विभिन्न फलाम र ढुङ्गा पनि रहेका छन् । उचित प्रशोधन नभएका कारण फुल्चोकी फलाम खानी हाल बन्द अवस्थामा छ ।
२०१९ सालको नेपालको संविधानले राष्ट्रिय पूmलको रूपमा घोषणा गरेको लालीगुराँसका विभिन्न ३० प्रजातिहरू यस गोदावरी र फुल्चोकी क्षेत्रमा फुल्ने गर्दछ । कविशिरोमणि लेखनाथ पौड्यालको ऋतु विचारको शरद विचारमा ‘उता गोदावरी जम्मै फुलेर ढकमक्क छ । यता सरस नेवारी त्योदेखि अकमक्क छ’ भनिएझैँ गोदावरी प्राकृतिक, धार्मिक एवं सांस्कृतिक छटाले ढकमक्क भएको स्थान हो । यहाँका प्राकृतिक सौन्दर्यमा लोभिएका धेरै विदेशी पर्यटकहरू बर्सेनी गोदावरी आउने र यहाँका घरपरिवारमा पारिवारिक सदस्य भएर केही समय बस्ने प्रचलनले पनि व्यापकता पाएको छ । आन्तरिक तथा बाह्य पर्यटन उद्योगको सम्भाव्यता र व्यापकताका लागि यस क्षेत्रका बासिन्दा, वातावरणविद् एवं अन्य क्षेत्रबाट गोदावरी क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषित गरी संरक्षित क्षेत्रको रुपमा विकसित गरिनु पर्ने मागहरू रहँदै आएका छन् । यस्तो प्राकृतिक अमूल्य निधिका रूपमा रहेको गोदावरी क्षेत्रको विकासलाई गुरुयोजनाका रूपमा अगाडि बढाउनु पर्ने धारणा सबैको रहेको छ ।
गोदावरीको रमणीय प्राकृतिक छटासहित अद्वितीय गुणले भरिएको गोदावरी क्षेत्रमा शान्तिका प्रणेता भगवान् गौतम बुद्धको २५ फिट अग्लो विशाल प्रतिमूर्ति स्थापित छ । विश्व मानव जगत्मा शान्तिको सञ्चार गराउने, शान्तिको अभावमा भट्किरहेका मानव जातिलाई मानसिक, आध्यात्मिक एवं प्राकृतिक शान्ति फैलाउने उद्देश्य नै बुद्धका उपदेशले लिएका छन् । भगवान् बुद्धकै भनाइअनुसार– ‘रमणीयानि अरञ्जानि–यत्थ न रमते जनो, वीतरागा रमिस्सन्ति–नते काम गवेसिनो ।’ (वन, जङ्गल, उपवनहरू रमणीय हुन्छन् जहाँ साधारणतयाः मानिस बस्न रुचाउँदैनन्, तर द्वेष, राग तथा अशान्ति हटाउन त्यस्ता उपवनहरूको रमण गर्ने गर्छन् ।) भन्ने भनाइलाई गोदावरीको प्राकृतिक वन तथा उपवनले चरितार्थ गरेको छ ।
गोदावरी–फुल्चोकी क्षेत्रमा छोटा तथा लामा दुरीका पैदल यात्रा गर्ने मार्गहरू पनि प्रशस्तै छन् । स्वच्छ हावापानी र प्राकृतिक सौन्दर्यको रसास्वादन गर्दैयहाँको प्रकृतिसँग हराउने पर्यटकहरू लाखौँको सङ्ख्यामा आउने गर्दछन् । प्रकृतिको वरदान उपहारस्वरूप प्राप्त गोदावरी क्षेत्रको प्राकृतिक सौन्दर्य, धार्मिक महत्वदेखि लिएर यहाँका जीवन्त सबै धरोहरलाई आज पनि सबैको सहयोग, शुभेच्छा, सद्भावना एवं संरक्षण र सम्बद्र्धनको खाँचो रहेको छ ।
…
(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)




सुन्दर वर्णन
फेरि एकपटक घुमेरै फर्केको अनुभूति भयो ।
यतिखेर त अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि बनेको छ रे ।
यो बन्दाबन्दी कहिले खुल्ला खै! कहिले घुम्न पाइएला?