
हिमालको फेद वा सुन्दर डाँडाको शिरमा हुन्थेँ होला
कोरोना महामारीमा नेपालनाम्चाले सुरु गरेको लकडाउन वार्तामा गाइड तथा चराकर्मी जयनाथ भन्डारी ।
लकडाउन छ । तर, तपाईको कन्फिडेन्स् त डाउन भएको छैन नि ?
अझैसम्म त कन्फिडेन्स डाउन भएको छैन यदि भेरिएन्ट कोभिडको त्राहिमामको स्थिति बढ्दै गयो भने कन्फिडेन्स घट्ने मात्र हैन, शुन्यमा झर्नसक्ने सम्भावना बढेर गएको छ ।
दिनहरु कसरी बित्दै छन् ?
अधिकांश समय घरभित्रै बसेर, घरायसी काममा सघाएर बितेको छ भने केही समय घरनजिकै मानिसको चहलपहल नहुने क्षेत्र, वनपाखा र खुला क्षेत्रहरुमा गई टहलिएर बितेको छ ।
कसरी गर्दै हुनुहुन्छ यो समयको सदुपयोग ?
खासै त्यस्तो योजना नै बनाएर समयको सदुपयोग गर्न त सकिएको छैन तर पनि घरायसी काम, केही रुचिकर र समय सान्दर्भिक पुस्तकरुको अध्ययन, सिमित क्षेत्रकै भए पनि नियमित पंक्षी अवलोकन र त्यसको सोखखोज र अभिलेख संकलन गर्न छुटाएको छैन ।
अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडाउन तपाईंलाई उस्तै लाग्दैछ कि फरक ?
विल्कुलै फरक महसुस हुँदैछ । पहिलो लकडाउनमा नयाँ रोग थियो यो । सामान्य सावधानी र लकडाउनको प्रभावले मान्छे जाखिमबाट बच्न सक्थे । आप्mनो काम तथा व्यवसाय संचालन गर्ने झिनो आश थियो । तर, यसपालीको भेरियन्ट र लकडाउनले त्यो झिनो आश पनि मारिदिएको छ । बिशेष गरी पर्यटन व्यवसायीहरुको हालत निकै नाजुक र बन्दाबन्दी भएको छ । कहिले यो उठ्न सक्ला र भन्ने छ । पर्यटन व्यवसाय छोडेर अरु काम र व्यवसाय संचालन गर्न पनि त्यत्तिकै कठिन र असहज छ । पहिलो लकडाउनमा सबै केही सहयोगी जस्ता देखिन्थे, सरकारले केहि नदिए पनि आश्वासन दिएको थियो । तर, यो पाली भने देशभित्रकै माफियाहरुले अपराधिक कार्य गरेकोमात्र होइन, जनताको स्वास्थ्यमाथि सरकार र माफियाबीच साँठगाँठ छैन भन्ने आधार छैन । त्यसैले स्वयम् जिम्मेवार बन्नुबाहेक विकल्प छैन ।
पहिलो लकडाउनमा जनता यस बिषयमा अन्जान थिए भने अहिले जनता भुक्तभोगी भएका छन् । र, धेरैजसो नयाँ तौरको सामान्य जीवनचर्या सम्बन्धमा जानकार र तयारी गर्ने सक्ने बनेका छन् ।
छिमेक र वरिपरिको वातावरण कस्तो छ ?
छरछिमेकतिर सामान्य नै छ भन्नु पर्छ किनकि अहिले सम्वेदनशील अवस्थामा पनि मान्छेहरु सामान्य दिनचर्यामै देखिन्छन् । तर, भित्रभित्र सबै भयभित छन् । ग्रामिण भेगतिर, खेत वा पाखोबारीतिर काम गर्नेहरुको जनजीवन सामान्य लाग्दछ भने लकडाउनका कारण अन्य प्राकुतिक वातावरण भने केही शान्त र सफा बन्दै गएको छ । तर, कोहीकोही कोरोनाका शिकार बनेका छन् । शिकार बन्ने त्यो क्रम बढ्यो भने थप भयभित वातावरण श्रृजना नहोला भन्न गाह्रो छ ।
लकडाउन नभएको भए आज तपाईं कहाँ र के गर्दै हुनुहुन्थ्यो ?
लकडाउन नभएको भए यति बेला म कुनै हिमालको फेद वा कुनै सुन्दर डाँडाको शिरमा हुन्थिएँ होला । किनकि पदयात्राकर्मी प्राय एक ठाउँमा रहदैनन् । किनकि पदयात्राकर्मी तत्कालिन सहयात्रीको समयतालिका अनुसार चल्नु पर्ने हुन्छ ।
लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झनु होला ?
एक युगको अन्त भई अर्को युगको शुरुवातको घटनाक्रमका रुपमा सम्झिने छु । संसारका प्राणीजगतले एउटै समयमा एउटै समस्या र अवस्थाको अनुभव र सामना गर्नु परेको छ ।
के तपाईंलाई लाग्छ, लकडाउन नै समस्याको समाधान हो ?
हैन । लकडाउन कोभिड प्रकोप न्यूनिकरण गर्ने उपाय मध्ये एक हो । समस्या समाधान गर्न विभिन्न प्रावधान र संहिताहरु छन्, जसको पालना नगरे समस्या समाधानको सम्भावना नै रहँदैन । ती प्रावधानहरु पालना गर्नु गराउनु समस्या समाधानको एक न्यूनतम एवं प्राथमिक उपाय हो ।
कोरोनाको यी बर्षहरुपछि तपाईंको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?
कोरोना काल चलिरहेको छ । परिवर्तन त समय र भोगाइले देखाउने छ । यसले जीवन आजको हो जे गर्नु छ आजैको निर्णय र कार्यले भविष्यको निर्धारण गर्दोरहेछ भन्ने जीवनदृष्टि र दृष्टान्तको अनुभव दिलाएको छ ।
भविष्यप्रतिको तपाईंको धारणा के छ ?
सायद यो प्रश्नको उत्तर पनि माथि नै आएजस्तो छ । भविष्य कहिल्यै देख्न सकिदैन तर पनि हामी भविष्यको कुरा गर्छौं । भबिष्यकै लागि वा दिर्घकालसम्मका लागि कार्ययोजना तर्जुमा गरिएको हन्छ वा लक्ष्यित रहेको हुन्छ । र, भविष्यमा आइपर्ने जस्तोसुकै संकटको सामना गर्न आफुलाई तयारी पार्नु पर्छ ।
लास्टमा केही ?
तपाईको नेपालनाम्चामार्फत भन्न चाहन्छु, सम्पूर्ण पाठक तथा देश तथा विदेशमा रहनुहुने महानुभावहरुमा कोरोनाको अवधिभर सामाजिक दुरी कायम गर्नु होला, घरमै बसी सुरक्षित रहनु होला । सरकार र सम्बन्धित निकायहरुलाई पनि कोरोना कहरमा जनताप्रति उत्तरदायी बन्न आग्रह गर्दछु । यो कहरको बेला पनि जनतालाई सेवा दिन स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्रमा अहोरात्र खटिनु हुनेप्रति सम्मान छ । र, कोरोना कहर खेपिरहनु भएकाहरुप्रति सहानुभुति प्रकट गर्न चाहन्छु ।