बारपाक-सुलिकोटमा भिटोफको गाउँ गन्तव्य यात्रा गज्जब

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले यस वर्ष विश्व पर्यटन दिवसको अवसरमा घोषणा गरेका तीन गन्तव्य गाउँहरूमध्ये गोरखा जिल्ला, बारपाक सुलिकोट गाउँपालिका अन्तर्गत पर्ने मुलाबारी सामुदायिक होमस्टेमा माघ ९ र १० गते गन्तव्य परिचयात्मकतथा अध्ययन–अवलोकन भ्रमण तथा प्रबर्द्धनात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

कार्यक्रममा बागमती प्रदेश सरकार अन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी, गण्डकी पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने, बागमती पर्यटन कार्यालय प्रमुख पवन पोखरेल, पर्यटनविद् डा. बीपी बडाल, लेखक तथा लाङटाङ सद्भावनादूत, अशोक सिलवाललगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, पर्यटन व्यवसायी र पत्रकारहरुको उपस्थिति रहेको संस्थाकी सहकोषाध्यक्ष इन्दिरा न्यौपाने जानकारी दिइन् ।

काठमाडौंबाट ३३ सदस्यीय टोली धादिङको आरुघाट हुँदै साँझ मुलाबारी सामुदायिक होमस्टेमा पुगेको थियो । गुरुङ समुदायको बाहुल्यता रहेको उक्त स्थानमा गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, वडा अध्यक्ष कृष्ण गुरुङ, होमस्टे सञ्चालक समिति अध्यक्ष रेशम गुरुङ, आमा समूह तथा स्थानीयवासीहरूले गुरुङ कला, संस्कृति र परम्पराका माध्यमबाट भव्य स्वागत कार्यक्रम सम्पन्न गरेका थिए ।

भोलिपल्ट पतञ्जली योग गुरु राधिका पन्तबाट छोटो योग प्रशिक्षण पश्चात् स्थानीय उत्पादनबाट तयार गरिएको अर्गानिक खाजाको स्वाद लिँदै टोलीले करिब चार घण्टाको पदयात्रा गर्दै प्रसिद्ध सुलिकोट, रुपाकोट र सीता गुफा अवलोकन गरी गाउँपालिकाको कार्यालयमा कार्यक्रम समापन गरी फर्किएको थियो संस्थाका सल्लाहकार दीपक दाहाले जानकारी दिए ।

यस अध्ययन तथा अवलोकन भ्रमणले उक्त क्षेत्रको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको संस्थाकी अध्यक्ष सकुन्तला देवकोटाले बताइन् । कार्यक्रम सफल बनाउन सुरुदेखि अन्त्यसम्म सहयोग, साथ र सद्भाव प्रदान गर्नु हुने सम्पूर्ण व्यक्तित्व, संस्था तथा स्थानीय समुदायप्रति उपाध्यक्षद्धय हरिशरण थपलिया र मनहरि दाहालले धन्यवाद व्यक्त गरे ।

यात्रामा सहभागी महिला पर्यटन व्यवसायी सञ्जालकी सदस्य निरु अधिकारी धमलाले उत्सवजस्तो यो कार्यक्रम निकै रमाइलो र उपलब्धिमुलक रहेको बताइन् । स्थानीय मनु गुरुङले यस्तो कार्यक्रमले मनै फरुङ्ग भएको बताइन् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button