
पर्यटनको हिरा नेपाललाई ढुंगाजस्तो पनि प्रयोगमा ल्याएको छैनौँ

माउन्टेन डे को अवसरमा नेपालनाम्चाले सुरु गरेको नयाँ स्तम्भ ‘पर्यटनपाखो’मा पर्यटन विज्ञ ज्योती अधिकारी ।
नेपालको पर्यटन क्षेत्रलाई तपाईं कसरी परिभाषित गर्नुहुन्छ, र हाल यसको समग्र अवस्था कस्तो देख्नुहुन्छ ?
संसारभर नै जीवनका धेरै चक्रहरु कोठामा रहेर या बसेर (सिटिङ–फिजिकल्ली साइलेन्ट जब) कमाई गर्दै पुरा गर्नुपर्ने युग हो यो । यस्तो समयमा हाम्रा जस्ता भुगोल र प्रशस्त विविधता बोकेका प्रकृति र संस्कृतको संगम मानिने देशहरु भाग्यमानी ठहरिन्छन् नै, पर्यटकिय हिसाबले । तसर्थ पर्यटनको लागि स्वर्ग हो नेपाल । तर ठुलो संख्यारा हामी, जसले यसलाई योजनावद्ध रुपमा अधिकतम प्रयोग गर्न र आय आर्जन गर्नसक्नुपर्थ्यो चुकेका छौं । अझ भनम, हिरालाई ढुङ्गा सरह पनि प्रयोगमा ल्याएका छैनौं ।
नेपालले विश्व पर्यटन बजारमा आफ्नो पहिचानलाई अझ प्रभावकारी बनाउन के–कस्ता विशेषता बलियो बनाउनु आवश्यक छ ?
सुन्दर निर्माण ! व्यवस्थित बस्तीहरु, अनुशासित समाज, स्तरिय उत्पादन । स्वदिष्ट खानाका प्रकार साथमा धुवा, धुलो, प्लास्टिक, बोत्तल र केमिकलमुक्त जमिन, नदि र पहाडहरु । अर्थात हामी जहाँ रहेर यो भुमिको प्रयोगसहित दुरकालसम्म सुन्दर र उच्च जीवन बिताउन मिल्ने प्रकृतिमैत्री आधुनिक समाजको पात्र बन्न या बनाउन चुकिरहेका छौं, यो गल्ती गर्नुभएन।
हाल पर्यटन क्षेत्रले भोगिरहेको सबैभन्दा गम्भीर समस्या के–के हुन् ?
अराजकता ! निर्माणमा अराजकता । सुबिधामा अराजकता । सेवामा अराजकता । मुल्यमा अराजकता । अर्थात अहिलेको लागि पेट भर्न जे गर्नु पर्छ, त्योबाहेक केहि नगर्ने । जे गरिएको र भनिएको छ अधिकांश सुन्दर र भविष्यदर्शी छैन । ५००÷१००० मा पहिलेका पुर्खाहरुको हाराहारीमा कुनै चीज आउँदैनन् जब कि प्रविधिले घेरै चीजहरु त्यो भन्दा भव्य र सभ्य अनि व्यवस्थित बन्न सरल र सम्भव बनाएको छ ।
भौतिक पूर्वाधार, सेवा गुणस्तर र प्रवर्द्धनको अभावले पर्यटन क्षेत्रमा कस्तो प्रभाव परेको देख्नुहुन्छ ?
उपयुक्त संख्यामा गुणस्तरिय पर्यटक आउन या ल्याउन सक्ने वातवरण प्रतिकुल बनिरहेको छ । कम खर्च गर्ने या हुने गन्तव्य बनिरहेको छ । जसले वर्तमानमा आय आर्जन आकर्षक रहँदैन र भविष्यमा उपयुक्त नवनिर्माणलाई पनि असर पार्छ । उच्च क्षमतावान जनशक्ति पलायन हुन्छ र हामी झन तल झर्छौं
सरकार, निजी क्षेत्र र समुदायबीचको समन्वयमा हुने कमजोरीलाई कसरी सुधार गर्न सकिन्छ भनेर तपाईंको सुझाव के हो ?
सरकार या दलहरुमा बरालिएर खाने या बरालिएकाहरुको भिड जम्मा गर्ने परम्परा टुट्नु पर्यो । त्यसपछि हाम्रा धेरै विचलनका समस्याहरु आफै सम्बोधन हुन थाल्छन् ।
पर्यटन प्रचार–प्रसारमा सिर्जनात्मकता र डिजिटल प्रविधिको भूमिका कति महत्वपूर्ण भइरहेको छ ?
यो वर्तमान पर्यटनको मुल भाग हो, सुन्दर निर्माण पछाडि आउने र चाहिने । राम्रो कुरा के भने यसमा हामीले धेरै गरिरहनु पर्दैन बरु हामीकहाँ आउने हरेक खुस पर्यटकले यो सन्देश हजारौं या लाखौमा निरन्तर गरिनै रहेका हुन्छन् । बरु हाम्रा कारणले परिणामको रुपमा हुने दुस्प्रचार रोक्न हामी होसियारसँग लाग्नु पर्छ ।
नेपालमा एड्भेन्चर टुरिज्मबाहेक अरू कुन क्षेत्रमा सिर्जनात्मक नयाँ पर्यटन उत्पादन विकास गर्न सकिन्छ ?
पानी, जमिन, मनोरञ्जन, खेल, स्वस्थ्य, कृषि, शिक्षा, गोष्ठी, अनुसन्धान हब‘ हाम्रो हवापानी र हाम्रो सामरिक मुल्य उच्च रहेको भुगोलमा सबै कुरा सम्भव रहन्छ । सबैको जमघट यतै गर्न सकिन्छ
स्थानीय संस्कृतिलाई जोगाउँदै आधुनिक पर्यटन विकास गर्न के कस्ता रणनीतिहरू अपनाउन सकिन्छ ?
समाजलाई उपयुक्त शिक्षा र संभावना देखाउन सक्ने अनुभव र सृजनात्मक नेतृत्व हरेक भुगोलमा अभाव छ । ग्वांचहरुको राज समाप्त गर्ने वातवरण तयार गर्नु पहिलो दायित्व हुन्छ । त्यसपछि ठिक चिज, ठिक ढंगले अगाडि बढ्न सक्छ ।

नेपाल पर्यटन वर्षहरू (जस्तै नेपाल भ्रमण बर्ष) प्रभावकारी बनाउन किन कठिनाइ भइरहन्छ, र आगामी अभियान सफल बनाउन के गर्न आवश्यक छ ?
हाम्रो पर्यटनको समस्या नै उपयुक्त निर्माण र सुविधाहरुको अभाव हो । राम्रो सामान नबनाई बजार जानु या शो रुम खोल्नु अल्छी र बठ्याई मात्र हुन्छ, चलाखहरुको, भइरहेको त्यहि हो ।
छिमेकी मुलुकहरूसँगको प्रतिस्पर्धामा नेपालले आफ्नो पर्यटनलाई कसरी अझ आकर्षक बनाउन सक्छ ?
काम गर्नु पर्यो काम । दिगो रहने र हरेकको आँखा र दिमागलाई प्रभाव पार्न सक्ने सृजनाहरु शुन्यतिर झारेर कसरी आकर्षक र प्रतिस्पर्धी बनिन्छ र ?
नेपालको ग्रामीण पर्यटन, सांस्कृतिक पर्यटन वा स्वास्थ्य–आध्यात्मिक पर्यटनमा भविष्यमा कस्तो सम्भावना देख्नुहुन्छ ?
अहिलेको ताल सुरमा हेर्ने हो भने समाज विघटनउन्मुख देखिन्छ। समाजले उपयुक्त गति लिन थाल्दा सबै उत्पादन र गन्तव्यहरुको उर्वर भविष्य रहन्छ नै ।
यदि तपाईंलाई एक वर्षका लागि पर्यटन नीतिनिर्माणको नेतृत्व दिइयो भने, तीन प्रमुख प्राथमिकता के राख्नुहुन्छ र किन ?
निर्माण, निर्मीण, निर्माण । देशभर कुशल र आकर्षक नियन्त्रित निर्माण र सिंगै देश स्थानिय नेतृत्वमा आवश्यक नियन्त्रणको अधिकारसहित खुल्ला राख्ने ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



