पोखरा अपडेटः देउरालीदेखि जरेवरसम्म हाइकिङ
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), पोखरा च्याप्टरले ‘हाइकिङ ट्रेल’मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एकदिने हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा समुहले कास्कीको देउराली, कास्कीकोट, सराङकोट हुँदै मेथलाङ जरेवरसम्मको करीब १५ किलोमिटर हाइकिङ गरेको हो ।
‘प्रकृतिको स्वच्छता ग्रामीण परिवेशको रहन सहन संस्कृतीसँगै यस क्षेत्रको ऐतिहासिक सांस्कृतिक महत्व बुझ्नका साथै हाइकिङ ट्रेलको प्रवद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको हो”, टान पोखरा च्याप्टरका अध्यक्ष सुशील पौडेलले भने, ‘कोभिड–१९ को महामारीले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन आन्तरिक पर्यटक लक्षित गतिविधिमा जोड दिँदै पदयात्रा प्रर्वद्धनसँगै हाइकिङ संस्कृतिको विकासका लागि पहल थालिएको हो ।’
पछिल्लो समयमा हाइकिड संस्कृतिको विकास हुँदै गएको छ, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले भने, ‘पोखरा आसपासमै छोटो लामो दूरीका हाइकिङ ट्रेल छन् तर प्रचारप्रसारको अभावले ओझेलमा परेका छन् । पारिवारिक वातावरणमा हाइकिङ गर्न सकिने यस्ता ठाउँहरुकोे प्रवद्र्धनमा जोड दिनुपर्छ ।’
‘पदमार्ग निर्माण भइरहेको छ । नागडाँडाबाट देउरालीसम्म तीन किलोमिटरको अपाङ्गमैत्री पदमार्ग बनेको छ । त्यसयता पोखरा– २४ र १८ सम्मको आठ किलोमिटर पदमार्ग स्तरोन्तिको काम पनि भइरहेको छ’, पोखरा–२४ का वडाध्यक्ष ओम सुवेदीले भने, ‘नेपाल पर्यटन बोर्डको सहयोगमा पाँच लाख ७१ हजार बजेटबाट उक्त काम भइरहेको छ ।’
कास्कीकोट पर्यटन विकास समितिको समन्वयमा स्थानीय जनप्रतिनिधि, सञ्चाकर्मीसहित ७० जनाले हाइकिङ गरेको समिति संयोजक उदय सुवेदीले जानकारी दिए ।