शैलुङ डाँडा: ठाउँ एक, रुप अनेक

केशवराज आचार्य

माथि माथि शैलुङ्गेमा चौरी डुलाउनेलाई,
हत्केलामा मायाको गुरास फुलाउनेलाई ।
भन्दिनु है भन्दिनु, मेरो चुल्ठो खाली छ,
उनको त्यो मनै जाली छ ।।

मौसम अनुसार फरक सौन्दर्य छर्ने शैलुङमा जेठदेखि भदौसम्म जता हेर्यो त्यतै हरियाली; असोजदेखि मङ्सिरसम्म पहेँलपुर चौर र भुइँफूल; पुसदेखि फागुनसम्म हिउँ नै हिउँको साम्राज्य तथा चैतदेखि वैशाखसम्म सुकेको घाँस तथा ढकमक्क फुलेका चिमाल र लालीगुराँसले सुन्दरता बढाएका हुन्छन् ।

शैलुङ वागमती प्रदेश अन्तर्गतका दुई जिल्ला दोलखा र रामेछापको शिर हो । पानी ढलोको आधारमा शैलुङको एकातिर पानी बग्ने भाग दोलखा र अर्को तिर पानी बग्ने भाग रामेछाप रहेको छ । दोलखाका शैलुङ र मेलुङ दुई गाउँपालिका पानीढोलोको एकातिर पर्छन् भने रामेछापको दोरम्बा गाउँपालिका अर्कोतिर पर्छ । शैलुङ यी तीन गाउँपालिकालाई अँगालेर आफ्नो बृहत् प्राकृतिक, जैविक र सांस्कृतिक पहिचानमा फैलिएको छ ।

सायद पहाडको फेदी र समतलमा हुँदा मात्र मान्छे आफू मात्र बाँडिइदैन; यो ठाउँ मेरो त्यो ठाउँ तेरो, यो धर्म मेरो त्यो धर्म तेरो भनेर बाँड्ने गर्छ । उचाइँमा पुगेपछि ठाउँ पनि जोडिन पुग्छन्, धर्म पनि एक आपसमा समाहित हुन पुग्छन् । नेपालका धेरै हिमाली भेगको यो सत्यता शैलुङ डाँडामा पनि लागु हुन्छ । शैलङ डाँडा पनि हिन्दू, वुद्ध, बोन आदि सबै धर्मावलम्बीहरुका लागि पवित्र स्थान हो । शैलुङ डाँडामा महादेवको मन्दिर र बौद्ध धर्मावलम्बीको छोर्तेन निर्माण गरिएको छ ।

करीब ३,२०० मिटर उचाइमा रहेको यस डाँडामा मालाका लुङजस्तै लहर लहरमा मिलेका एक सय आठ वटा थुम्का (लुङ) छन्, त्यसैले त नाम रहन पुग्यो: शैलुङ डाँडा । कतै जोल्ठिएजस्ता, कतै अङ्कमाल गरेजस्ता र कतै आपसमा मिलेर टाँसिएजस्ता अनेक बान्कीका थुम्काहरूले गर्दा शैलिङ डाँडामा जता हेर्यो त्यतै कलात्मक परिदृश्य देखिन्छ ।

काठमाडौँबाट शैलुङ जाँदा (१) बनेपा हुँदै विपी राजमार्गबाट कुशेश्वर, दुम्जाबाट बायाँ मोडिएर सुनकोशी पार गरी उकालो लागे पछि वा (२) अरनिको राजमार्ग भएर दोलालघाट हुँदै मुडेबजारबाट दाहिने मोडिएर पुग्न सकिन्छ । दुवै तर्फबाट जाँदा शैलुङका आधार बस्तीहरु करिव १३० किमीको दूरिमा रहेका छन् । विपी राजमार्गबाट जाँदा रामेछाप दोरम्बा गाउँपालिका वडा नं. १, दोरम्बा, खोलाखर्क तथा अरनिको राजमार्गबाट जाँदा शैलुङ गाउँपालिका वडा नं. ८, कालापानी पुगिन्छ । तर सबैभन्दा सहज बसाइ र हिँडाइ खोलाखर्क तर्फबाट नै हुन्छ जहाँबाट डाँडा माथि पुग्न करीब आधा घन्टा पैदल हिँड्नुपर्दछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button