यात्रु ‘भर्सेस्’ पर्यटक

केशवराज आचार्य
सिभिल ईन्जीनियर

‘यात्रु’ त्यो व्यक्ति हो जो घुम्न गएको ठाउँसँग आफू पूर्णत: समर्पित हुन्छ । तर ‘पर्यटक’ ले यात्रामा पनि आफ्नै घरको सुविधा र आराम खोजिरहेको हुन सक्छ । मेरो विचारमा यात्रामा पनि घरको जस्तै आराम र सुविधा खोज्दै चिन्तित रहने र भौँतारिने मान्छेले पैसा र समय मात्र खेर फालिरहेको हुन्छ । उसले यात्राको वास्तविक अनुभव नै गर्न पाउँदैन । त्यस्तो मान्छे यात्रामा जानु भन्दा बरु घरमै बस्नु बढी श्रेयस्कर हुने गर्छ ।

यात्रा गर्नुको वास्तविक अर्थ त्यो ठाउँलाई चिन्नु, त्यससँग परिचित हुनु पनि हो । यात्रा गर्दा स्थानीय खानाको आनन्द लिने, त्यहाँका मान्छेसँग गफगाफ गर्ने र त्यहाँका रीतिरिवाजसँग परिचित हुन कोशिश गर्ने गर्नाले त्यो पछिका लागि गज्जबको सम्झना बन्नसक्छ । कुनै ठाउँको वास्तविक अनुभव नगर्ने हो भने यात्रा अधुरो हुन पुग्छ । अमेरिकन महान साहित्यकार तथा परोपकारी व्यक्तित्व जेम्स् मिचनरले त्यसै भनेका होइनन्, ‘यदि तिमी (स्थानीय) खानालाई अस्वीकार गर्छौ, रीतिरिवाजलाई वास्ता गर्दैनौ, धर्मसँग डराउँछौ र मान्छेसँग (कुरा गर्नबाट) तर्कन्छौ भने; तिमी घरै बसेको जाती ।’

यात्रा सँधै रमाइलो मात्र हुँदैन । कहिलेकाहिँ निकै कठीन र पिडादायी पनि हुनसक्छ । रमाइलो यात्राले फेरी यात्रा गर्ने प्रेरणा दिन्छ भने कठिन यात्राले अर्को यात्राका लागि पूर्व तयारी गर्न सिकाउँछ । सडकमा यात्रारत रहँदा प्राय: पढ्न पाइने सुरक्षा सूत्र जस्तै हिमाली र उच्च पहाडी भेग तिर पैदल यात्रा गर्दा पनि एउटै सूत्र छ, “विस्तारै हिँड्नु” अर्थात; “विस्तारै हिँडे अवस्य पुगिन्छ, हतार गरे भन्न सकिन्न” । हामी जति उकालो चढ्दै जान्छौँ त्यति अक्सिजन कमी हुँदै जान्छ । विस्तारै हिँड्दै शरीरलाई वातावरण अनुकूल बनाउँदै जाँदा अगाडिको यात्रा सहज हुँदै जान्छ । होइन भने उच्च लेकका कारण समस्या पर्ने मात्र होइन, कहिलेकाहिँ ज्यान नै जोखिममा पर्न सक्छ ।

यी र यस्ता कुराहरु यात्रा गर्दा पर्दै र सिक्दै गइन्छ । तर जीवनमा केही अनुभव यस्ता हुन्छन् जुन खूद आफैले अनुभूत गर्ने कोशिश गर्नु हुँदैन, अरुको अनुभवबाट सिक्नु उचित हुन्छ किनकि त्यसको मूल्य चुकाउनै नसकिने गरी महँगो पर्नसक्छ । त्यसैले जहिले पनि यात्रा गर्नु पहिले सो ठाउँका बारे लेखिएका यात्रा साहित्य पढ्ने तथा अन्य जानकारी बटुल्ने गर्नाले यात्रा सँधै सहज र बढी रमाइलो हुने गर्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button