ढोकामा एक जोर जुत्ता कहिल्यै नटुटोस्
पाहुना परमेश्वर
राजन सिम्खडा
ईश्वरलाई प्रणाम छ, पाहुनालाई परमेश्वर मान्ने नेपाली कोखबाट मलाई जन्म दियौ । हामी नेपाली आफू रुक्खासुक्खा खाएर पनि पाहुनापाछालाई मीठोमसिनो खुवाउँछौं । आफ्ना दुःख-कष्ट आफैंभित्र राखेर पाहुनालाई हँसिलो मुखले स्वागत सत्कार गर्छाैं ।
परमेश्वरलाई कोटिकोटि प्रणाम छ किनभने मलाई नेपाली कोखमा मात्रै जन्म दिएनौ, रामनाथ सिम्खडाको कुलमा, उनैको पनातिको रूपमा समेत जन्म दियौ । मेरा जिजुबाजे रामनाथ छोरा–नाति, ज्वाइँ–छोरी वा कसैलाई आशीष दिँदा ‘ढोकामा एक जोर जुत्ता कहिल्यै नटुटोस्’ भन्नुहुन्थ्यो रे ! त्यसको मतलब पाहुना आइरहुन् । पाहुना आउने घरमा समृद्धि भित्रिन्छ भन्ने उहाँको विश्वास थियो रे ! वचनमा मात्र हैन, व्यवहारमा पनि उहाँका लागि पाहुना अपरिहार्य थियो रे ! कथंकदाचित कुनै दिन घरमा पाहुना आएनछन् भने उहाँ आफ्नै हली–गोठालामध्ये कुनैको छोरा वा छोरीलाई पाहुना बनाएर मेजमान गराउनुहुन्थ्यो रे ! त्यसैले मेरो ‘जिन’मै ‘पाहुना परमेश्वर हुन्’ मन्त्र छ भने पनि हुन्छ ।
हाम्रो गाउँमा त्यतिखेर अहिलेजस्तो होटल थिएनन् । हाम्रा पूर्खाले बटुवाका लागि बास बस्न गाउँमा ठाँटी (पाटी) बनाइदिएका रहेछन् । तर ठाँटीमा बस्न अनुकूल नमिल्ने वा नचाहनेहरू हाम्रा पाहुना हुन्थे । हाम्रो गाउँभन्दा माथिबाट आउने पाहुना हुन् वा धादिङ जिल्ला सदरमुकामबाट एकदिनको बासमा पर्ने दार्खा आउने सरकारी कर्मचारी, प्रहरी, शिक्षकहरू किन नहुन्, नयाँघर, माझघर वा पुछारघरमध्ये कुनै एक घरमा बास बस्दा रहेछन् । हाम्रा बुवाहरु छुट्टीभिन्न भएपछि खासगरी दार्खादेखि उत्तरका गाउँमा पढाउने शिक्षकहरू आफ्ना सहकर्मी कृष्ण काकाकहाँ पाहुना लाग्थे । सरकारी कर्मचारी र नेता÷कार्यकर्ता ठूलो बुवाकहाँ बस्थे । पुछारघरमा पनि बास बस्थे त्यस्ता मान्छे । किनभने कुनै समय शिक्षक भएका र पछिल्लो समय राजनीति र समाजसेवामा सक्रिय पुछारघरको ठूलो काका तुलसीप्रसाद सिम्खडालाई जिल्ला सदरमुकामका मान्छेहरूले चिन्थे । त्यसैले दार्खा आइपुग्दा उनीहरू पुछारघरमा पनि पाहुना लाग्थे । अन्य इष्टमित्र नातागोताका मानिस भने माहिला बुवा र हाम्रोमा पनि बस्थे । आमा पाहुनाहरूको आदर, सत्कार र मेजमान गर्नुहुन्थ्यो । त्यो देख्दा ममा पनि सानैदेखि पाहुनालाई मान गर्नुपर्छ भन्ने ज्ञान पस्यो । ‘अतिथि देवो भवः’ मन्त्रको मर्म मैले त्यतिबेलैदेखि मनन गर्न पाएँ । पाहुना जहाँबाट पनि आउँदा रहेछन् ।
अलि जान्ने भएपछि मैले के थाहा पाएँ भने स्वदेशबाट मात्र हैन, विदेशबाट पनि गाउँमा पाहुना आउँदा रहेछन् । तिनलाई चलनचल्तीको भाषामा ‘गोरा’, ‘खैरे’ या ‘टुरिस्ट’ भनिँदो रहेछ । म सानै छँदा ‘गणेश हिमालको टुप्पोमा धेरै खैरे पुग्छन्’ भन्ने सुनेको थिएँ । हाम्रो गाउँको बाटो भएर यदाकदा आउने पर्यटक हाम्रालागि अनौठा आकर्षण थिए । उनीहरू ठाँटीमा, बाटोछेउको खाली पाटा वा स्कुलको चउरमा क्याम्प बनाएर बस्थे । त्यहीं नौलोनौलो परिकार पकाएर खान्थे । हुन त मैले पहिले पनि पाटामा वा ठाँटीमा खाना पकाएर खाएको देखेको थिएँ । हाम्रो गाउँमा छेवर, व्रतबन्ध, विवाह, अर्घौं जस्ता सुख–दुःखका कार्जेका भोजभतेर खाली पाटामा नै लगाइन्थ्यो ।
सातसय खोलातिरबाट आएका मानिसले हाम्रा पूर्खा गोपीलालले बनाएको ठाँटीमा खाना पकाएर खाएको पनि देखेको थिएँ । उनीहरू ठाँटीको चौरमा गहुँ, मकै कोदो भुटेर पिनेको पिठोबाट ढिँडो पकाउँथे । आ–आफ्नो झुण्डमा रहेका मानिस बडो स्वादसँग ढिँडो खान्थे । ती मान्छेमध्ये कतिपयले ‘द्वारेका छोरानाति’ भनेर आलु, केराउ, सिमी हाम्रै घरमा पनि कोसेली ल्याइदिन्थे । हामी मौसमअनुसारका तरकारी, साग, मोही उनीहरूलाई दिन्थ्यौं । बाजेको पालादेखिका ती इष्टहरू हामीलाई र हामी उनीहरूलाई माया गर्दथ्यौं । त्यही ठाँटीमा एक दिन बेग्लै रूपरङ्गका मानिसहरू देखें मैले । भारी बोक्ने, खाना पकाउने त नेपाली नै थिए । तर उनीहरूसँगैको कैलो कपाल, सेतो छाला र कुहिरो आँखा भएका मानिस मेरालागि नौला थिए । र, तिनीहरूको खाना पनि नौला थिए । तर, पछि त्यस्ता खैरे परदेशी पटक–पटक देखें ।
सामान्यतया क्यामेरा भिरेका र यदाकदा लौरो टेकेका परदेशी पछिपछि हुन्थे, गाइडसँग । भारी बोक्नेहरूचाहिं गाउँदै अघिअघि हिंडिरहेका हुन्थे–
‘तिम्रो बाउलाई सलाम छ
आमालाई नमस्ते
अरूलाई सोध्या छ भन्दिनू ।’
त्यस्तो ताँती जतिजति नजिक आउँथे, हामी रमाइलो मानेर उनीहरूलाई हेर्दथ्यौं । हामीलाई देखेपछि भरिया दाइहरू झन् मस्किँदै गाउन थाल्थे–
‘फर्सी धेरै पाक्यो भने
भित्रभित्रै कुहिन्छ
छोरी माइत बस्यो भने
अनेक कुरा सुनिन्छ ।’
उनीहरूले टेन्ट टाँगेर क्याम्प खडा गरेको देखेपछि हामी दौंतरी केटाकेटीहरू दौडेर त्यहाँ पुग्थ्यौं । कहिलेकाहीं तिनले हामीलाई चकलेट-बिस्कुट पनि दिन्थे । बूढापाका हामीलाई तर्साउँथे, ‘ल है केटा हो, गोराहरू त गाईको मासु खान्छन्, उनीहरूले दिएको जे पायो त्यही नखाओ नि !’
हामीलाई भने खैरेको टोलीले टाँगेको टेन्ट नै रमाइलो र अनौठो लाग्थ्यो । बाहिरै खुलेआम म्वाइँ खाने विदेशी जोडी हामीले हेर्दाहेर्दै टेन्टभित्र पस्थे । भित्रबाट टेन्टको चेन लगाउँथे । हामीलाई चाहिं ‘त्योभित्र के होला, यो कस्तो चिज होला’ भन्ने खुल्दुली लागिरहन्थ्यो । हामी अनौठो मानेर हेरिरहन्थ्यौं ।
पर्यटकको खानपिन पनि अनौठो ! नेपाली कुकले कुखुराको अन्डाबाट रोटी बनाउँथे । उम्लिरहेको पानीमा प्लास्टिकको पोका च्यातेर खै के–के धुलो हाल्थे । पछि थाहा भो– त्यो सुप रहेछ । गड्यौलाजस्तो तन्द्राङतुन्द्रुङ परेको जिनिस खान्थे, त्यो थुक्पा, चाउमिन रहेछ ! सर्लक्क परेको समथर र सफा भाँडोमा राखेर विभिन्न चिज चक्कुले फटाफट काटेको देख्थ्यौं । त्यो ‘चपिङ बोर्ड’ हो भन्ने पछि मात्र थाहा पाएँ । चपिङ बोर्डमा काटेर चिज, मासु, खै के–के परिकार तयार गर्थे । एकपटक अर्को परिकार पनि देखें । गोलो रोटीमा भित्रपट्टि तरकारी आदि हालेर तारेको । अचम्म लागेको थियो । पछि थाहा भो, त्यसलाई ‘स्प्रिङ रोल’ भनिँदो रहेछ ।
अर्को दिन बिहान हामी क्याम्प उठेको ठाउँमा जान हानाथाप गर्दथ्यौं । त्यहाँ केही चिज टल्किरहेको देखिन्थ्यो । टल्किने भएकाले हामीलाई कुइरेहरूले के–के न बहुमूल्य चिज छाडेर गए भन्ने लाग्थ्यो । ती खानेकुरा पोको पार्ने विशेष प्रकारको कागज ‘फोयल’ का टुक्रा रहेछन् । तामाङहरू १२ वर्षलाई ‘लेहोर’ भन्छन् । म पनि दार्खामा एक लेहोर नै बसें । दार्खामा रहँदा कम्तीमा पन्ध्र–बीस टोली पर्यटक देखेको थिएँ । पर्यटक पनि फरकफरक खालका । कोही साह्रै कलकलाउँदा, कोही झ्याप्ले दाह्री पालेका । कोही चाहिं तुम्लेट झुन्ड्याएर फलामको डन्डीवाला खाकीको झोला भिरेका ।
पर्यटक र क्याम्पप्रतिको त्यो आकर्षण अनि पर्यटकसँग नजिक हुन पाए हुन्थ्यो भन्ने चाहना मेरो अवचेतन मनमा त्यसैबेलादेखि गडेर बसेको हुनुपर्छ । र त, अहिले म हाम्रा पितापूर्खाले जसरी पर्यटकलाई ‘पाहुना परमेश्वर’ मानेर व्यावसायिक पूजा गर्दै छु ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)