शिवपुरीमा दिउँसै रात परेपछि कोब्राले बाटो छेक्यो

शकुन्तला देवकोटा

निर्धारित समय अनुसार बिहानको नौ बजे लायन्स क्लब अफ काठमाडौ फेमेलिका साथीहरू बुढानिलकण्ठ मन्दिरमा जम्मा भएर हिँड्न सुरु गरियो ।

हाम्रो खास गन्तव्य नागी गुम्बासम्म मात्र भनेर यात्रा सुरु गरिएको थियो तर जाँदै गर्दा साथीहरुले ‘अलि छोटो भयो, माथि बागद्धारसम्म जाने कि’ भन्ने कुरा गर्नु भयो र उकालो लागियो । हामीसँग बाटो थाहा भएको भाइ पनि थिए ।

उकालो त लागियो, सुरुमा जोस निकालेर हिँडियो । जति माथि गयो, उति घनघोर जङ्गल । सबै साथी हिँड्नु भएको छ, आफू मात्र के पछि हट्नु भन्ने सोच्दै अघि लागियो । बीचबीचमा रमाइलो गर्दै, कहिले गीत गाउँदै, कहिले जोक भन्दै कहिले थकाई मार्दै कहिले झोलबाट खानेकुरा निकाल्दै ।

सारै रमाइलो हुँदै थियो यात्रा । हामी हेलिप्याडबाट माथि उकालो लाग्ने बाटोमै कोब्रा (सर्प)ले बाटो छेक्यो । निडर साथीहरू माथि जानुभयो । अनि म जस्तो डरछेरुवाहरु तल लामो समयसम्म बसिरह्यौं । बाटो छोडेन सर्पले । माथि जाने साथीहरुले सर्प लखेट्ने काम गर्नु भयो र हामी माथि लाग्यौं ।

जति माथि गयो, उति अन्धकार । घडीमा १२ बज्दै छ । सिमसिम पानी पर्दै छ । तर बाटो बेलुकाको ७ बजेको जस्तो अन्धकार थियो । जति माथि गयो, उति मोबाइलको टावर नदेखाउने । न कसैको फोन आउने न कसैलाई फोन गर्नै पर्ने । आनन्द पनि भयो । एकाग्रता । मात्र हिँड्ने काम । पुरै प्रकृतिसँग खेल्दै रमाउदै २ बजे देउराली भञ्ज्याङ् पुगियो ।

अलि उज्यालो तेर्सो बाटो । समथल भाग । फराकिलो चौर । बागद्धारबाट फर्कने मान्छेहरु भेटियो । सोधपुछ गरियो ।

त्यसै चौरमा बसेर सबैसाथीहरुले आआफ्नो झोलाबाट खानेकुरा झिकियो । र, सबैले बाँडेर रमाइलो गरी खाइयो । फोटो खिचियो । साथीहरुले थकाई केही कम भएको महसुस गर्नु भयो ।

खाजा पानी कार्यक्रम सकिँदा दिउँसोको ३ बज्यो । माथि जाने कि फर्कने ? कोही साथी माथि जाने भन्नुहुन्छ, कोहि फर्कने तर फर्कने भन्नेकै बहुमत भयो र हामी त्यहाँबाट फर्कियौं ।

फर्किने निणर्य सहि गरिएछ भन्ने तल झरिसके पछि लाग्यो । किनभने बाटो चिप्लो थियो । त्यहाँ बाट माथि पुग्न अझ ४५ मिनेट कस्सिएर हिँड्न पर्ने थियो । हामीसँग लाइट पनि थिएन । तलबाट बोकेर लगेको पिउने पानी र खाजा पनि सकिएको थियो । उज्यालोमा नै बिस्तारै तल झरियो । नागी गुम्बा अवलोकन गरियो । सारै शान्त, सुन्दर र आनन्दी ठाउँ । बसिरहन मनलाग्ने । तर, हामीसँग समय बाँकी थिएन । मन नमान्दा नमान्दै पनि फेरि आउने वचन गरी छोडियो र तल झिरियो ।

सबैजना बुढानिलकण्ठ मन्दिरमै भेट गरी चियापान गरी छुट्टियौं ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button