चन्द्रागिरी उक्लँदाका सहयात्री चन्द्र ढकाललाई एक भकारी गुडलक
सम्झन र बिर्सनलायक कति घटना होलान् ? तर, महासंघमार्फत उनले सम्झनलायक थुप्रै काम मात्र गरुन् । र, लेख्न पाउँ देश निर्माणमा उनले थप्ने इट्टाका सुन्दर कथाहरु । ढकालजी गुडलक !
अशोक सिलवाल
बधाई तथा शूभकामना ढकालजीलाई, जो नयाँ विधान अनुसार केही बर्षपछि उद्योगी–व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको सर्वोच्च आसनमा पुग्दै छन् । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नवनिर्वाचित अध्यक्ष शेखर गोल्छाको कार्यकालपछि स्वत महासंघको नेतृत्व सम्हाल्नेछन्, २० औं अध्यक्षका रुपमा ।
उनै ढकालसँग केही बर्षअघि म पहिलो पटक चन्द्रागिरी गएको थिएँ । त्यति बेलै लागेको थियो मलाई, उनी चढिरहनेछन् । र, यस पटकको निर्वाचनमार्फत पनि राम्रैसँग चढे । र, अझ अरु थुप्रै बर्ष चढिरहनेछन् । कहाँसम्म ? तर, जहाँसम्म चढ्नेछन्, उड्नेछन् र अघि बढिरहनेछन्, उनले एकजना व्यवसायी र व्यवसायीका अगुवाका हिसावले देश र जनताप्रति आफ्ना महान कर्तव्य भुल्ने छैनन् । मेरो अपेक्षा त्यत्ति हो । किनकी, मैले चिनेका धेरै व्यवसायीमध्ये उनी पनि एक हुन्, जो व्यवसायको नाममा व्यवसायमात्र होइन, जनसेवालाई पनि आफ्नो कर्तव्य ठान्छन् । र, मलाई विश्वास छ, मेरो विश्वास उनले भत्कन दिने छैनन् ।
मलाई थाहा थिएन, त्यो यात्रामा उनी पनि हुनेछन् । तर, मैले बिहानै चन्द्र ढकालजस्तै मान्छे कलंकीमा देखेको थिएँ । संयोगले हामी एउटै गाडीमा परेछौं । म सबभन्दा पछाडिको लहरमा थिएँ भने उनी डाइभरछेऊ पहिलो लहरमा । उस्तै उस्तै तीनओटा कार थानकोटतिर अगाडि बढ्यो ।
गाडी कलंकीबाट थानकोट पुगेन्जेल पनि हामीबीच कुनै कुरा भएन । म गाडीमा रहेका सहयात्रीहरुका कुरा मात्र सुनिरहेको थिएँ । गाडी थानकोट चेकपोस्ट आसपासबाट गोदामचौरतिर उकालियो । त्यति बेलासम्म भने मैले उनी चन्द्र ढकाल नै हुन् भनेर थाहा पाइसकेको थिएँ । त्यसअघि हाम्रो दोहोरो परिचय थिएन । यदाकदा उनलाई टेलिभिजन र आक्कलझुक्कल कुनै कार्यक्रमहरुमा देखेको थिएँ । तर, मलाई उनले देखेका थिए कि थिएनन् ? मैले उनलाई सोधिन । यद्यपि त्यस पटक त्यो यात्रामा मैले उनको नामजस्तो ब्रान्डेड ‘उनी’ पाइनँ । उनको असाध्यै सामान्य छविले म पहिलो भेटमा नै प्रभावित भइरहेको थिएँ ।
गोदाम भन्ने ठाउँमा पुगेर गाडीहरु रोकिए । त्यहाँ निर्माणको भव्य काम भइरहेको रहेछ । फुलचोकीपछि उपत्यकाकैको दोस्रो अग्लो डाडाँ चन्द्रागिरीसम्मको केवलकारको त्यो सुरु विन्दु थियो, जो चाँडै नै सुरु हुनेवाला थियो । चन्द्र ढकाल एन्ड टीमको लक्ष्य यदि सफल भयो भने नयाँ बर्ष–२०७३ को पहिलो दिन झन् विशेष हुने थियो । धेरैले त्यो दिन कार मात्र होइन, केवलकार चढेर नयाँ बर्षलाई विशेष रुपमा सुरु गर्न सक्ने थिए ।
हामी चन्द्रागिरी केवलकारको कुरा गरिरहेका थियौं । तर, म केवलकारभन्दा चन्द्र ढकालको जीवनशैलीलाई बढी नियाल्न खोज्दै थिएँ । सामान्य जीवनबाट उक्लिएका उनी पछिल्लो दशककै व्यवसायिक हिरो रहे । नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको जति नाम लिन्छौ हामी, आइएमईका नाममा हामी चन्द्र ढकालको नामै नलिई वा लिई उनको पनि त्यति नै चर्चा गर्छौं । देशका विभिन्न भागमा मात्र होइन, विदेशका अनगिन्ती भुमिमा पनि चन्द्र ढकाल आइएमईका नाममा एउटा चर्चित पात्र हुन् ।
‘केवलकारको दुरी साढे दुई किलोमिटर छ । यो यात्रा नौ मिनेटको हुनेछ । एक घन्टामा १ हजार मान्छे माथि जान सक्छन् । एउटा गोन्डोला (प्यासेन्जर बक्स)मा आठ जना अट्छन् । ३८ वटा गन्डोला छन् । थप ३ वटा क्यारियर छन् । केवलकारको बटमस्टेसनबाट टपस्टेसनबीच ९ सय ५१ मिटरको उचाई छ । यो प्रविधि अस्ट्रियाको डुबरमेयरको हो । यसले नै मनकामनाको केवलकार पनि बनाएको हो । यो केवलकार बाथरुमदेखि रेस्टुरेन्ससम्म अपांगमैत्री छ । सायद यो दक्षिण एशियाकै अपांगमैत्री केवलकार परियोजना हो । स्पिडमा काम सुरु गरेको १७ महिना जति भयो । नाकाबन्दी, भुकम्प आदिले यो अलि ढिला भएको हो ।’
यी त चन्द्रागिरी केवलकारका सुरुवाती सुचना मात्र थिए । अरु थुप्रै सुचना मैले प्राप्त गर्दै थिएँ । तर, मलाई फेरि पनि चन्द्र ढकाललाई नजिकबाट नियाल्नु थियो । उनी कसरी बोलिहरेका छन् ? उनी कसरी हिंडिरहेका छन् ? उनको तरिका के हो ? सामुहिक रुपमा केही गफगाफ गरेपछि परियोजना क्षेत्रको एक छेऊमा उनी अगाडि बढे । के–के न देखाउन लगेका होलान् भन्ठानें मैले । तर, उनले त ‘स्लमडग स्टाइल’को झुपडी चर्पीमा पो लगेका रहेछन् । चेन लगाउँदै चर्पीबाट उनी बाहिर निस्किदै गर्दा एक जना साथीले मतिर देखाउँदै भने, ‘चन्द्र सर ! उहाँलाई चिन्नु भएन ? उहाँ पत्रकार अशोक सिलवाल ।’
एक छिन आँखा गाडेर मलाई हेर्दै चन्द्र ढकाल बोले, ‘चिनेजस्तो लाग्छ ।’ त्यसका केही कारण अवश्य थिए । म यहाँ त्यो कारणतिर जाँदिन । त्यो अलि व्यक्तिगत सन्दर्भ हुनसक्छ । मलाई पिसाब पनि च्यापिसकेको थियो । म चर्पी छिरें । सुपर धनाढ्य ढकालजस्तै म पनि फ्रेस भएँ ।
अब यात्रा चन्द्रागिरीको शिखरतर्फ लाग्यो, जसको उचाई २५ सय ४० मिटर छ । जहाँ केवलकारको टप स्टेसन छ । जहाँ भालेश्वर महादेवको मन्दिर छ । गाडी जाने बाटो डाँडासम्मै पुगेको रहेछ । गाडीमा अघिल्ला लहरहरु भरिइसकेका रहेछन् । पछाडिको कुचुक्क परेको सीटमा म छिरें । एक सीट बाँकी थियो । चन्द्र ढकालका लागि अगाडिको सीट छाडिदिन साथीहरु तयार थिए । भन्दै थिए, ‘सर अगाडि आउनु न ।’ ढकाल मसँगै आएर खुम्चिएर बसे । तर, हार्दिकतापूर्वक । मलाई लाग्यो, व्यवसायिक रुपमा ‘ठुलो मान्छे’को मन पनि ठुलै रहेछ ।
‘यो केवलकारका लागि ११ वटा टावर छन् । एउटा टावरबाट अर्को टावरको म्याक्सिमम् डिस्ट्यान्स ८ सय मिटर छ । केवलकार खतरामुक्त छ । बत्ती गयो भने हजार केबीको व्याकअप छ । यदि त्यसले पनि काम गरेन भने इमरजेन्सी सिस्टम छ । ५ जना मिलेर यो प्रोजेक्टको काम भइरहेको छ । अम्बिका पौडेल, उत्तम नेपाल, उमा जिसी, मीनबहादुर गुरुङ र म चन्द्र ढकाल । यो सब प्रोजेक्ट चन्द्रागिरी नगरपालिका ६ मा पर्छ । यो प्रोजेक्ट स्थानीयमैत्री छ । विशेषगरी वृद्धाहरुलाई एउटा विशेष प्याकेज दिने योजना छ । स्थानीयको सपोर्ट लोभलाग्दो छ ।’
उनी लगातार केवलकार सञ्चालन सेवा भएपछि केवलकार बत्तिए झैं गरी समग्र चन्द्रागिरी योजना सुनाउँदै थिए, ‘चन्द्रागिरी हिल्स् ब्रान्ड हो । यसभित्र भ्यु टावर, भालेश्वर मन्दिर, केवल कार, एम्युजमेन्ट पार्क, रिसोर्ट आदि हुन्छ ।’
साँघुरिएर बसेका उनी फराकिला योजनाका कुरा गर्दै थिए । काठमाडौं नजिकैको दुरीमा रहेको त्यो ठाउँलार्ई उनी नगरकोटभन्दा माथि उठाउन चाहन्थे । कलंकीबाट जम्मा नौ किलोमिटरको दुरीमा रहेको त्यो ठाउँमा केवलकारसँगै ‘हाइकिङ’लाई पनि योजनाबद्ध तरिकाले अगाडि बढाउन सकिने मेरो कुरामा उनी सहमत मात्र भएनन्, त्यसका लागि सोचिसकेको पनि बताए ।
‘काठमाडौंका बच्चाहरुका लागि यो सुन्दर गन्तव्य हुनेछ । काठमाडौंमा भएकाहरु मात्र होइन, काठमाडौंमा आएका सबैलाई समेत यो अनिवार्य गन्तव्य हुनेछ’, उचाइबाट काठमान्डु हेर्दै उनी भन्दै थिए । गाडीबाट ओर्लिएर फराकिलो काठमान्डौ हेर्दै गर्दा स्कुल डे«स लगाएका बच्चाहरु माथितिर उक्लिदै थिए । तिनीहरुतिर हेरेर ढकालले ठट्यौली गरे, ‘केवलकार चढ्न जान लागेको हो ?’
उमेरले पनि परिपक्व भइसकेका उनको बालसुलभ रमाइलो प्रश्नमा उनको केवलकार सपना भावनात्मक रुपले पनि जोडिएको रहेछ भनेर मैले अनुमान गरें । त्यो सामान्य तर सांकेतिक घटनामाथि मैले कुनै प्रतिकृया जनाइन । फिसिक्क हाँसे मात्र ।
केही पाइला अगाडि बढ्दा एउटा समूह भेटियो । उनीहरु फोटो खिच्दै थिए । फेरि ढकाल उनीहरुतिर नजिकिएर सोधे, ‘फोटो खिचिदिउँ ।’ उनीहरु पनि मजस्तै हाँसे मात्र । केही बोलेनन् ।
कुरा गर्दागर्दै हामी भ्यु टावरमा पुग्यौं तर त्यहाँ मोबाइलको टावर एकदमै ‘पोर’ थियो । टावरै थिएन भन्दा पनि हुन्छ । २५ सय ४० मिटरको उचाइमा रहेको भालेश्वर मन्दिर परिसर नेचुरल भ्यु टावर हो । मौसम सफा भए भ्यु टावरबाट सगरमाथा देखिन्छ रे । राती वीरगञ्जमा बलेको पनि बत्ती देखिन्छ रे ।
सामरिक महत्वको त्यो स्थानको दक्षिपट्टि चित्लाङ र पूर्वपट्टि चन्द्रागिरीकै भुगोल छ भने अर्कोपट्टि मकवानपुरको फाखेल । काठमाडौंबाट नजिकै रहेको पर्यटकीय, धार्मिक र ऐतिहासिक महत्वको त्यो शिखरबाट नेपालका प्राय हिमश्रृंखला देख्न सकिन्छ । काठमाडौं देख्न सकिन्छ ।
‘भालेश्वर महादेवको लागि बनाइंदै गरेको आकर्षक मन्दिर अगाडि उभिएर जानकारी दिइयो, ‘देउताको घर थिएन । अब बन्दैछ । यहाँ आएर एउटा वर मागे पुग्छ भन्ने जनविश्वास छ । रुखमुनि रुझेर बसेका थिए भगवान । तर, अब उनले मन्दिर पाएका छन् । चन्द्रागिरीको चीसोले अब उनलाई नसताउला ।’
संस्कृतमा निधारलाई भाल भनिन्छ । महादेवले सतीदेवीको मृत शरीर बोकेर हिंड्दा उनको निधार पतन भएकाले भालेश्वर महादेव भनिएको हो रे ।
मल्लकालीन फ्लेबरको मन्दिर बन्दै गरेको मैले देखें । रिसोर्ट भने नुवाकोट दरबार स्टाइलको बनाउने योजना रहेको ढकालले सुनाए ।
१० लाख पर्यटकको आइटेनरीमा एक दिन थप्न सकियो भने नेपालको समग्र अर्थतन्त्रमा ठूलो योगदान पुग्ने तर्क गर्दै नेपाल आउने विदेशीको नेपाल बसाईलाई एक दिन लम्ब्याउने लक्ष्य लिएर यो सब गरेको बताउँदै गर्दा ढकालमा चम्किलो आत्मविश्वास देखिन्थ्यो । अझ उनको अर्को नारा पनि रहेछ । हरेक नेपाली कम्तीमा एक पटक चन्द्रागिरीमा । भन्दै थिए, ‘यो मोडेल प्रोजेक्ट हो । यदि यो सफल भयो भने पूर्वाधारसहितको अरु गन्तव्यमा पनि जान सक्छौं ।’
उनी अझ हौसिएका थिए तर सामान्य तरिकाले बोल्दै थिए, ‘रिसोर्ट, एम्युजमेन्ट पार्क आदि गरेर ३ सयले प्रत्यक्ष रोजगारी पाउने छन् भने अप्रत्यक्ष १ हजार जनाले काम पाउने छन् । दुधदेखि फूल बेच्नेसम्मले ।’
ग्लोबल आइएमई बैंक र आइएमई ग्रुप अफ कम्पनीज्का अध्यक्ष ढकाल बैंकिङ, सूचनाप्रविधि, ट्राभल एन्ड टुरिजम, पूर्वाधार विकासलगायत थुप्रै क्षेत्रमा सक्रिय छन् ।
म केवलकारमा समेत उक्लिएका ढकालका कुरा मात्र सुनिरहेको थिइनँ, म पनि बोल्दै थिएँ ।
‘मजस्ता सामान्य नेपालीले आफ्नो छवि देख्छ तपाईमा । तपाईंले धेरै प्रगति गर्नु भयो । गर्दै जानुुहोस् । तर, समाजले तपाईबाट मानविय र सामाजिक अपेक्षा धेरै गरेको छ । त्यसैले तपाईमा व्यवसायिकसँगै त्यो भन्दा बढी सामाजिक जिम्मेवारी छ’, मैले त्यसो भनिरहँदा खुशी र भावुक हुँदै उनले बलियो गरी भने, ‘हो ।’
जब नेपालबाट उल्लेख्य मात्रामा जनशक्ति बाहिर जान थाल्यो, ठिक त्यही बेला उनले व्यवसाय सुरु गरे । विदेशमा काम गरेर नेपालीले कमाएको पैसा नेपाल ल्याउने खास माध्यम बने उनी । समयले उनलाई चिन्यो किनकी उनले समयलाई चिने । आइएमई यस्तो ब्रान्ड बन्यो कि अरु रेमिट्समा जाँदा पनि पनि मान्छेहरु त्यसैको नाम लिन थाले । संस्थाको नाम नै सेवाको नामजस्तो । तर, उनी त्यतिमा रोकिएनन् ।
डेढ दशकभन्दा बढी समयदेखि उनैका गाडी चलाइरहेका ड्राइभर मदनले सोह्रखुट्टेमा मलाई छाड्दै गर्दा भन्दै थिए, ‘चन्द्र सरको जीवन मलाई सपनाजस्तै लाग्छ ।’ उनले भनेको त्यो थोरै शब्दमा चन्द्रको जीवनको चमत्कारिक सफलता बुझ्न सकिन्छ । तर, त्यसको जगमा सम्झन र बिर्सनलायक कति घटना होलान् ? तर, महासंघमार्फत उनले सम्झनलायक थुप्रै काम मात्र गरुन् । र, लेख्न पाउँ देश निर्माणमा उनले थप्ने इट्टाका सुन्दर कथाहरु ।
ढकालजी गुडलक !
ashoksilwal@gmail.com