
हिम्मत नहारौँ, कोरोनाभन्दा ज्याद्रो बनौँ
कोरोना विजेताको सुझाव
गौरी देवकोटा
कोरोना सङ्क्रमण सबैले सामना गर्दैछौँ । मैले पहिलो लहरमा नै सामना गरेकोले थाहा हुने धेरै साथीभाइ र आफन्तहरूले खानपान र जडीबुटी बारे सोधिराख्नु भएको छ । मलाइ थाहा छ बिरामीलाई फोन गरेर बोल्न झण्झट लाग्छ । सकिँदैन र पनि सोधिरहनु भएको छ । बरू सामाजिक सञ्जालमा भुलिरहँदा देख्नु भयो भने पढ्न सहज होला भन्ने सोचेर थाहा भएको कुरा सार्वजनिक रूपमा नै शेयर गर्न चाहेँ ।
परिसकेपछि आत्तिन्छौँ । के गर्ने कसो गर्ने हुन्छ । थाहा भएको कुरामा पनि ध्यान जाँदैन । घरैमा भएको औषधिजन्य कुराहरू राखेको ठाउँ बिर्सन्छौँ । खोज्ने जाँगर र तागत दुबै हराउँछ । बारी, करेसा घुमेर जडीबुटी खोज्न पनि सम्भव हुँदैन । बिरामी आइसोलेशमा हुन्छ । घरमा बनाउने कुरा र परिवारमा बनाएर दिने मान्छे भए त बिरामी तङ्ग्रेला । सबैलाई त्यो अवसर नजुट्न पनि सक्छ वा घरका सबै बिरामी परेको पनि हुन सक्छौँ । त्यतिबेला टाढा बस्ने आफन्तको भन्दा नजिक बस्ने छिमेकीको महत्व र माया अमुल्य हुन्छ । हाम्रै वरिपरि कोही बिरामी वेसाहारा पो बनी रहनु भएको छ कि ? अहिले हरेक छिमेकी, घरधनी र बहालमा बस्ने सबैले विचार पुर्याउनु पर्ने विषय भएको छ । साथसाथै मबाहेक सबै सङ्क्रमित छन् र ‘ऊ’ देखि म जोगिनुपर्छ भन्ने पनि बिर्सनु हुँदैन । किन कि माया र सद्भाव मान्छेसँग बाँड्ने हो रोगसँग हैन ।
मैले प्रयोग गरेका जडीबुटीहरू:
दालचिनी, गुर्जो, तुलसी पत्ता, ज्वनु, हलेदोको टुक्रा (नभए बेसार), हर्रो, पिपला,जेठीमधु,सबै राखेर पकाएको गाढा रंगको पानी कम्तिमा दुइपटक पिउनु पर्ने रहेछ । (यी वस्तुहरू ३/४ पटकसम्म उमाल्न मिल्छ एकपटकमा फाल्नु पर्दैन ) पानीमा सञ्चोको थोपा हालेर बाफ लिँदा स्वासप्रस्वास र टाउको दुखेकोमा फाइदा हुन्छ । नरिवलको पानी खाने भन्ने पनि सुनेँ र आयुर्वेदिक ज्ञाताको भनाइ अनुसार काँचो नरिवलको पानी पहिलो दिन चार ग्लास दोस्रो दिन दुई ग्लास र तेस्रो दिन एक ग्लास खाली पेटमा पिएँ यसले पनि राम्रो गरेको महसुस भएको थियो ।
खानपान:
यो रोगले शरीरलाई अत्यन्तै नाजुक बनाउने र खानाको स्वाद पनि हराउने भएकोले मन नलाग्दा पनि जबरजस्त खानु पर्ने अवस्था हो यो ।
प्रशस्त पोसिलो, रसिलो र झोलिलो खानाको आवश्यकता पर्ने रहेछ । नाक मुख शरीर पुरै सुख्खा हुने भएकोले पानी पर्याप्त पिउनु पर्ने ।
फलफूल प्रशस्त खानुपर्ने । भिजाएको गेडागुडी (सबै किसिमको) दाल, चामल, सागपात, पनिर आदि मिसाएर बनाएको झोलिलो जाउलो बनाउन पनि कम दु:ख र स्वास्थ्यको लागि सर्वोकृष्ट लाग्यो मलाई । दिनमा दुइवटा अण्डा सकेसम्म नछुटाउने । ग्लुकोज पानी र च्यवनप्रास पनि फाइदाजनक नै हुन्छ ।
हस्पिटल पुग्नै पर्ने अवस्था:
आन्तरिक शक्ति बलियो हुनेहरूको लागि कोरोना भाइरस केही हुँदै होइन । कसैमा अलिअलि लक्षण देखिन पनि सक्ने र कसैमा नदेखिन पनि सक्ने रहेछ तर पहिल्यै देखि कुनै रोग भएको शरीरलाई यसले नराम्रो असर गर्ने पाइयो । आफ्नो रोग अनुसार सचेत हुनुपर्ने देखियो । जस मध्ये पनि श्वास प्रस्वासको समस्या देखिएमा हस्पिटलको साहारा खोज्नु आवश्यक हुने रहेछ । अक्सिजन वा भेन्टिलेटर श्वास प्रस्वासमा पहिलो प्राथमिकता हुने भएकोले हस्पिटल पुग्नै पर्ने रहेछ । अन्यथा रोग अनुसार जटिल अवस्था नभएमा होम आइसोलेशन नै उपयुक्त हुने देखियो । स्वासप्रस्वासको परिक्षण गर्न सबैसँग अक्सिमिटर आवश्यक हुन्छ । बेला बेला आँफैले जाँचेर स्वासप्रस्वासको लेवल ९५ भन्दा तल भएमा सचेत हुनु पर्ने र अक्सिजनको लेवल ठिक छ भने आत्तिनु नपर्ने रहेछ । शरीरको स्थिति हेरेर चिनजानको डक्टरको सल्लाहामा भिटामिन, सिटामोल, खोकिको औषधी, जीवनजल, डाइरीयाको औषधी आदि लिँन सकिने रहेछ तर जथाभावी औषधी प्रयोग गर्न नहुने कुरा पनि बिर्सनु हुदैन ।
यो भाइरस धेरै अप्ठ्यरो र घातक छ । बिरामीलाई केही गर्न नसक्ने बनाउँछ र अरूलाई नजिक पर्न पनि दिँदैन । जसले उचित हेरचाह र खानपान पायो उसले जित्यो । पाएन र शरीरले साथ दिएन हा-यो । यसर्थ परिवारको वा छिमेकीको भूमिका महत्वपूर्ण रहन्छ । यो माहामारीले सान्त्वना, सद्भाव र सहयोगको बढी नै माग गरिरहेछ । परेको बेला सरसहयोग गर्ने हाम्रो उच्चतम् संस्कारको सबैले उपयोग गरौँ । बिरामीमा पनि यो रोगलाई जसरी पनि जित्छु भन्ने ‘घमण्ड’ हुनुपर्छ । यो सबैले भोगिरहेको रोग हो म मात्रै सङ्क्रमित हैन भन्ने सोचेर सामान्य रूपमा लिने कोसिस गरिरहनु पनि ठुलै कुरा हुन्छ ।
मुख्यत: कोरोनासँग लड्ने तागत खानपान र जडीबुटीबाट नै लिनु पर्ने भएकोले आवश्यक खानपानमा ध्यान दिउँ, ‘पछि’लाई चाहिन्छ भनेर केही जोगाउनु छैन । अहिले जोगाउने भनेको मात्र जीवन हो । सकेसम्म जोगाउँ जोगिउँ र सुरक्षित बसौँ । बिरामी नै परे पनि हिम्मत नहारौँ कोरोनाभन्दा ज्याद्रो बनौँ ।