
लकडाउन वार्ताः पहिले क्वारेन्टाइनमा जोड, अहिले होम आइसोलेसनमा
महामारीमा नेपालनाम्चाले सुरु गरेको लकडाउन वार्तामा दुप्चेश्वर गाउँपालिका, नुवाकोटकी उपाध्यक्ष अञ्चु आचार्य ।
लकडाउन छ । तर, तपाईको कन्फिडेन्स त डाउन भएको छैन नि ?
छैन ।
दिनहरु कसरी बित्दै छन् ?
पारिवारिक माहोलमा थपिंदै गएका नयाँ संक्रमितलाई हौसला र उत्प्रेरणा दिंदै, घरमा नै हुनुभएका संक्रमितलाई स्याहारसुसार गर्दै र कार्यालयको स्वास्थ्य शाखालाई चुस्तदुरुस्त राख्दै अहिलेको नयाँ भेरियन्टसँग जुध्नका लागि गरिने पूर्वतयारीमा बितिरहेको छ ।
कसरी गर्दै हुनुहुन्छ यो समयको सदुपयोग ?
कार्यालयमा अत्यावश्यकबाहेक अन्य सेवाहरु नभएकाले दैनिक दिनचर्याबाट मिलेको थोरै मात्र समयमा लेखहरू लेख्ने, परिवारका सदस्यहरूलाई हसाउँने, रिसर्चसम्बन्धी लेखहरू पढ्ने र गाउँपालिकाका नागरिकहरुको स्वास्थ्यसम्बन्धी सचेतनाका लागि स्वास्थ्य शाखासँग अन्तर्क्रिया गरेर समयको सदुपयोग गरिरहेको छु ।
अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडाउन तपाईंलाई उस्तै लाग्दैछ कि फरक ?
फरक छ किनकि पहिलो लकडाउन पूर्णरुपमा नौलो थियो । कोरोना भाइरस के हो कस्तो हो, हावाबाट प्रसारित भएर सबै मान्छेलाई मार्छ रे भन्ने हल्लैहल्लाले बढी संत्रास फैलाएको थियो । अहिलेको लकडाउनले मानिसलाई सतर्क हुन सिकाएको छ र कोरोना भाइरससँग यसरी नै जुध्ने हो भनेर मानसिक रुपमा तयार पारेको छ । पहिलाको लकडाउनमा श्रमिकहरुको ओसारपसार कसरी गर्ने र कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई कसरी व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित थियो । अहिलेको लकडाउनमा चाहिँ शंकास्पद बिरामीहरुलाई होम आइसोलेशनमा कसरी बस्ने र लक्षणसहितको बिरामीलाई गाउँपालिकाकै स्वास्थ्य संस्थामा उपचारार्थ सम्पूर्ण व्यवस्थापनमा जुट्दै अघिल्लो लकडाउनको कारण मर्कामा परेका दैनिक ज्यालादारी मजदूरहरुले अहिलेको लकडाउनलाई गरेको बेवास्तालाई आफ्नो ज्यान जोखिममा राखेरै भए पनि निषेधाज्ञालाई पूर्ण पालना गर्नेतर्फ लागिएको अवस्था छ । पहिलेको लकडाउनमा क्वारेन्टाइनलाई बढी जोड दिइएको थियो भने अहिलेको लकडाउनमा होम आइसोलेसन र यदि संक्रमितको मृत्यु भैहालेको खण्डमा शवलाई कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा विशेष जोड दिइएको अवस्था छ ।
छिमेक र वरिपरिको वातावरण कस्तो छ ?
पहिलेको अवस्थाभन्दा केही सचेतना आएको छ । कोरोना पोजेटिभ आएको खण्डमा एकआपसमा दोषारोपणको स्थिति कहींकतै रहेको भएता पनि कोरोना भाइरसले आफ्नो पराइ भन्दैन । कोरोना भाइरस जसलाई जुनसुकै बेला पनि लाग्नसक्छ भनेर सतर्क छन् ।
यदि लकडाउन नभएको भए आज तपाईं कहाँ र के गर्दै हुनुहुन्थ्यो ?
यदि लकडाउन नभएको भए म पालिकाको दैनिक प्रशासनिक काममा अल्झिरहेको हुने थिएँ । अहिले योजना तर्जुमाको समय चलिरहेकोले गाउँगाउँमा योजना तर्जुमासम्बन्धी अन्तर्क्रिया गरिरहेको हुने थिएँ ।
लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झनु होला ?
महामारी भन्ने कुरा कुनै पनि समय आउन सक्छ । यसका लागि सबै क्षेत्रमा पूर्वतयारी आवश्यक पर्ने रहेछ भनेर सम्झन्छु ।
तपाईंलाई लाग्छ, के लकडाउन नै समस्याको समाधान हो ?
होइन, लकडाउन मात्र समस्याको समाधान होइन । लकडाउन के हो भन्ने कुरा गत वर्ष नै थाहा भैसकेपछि लकडाउन सँगसँगै हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि भौतिक पूर्वाधार, औषधी तथा उपकरणहरुको उपलब्धता, रोकथामको उपाय तथा जनशक्ति व्यवस्थापनमा जोड दिनु र भएका जनशक्तिलाई पनि उचित सेवासुविधा उपलब्ध गराएर कामप्रति उत्प्रेरित बनाउनुपर्ने थियो ।
कोरोनाको यी बर्षहरुपछि तपाईंको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?
शारीरिक स्वास्थ्यका अलावा मानसिक रूपमा पनि स्फुर्त हुनुपर्ने रहेछ । यसका लागि शारीरिक व्यायाम र योगा नियमित गर्नुपर्ने र समाजमा भएगरेका अस्वस्थ क्रियाकलापबाट अलिक सतर्क हुनेपर्ने अनुभव भयो ।
भविष्यप्रतिको तपाईंको धारणा के छ ?
हरेक स्थानीय तहले आफ्ना नागरिकहरुलाई आत्मनिर्भर हुने खालका योजनाहरु ल्याउने, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगार जस्ता विषयमा तत्तत् स्थानीय तहमा स्वनिर्भर हुने वातावरण तय गर्नुपर्ने धारणा मेरो रहेको छ ।
अन्तिममा केही थप्न चाहनुहन्छ ?
लकडाउनको कारणले काममा फर्किन नपाएका र कोरोना संक्रमित भई होम आइसोलेसनमा रहेका व्यक्तिहरुलाई सामाजिक सञ्जाल एकमात्र साहारा हुन सक्थ्यो दिन कटाउनका लागि । तर, त्यस्तो हुन सकिरहेको छैन । सामाजिक सञ्जालमा उत्प्रेरणात्मक र मनोबल उच्च हुने खालको लेख हुनुपर्थ्यो । तर, समवेदनाका पोष्टहरु, कोरोनाको भयावह स्थिति, सामाजिक र राजनैतिक अपराधको श्रृंखला, घुसखोरी कालोबजारी र कमिसनको खेल तथा सत्ता र शक्तिको खिचातानीबाहेक अरू केही हुन सकेन । अक्सिजनको अभावमा छट्पटिइरहेका नागरिकको टाउको नाघेर सत्ता हात पार्न दौडेका राजनीतिक दलका नेताहरु देख्दा आफैलाई असैह्य र असहज भइरहेको छ । यतिबेला पत्रकारको कलम पनि कोरोनाको महामारीसँग कसरी जुध्ने, कोरोना संक्रमित व्यक्ति शारीरिक र मानसिक रूपमा कसरी स्वस्थ रहने, मनोवल उच्च बनाउने खालको लेखहरू लेख्नतिर लाग्नुपर्ने थियो तर त्यो पनि भएको छैन । कोरोनाको दोस्रो लहरका कारण यति जनाको मृत्यु भनेर समाचार लेख्नुभन्दा पत्रकारले महामारीबाट कसरी जुध्ने, मृत्युदर कसरी कम गर्न सकिन्छ, यो बारेमा समाचार बनाउनुपर्छ ताकि कोरोना संक्रमित व्यक्ति हतोत्साही हुनबाट जोगिउन् र उनीहरुको मनोबल उच्च रहोस् ।