गुरुबिना शिष्यको अस्तित्व कहाँ हुन्छ र !

रचना कार्की
कक्षा ९, स्वर्णिम स्कुल, डल्लू आवास, काठमाडौं ।

हँसिलो मुहार बनाई,
दिने असल ज्ञान हो
सम्मान र श्रद्धा गरी,
आदर गर्ने दिन हो ।

काखी च्यापी पढ्न भनी,
आमाले स्कुल छोड्दा
कति खुसी हुन्थ्यौँ रे
गुरुले चकलेट दिँदा ।

गुरु शब्द सुन्दा पनि,
आउँछ सारै आनन्द
अनुशासनको पाठ,
सिकाउनुहुन्छ बारम्बार,
आसुँ पुछ्दै नचाउँदै,
क, ख, ए, बी सिकाउनुभो
मजस्ता कैयौँ यात्री,
गन्तव्यमा पु-याउनुभो ।

फलाम पिटी सियो,
बनाउने कला हातमा
मार्गदर्शक हुन् गुरु,
सधैं शिष्यका साथमा,
ज्ञान सधैं अमर,
मासिन्छ धन, सम्पत्ति
दियोसरी बल्छन्,
उज्यालो प्रकाश छरी ।

खाली दिमाग लिएर,
आएको थिएँ धर्तीमा
ज्ञानरुपी आँखा खोली,
पिलायौ अमृत टन्न ।
शिष्य असल बनून्,
बढोस् यात्रा अघि भनी
निरन्तर सेवा दिने,
रोग, भोक केही नभनी ।

मौरीबिनाको महको,
मिठास कहाँ हुन्छ र ?
गुरुबिना शिष्यको,
अस्तित्व कहाँ हुन्छ र ?
भेदभाव नगरी गुरु,
बस्छन् सबैका मनमा
कतै पनि बिक्दैनन् ,
गुरु कालो धनमा ।

जीर्ण शरीर थर्थर,
लठ्ठी टेकी हिँड्दा पनि
गुरुको त्याग र तपस्या,
वर्णनीय छैन कतै पनि ।
आज मात्रै माला लगाई,
होइन खुवाउने मिठाई
गुरुको ज्ञान र प्रेरणा,
राखौँ मनमा सजाई ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button