रोएर फर्कन्न जीवन
कविता
रचना कार्की
कक्षा ९, स्वर्णिम स्कुल, डल्लु ।
परिवारको एक्लो छोरो, थिएन कुनै कुराको कमी
कति बेला कुलतमा फस्यो अनभिज्ञ छौँ हामी
रिसाउने, टोलाउने, झर्कोफर्को बानी देख्दा
छिमेकीले कुरा काट्थे चोकतिर ती भेट हुँदा ।
गितार बोकी पैसा मागी निस्कन्थ्यो ऊ घरबाट
छोरोको यो विषयले नै बुबाआमाबिच महाभारत
धनमाथिको रातीगेडी त्यो बुढेशकालको थियो आशा
औँला ठड्याउँदै थर्काउँथ्यो मेरा बारेमा कोही बोल त !
एसईईको नतिजामा राम्रै श्रेणी पो भेट्टाएछ
खुसीसँगै नाम चलेको कलेजमा पो भर्ना भएछ
सुट-बुट लगाई पल्सर हाँकी हिँड्थ्यो छोरो पढ्ने निहुँमा
ग्याङ फाइट गर्ने चर्चा हुन्थ्यो सधैं कलेजको छेउमा ।
दुध, हर्लिक्स्, माछामासु, फलफूलको जुसभन्दा
दुई औँलाबिच चुरोट च्यापी धुँवा उडाउन मान्थ्यो आनन्द
लुगा धुँदा गोजी छाम्दा चुरोटका ठुटा पाउँदा
घुक्क घुक्क रोई बस्थिन् आमा बाबा कोठामा आउँदा ।
उसले खाएको चुरोटले कलेजो-फोक्सो खाएछ उसको
खराब हालतमा भएछ भर्ना अस्पतालमा बिजोग छ उसको
बर्बराउँछ कहिले बेडमै, मामु ! भन्छ एक सर्को तान्छु
चिन्ता नगर्नोस् भन्छ उसले बाँचेर हजुरलाई अवश्य पाल्छु ।
उसले तानेर फालेको धुँवाझैँ उड्यो उसको प्राणपखेरु
बुबाआमाको गुम्यो होस उजाड भयो त्यो घर-मझेरी
न छ साथमा छोरो हाँस्ने, न छ धन नै बग्यो खोला
वास्तविकता हो घटना उसको सुन्दा कसको मन नरोला ?
ओठ निचोर्दा दूध निस्कन्छ कलकलाउँदा युवा सबैका
पैसा भन्दै कुद्छ समाज बिग्रन्छन् साँच्चै निगरानी नहुँदा
कयौँ परिवार शोकमा देख्छाैँ, दुर्व्यसनीकै कारण आज
छैन सकेको चेतना खुल्न, बदल्नै पर्छ सोच र समाज ।
सम्झाउनै पर्छ बेलैमा सबले फस्न थाले कुलतमा क्वै
पछुताउनु पर्छ एकदिन यसरी समाजमा यस्तै घटना भै,
कसैले तानेको चुरोटले पत्तो हुँदैन उसलाई तानेको झैँ
रोएर मात्र फर्कन्न जीवन ? सिद्धिएपछि यो देह नै ।
बेलैमा सोचाैँ, निगरानी राख्दै, अगाडि बढाैँ सतर्क भै ।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)