
सानु मान्छेको राम्रो कुरा
नमस्कार । म गृश्मादेश प्रसाईं ।
म १३ बर्षको भएँ । म अहिले न्युटन एजुकेसन एकाडेमी स्कुल, बिर्तामोडमा कक्षा सातमा पढ्छु ।
मेरो रुचिहरु धेरै छन् । मलाइ साहित्य लेख्न पढ्न, आफूभन्दा सिनियहरुको कुरा सुन्न, फुटबल खेल्न औधी मन पर्छ । योबाहेक मलाई फुर्सदको समय युट्युबबाट आफुलाई मन परेको मुभी हेरेर पनि समय बिताउन मन लाग्छ । मेरा रुचिहरु धेरै भए पनि भविष्यमा आर्मीको ठूलो पोस्ट्मा पुगेर देशको सेवा गर्ने उद्धेश्य छ । मलाई मेरो देशको धेरै सेवा गर्न मन छ ।
मलाई हरेक समय मामुबाबासँगै नजिक बस्न मन पर्छ । तर, दुवैजना मिडियामा काम गर्ने हुँदा म उहाँहरुसँग बिहान र बेलुका मात्र सँगै बस्न पाउँछु । मलाई मेरो मामुले धेरै ज्ञानगुनका कुरा सिकाउनु हुन्छ । उहाँ साहित्य लेख्ने भएको भएर मलाई पनि साहित्य मन परेको हो । मैले धेरै ठाउँमा कविता प्रतियोगितामा भाग लिएर प्रथम पनि भएको छु । मेरो मामुबाबाकै कारण म एफएममा बालबगैँचा भन्ने कार्यक्रम पनि चलाउँछु । हरेक शनिबार बिहान १०ः१५ देखि कार्यक्रम शुरु हुन्छ । कार्यक्रममा मजस्तै साथीहरुले लेख्नु भएका कथा, कविता, गीत र गजलहरु सुनाउँछु । कहिलेकाहीँचाहिँ विभिन्न विद्यालयमा पढ्ने साथीहरुलाई स्टुडियोमै बोलाएर कुराकानी पनि गर्छु ।
शुरुमा मलाई रेडियोमा बोल्दा धेरै डर लाग्थ्यो तर मेरो मामुले मलाई सधै आज तिमीले राम्रो बोल्यौ भनेर उत्साह दिनु हुन्थ्यो । जब म रेडियोमा बोल्न थालेँ, गुरुहरुले मलाई मेरो स्कुलमा भएका कार्यक्रमहरु सन्चालन गर्न पनि दिनुभयो । साथीभाइले पनि मलाई स्पेशल साथीको रुपमा हेर्छन् । मलाई रेडियोमा बोल्न थालेपछि धेरै कुराको फाइदा भएको छ । अहिले मलाई कतै गएर बोल्न पनि डर लाग्दैन । म मन्चमा उभिएर नडराई आफ्नो कुरा भन्न सक्छु ।
शनिबारको दिन मेरो मामुको कुनै कार्यक्रम पर्यो भने म पनि उहाँसँगै जान्छु र मन्चमा कविता भन्छु, गीत गाउछु । मलाई गिटार बजाउन पनि धेरै मन पर्छ । स्कुलमा अलिअलि म्युजिक सिकेकोले बजाउँछु पनि । मैले पाहोर मेरो मामुको बर्थडेमा आफै गिटार बजाएर ह्यापी बर्थडे विस गरेको थिएँ । त्यो देखेर मेरो मामुबाबा धेरै खुशी हुनुभो । मैले जे गर्दा उहाँहरु खुशी भएको देख्छु, म त्यो काम गर्न धेरै मेहनत गर्छु । मलाई आफू एफएममा बोल्छु भन्दा प्राउड लाग्छ ।रेडियो बिराट ८८.५ मेगाहर्जमा मैले काम गर्न थालेको तीन बर्ष भो । अहिले मलाई लाइभ कार्यक्रम चलाउन कुनै स्कृप्ट चाहिदैन । एफएममा आज के बोल्ने भन्ने तयारी गर्न म मेरो मामुले घरमा बनाएको लाइब्रेरीबाट बालकथाका किताबहरु पढ्छु । सामान्य ज्ञानका कुराहरु पढ्छु । मेरो मामु ट्रेनर पनि हो, अनि ट्रेनिङ दिदा मजस्तै फर्वाड साथीहरु भए भने गेस्ट पनि बोलाइदिनु हुन्छ । कहिले म आफै पनि साथीहरुलाई फोन म्यासेजबाट बोलाउँछु ।
अहिले एक बर्षयता मसगै सहयोगी सन्चालकको रुपमा एउटी सानी बहिनी पनि छिन् । उनको नाम दृष्टि मित्तल हो । उनीचाहिँ कक्षा पाँचमा पढ्छिन । उनी राम्रो नाच्छिन् पनि । शुरुशुरुमा त उनी बोल्न धेरै डराउँथिन् । तर, उनलाइ म सिकाउँथे जसरी मलाई मेरो मामुले हौसला दिनुहुन्थ्यो, त्यसैगरी हौसला दिन्छु उनलाइ म पनि । अहिले उनी डराउन छोडेकी छिन् । अचेल मेरो स्कुलमा परिक्षा परेको बेला कार्यक्रम उनले होल्ड गर्छिन । यसकारण दुई जना हुँदा सजिलो भएको छ । ।
अहिले त कोरोनाले गर्दा सबैतिर गारो भएको छ । स्कुल पनि बन्द छ । एफएममा पनि जान दिनु भएको छैन । धेरै दिन भयो एफएम जान नपाएको । मलाई धेरै याद आएको छ एफएममा बोलेको । म बेला बेला मेरो पुरानो रेकर्ड सुन्छु, आफु बोलेको सुनेर आफैलाइ मजा लाग्छ । फेरि यसैगरी कहिले बोल्नु होला जस्तो लागिरहन्छ ।
अहिले कोरोनाबाट सबै साथीहरु सुरक्षित रहनुहोला । यो फुर्सदको समय राम्रो राम्रो बुकहरु पढ्नु होला । अनलाइन क्लास पनि चल्दैछ होला । पढाइलाई ध्यान दिनु होला । आफ्नो परिवारभन्दा बाहिर नजानु होला । मेरो टोलमा मजत्रै एकजना साथीको कोरोना भएर डेथ भयो । त्यो सुनेर मलाई त झन धेरै दुख लागेको छ । साथीहरु ! यो समय तपाईंहरु आफ्नो मामुबाबा, भाइबहिनी, दिदिदादाहरुसँगै टाइम स्पेन्ड गर्नु है ।
कोरोना हटेपछि हामी सबै खुशी हुँदै रमाउँला ।