जीवनको किताबमा आफ्नै चित्र कोर

प्रिय बालसाथी ! तिमीहरु कथा लेख । कविता लेख । निबन्ध लेख । र, अरु थुप्रै विधामा मन लागेको लेख । चित्र पनि कोर । त्यसमा रंग पनि भर । नेपालनाम्चा तिमीहरुको प्रतिभा पोख्ने ठाउँ हो । नेपालनाम्चा अंकल बगैंचा हो भने तिमीहरु फूल । आफ्ना रचना नेपालनाम्चा अंकललाई पठाऊ है । अंकलको इमेल ठेगाना nepalnamcha@gmail.com हो ।

कविता/मेरी काया !

सफायर शाक्य
कक्षा ८, स्वर्णिम स्कुल, डल्लु ।

आफ्नै दुनियाँ पहिल्याउँदै नाच्छिन् मेरी काया
स्वयमलाई भन्दा बढी गर्छिन् अरूलाई माया
एक-दुइ साथी, नभए पनि हुन्छ आफ्नै छाया
नित्य एक्लै हुन्छिन्, कोही हुन्नन् दायाँबायाँ ।

चासो नदिएमा बेवास्ता गरे जस्तो ठान्छिन्
दुख मानी चिन्ता गर्दै वास्तविकताबाट भाग्छिन्
कुनै कुनै काममा भने शङ्का गरी राख्छिन्
आफ्नो काममा स्वतन्त्र छिन्, न त सहयोग माग्छिन् ।

आफ्नो दृश्य हेरी उनी आफै गर्छिन् गाली
जीवनमा रोप्न चाहन्छिन् शान्तिमय बाली
सङ्कटमा परे पनि आफै पाइला चाली
अनुहारको ओठमा थप्छिन् मुस्कानको लाली ।

जीवनको किताबमा आफ्नै चित्र कोर
मिहिनेती बन, काया ! अरूको मन चोर
विश्वलाई सुनाउनु छ तिम्रो सुन्दर स्वर
ताज लाउन बाँकी नै छ लगाउ अझै जोर !!

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button