कविता : के तपाईँ पनि छोरीको बाउ हो ?

ठाकुर बेलवासे ।

मौसम अनुसारका फूलका रंग
फूलकै सुवास
फूलको हाँसो
अनि फूलको घुर्की खोज्न
कुनै वनजंगल
या कुनै बगबगैँचा धाउनु
पर्दैन छोरीको बाउलाई

प्रकृतिका अनेकन रुप खोज्दै भौतारिनु
गर्मी छल्न चौतारो खोज्नु
जाडो छल्न घाम खोज्नु
यी सबैसबै झन्झट व्यहोर्नु पनि पर्दैन
छोरीको बाउलाई

दिनभर हिँडेर
साँझको थकित जोगीजस्तो
अनेकन पीडा बिसाउन
साथको भीख माग्दै दौडिरहनु पनि पर्दैन
छोरीको बाउलाई

मनबाट खुसी उम्लिएर
बाटो भरि आफै पोखिनु
अँ रित्तोरित्तो बन्नु
या हिमालको टुप्पोमा पुगेर
हाँसोलाई जमिनतिर उडाईरहन खोज्दा
आफ्ना भन्ने कोही नदेखिनु
मान्छे भन्ने कोही नलाग्नु
उमंग हठात
वादल बनेर आफ्नै आँखामा भरिनु
यी सब कुरा
दन्त्यकथा जस्तै हुन
छोरीको बाउलाई

छोरीका गालामा
लालीगुँरास फूल्छ
ओठमा चमेली झुल्छ
आँखामै छ
विहानको कलिलो सूर्य
अनि परेलीमै छ
मध्यान्नको तेजिलो घाम

छोरीले मन दुखाउँदा
क्षणभरमै सिंगो आकाश
कालो बादलले छोपिन्छ
छोरी हाँस्दा
चक्रवातले थलिएको पृथ्वी खुल्छ

दुःख दुःखेर मनभरी
पीडा सुसेल्दै घर पुगेको बेला
छोरीको स्पर्शले
दुःख सुकेको पातजस्तो उडेर क्षणभरमै हराउँछ

कहिलेकाँही खुसीले
मन
मान्छेको जम्काभेटमा परेको सिंहजस्तो
गर्जिएका बेला
छोरी आगाडि आएपछि
मन हरिणजस्तो कोमलकोमल बन्छ
खुसी विहानीको दुवोजस्तो शीतलशीतल बन्छ

छोरीको बाउ हुनु
मान्छे बन्नु हो रहेछ
छोरीको वाऊ हुनु
दुःख जित्नु रहेछ
के तपाईँ पनि
छोरीको बाउ हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button