कविता: सम्बोधन शहरको साथीलाई
निर्जला लम्साल
कलिलो मस्तिष्कमा बुन्दैछु योजनाहरु
केही चाहनाहरु छन् मसँग
केही कोपिला सपनाहरु फुल्न खोज्दैछन्
उम्रिएका छन् मजस्तै रहरहरु
तर, साथी म त गाउँमा छु ।
तिम्रो शहरले कहिल्यै नदेख्ने ठाउँमा छु ।
हाम्रो त पेट भोकै छ
तर, एक गाँस खाना छैन ।
हाम्रो त आङ नाङ्गै छ
तर, छोप्ने एकघरो बस्त्र छैन ।
हामी खुला आकाशमुनि निदाउँछौँ
तर, बस्ने बास छैन ।
हो साथी, म टाढा छु तिम्रो शहर भन्दा
पर छु तिम्रो नजर भन्दा ।
योजनाहरु मेरा मस्तिस्कमा छन्
मेरो देशको मुहार फेर्ने ।
चाहना मसँग पनि छ
पढेर असल मान्छे बन्ने ।
केही रहरहरु पनि छन्
आफ्नै सुन्दर भविश्य बनाउने ।
अनगिन्ती सपनाहरु छन् मभित्र
पुतलीजस्तै उँड्ने ।
फूलजस्तै मुस्कुराउने ।
नदीजस्तै बग्ने ।
मलाई पनि मन छ नि
तिमीजस्तै पाठशाला गएर पढ्न ।
मलाई पनि मन छ नि
जन्मदिने बा आमालाई खुशी राख्न ।
मलाई पनि मन छ नि
ठूलो भएर आफ्नै खुट्टमा उभिन ।
तर, साथी
म त गरिबको सन्तान
गाउँमा बस्छु ।
मेरो गाउँमा पाठशाला छैन ।
हो साथी,
मैले पाठशाला देख्नै पाएको छैन ।
मैले पाठशाला टेक्नै पाएको छैन ।
कक्षा नौ, इलिप्स स्कुल, काठमाडौं ।
…
(प्रिय बालसाथी !
तिमीहरु पनि निर्जलाले जस्तै आफ्ना अनुभव लेख है । कथा, कविता वा निबन्ध लेख । चित्र पनि कोर । त्यसमा रंग पनि भर । नेपालनाम्चा तिमीहरुको प्रतिभा पोख्ने ठाउँ हो । नेपालनाम्चा अंकल बगैंचा हो भने तिमीहरु फूल । आफ्ना रचना नेपालनाम्चा अंकललाई पठाऊ है । अंकलको इमेल ठेगाना nepalnamcha@gmail.com हो ।)
सुन्दर कविता छाेरी । हार्दिक बधाई छ । अझै सुन्दर सिर्जनाहरु गर्दै जानु शुभकामना ।।