म रुँदा बा रुन्छन्, म हाँस्दा बा हाँस्छन्
मेरा बुबा
अस्मिता आचार्य
कक्षा ६, ‘ख’, स्वर्णिम स्कुल, डल्लुआवास, काठमाडौं
हाम्रो जीवनमा एक त्यस्तो व्यक्ति हुन्छ, जसले हामीलाई हरक्षण, हरपल माया ममता दिन्छ, जसले दुःखमा हौसला र सुखमा साथ दिन्छ, हो त्यही व्यक्ति हाम्रा आफ्नै भगवान्’स्वरूप बुबा हुन् । ‘बुबा’ नाम कति अनौठो छ । बुबा भन्ने बित्तिकै हामी भगवान् सम्झन्छौँ ।
बुबाले हामीलाई आफू भोकै बसेर खुवाउँछन् । आफू झुत्रे झाम्रे लुगा लगाउँछन् तर हामीलाई भने नयाँ-नयाँ लुगा लगाउन दिन्छन् । धेरै मानिसको जीवनमा बुबा हुन्छन् भने कतिपय मानिसका जीवनमा हुँदैनन् । मैले अहिलेसम्म पढेका किताब, कथा र कवितामा जताततै आमा मात्र लेखिएको पाएकी छु । हो, आमा पनि हाम्रो जीवनको एक महत्त्वपूर्ण पात्र हुन् तर बुबा भनेर कहीँ पनि लेखिएको पाएकी थिइनँ । त्यसैले म आज मेरा बुबाको बारेमा लेख्दै छु ।
मेरा बुबा मेरा लागि सबथोक हुन् । म रुँदा मेरा बा रुन्छन् र म हाँस्दा मेरा बा हाँस्छन् । मेरा बाले मेरा लागि के गरेनन् र १ आफू भोकै बसे तर मलाई भने कहिल्यै भोकै बस्न दिएनन् । आफूले फाटेका कपडा लगाए तर मलाई भने कहिल्यै फाटेका लुगा लगाउन दिएनन् । मेरो जिन्दगीमा यदि मेरा बा भएनन् भने मेरो जिन्दगी अधुरो हुन्छ । त्यसैले मेरो जीवनको एक मात्र महत्त्वपूर्ण पात्र भनेका मेरा बा नै हुन् ।
मेरा बाको नाम देवीराम आचार्य हो । उनी अहिले ५६ वर्षका छन् । उनी कृषक हुन् । उनले अन्नबाली उत्पादन गरेर सहरतिर पठाउँछन् । यदि किसान नै भएन भने हामीले खानेकुरा पनि खान पाउँदैनौँ । मेरा बा यही पेसामा संलग्न छन् । म मेरा बा यस पेसामा संलग्न भएकाले अत्यन्तै खुसी महसुस गर्छु । किनकि मेरा बाले मिहिनेत गरेर अन्नबाली उत्पादन गरेर मानिसहरूलाई पनि भोकै बस्न दिँदैनन् । मेरा बालाई खानेकुरामा मेरी आमाले मिठो गरी पकाएको रोटी(तरकारी मन पर्छ । हुन त अरुका बा पनि अरुलाई धेरै माया गर्छन् होला तर मेरा बाले मलाई गर्ने माया अरुका बाले गर्नेभन्दा विशिष्ट छ । मलाई अहिले यस विद्यालयमा पढाउनका लागि मेरा बाले कडाभन्दा कडा मिहिनेत गरेका छन् । म भविष्यमा एक समाजसेवी तथा एक असल नागरिक भएर मेरा बाले मेरा लागि गरेको योगदानको रिन फलानाकी छोरी फलानी भन्ने गरी तिर्ने छु साथै मेरा बाको नाम उच्च बनाउने छु ।
मेरा बाले मलाई एक दिन भनेका थिए ‘नानी ! इतिहास रट्ने होइन, इतिहास रच्ने खालको लक्ष्य लिएर ठुलो मान्छे बन्नुपर्छ ।’ म यही भनाइलाई सम्झिँदै कडाभन्दा कडा मिहिनेत गरेर आफ्ना बालाई आफ्नो नामबाट चिनाएर गौरव महसुस गराउने छु । मेरा बालाई मनपर्ने रङ भनेको हरियो रङ हो । हरियो भनेको प्रकृतिको रङ हो । मेरा बालाई हरियो प्रकृतिले घेरेको ठाउँ पनि औधि मन पर्छ । मेरा बाले सधैं मेरा लागि भलो मात्र सोचेका छन् । कतिपय मानिसहरू आफ्ना आमा-बालाई बुढ़ा हुँदा कुमति आएर वृद्धाश्रममा छोडिदिन्छन् तर म मेरा बालाई कहिल्यै पनि दुस्ख हुन दिँदिनँ । हुने बिरुवाको चिल्लो पात भनेझैँ मेरा बा सानैदेखि किसान बन्ने सपना देख्थे र अहिले उनी एक महान् कृषक बनेर रमाएका छन् । मेरा बाले मेरो हरेक सपना पूरा गर्न सहयोग गरिरहेका छन् । कतिपय मानिसहरुले आफ्ना बा-आमाले दिएको माया-ममता बिर्सेर आमाबालाई बुढेसकालमा हेप्ने गर्छन् । तर, म मेरा बाआमाका लागि कडा मिहिनेत गरेर एक सफल व्यक्ति बन्ने छु ।
जसरी बुबाले हाम्रा सपनालाई साकार गर्न सहयोग गर्छन्, उसै गरी हामीले पनि बुबाको सपना साकार पार्नुपर्छ । बुबाबिनाको जिन्दगी अधुरो हुन्छ । बुबाले हरेक मानिसको जीवनमा एक महत्त्वपूर्ण खेल खेलेका हुन्छन् । त्यसैले हामीले आफ्ना बाको मायाममता बुझेर आफ्ना बालाई खुसी बनाउनुपर्छ । आँखामा कहिल्यै आँसु आउन नदिई ओठमा हाँसो भरिदिनुपर्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)