बाबा, बाँच्न चाहिँ हजुरबाटै सिकेँ

कविता

प्रियाम्सु पुडासैनी
कक्षा :१० स्वर्णिम स्कुल डल्लु आवास, काठमाडौं

‘बाबा’ ! कति प्यारो छ है यो शब्द,
सधैं भनिरहूँ जस्तो लाग्ने ।
हजुरकै न्यानो काखमा सधैं
गुटमुटिएर रमूँ जस्तो लाग्ने ।१।

जन्म दिइन् आमाले मलाई,
बाँच्न चाहिँ हजुरबाटै सिकेँ ।
हजुरकै कारण हाम्रो घरलाई
स्वर्गकै रुपमा भेटेँ ।२।

मनका कुरा मेरा जे छन्,
हजुर मात्र हुनुहुन्छ बुझ्ने ।
रहर मेरा पूरा गराई
खुसी आफ्नो मभित्र खोज्ने ।३।

शिथिल हुँदा आँट दिने,
मनोबल हजुरबाटै मिल्छ ।
अपरम्पार माया हजुरको
शिखर चुम्ने ऊर्जा मिल्छ ।४।

ममा अलिकति आँच आउँदा,
भक्कानिँदै हजुर रुनुहुन्छ ।
मलाई कतै केही हुन्छ कि भन्दै
आँखाकै अगाडि राख्नुहुन्छ ।५।

देखिनँ मैले हजुरको जिउमा,
कहिल्यै नयाँ लुगाहरू ।
मलाई खुसी दिने धुनमा,
हराउनहुन्छ आफै बरू ।६।

हजारौं ती हजुरका सपना
खै कता हराइ गए !
संघर्षका ती हजुरका कथा
अमूल्य मेरा प्रेरणा भए ।७।

कठिन समयको हरेक पलमा,
एक्लै पीडाहरू सहनुहुन्छ ।
कति सजिलै दु:ख लुकाई,
मुस्कान छर्दै हाँस्नुहुन्छ ।८।

प्यारो साथीझैँ बनेर हजुर,
दिनुहुन्छ अनवरत साथ ।
सधैं रहोस् मेरो शिरमा
आशिषसहितको स्नेही हात ।९।

सपना पूरा गरी हजुरका,
खुसी हजुरमै खोज्ने छु ।
जुनी जुनीसम्म हजुरलाई,
बाबाको रुपमा रोज्ने छु ।
जन्म जन्म हरेक जन्म
हजुरकै साथ यो रोज्ने छु ।१०।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button