हजुरबुवा र ठूलीआमा तारा हुनुभयो कि चरा ? मलाई थाहा छैन

अंकुर आचार्य
भानुभक्त मेमोरियल

बरण्डामा एक्लै बसिरहेको थिएँ । हलुका चिसो हावालाई आँखा चिम्म गरेर अनुभव गरिरहेको थिएँ । मेरो आँखाबाट दुई थोपा आँसु झर्यो । म वालापनको समयमा फेरि फर्किएँ । ती रमाईला दिनहरु झलमल्ल भएर मेरा आँखा अगाडि आए ।

खेलैखेलमा हजुरआमाले धुन राखेको लुगा यतिकै मिचिरहेको थिएँ । परिवारसँग राति नाचेको, परिवारका माया एक्लै पाएको, भाइटिकामा फूपूले मलाई समातेर मेरो साटोे दाइलाई टिका लगाइदिएको अनि मामाघरको हजुरबुवाले मलाई माया गरेर मिठाइहरु किनेर दिएको क्षणहरु सम्झना आइरहन्छ । यदि त्यो बेलामा फर्केर जान सक्ने भए म मेरो हजुरवुवासँग फेरि रमाउँदै खेल्न पाउँथे । अनि फेरि मेरो प्यारो हजुरवुवालाई सम्झें, चराचुरुङ्गीले गीत गाइरहेको सुनेर मलाई मेरी प्यारी ठूलीआमाको याद आयो । उहाँलाई पनि गीत गुनगुनाइरहन खुब मनपथ्र्यो । मलाई उहाँले यति धेरै माया गर्नु हुन्थ्यो कि मलाई कसैले हप्कायो मात्र भने उल्टै त्यही मान्छेलाई गाली गर्नुहुन्थ्यो । उहाँले मलाई आफ्नै छोरीभन्दा पनि बढी माया गर्नु हुन्थ्यो । आफ्नो छोरीभन्दा पनि बढी मलाई माया गर्ने मेरी ठूलीआमालाई सम्झेर मजाले रुन मन लाग्यो । अब उहाँ यो संसारमा रहनु भएन ।

सबैजना भन्छन्, मेरो हजुरबुवा र ठूलीआमा तारा हुनुभयो । मलाई थाहा छैन । उहाँहरु तारा हुनु भयो कि चरा ? म फेरि सोच्छु, ती दिनहरुमा कसरी फर्केर जान सक्छु होला । कोरोनाको महामारीले गर्दा अहिले मेरा प्यारा हजुरवुवा र ठूलीआमाको मृत्यु भइसकेको छ । एउटा कुनै त्यस्तो बितेको समयमा फर्कन मिल्ने उपाय भएको भए म मेरा बितेका दिनहरुमा फेरि फर्कन्थेँ । त्यस्तो हुनेभए, सायद, अहिले मेरा हजुरबुवा र ठूलीआमासँग म रमाइरहेको हुनेथिएँ ।

बितेका पलहरुलाई फेरि ल्याउन सकिन्न छोरी भनेर हजुरवुवाले भनिरहनुहुन्थ्यो । त्यो कुरा सही रहेछ । हामीले हर एक पललाई महत्व दिनु पर्नेरहेछ । साँच्चै समयले कसैलाई नपर्खने रहेछ, बितेको समय नफर्कने रहेछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button