नङ टोक्ने केटी

शर्मिला खड्का दाहाल

एउटा राम्रो र शानदार घर थियो ।

त्यस घरमा परम्परागत सरसामानदेखि लिएर आधुनिक समयका सरसामानहरू थिए । त्यस घरमा ढिकी जाँतोदेखि टिभी, डीभीडी, भिडियो गेम, कम्प्युटर, ल्यापटप सबै थिए । सबै सामानहरू आ–आफ्ना ठाउँमा मिलाएर राखिएका हुन्थे । ती सामान सफासुग्घर पनि हुन्थे । आउनेजाने मान्छेहरू त्यस घरको चाँजोपाँजो र सरसफाइ देखेर प्रसन्न हुन्थे ।

त्यस घरका घरमूली दुई बूढाबूढी सरकारी कार्यालयमा काम गर्थे । उनीहरूको जागिरबाट धेरै तलब नआए पनि घरमा सबै सामानहरू भरिपूर्ण थिए । त्यो देखेर अरू मानिसहरू त्यस घरको प्रशंसा नगरी बस्न सक्तैनथे ।

त्यस घरमा एउटा रहस्यमय कुरा थियो । राति सधैँ त्यहाँ देवीमाता आउने गर्थिन् । ती घरका बूढाबूढी भद्र, इमान्दार, मिहिनेती भएका हुनाले देवीमाताले राति सबै सामान मिलाइदिएर खानेकुरा भरिपूर्ण गरेर जाने गर्थिन् । यो कुरा कसैलाई थाहा थिएन । भन्नेहरू चाहिँ भन्ने गर्थे कि साँच्चै भगवान्ले सबै पु-याइदिएका होलान् ।

घरमूलीकी एउटी असाध्यै राम्री र ज्ञानी छोरी थिइन् । तर तिनको एउटा असाध्य नराम्रो बानी थियो । तिनी नङ टोक्थिन् ।

उनी सात–आठ वर्षकी थिइन् । उनको नङ टोक्ने बानी भर्खरै बसेको थियो । उनको नङ टोक्ने आदतले उनका आमाबुबा र गुरु–गुरुमाहरू पनि दिक्क हुनुहुन्थ्यो । कति भन्दा पनि उनले नङ टोक्न छाडेकी थिइनन् । उनको यो खराब बानी बढ्दै गएको थियो ।

स्कुलमा फुर्सद हुनेबित्तिकै आफैँ उनको नङ मुखमा पुगिहाल्थ्यो । झन् गुरु-गुरुमाले उनको कुनै गल्ती देखाउनुभयो भने त झन् टोकेको टोक्यै गर्थिन् । घरमा पनि टिभी हेरेको बेला नङ टोकिहाल्थिन् ।

आज मिसले उनलाई गल्ती नगरीकन नै हकारेको हुनाले झन् नङ टोक्न मन लाग्यो । यसरी चित्त दुखेको बेला उनी झन् नङ टोक्ने गर्थिन् । उनी टिभी हेरेको बेला पनि झन् धेरै नङ टोक्ने गर्थिन् । अहिले पनि उनी टिभी हेरिरहेकी थिइन् ।

टिभीमा टम एन्ड जेरीको कार्टुन दिइरहेको थियो । उनलाई आफू पनि जेरीजस्तै भएर टम भएकी मिसलाई झुक्याउन पाए हुने जस्तो लाग्यो । यस्तो बेलामा त उनलाई झन् बढी नङ टोक्न मन लाग्थ्यो । त्यही समयमा उनकी आमा आउनुभयो र कराउनुभयो– “कस्तो नङ मात्र टोकेकी † यसको बानी कहिल्यै सुध्रने भएन ।”

उनी झसङ्ग भइन् ।
वास्तवमा उनले नङ टोक्न त नहुने हो नि ! केही दिन उनले नङ टोकिनन् । फेरि उनको हात मुखमा गइहाल्थ्यो । उनले नङ टोक्ता कतिपय टुक्रा पेटमा पुग्थे भने कतिपय थुक्दा कोठाभरि हुन्थे ।

केही दिनपछि उनी बिमारी भइन् । बिमारी भएर उनी ओछ्यानमा परिन् । बिमारी भएर ओछ्यानमा सुत्दा पनि उनी नङ टोकिरहन्थिन् । उनले टोकेर फ्याँकेका नङहरू कोठाभरि हुन्थे । राती उनी मस्त निदाएकी थिइन् ।

उनी निद्रामा थिइन् । उनी सपना देखिरहेकी थिइन् । निद्रामा ओछ्यानका वरिपरि टोकेका नङहरू उफ्रीउफ्री झगडा गर्देै थिए । पेटभित्रका नङ पनि बाहिरसम्म सुनिने गरी बाझिरहेका थिए । उनलाई अचम्म लाग्यो । उनले ती स–साना बाझिरहेका नङलाई भनिन्– “तिमेरू किन बाझेका हँ ? तिनीहरूले एकै स्वरमा भने हामीहरू यो घरमा राज्य गर्न सैनिक अभ्यास गर्दै छौँ ।
उनी छक्क परिन् अनि भनिन्– “ओहो ! तिमेरूले राज्य ग-यौ भने के हुन्छ हँ ?”

उनीहरूमध्ये एकले भन्यो– “हामीले राज्य ग-यौँ भने घरको खानेकुरा हामी राति नै सबै खाइदिन्छौं अनि तिमेरु भोकै हुन्छौ ।”

उनले पेटभित्रको नङलाई पनि सोधिन्– ‘तिमीहरू यसरी किन झगडा गर्दै छौ ?’

ती नङहरूले भने– ‘हामी तिम्रो पेटमा राज्य गर्न सैनिक अभ्यास गर्दै छौँ ।’

उनले फेरि सोधिन्– ‘तिमीहरूले राज्य ग-यौ भने के हुन्छ ?’

ती नङहरूले एकै स्वरमा भने– ‘तिम्रो पेटका आन्द्राभुँडी सबै खाइदिन्छौँ ।’

यो सुनेर उनी चिन्तित भइन् ।

खानेकुरासम्म खाइदिँदा त किनेर फेरि ल्याऔँला, तर पेटको आन्द्राभुँडी नै खाइदिँदा कसरी बाँच्ने ? उनलाई पिर लागेर आयो ।

उनी चिन्तित भइन् । त्यही समयमा सधैँ राति आउने माता आइन् र उनलाई अब यसरी नङ नखानू भनेर सम्झाइन् । नङहरूले राज्य गरे भने उनी पनि त्यस घरमा आउन नसक्ने रहस्य बताइन् । अहिलेसम्म उनले नै राति आएर त्यस घरको सफासुग्घर, चाँजोपाँजो मिलाइदिएको रहस्य पनि बताइन् । उनलाई देवीमाताले भनेका सबै कुरा सत्य लाग्यो । उनले अब नङ नटोक्ने सङ्कल्प गरिन् ।

उनी कतिखेर निदाइन्, उनले पत्तै पाइनन् । बिहान उज्यालो हुँदा उनले बेलुका देखेका सैनिक नङहरू देखिनन् । मसिना नङहरूचाहिँ ओछ्यानवरिपरि छरिएका थिए ।

उनले आमालाई डाकिन् र भनिन्– “आमा ! यी छरिएका सबै नङ बढारेर म आफैँ फ्याँक्छु । अबदेखि म कहिल्यै नङ टोक्तिनँ है आमा !” उनको कुरा सुनेर आमा खुसी हुनुभयो ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button