टायरले भन्यो, ‘मेरो कथा पछिसम्म नभुल्नू है !’

बालकथाः शिवाको कथा

शर्मिला दाहाल खड्का

भाइबहिनी हो, म शिवा टायर हुँ । मलाई गाडीको पाङ्ग्रा पनि भन्छन् नि १ मालिकले मलाई गाडीको खुट्टामा जोडिदिएका छन् । म गाडीलाई सजिलै कुद्नमा मद्दत गर्दछु । मविना गाडीलाई दौडन असम्भव हुन्छ । तिमीहरूले सडकमा मेरा धेरै साथीहरू गुडिरहेका देखेका हौला, हैन ? उनीहरू पनि गाडीलाई सडकमा दौडन मद्दत गर्दछन् ।

अहिले म बूढो भइसकेको छु । पहिले म एकदम हृष्टपुष्ट र बलियो थिएँ । म आँटिलो पनि थिएँ । म पहाडको अग्लोभन्दा अग्लो डाँडामा सजिलै कुद्न सक्थेँ । खोलाको पानीभित्र पनि कुद्न सक्थेँ । हिउँ परेको चिसो ठाउँमा पनि सजिलै कुद्न सक्थेँ । मालिकले पनि मेरो राम्रो हेरविचार गर्ने गर्थे । म चिल्ला र फराकिला बाटामा चाहिँ रमाईरमाई दौडन्थेँ । मसँगै मेरा साथीहरू पनि रमाएर नै दौडन्थे ।

अहिले म बूढो र रोगी भएको छु । म काम गर्न नसक्ने भएको छु । त्यसैले मेरा मालिकले मलाई घरअगाडि राखेका छन् । मेरो छेउमा एउटा रूख भाइ पनि छ । हामी दुवैजना गफ गर्दै बाटामा हिँडेका मानिसहरूको रमिता हेर्ने गर्दछौँ । धेरै गर्मी हुँदा र पानी पर्दा रूख भाइले मलाई छहारी दिन्छन् । म पनि धेरै हावा चलेको बेला रूख भाइको सहारा भइदिन्छु । यसरी हामी मिलेर बस्छौँ ।

हामी बाटामा धेरै किसिमका दृश्यहरू देख्छौँ । सायद तिमीहरू पनि देख्ने गर्दछौ । कहिलेकाहीँ मसिना केटाकेटी रमाईरमाई स्कुल गइरहेका हुन्छन् । कहिलेकाहीँ मानिसहरू बाजा बजाउँदै खुसी हुँदै हिँड्छन् । कहिले मानिसहरू हतारहतार गर्दै आ–आफ्ना काममा हिँडेका हुन्छन् । म र रूख भाइ यो सब कुरा खुसी मान्दै हेर्ने गर्दछौँ ।

बिदाको दिन धेरै केटाकेटी मेरो छेउमा आउँछन् । सायद तिमीहरू पनि फुर्सदिला हुन्छौ होला, हैन ? रमाईरमाई खेल्छौ होला, हैन ? उनीहरू ममाथि चढ्दै उफ्रँदै गर्दै खेल्छन् । कहिलेकाहीँ मलाई गुडाउँदै धेरै परसम्म लान्छन् । यसो गर्दा म पनि रमाइरहेको हुन्छ । उनीहरू रमाउँदा म निकै खुसी हुन्छु । मेरो मालिकको छोरो मलाई निकै माया गर्छ । उ प्रायः म भएठाउँ खेल्न आउँछ । म पनि उसँग रमाईरमाई खेल्छु ।

तिमीहरूलाई थाहा छ एक दिन के भयो ?

लौ सुन, त्यस दिन बिहानदेखि बाटामा मानिसहरू हिँडेकै थिएनन् । मलाई अचम्म लागिरहेको थियो । केही समयपछि अचानक परबाट मानिसहरूको भीड कराउँदै आउन थाल्यो । मलाई त डर लाग्न थाल्यो । धेरैजसोले हातमा लौरो बोकेका थिए भने केहीले ढुङ्गा र इँटा पनि बोकेका थिए । केहीले त बाँसको भाटामा आगो बालेर पनि बोकेका थिए । तिनीहरू जोडजोडले कराउँदै थिए । मलाई त औधी डर लाग्न थाल्यो । यस्तो कुरा मलाई पटक्क मन पर्दैनथ्यो । मैले पछि थाहा पाएँ यसो गर्नुलाई बन्द हडताल गर्नु भनिँदो रहेछ ।

एकछिनपछि एक हूल मानिस म भएठाउँतिर आए । अनि के गरे थाहा छ ? केहीले मलाई उचाल्न थाले ।

‘ए ! ए ! ए ! के गर्छन् यिनीहरू ?’ म आत्तिएँ । यिनीहरूले त मलाई बीच सडकमा पो लगेर राखे । आगो बोकेकाले मनेर त्यो आगो ल्याए । मलाई आगोदेखि त्यसै पनि एकदम डर लाग्छ । म डरले रुन कराउन थालेँ ।

तर कसैले दया राखेनन् । मलाई त्यो राँको झोसे । आगाले मलाई धेरै पोल्यो । म झन्झन् रुन–कराउन थालेँ । तर म चिच्याएको कसैले सुनेन । म त हुर्हुर सल्कन पो थालेँ ।

मैले सम्झेँ, म त्यसै मिल्काएको वस्तु जलेर के हुन्छ र ? तर होइन, म जलेँ भने मेरो रूख भाइलाई असर पर्छ । उसलाई सास फेर्न गाह्रो हुन्छ । मबाट निस्केको धुवाँले धेरै मानिस बिमारी हुन्छन् । वरिपरिको हावा नै फोहोर हुन्छ । तिमीहरूजस्ता धेरै सानासाना मायालु नानीहरूको फोक्सोमा घाउ हुनसक्छ । उनीहरूले नगर्ने काम गरिहाले । म झन्झन् रुन–कराउन थालेँ । म झन्झन् चिच्याउन थालेँ । उनीहरू कसैले मेरो बिन्तीभाउ सुनेनन् ।

एकछिन पछि के भयो थाहा छ ? आहो ! एकछिनपछि त मेरा मालिकको छोरो बाल्टिनमा पानी लिएर म भएठाउँ आयो । उसले बल्दै गरेको मेरो दायाँ भागमा पानी हालिदियो । ओहो ! मलाई कति शीतल भयो । यो केटो कति बुद्धिमान् र बहादुर रहेछ हँ ! सबै केटाकेटी यस्तै भए पो !

अब त आगो पनि निभिसकेको थियो । उसले मलाई पहिलेको ठाउँमै लगेर राखिदियो । म कति खुसी भएँ । अघि गएको भीड फेरि नफर्के हुने नि !

मेरो कथा यत्ति नै हो । भाइबहिनी हो ! तिमीहरू त ठूला भएपछि यसरी मलाई आगो लगाउँदैनौ होला नि, हैन ? तिमीहरूले मेरो कथा पछिसम्म नभुल्नू है !

Advertise
Hike & Write

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button