कहाँ छ भूत ?
बालकथा
सागर ‘मणि’ थापा
विधानकी पत्नीको नाम सानीमैया हो । उनले एउटी छोरी जन्माइन् । पुरेत बाजेले नाम जुराए, मालती ।
मालती दस वर्षकी भई । त्यो उमेरसम्ममा दसभन्दा बढी घरमा बाबाआमाले डेरा सारेर उसलाई लालनपालन गरेका थिए ।
एकदिन आमाले कपाल बाटिदिँदै थिइन् ।
मालतीले सोधी, ‘आमा, आमा । तपाईँ र बाबाले किन मलाई धेरै घरहरूमा सारिरहनु भएको ? हामी सधैँ एउटै घरमा बसे हुँदैन र ?’
बच्चीको प्रश्नले आमालाई मर्माहत पा¥यो । तर जवाफ त दिनु नै थियो । उनले भनिन्, ‘हुन त हुन्थ्यो नि नानी । तर यो सहरमा हाम्रो घर छैन । हाम्रो घर त धेरै टाढा पहाडमा छ । यो त हाम्रो डेरा हो । पैसा तिरेर बसेको के ।’
उसले आमातिर फर्केर फेरि सोधी, ‘अनि छ नि आमा । म कुनचाहिँ डेराको कोठामा जन्मकी नि ?’
आमाले जवाफ दिइन्, ‘तिमी त अस्पतालमा जन्मेकी छोरी । त्यो अस्पतालमा त तिमी धेरैचोटि गइसक्यौ नि हैन र ?’
मालतीले सुनेकी कुराबारे बढी चासो देखाई र सोधी, ‘म जन्मेपछि शारदा आन्टीले हामी बसेको डेरा छोड्न लगाउँनुभएको थियो रे हैन ? तर किन आमा ? बाबाले पैसा नतिरेर हो ?’
ओहो ! आमा आजित भइन् । अनि पो रिसाएर भनिन्, ‘तिम्री शारदा आन्टीको घर फोहर भयो रे । सुत्केरीले खाने ज्वानो गन्हायो रे । तिम्रा थाङ्नाभोटाले उनको घरको सोभा बिग्रियो रे के ।’
मालतीले हैरानै पारी, ‘शारदा आन्टीले बच्चा मन पराउनु हन्थेन र ? उहाँका पनि त बच्चा थिए होलान् नि हैन ? त्यो बेलामा मैले धेरै दुःख दिएकी थिएँ हो आमा ?’
आमाको धैर्यताको बाँध टुट्यो । झनै रिसाएर बोलिन्, ‘कुन्नि त…! मलाई के थाहा ? जा गएर उसैसँग सोध् ।’
अब त मालती १३ वर्षकी भइसकी । पहिलेभन्दा ज्ञानी भई ।
एकदिन मालतीकी आमालाई पल्लो घरकी महिलाले सुनाइदिइछन्, ‘यो घरमा केही महिना पहिले एक जना केटो मरेको थियो । त्यो केटो भूत बनेको छ रे ! कहिले कहिले तर्साउन आउँछ रे । पहिले बसेका कत्ति मान्छेका बच्चाहरू बिरामी परेर छाडे । अनि पो त्यो कोठामा कोही पनि बस्तैन । यो घरमा प्रत्येक महिनाजसो डेरावालहरू फेरिन्छन् ।’
सानीमैया काँतर थिइन् । बेलुका पतिसँग सबै वयान गरिन् । पतिले पत्याएनन् । डेरा सर्दा सर्दा हत्तु भएका विधानले अन्धविश्वासमा नपर्न सुझाव दिए । तर त्यही रातमा भूतले ढुङ्गा हान्यो । डरलाग्दो गरी करायो ।
अर्को दिन
साँझपखको कुरा हो । मालती बाबासँग घरबेटीको कोठामा गइन् । उनको नाम मदन रहेछ ।
मदनले शङ्का मान्दै सोधे, ‘यहाँहरूले पनि कोठा छाड्ने विचार गर्नुभयो कि क्याहो विधान सर ?’
बुबाभन्दा पहिले मालतीले भनी, ‘हजुरको घरमा भूत छ भन्ने हल्ला सुनेर कोठामा बस्ने मान्छेहरू एक, दुई महिनामै छाडेर जाँदारहेछन् । म हजुरको घरको भूतलाई लखेटी दिन्छु । त्यसको बदलामा के दिनुहुन्छ ?’
अङ्कलले वचन दिए, ‘यदि तिमीले मान्छेहरूको भ्रम हटाउन सक्यौ भने एउटा कोठाको भाडा नै लिन्नँ । तर बच्चा मरेकोे कोठा तिमीहरूको भागमा पर्छ नि । मञ्जुर छ ?’
मालतीले बाबातिर हेरी । बाबाले मुस्काएर राम्रो सङ्केत दिए ।
मालतीले अध्ययन गरी । अनुसन्धान गरी । घरबेटीको घरभन्दा पूर्वतिर एउटा घर थियो । त्यो घरबेटीको नाम विप्लव थियो ।
मालतीले बिस्तारै कुरा बुझ्दै गई । विप्लवले घरमा काम सघाउने एक जना किशोरलाई पालेका रहेछन् ।
एकदिनको घटना
मालती र उसको बाबाले पल्लो घरमा काम गर्ने केटोलाई ल्याए । घरपतिहरूको सामु उभ्याए । समाजका अन्य मान्छेहरू पनि आएका थिए ।
कुरा बिग्रिसकेको हुँदा त्यो केटोले रहस्य खोलिदियो, ‘हो हजुर, यो घरमा राति राति आएर ढुङ्गाले हान्ने मैँ हुँ । डरलाग्दो स्वर पारी कराउने पनि मैँ हुँ ।’
उसको वयान सुनेपछि मालतीले भनी, ‘ल सबैले सुन्नुभयो होइन त ? रहेछ त यो घरमा भूत ? खै, भूत ? कहाँ छ भूत ?? भूत भनेको त मान्छेको मनभित्रको डर हो । यो त विप्लव अङ्कलले हाम्रो मदन अङ्कलसँग बदला लिनुभएको हो । मदन अङ्कलको घरमा कोही पनि भाडामा बस्न नआऊन् भन्ने उद्देश्यले गलत काम गर्नुभएको हो ।’
मालतीले सबैको भ्रम त हटाइदिइन् । तर एउटा कौतूहल भने सबैको मनमा थियो । मालतीले कसरी यो काम गरिन् त ? त्यो रहस्यको पेटारो पनि खुल्यो । उनीहरू बसेको घरमा नयाँ मान्छे आएपछि लगातार एक हप्तासम्म त्यो केटोले त्यस्तो बदमासी गर्दोरहेछ । मालतीहरू आएपछि पनि त्यसै ग-यो । तर चौथो रातमा ऊ पक्राउ परिहाल्यो ।
विप्लवले सबैको समक्ष मदनसँग माफी मागे । मालती र मदनले एक पटकको गल्तीलाई बिर्सिदिन अनुरोध गरे । मदनले विप्लवलाई क्षमा दिए । हात मिलाए । मालतीले आफ्नो घरबेटीबाट पुरस्कार पाइन् । उनको वचनअनुसार मालतीहरूसँग कोठाको भाडा कहिल्यै लिएनन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)