यो त सुरूवात मात्र हो ड्याडी ! अब हजुर हेर्दै जानोस्

बालकथा

सागर ‘मणि’ थापा

कुण्डलले उसकी ममीसँग आग्रह गर्‍यो, ‘ममी ममी । म पनि केही कविता र कथा लेख्न चाहन्छु । हजुरले सिकाइदिनु पर्‍यो ।’

कुण्डलकी ममी सारिकाले सजिलै जवाफ दिइन्, ‘भरे तेरो ड्याडी अफिस छुटेर आउनुहुन्छ । उहाँसँगै भन् ।’

कुण्डलको ड्याडी शकर रातको खाना खाएर बैठक कोठामा पुस्तक पढिरहेका थिए । त्यस्तैमा सारिका आइपुगिन् । उनले कुण्डलसँग सोधिन् । उसले ड्याडीसँग केही नभनेको कुरा बतायो ।

सारिकाले छोराको रहरबारे पतिलाई बताइन् । शंकरले छोरालाई अर्ती दिए, ‘साहित्य त पढेर र अभ्यास गरेर जान्ने कुरा हो कुण्डल ।’

भोलिपल्ट कक्षा खाली भएको समयमा नेपाली विषय पढाउने सरले कुण्डललाई पनि सोधे । उसले मुन्टो निहुराएर कुनै पनि विधामा कलम चलाउन नसकेको कुरा बतायो । त्यो दिन घरमा आएपछि कुण्डलले कविता लेख्न सुरू गर्‍यो ।

तर दुई–चार शब्दभन्दा बढी लेख्न सकेन र लेखेको पाना च्यातेर फाल्यो । उसकी ममीले खाजा ल्याएर दिइन् । अहँ, कुण्डलले खाएन । उसलाई त बालपत्रिकामा रचना प्रकाशन गर्ने चाहनाले बेसरी सताइरहेको थियो ।

साँझपख कुण्डल छिमेकी अङ्कलको घरमा गयो । छिमेकी अंकलको नाम वासुदेव हो । उनी चित्र बनाउने र साहित्य लेख्ने पेशामा लागेका छन् । उनी नाम चलेका साहित्यकार पनि हुन् ।

कुण्डल कपाल कन्याउँदै अनुरोध गर्दछ, ‘मेरो लागि हजुरले एउटा–दुइटा कथा, कविता लेखिदिनु पर्‍यो वासुदेव अंकल ?’

वासुदेव अंकलले ठाडै भनिदिए, ‘तेरै बाबु शंकर धुरन्धर कवि थियो नि । त्यही भएर स्कुल पढ्दा उसलाई हेडसरले कविता प्रतियोगितामा प्रथम बनाएर मलाईचाहिँ तेस्रो बनाएका थिए । जा न गएर तेरै बाबुसँग सिक् ।’

कुण्डल त्यहाँबाट रित्तो हात लिएर फर्कियो । ऊ त बाटो लाग्यो । तर यता वासुदेवलाई अतीतको यादले चिमोट्न थाल्यो । उनी आपूm कक्षा ५ मा पढ्दै गरेको बेलाको एउटा घटनातिर अल्झिन थाले ।

शनिबारको दिन थियो…।

बालक वासुदेव धु्रव दाइको घरमा पुग्छ । त्यतिखेर ध्रुव दाइ कुनै कथा लेखिरहेका थिए । बालक वासुदेव उनको आडैमा बसेर उनले लखेको कथा मनमनै वाचन गर्न थाल्छ । कथाकार ध्रुवले चाल पाउँछ र हकार्छ । तर उसकी आमालाई मन परेन र उल्टै उसैलाई । हकारिन् ।

कथाकार ध्रुवको मन बदलियो । उसले वासुदेवलाई केही बालसाहित्यका पुस्तक र बालपत्रिकाहरू दिई पठायो ।

वासुदेवले बालसाहित्य र बाल–रचनाहरू अध्ययन गर्न थाल्यो । बालसाहित्यतिर लगाव बसेपछि वासुदेवले स्कुलका कार्यक्रमहरूमा भाग लिन पनि थाल्यो । वासुदेवको बालकथा रेडियो नेपालको बालकार्यक्रमबाट पनि प्रसारण हुन थाल्यो ।

वासुदेवका बालकथाहरू विभिन्न बालपत्रिकाहरूमा प्रकाशन हुन थाले । समय बित्दै जाँदा बालक वासुदेव प्रौढ हुँदै गयो र साहित्यकार कहलियो ।

हैन, किन टोलाएर बस्नुभएको तपाईँ ?’ एक्कासि पत्नीको प्रश्नले साहित्यकार तथा चित्रकार वासुदेवको एकाग्रता भङ्ग हुन पुग्यो । उनी अतीततबाट वर्तमानमा आइपुगे । उनले कुण्डललाई खोजे । तर देखेनन् ।

उनी कुण्डललाई खोज्न बाटातिर गए । कुण्डल त एउटा पसलको पेटीमा बसिरहेको रहेछ । साहित्यकार वासुदेव तीनछक्क परे ! उनले कुण्डललाई घरमा लिएर आए । उनले केही पुस्तक तथा पत्रिकाहरू दिए ।

एकदिन कुण्डलले पनि नेपाली पढाउने सरलाई कविता लेखेर दियो । तर उसको कविता त्यति राम्रो भएनछ । त्यही भएर बालपत्रिकामा उसको कविता प्रकाशन भएन । कुण्डललाई दुःख त लाग्यो । तर उसले हरेश खाएन ।

Ad

कुण्डलले बालपत्रिकाको अर्को अंकको लागि कथा लेख्यो । तर त्यो कथा पनि छापिएन । उसका केही साथीहरूले भने नाम कमाइसकेका थिए । रचनाको पारिश्रमिक पनि हात पारिसकेका थिए ।

सरले सम्झाए, ‘कुण्डल भाइ, आफ्नो ज्ञान, सीप र बुद्धि प्रयोग गरेर मात्र कुनै पनि काममा सफलता पाइन्छ ।’

अन्ततः कुण्डल सफल भयो । एउटा चर्चित बालपत्रिकामा उसको रचना छापिएछ । सरले कुण्डलको हातमा एकप्रति बालपत्रिका थमाएका मात्र थिए । कुण्डल त हर्षले चिच्याउँदै स्कुलको चौरमा दौडिन थाल्यो ।

कुण्डल स्कुल छुटेर दौडिँदै घरमा आउँदै थियो । बाटोमा गाउँका मानिसहरूलाई देख्नासाथ भन्न थाल्यो, ‘मेरो रचना छापियो ।’

कुण्डल कराउँदै कराउँदै घरको दैलोमा पुग्यो । उसकी ममी आँगनमा बसेर दाल केलाउँदै रहिछन् । कुण्डलले ममीलाई पनि सुनाइहाल्यो, ‘ममी ममी । यो बालपत्रिकामा मेरो रचना छापियो नि । नपत्याए हेर्नोस् त ।’ उसले ममीलाई रचना देखायो ।

कुण्डलकी ममीले छोरालाई बधाई दिइन् । उसको गाला मुसार्दै आगामी दिनहरूमा बालसाहित्य उन्नयनका लागि कामना पनि गरिन् । बेलुका त्यो खबर कुण्डललको ड्याडीको कानमा पनि प¥यो । तर उसको ड्याडीले भनिदिए, ‘जाबो एउटा रचना छपाएर के हुन्छ कुण्डल ? पैसा पाइने भए पो काम लाग्छ ।’

कुण्डलले छाती फुलाएर जवाफ दियो, ‘यो त सुरूवात मात्र हो ड्याडी । अब हजुर हेर्दै मात्र जानोस् न । हजुरको यो सुपुत्रले बालसाहित्यको जगत्मा तहल्का मच्चाइदिन्छ ।’

भोलिपल्टै कुण्डलले हर्षित मुद्रामा वासुदेव अंकललाई भेट्न गयो । वासुदेव अंकलले प्रशंसा गर्दै भने, ‘आखिरीमा तिमी सफल भएरै छाड्यौ हैन त ? तिमीले कविता, कथा लेख्दा खालि बालपत्रिकामा कसरी रचना छाप्ने र अरूलाई देखाउने भन्ने मात्र ध्यान थियो । त्यही भएर सफल भएका थिएनौ ।

तर यस पटक तिमीले मैले दिएको शीर्षकमा निबन्ध लेख्यौ । यो निबन्ध लेख्दा तिमीभित्र स्वतःस्फूर्तरूपमा भावनाका तरङ्गहरू आए । त्यही भएर यो निबन्ध उत्कृष्ट बन्यो । अनि यो बालपत्रिकामा छापियो ।’

त्यसरी धेरै असफलताहरूबाट हार नखाई लेखनकार्यमा अनवरत कलम चलाउँदै गरेको कुण्डल हिजोआज एक चर्चित बालसाहित्यकार बन्ने पुगेको छ । बजारमा नाम चलेका सबैजसो बालपत्रिकाहरूमा कुण्डलका विभिन्न विधाका बालरचनाहरू प्रकाशित भइरहेका छन् ।

अचेल कुण्डलले कापी, कलम किन्नका लागि घरमा पैसा माग्नै पर्दैन । उसका प्रकाशित रचनाहरूबाट प्राप्त हुने पारिश्रमिकले नै उसलाई पुग्ने गरेको छ ।

अस्ति भर्खरै एक बालपत्रिकामा कुण्डलको अन्तर्वार्ता छापिएको रहेछ । स्कुलमा त्यो अन्तर्वार्ता पढ्नका लागि उसका साथीहरू तँछाडमछाड गरिरहेका थिए ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button