
बालकथाः चीलले चङ्गा उडायो
सागर ‘मणि’ थापा
एउटा गाउँ थियो । उक्त गाउँ नजीकै बाक्लो वन थियो । वनमा धेरै किसिमका चराचुरूङ्गीहरू बस्दै आएका थिए । त्यही वनमा एउटा चील पनि बस्दोरहेछ । उसलाई कुनै कष्ठ थिएन । गाउँमा पालेका कुखुराका चल्लाहरू चोरेर खान्थ्यो । ऊ आनन्दको जिन्दगी बाँचिरहेको थियो ।
एकदिन चीलले एउटा हाँसलाई देख्यो । उक्त हाँस गाउँको पोखरीमा पौडी खेलिरहको थियो । उज्यालो र सेतो हाँसलाई देखेपछि चीलले मनमनै सोच्यो, ‘यो हाँस कति राम्रो छ । फेरि पानीमा पौडिन पनि सक्छ ।
चीलले हाँससित जिज्ञासा राख्यो, ‘तिमी त संसारकै सुखी चरो हुनुपर्छ । तिमीभन्दा राम्रो चरो अर्को कुनै छैन होला ।’
त्यसपछि हाँसले दुःखी हुँदै जवाफ दियो, ‘होइन होइन चील साथी । यस्तो हुँदै होइन । त्यसो त मलाई पनि लाग्थ्यो कि संसारको सबैभन्दा सुन्दर र सुखी चरो म नै हुँ । तर जुन दिन मैले एउटा कालिचलाई देखेँ, तबदेखि मलाई हीनता वोध भयो । किनभने मेरो त एउटै मात्र रङ्ग छ । तर कालिचको रातो, पँहेलो रङ्गको छटा छ ।’
त्यसपछि चील कालिचलाई भेट्न गयो । चीलले त्यही जिज्ञासा राख्यो । कालिचले पनि आफूलाई संसारको सबैभन्दा राम्रो र सुखी चरो नभएको कुरा बतायो । उसले सुगालाई देखायो ।
चील फेरि सुगालाई भेट्न गयो । तर सुगाले भन्यो, ‘मयूरसँग म जाबो सुगाको तुलना हुनै सक्दैन चील साथी । हामी कसैले पनि मयूरको सुन्दरतालाई कम आँक्न मिल्दैन । संसारको सबैभन्दा सुन्दर र सुखी चरो भनेको मयूर नै हो ।’
त्यसपछि चील मयूरको खोजीमा लाग्यो । तर उसले मयूरलाई वनमा फेला पार्न सकेन । उसले आकाशमा एउटा भँगेरालाई देख्यो । उसले त्यही भँगेरासँग मयूरको बारेमा सोध्न चाह्यो ।
तर, चीललाई देख्नासाथ उक्त भँगेरा आत्तिएर भाग्न थाल्यो । चीलले नभाग्न आग्रह ग-यो । अहँ, भँगेराले चीलको कुरा पत्याएन । त्यही भएर ऊ एउटा घरको खटप्वालभित्र पसिहाल्यो । चीलचाहिँ दारिमको रूखमा बसेर भँगेरालाई पर्खिरह्यो ।
भँगेराले हप्कायो, ‘ए चील दाइ । के मजस्तो सानो चराको पछि लागेको । मलाई मारेर तिम्रो पेट अघाउने हो र । सक्छौ भने गिद्धलाई छोएर हेर न ।’
भँगेराको अलाप सुनेर चीललाई एक चरण हाँसो लाग्यो । ऊ हाँसेको देखेर भँगेरालाई रिस उठ्यो । तर उसले चीललाई गर्नै के सक्थ्यो र । त्यस्तैमा त्यहाँ दुईजना केटाहरू देखा परे । ती दुवैको हातमा गुलेली रहेछ ।
एउटा केटोले साथीलाई भन्यो, ‘ए, उता हेर् त । त्यो दारिमको बोटमा एउटा चील बसेको रहेछ । त्यसलाई मारौँ न ।’
उसको कुरा सुनेर साथीचाहिँले हप्कायो, ‘धेत् ! त्यो चीललाई मारेर के गर्छस् ? त्यसको मासु हामीले खाने गरेको छैन । बिनसित्तिमा चीलको ज्यान लिएर के पाउँछस् भन् त ?’
फेरि पहिलो साथीले भन्यो, ‘केही नपाए पनि मेरो रिस त मर्छ नि । यो चीलले हाम्रो घरको धेरै चल्लाहरू टिपेर उडाइसक्यो ।’
त्यसरी ती दुई केटाहरू आपसमा गलफत्ती गर्दै थिए । सोही मौकाको फाइदा उठाएर चील त्यहाँबाट उड्यो र अकासिँदै धेरै माथि पुग्यो ।
उता घरको खटप्वालमा बसेको भँगेराले लामो सास फे-यो । दुई केटाहरूको कारण आफ्नो ज्यान बच्यो भनेर खुसी भयो । भँगेरा खटप्वालबाट निस्किएर आफ्नो गन्तव्यतिर लाग्यो ।
उता आकाशमा कावा खाँदै उडिरहेको त्यो चीलले एउटा सेतो परेवालाई समात्न सफल भयो । उसले चीलसँग आफूलाई मारेर नखान अनरोध ग-यो । सेतो परेवाको कुरा सुनेर चील नराम्रोसँग हाँस्यो ।
चीलले सेतो परेवासँग सोध्यो, ‘मलाई एउटा कुराको जानकारी गरा त भाइ । मयूर नामको चरो संसारकै सुन्दर र सुखी छ भन्ने कुरा सुनेँ । म उसलाई भेट्न चाहन्छु । तर त्यो चरो कहाँ बस्छ, मलाई थाहा छैन ।’
चीलको जिज्ञासा सुनेर सेतो परेवा खुसी भयो । उसले भन्यो, ‘ल सून, यहाँबाट दस किलोमिटर टाढा पश्चिम दिसामा एउटा सहर छ । त्यो सहरको उत्तर कुनामा एउटा विशाल चिडियाघर छ । हो, त्यहाँ गयौ भने तिम्रो सवालको जवाफ मिल्नेछ ।’
सेतो परेवाको कुरालाई चीलले पत्यायो । तब ऊ त्यही दिशातिर बेग मारेर उड्यो । ऊ उड्दै गयो । उड्दै गयो । त्यो जाबो दस किलोमिटरको दूरी त उसले एकैछिनमा पार गरिहाल्यो । उसले आकाशबाट जमीनतिर हे-यो ।
सेतो परेवाले भनेको कुरा सत्य रहेछ । चीलले सहर पनि देख्यो । चिडियाघर पनि पत्ता लगायो । चील चिडियाघरलाई ताकेर तलतिर झर्दै थियो । उसलाई आकाशमा उडिरहेका केही चङ्गाहरूले घेराउमा पारे ।

दसैँको बेला रहेछ । त्यो सहरका केटाकेटीहरूले घरका छत-छतमा बसेर चङ्गा उडाइरहेका रहेछन् । तर चीलले त्यसभन्दा पहिले चङ्गालाई देखेकै रहेनछ । त्यही भएर उसलाई अनौठो लागेछ ।
ती चङ्गाहरूको फुर्तीफार्ती चीललाई कम रोचक लागेन । कहिले फनफनी घुम्थे । कहिले ठिनठिनठिन गर्दै मन्द गतिमा टाढा टाढा पुग्थे । अनि कहिलेचाहिँ चीलभन्दा पनि माथि पुग्थे । फेरि कहिले एकैचोटि तल आइपुग्थे ।
वास्तवमा त्यो चङ्गाको चमत्कारी खेल थिएन । त्यो त जसले चङ्गा उडाएको हो, उसले धागो र लट्टाइँको सहायताले आफ्नो कला प्रस्तुत गरिरहेको थियो । चीलको बाटो छेक्ने र चङ्गाले चीललाई ठुङ्न खोज्ने क्रियाकलाप पनि चङ्गा उडाउनेकै चलाखीपूण खेल थियो ।
चीलले हेर्दाहेर्दै केही चङ्गाहरूका धागा काटिए । फलस्वरूप ती चङ्गगाहरू अनियन्त्रित तरिकाले पल्टिँदै पल्टिँदै टाढा टाढा पुग्न थाले ।
चीलले एउटा चङ्गाको धागोलाई चुच्चोले च्याप्न सफल भयो । उसले च्यापेपछि त्यो चङ्गा नियन्त्रणमा आयो । तर चीलले न त चङ्गा उडाउन जानेको थियो । त न ऊसँग लट्टाइँ नै थियो ।
त्यसरी चीलले चङ्गाको धागो चुच्चोले च्यापेको देखेपछि चङ्गा उडाइरहेका बच्चाहरू छक्क परे ! एउटा केटोले चीलको चङ्गालाई काटेर पठाउने दाउ ग-योे र आफ्नो चङ्गालाई कौँठी तानेर चीलको चङ्गाको धागोसँग जुधायो ।
ओहो ! कस्तो आश्चर्य ! चीलले त केटाको चङ्गालाई काटेर पठाइदियो । आकाशमा चीलले उडाएको चङ्गाको वरिपरि केही कागहरू उडेर रमाइलो मानिरहेका थिए । तिनीहरू का का गर्दै चीललाई अरू चङ्गाहरू काट्न हौस्याइरहेका थिए ।
अफसोस ! चीलको चङ्गासँग तीनजना केटाका चङ्गाहरू जुध्न थाले । चीलले धागो छोड्न पाएन । उसको उडाइको भरले मात्र उसको चङ्गाको धागो सर्दै गइरहेको थियो । उसको चङ्गाको धागोमा तीन-तीनवटा चङ्गाका धागाहरू जोल्ठिँदा माजा लगाएको धागोले चीलको चङ्गाको धागोलाई काटिदियो ।
चीललाई रिस उठ्यो । अब उसले केटाहरूले उडाइरहेका चङ्गाहरूलाई चुडाइदिने विचार ग-यो । उसले त्यो काम ढिलो नगरी सम्पन्न ग-यो । जसले चीलको चङ्गा काटेको थियो, पहिले उसैको धागो काटिदियो ।
काटिएको चङ्गा ढलपल ढलपल गर्दै सहरभन्दा बाहिरको बस्तीतिर पुग्यो । चीलले अरू दुईजना केटाहरूका चङ्गालाई चुच्चोले ठुँगेर प्लाल पारिदियो । अनि त ती दुई चङ्गाले बतासलाई कावुमा राख्न सकेनन् ।
केटाहरूले चङ्गालाई आफ्नो नियन्त्रणमा ल्याउन सकेनन । अन्ततः दुवै चङ्गाले बेमान खाएर बिजुलीको तारमा अड्किन पुगे । एकैछिनमा लट्टाइँबाट धागा पनि चुँडिए ।
बल्ल चीललाई आनन्द आयो । घटना त्यत्तिमै मात्र सीमित भएन । तारमा अड्किएका दुवै चङ्गालाई चीलले ठुँगेर भाङभुजा पारिदियो । त्यसपछि त ती चङ्गाका कागज र डाँडाभाटा छुट्टिएर भएर तारमा तुन्द्रुङ्ग झुण्डिए ।
चीलको सौभाग्य ! त्यो घटना चिडियाघरकै नजिक भएको रहेछ । चीलले त्यहीँबाट चिडियाघरको मयूरलाई देख्यो । तब ऊ चङ्गाको चक्करबाट पन्छियो र मयूरलाई भेट्न पुग्यो । त्यहाँ पिँजडाबाहिर उभिएर हेरिरहेका मानिसहरूले मयूरको सुन्दरताको वयान गरिरहेका थिए ।
त्यहाँबाट मानिसहरू गएपछि चीलले भन्यो, ‘मयूर साथी, तिमी त कति सुन्दर रहेछौ । यो चिडियाघरमा दिनहुँ हजारौँ मानिसहरू तिमीलाई हेर्न आउँछन् । मलाई त देख्नासाथ ढुङ्गाले हान्छन् । मलाई लाग्छ, तिमी संसारकै सुन्दर र खुसी रहेको चरो हौ ।’
चीलको वयान सुनेर मयूरलाई दिक्क लाग्यो र खुइ्य सुस्केरा हाल्दै जवाफ दियो, ‘तिमी भ्रममा छौ साथी । मेरो सुन्दरता नै मेरो शत्रु हो । यही सुन्दरताको कारण म यस चिडियाघरको पिँजडाभित्र बन्दी बनेको छु । यहाँ तिमीबाहेक अरू सबै पक्षीहरू बन्दी बनाइएका छन् । त्यसैले मलाई त मयूर नभएर चील भएको भए हुने थियो जस्तो लाग्छ । किन कि तिमी स्वतन्त्रपूर्वक आकाशमा उड्न पाइरहेका छौ । त्यसैले म यो भन्छु कि सबैभन्दा सुखी चरो म होइन, तिमी हौ चील साथी ।’
मयूरको जवाफ सुनिसकेपछि चील दङ्ग प-यो । ऊ त्यहाँबाट तत्कालै प्रस्थान ग-यो । उसलाई भोक लागिसकेको थियो । त्यही भएर ऊ आहारको खोजीमा लाग्यो । उड्दाउड्दै उसले तल जमीनमा एउटा मुसोलाई देख्यो ।
त्यो मुसो धानबारीमा माटो खनिरहेको थियो । चीलले त्यही मुसोलाई आहारा बनाउने विचार गर्दै वायुवेगमा मुसोलाई टिप्न जमिनतिर झ-यो । नभन्दै चीलले मुसोलाई दुई खुट्टाका नङ्ग्राले च्यापेर लग्यो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)