
सात कक्षा पढ्ने राममणि गाई दुहुन्छन्
बालकथा
सागर ‘मणि’ थापा
उनको नाम राममणि हो । उनी एक्लो छोरा हुन् । अहिले उनी सात कक्षामा पढ्ने गर्छन् । पढाइमा राम्रै छन् । उनलाई फुटबल खेल असाध्यै मन पर्छ । स्कुलमा म्याच भइरहन्छ । उनले प्राप्त गरेका कप र प्रमाणपत्रहरूले उनको कोठालाई सोभायमान पारेको छ । राममणिलाई घरमा काम गर्न पनि मन पर्छ । खासगरी उनी गाईको दूध दुहुन मन पराउँछन् ।
केही वर्षअघिसम्म राममणि आमा र बाबासँग सहरमा बस्ने गर्दथे । बाबा असाध्यै मिहिनेती हुनुहुन्छ । उहाँले सरकारी जागीर खान धेरै पढ्नुभयो । लोकसेवाको जाँच दिनुभयो । सबैभन्दा अब्बल हुनुभयो । राममणिको बाबा शिवमणिले सरकारी नोकरी पाउनु भएको छ ।
केही दिनअघि गाउँबाट राममणिका बाजे आउनु भएको छ । उहाँ एक महान् किसान हुनुहुन्थ्यो । किसानको नातिले खेतीपाती र पशुपक्षीबारे केही नजान्नु भनेको त शरमको विषय थियो । तब उहाँले त्यो समयमा कान्छो छोरालाई भन्नुभएको थियो, ‘मैले भनेको मान् शिव । कि भने यो नोकरी छाडेर पहाडगाउँतिरै हिँड् । कि भने यही ठाउँमा बसेर पनि गाईबाख्रा पालन गर् । तेरो छोराले डेरीमा उत्पादन गरेको दूध त खान पाएको रहेछ । परन्तु, यो दूध कसरी आउँछ र केको दूध हो भन्ने सामान्य ज्ञानसमेत जानेको रहेनछ । तैँले नै सुनिस् नि बाबै ।’
बाको कुरा सुनेर शिवमणिको अनुहार मलिन भयोे । तर कुरा मिलाउँदै बुहारी हरिकलाले भन्नुभयो, ‘बाको चाहनालाई बेठीक त भन्न मिल्दैन । तर हामीसँग धेरै रकम छैन बा । रकमको जोहो भएदेखि काँठतिरको गाउँमा बसेर पशुपालन गर्न सकिन्थ्यो । खेतीपाती गर्न पनि मिल्ने थियो । हजुरको सहयोग पाएदेखि…।’
‘तिमी धन्दा नमान बुहारी । तिमीहरू परिश्रम गरेर खान चाहन्छौ भने पहाडगाउँमा मैले जोडेको सम्पत्तिको केही अंश यहीँ लगानी गरिदिन्छु ।’ ससुराले समस्या सुल्झाइदिने कुरा गर्नुभयो ।
त, त्यसरी राममणिका बाबा, आमाले अहिले बसेको ठाउँमा आफ्नै घर बनाउन सफल हुनु भएको थियो । केही जग्गा भएकाले तरकारी र अन्नबालीहरू लगाउन सहज भएको थियो । त्यो समयमा राममणिको घरमा एउटा मात्र गाई थियो ।

एकदिन राममणिले बाच्छोलाई कीलोबाट फुस्काइदिएका थिए । बाच्छो उफ्रिदै माऊकहाँ गयो । राममणिले बाच्छोले उसकी आमाको थुन चुसेको देखेका थिएनन् । गाईका चारैवटा थुन चालीचाली चुसेपछि बाच्छोको पेट टन्न भरियो ।
राममणिले आमालाई त्यो कुरा भनेनन् । बेलुका गाईको दूध दुहुन आमा गोठमा जानुभयो । तर गाईले दूध पगार्न धेरै बेर लगाई । हरिकलालाई अचम्म लाग्यो ! गाईले धेरै दूध दिइन । बिरामी भई कि भन्ने पीर प-यो उहाँलाई ।
अर्को दिन बिहानको समयमा शिवमणिले घरमा एकजना डाक्टरलाई ल्याउनुभयो । ती डाक्टरले पशुपक्षीका रोगको उपचार गर्दथे ।
त्यस्तैमा परबाट राममणि बेस्सरी चिच्याए, ‘आमा । छे-यो, छे-यो ! बाच्छोले छे-यो !’ सबैको ध्यान उतै तानियो ।
डाक्टरले गाईले दूध नदिनाको कारण पत्ता लगाइसकेका थिए । सबैजना बाच्छोनेर पुगे । बाच्छोले पातलो दिसा गरेको थियो । एकातिर माऊले दूध कम दिनु । अनि अर्कोतिर बाच्छोलाई छेरपटी लाग्नु । कारण बुझेर हरिकलाले छोराको पाँसुलामा एक लट्ठी बजाउनुभयो, ‘तँलाई बदमास ! मेरा आँखा छलेर बाच्छोलाई कीलाबाट फुस्काइदिने गरेको रहेछस् हैन ? तैँले एकैचोटि धेरै भात खाइस् भने पखाला लाग्दैन ? पेटमा बिसञ्चो हुँदैन ? यो बाच्छोले धेरै दूध खाएकोले छेरेको हो ।’
‘सरी आमा ।’ राममणिले कान समातेर क्षमा मागे ।
अहिले त राममणिका गोठमा पाँच वटा माऊ-बाच्छा छन् । उनले बाजेलाई भने, ‘हजुरबा । जाऊँ गोठतिर । आज म तपाईंलाई मैले गाई दुहेको दृश्य अवलोकन गराउँछु ।’
हजुरबाले फेरि भन्नुभयो, ‘हुन्छ नि नाति ।’
त्यसपछि हजुरबा र नाति गोठतिर गए । रामणिले गाई दुहुन थाले । नातिको काम देखेर हजुरबा दङ्ग हुनुभयो ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)