तिम्रा बाबा त झ्यालखान परेछन् नि सरिता !

बालकथा

सागर ‘मणि’ थापा

दसैँ नजीकै आइसकेको थियो । गाउँका घरहरू लिपपोत गरेर चिटिक्क पार्ने क्रम चलिरहेको थियो । रातो माटो, सेतो कमेरोले पोतेका वल्लो गाउँका घरहरूले पल्लो सहरका पक्की घरहरूलाई गिज्याइरहेझैं लाग्थ्यो ।

गाउँमा घाम अस्ताएर साँझ ओर्लँदै थियो । तीन गाउँको बीचमा रहेको बाटुले चौरमा केटाकेटीहरू पिङमा झुम्मिने क्रम रोकिएको थिएन । त्यहाँ गोफ्लेको छोरो रिट्ठे पनि पिङ खेल्नका लागि मरिहत्ते गरेर लागेको थियो ।

त्यस्तैमा सरिता आइपुगी । उसले रिट्ठेलाई बेसरी धकेलेर पिङ आफ्नो कब्जामा पारी । रिट्ठेले विरोध गर्दै भन्यो, ‘अब त मेरो पालो हो । तिमी भर्खरै आएर मभन्दा अगाडि खेल्न पाउँदिनौ ।’

सरिताले मुड्की उजाउँदै गाली गर्न लागी, ‘तँ को होस् मलाई पिङ खेल्न दिन्नँ भन्ने ? म यो गाउँको सबैभन्दा धनी मान्छेकी छोरी हुँ । यो पिङ मेरो बाबाले किनेर हालिदिनुभएको हो । तँ बढी भइस् भने ठोकिदिन्छु ।’

सरिताले रिट्ठेलाई मात्र धम्की दिइन, रिट्ठेका साथीहरूलाई पनि तर्साई । तर हरेरामले प्रतिवाद ग-यो, ‘यो पिङ तेरा बाबाले किनेका भए तेरै घरमा हालेको भए हुन्थ्यो नि त । किन यो चौरमा ल्याएर हालेको ? यहाँ हालेपछि त यो पिङ सबैको साझा भयो । तैँले पनि लाममा बसेर पालो पर्खिनु पर्छ ।’

पिङको विवाद हुँदाहुँदै रिट्ठेका बा गोफ्ले आइपुगे । उनको हातमा एउटा झोला थियो । छोरालाई देख्नासाथ उनले बोलाए । रिट्ठे कुदेर त्यो झोला समात्न पुग्यो ।

रिट्ठे सोध्छ, ‘बा बा । यो झोलामा सहरबाट मलाई खानेकुरा ल्याइदिनुभएको हो ? केके छन् यसमा ? आफूलाई कस्तो भोक लागिरहेको थियो ।’

छोरो घरमा नपढेर बरालिएर हिँडेको गोफ्लेलाई पटक्कै मन परेन । उनले छोरालाई प्याट्ट पिट्दै गाली गरे, ‘साँझ परिसक्यो । स्कुलको होमओर्क गरेको छैन होलास् । अझ भोक लाग्यो भनेर मसँग खानेकुरा माग्छस् ? ला, यो रङ्गको झोला लिएर घर जा । म साहूसँग ज्याला मागेर आउँछु ।’

छोरो घरतिर लाग्यो । बाचाहिँ साहूको घरको बाटो नाप्न थाले । उनी जाँदै गरेको बाटोमा एउटा चिया पसल थियो । त्यही पसलमा गोफ्लेका साहू चिया पिउँदै गाउँलेहरूसँग गफ गरिरहेका रहेछन् ।

उनको खास नाम खुमबहादुर थियो । गाउँघरमा खुमे सर भन्दथे । कसैकसैले सुब्बा साहब पनि भन्दथे । उनी काठमाडौँमा डेरामा बस्दथे । उनको सरकारी नोकरी थियो । तर उनले नयाँ र पक्की घरचाहिँ सदरमुकामको बजारमा बनाइरहेका थिए ।

गोफ्लेलाई देख्नासाथ खुमे सरले भने, ‘ए गोफ्ले । बस् एकछिन । म चिया मगाइदिन्छु । पिएर जा ।’

गोफ्लेले कपाल कन्याउँदै असजिलो मानेर भने, ‘म हजुरकै घरमा जान लागेको थिएँ । सर यहीँ भेटिनुभयो । मलाई अलिकति ज्याला चाहिएको थियो सर । घरमा मेरी बूढीले चामल सकिएको छ भनेकी थिई ।’

Ad

अहँ, खुमे सरले ज्यालाको नाममा एक रूपियाँ पनि दिएनन् । साँझको बेला घरमा भएकी लक्ष्मीलाई बाहिर पठाउन हुँदैन रे । सह जान्छ रे । गोफ्लेले काम गरेको ज्याला मागेको थियो । तर खुमे सरलाई आपत्ति भयो ।

गोफ्लेले घरमा चामल लैजान नसके पनि उनकी बूढी मैयाले खाना तयार पार्दै थिइन् । उनी पनि अर्काको घरको गृह श्रमिक भएर पसिना बगाउँथिन् र पतिलाई सहयोग पु-याउँथिन् । ती दुईको कमाइले एक मात्र छोरो रिट्ठेको पालन, पोषण गर्दै आएका थिए ।

अर्को दिन बिहान सरिताले उसको बाबालाई झूटो कुरा लगाई । ऊ भन्दै थिई, ‘हेर्नोस् न बाबा । त्यो रिट्ठेले हिजो पिङ खेल्दा मसँग झगडा ग¥यो । अनि छ नि बाबा । त्यो रिट्ठेको साथी हरेरामले पनि मलाई झण्डै पिटेको थियो ।’

सरिताकी आमा सीतालाई छोरीको कुरा झूटो हो भन्ने थाहा थियो । त्यही भएर उनले पतिलाई भनिन्, ‘हैन ब्यारे । यो सरिता पनि कमकी छैन । आफ्नो बाबाले पिङ हालिदिनुभएको हो भन्दैमा अरूलाई खेल्न नदिनु त भएन नि ।’

आमाले खास कुरा गरेको सरितालाई मन परेन । अनि त ऊ रून थाली । छोरी रोएकी देखेर बाबाले आमालाई नै हकारे । उनी भन्दै थिए, ‘मेरो कुरा ध्यान दिएर सून् सीता । अब हामी चाँडै नै सदरमुकामको नयाँ घरमा सर्छौँ । त्यहाँ ठूलो किराना पसल खोलेर बेपार गर्नुपर्छ । त्यो गोफ्लेको छोरो सरिताको क्लासको सेकेण्ड ब्वाइ हो भन्दैमा तैँले धेरै पुलपुल्याउनु राम्रो हुन्न ।’

उता बिहानको खाना खाएर रिट्ठे स्कुलतिर लाग्यो । मैया र गोफ्ले पनि ढोकामा ताला मारेर बाटो लागे । पर दोबाटोमा उनीहरू छुट्टिनु पर्ने भयो । मैयाले गाउँलेका घरहरू देखाउँदै भनिन्, ‘हेर त रिट्टेका बा ! दसैँमा यी घरहरू कत्ति राम्रा देखिएका छन् । अहिले त गाउँतिरै काम पाइन्छ नि । किन जानु प¥यो उत्ति टाढाको सहरमा ? बेलुका घरमा आइपुग्दा रात परिसक्छ । फेरि मेशिनले बनाएको नानाथरीका रङ्गमा केके मिसाएका हुन्छन् रे । रोग लाग्यो भने के गर्ने ?’

गोफ्लेले फिस्स हाँस्दै ख्यालख्यालको जवाफ दिए, ‘सानोतिनो रोग भन्ने कुरा हामी गरीबहरूलाई लाग्दै लाग्दैन नि मैया । ठूलै रोग लागेछ भने मरिएला । अरू के हुन्छ र ? हाहाहा…।’

लोग्नेको कुरा सुनेर स्वास्नीलाई झोक चल्यो । तब यसो भन्दै आफ्नो बाटोतिर लागिन्, ‘म अरू केही कुरा जान्दिनँ रिट्ठेका बा । अर्को वर्षदेखि हामीले पनि हाम्रो छोरालाई बोर्डिङ्ग स्कुलमा पढाउनुपर्छ ।’

मैया बाटोबाट ओझेल परेपछि गोफ्ले रिट्ठेलाई बोर्डिङ्गमा पढाउने कल्पना गर्दै दक्षिणतर्फको बाटो नाप्न थाल्छन् ।

त्यो वर्ष रिट्ठेले पढाइमा प्रगति गरेर देखाइदियो । सेकेण्डबाट फस्र्ट भइदियो । रिट्ठेले सरकारी विद्यालय छाडेर बोर्डिङ्ग स्कुलमा पढ्दैछ भनेर गाउँभरि हल्ला भयो । त्यो कुरा हेडसरले पनि चाल पाए ।

एक दिन बिहानै हेडसर गोफ्लेलाई सम्झाउन उनको घरैमा आए । मैयाले चिया र बिस्कुटले सेवा गर्दै हेडसरलाई भनिन्, ‘गाउँभरिका केटाकेटीहरू बोर्डिङ्ग स्कुलतिर सरिसके हेडसर । हामीले पनि एउटा छोराको सुदृढ भविश्यको विचार गरेर त्यहीँ भर्ना गरिदियौँ ।’

हेडसरले बिस्कुट टोकेर चियाले निल्दै भने, ‘भर्ना नै गरिसकेका रहेछौ । अब मैले के नै गर्न सक्छु र ? तर हाम्रो विद्यालयमा पनि अङ्ग्रेजी माध्यमबाट पढाउन थालेका छौँ । किताब, कापीलगायत सबै चीजहरू निःशुल्क गरिएको छ । यही कुराको जानकारी दिऊँ र रिट्ठेलाई अन्त नलैजाऊ भन्न आएको थिएँ । होस् त अब ।’

हेडसर मन खिन्न पारेर गोफ्लेको घरबाट फिर्ता भए । उनी गइसकेपछि धारामा पानी लिन गएको रिट्ठे घरमा आइपुग्यो । उसले पानीको गाग्रो पिँढीको डिलमा बिसाउन लागेको थियो । गाह्रो भयो होला भनेर आमाले सघाइन् ।

रिट्ठेले बा, आमासँग आग्रह ग-यो, ‘बा, बा । आज म पनि तपाईँसँगै काममा जान्छु है ? अनि सुन्नोस् न आमा । मेरो नयाँ स्कुुल लाग्न अभैm दुई हप्ता लाग्छ रे । अनि अर्को कुरा पनि छ । आजदेखि म पनि बालाई ड्याडी र आमालाई ममी भनेर बोलाउँछु ल ?’

छोराको रहर सुनेर गोफ्ले मरीमरी हाँस्न लागे । तर मैयालाई राम्रो लागेन । त्यही भएर छोरालाई सम्झाइन्, ‘हेर् रिट्ठे । आमालाई ममी र बालाई ड्याडी सम्बोधन गर्दैमा ठूलो मान्छे भइँदैन । त्यसरी नाम र नाता बदल्दै जाने हो भने तँ पनि हाम्रो छोरा रहँदैनस् बाबु । के अब तेरो नाम पनि बदल्न चाहन्छस् तँ ?’

आमाको प्रश्नले रिट्ठेको मनभित्र चस्का पसेछ । उसले पछुताउ मान्यो । क्षमा माग्यो । त्यो दिन ऊ पनि बासँगै सदरमुकाम गयो । त्यहाँ उसले पनि सजिलो काम ग¥यो । त्यसरी रिट्ठेले पनि करिब दुई हप्ता ज्यालादारी काम गरेर ज्याला कमायो ।

गाउँमा व्यापक चर्चा चल्यो, ‘मैया र गोफ्लेको छोरो रिट्ठेले पनि काम गरेर पैसा कमाएछ । बोर्डिङ्ग स्कुलमा पढ्न थालेपछि त्यो त असाध्यै मिहिनेती भएर निस्केछ बा !’

एक दिन बिहानको कुरा हो । पसलमा चिया पिइरहेको गोफ्लेलाई खुमबहादुर सरले हियाएर भने, ‘कस्ता कस्ता कहाँ गए, मूसाको छाउरो दरबार ! कहाँ म सरकारी कार्यालयको सुब्बा साहब । कहाँ तँ ज्यालामा काम गर्ने ज्यामी । तैँले रिट्ठेलाई बोर्डिङ्ग स्कुलमा त भर्ना गरिछस् । तर तँलाई थाहा छ, बोर्डिङ्ग स्कुलमा पढाएपछि कति पैसा लाग्छ भनेर ?’

गोफ्लेप्रति असभ्य व्यवहार गरेको पसलेलाई त्यति मन परेन । उनले ज्यादा त भनेनन् । तर चित्त नबुझेको कुरा भन्न बाँकी पनि राखेनन् ।

पसले भन्दै थिए, ‘गरीबको छोराले महँगो स्कुलमा पढ्नै हुन्न भनेर कतै लेखेको छ र सुब्बा साहेब ? फेरि गोफ्लेले त्यहाँ पढाएको फिस तपाईँले तिरिदिने पनि त हैन नि । कसो ए रिट्ठेको बाउ ?’

रिट्ठेलाई हेर्दै पसलेले आँखा सन्काए । तब गोफ्लेले मौकामा जवाफ दिइहाले, ‘सुब्बा साहेबले मेरो छोराको फिस किन तिरिदिन प¥यो र साहूजी । मैले उहाँको नयाँ घरमा काम गरेको ज्याला दिए मात्र पनि पुग्छ नि ।’

गोफ्लेले त्यति भन्दासाथ सुब्बा खुमबहादुरको रगत तातिहाल्यो । तब उनले गोफ्लेलाई नानाथरी नाम राख्दै खल्तीबाट नोटको बिट्टो पसलको टेबलमा पछारे । त्यहाँ अरू ग्राहकहरू पनि थिए । तिनीहरू झसङ्ग भए ।

तर गोेफ्ले किन्चित डगेनन् । टेबलमा खुमे सरले पछारेका नोटहरू सबै उठाएर गन्न थाले । जम्मा सात हजार रुपियाँ मात्र रहेछ । अभैm तीन हजार पुगेन । त्यो सातै हजार रुपियाँ लिएर गोफ्ले आफ्नो घरतिर लागे । सुब्बा साहब हेरेको हे-यै भए ।

यसोउसो गर्दै रिट्ठेहरूको अर्को अन्तिम परीक्षाको नतिजा पनि निस्कियो । रिट्ठे प्रथम भएछ । उसले त स्कुलै टप गरेछ ! तर खुमे हाकिमकी छोरी सरिता उत्कृष्ट दसमा पनि पर्न सकिन ।

घरमा सबै जना जम्मा भएका बेलामा सरिताकी ममीले हप्काइन्, ‘तैँले कसरी पढेकी सरिता ? त्यो ज्यामी गोफ्ले र अर्काको घरमा भाँडा माझ्ने मैयाको छोरो रिट्ठेले स्कुलभरिमै बढी अङ्क ल्याएछ ! अब तैँले कसरी मुख देखाएर हिँड्छेस् त्यो रिट्ठेका अगाडि ?’

ममीले हकारेकी भएर सरिता हजुरबासँग गनगन गर्न लागी, ‘हेर्नोस् न हजुरबुवा । ममीले त्यो रिट्ठेको गुणगान गाएर मेरो धज्जी उडाउनुभयो । सम्झाउनोस् न हजुरकी बुहारीलाई । नत्र म हजुरसँग पनि बोल्दिनँ के ।’

त्यो दिन सरिताको मात्र नराम्रो खबर थिएन । गोफ्लेले खुमे हाकिमका बुबालाई सुनाइदिए, ‘एउटा असाध्यै नराम्रो खबर छ बाजे । कुरा के भने नि बाजे । खुमे सरलाई काठमाण्डुको जेलमा राखेका छन् रे ! त्यो किन थाहा छ हजुरहरूलाई ? खुमे सरले कार्यालयमा रकम हिनामिना गर्नुभयो रे । अनि घुस पनि खानुभएको रे ।’

गोफ्लेको कुरा सरिताको बाजेले पत्याएनन् । त्यति मात्र कहाँ हो र । नचाहिँदो कुरा ग¥यो भनेर आपूmले टेक्ने गरेको लौरोले झटारो हाने । तै गोफ्लेले छलिहाले । नत्र गोडा भाँच्चिन बेर लाग्दैन थियो ।

सारा गाउँलेले सुब्बा खुमबहादुरको कर्तुतबारे थाहा पाए । उनीहरूले प्रत्यक्ष नै देखे टेलिभिजनमा । खुमे सरलाई त हथकडी लगाएर पुलिसको गाडीमा राखी चौकीमा लगेर थुनेछन् !

गाउँमा सरिताहरूको बदनाम भयो । बिहान धारामा एक छिमेकी महिलाले नराम्रो वचन लगाइन्, ‘क्या हो ए सुब्बिनी दिदी । सदरमुकामको बजारमा गज्जबको घर बनाएँ भनेर खुबै धाक लगाएकी थियौ । अनि गाउँमा घाँसपात गर्न छाडेर नयाँ घरमा पसल थापेर बेपार गर्छु भनेर दङ्ग परेकी थियौ । तिम्रो श्रीमान्ले त भ्रष्टाचार गरेको कमाइले पो महल ठडाएका रहेछन् हैन ?’

सरिताकी ममी त्यस्ता कुरा सुन्दा सुन्दा आजित भइसकेकी थिइन् । त्यही भएर ती महिलालाई जवाफ दिइन्, ‘मलाई किन सुनाउँछ्यौ यस्ता कुरा ? मैले बनाएकी घर हो र ? जाऊ न गएर बनाउनेलाई नै सोध ।’

धरामा अरू महिलाहरू पनि पानी भर्न आए । सरिताकी ममीले हत्त न पत्त गाग्री बोकेर बाटो तताइहालिन् ।

सरिताले पनि स्कुलमा साथीहरूको घेराऊ सहनु प-यो । रिट्ठेले कक्षा खाली भएको समयमा साथीहरूको अघिल्तिर सरितालाई सुनायो, ‘तिम्रा बाबा त झ्यालखान परेछन् नि सरिता !’

सरिताले जवाफ फर्काउनु त परै जाओस् । शिर उठाएर हेर्न पनि सकिनँ । किन कि उसका बाबाले रिट्ठेको बालाई हेप्थे । ऊचाहिँ रिट्ठेप्रति असहिष्णु थिई । आफूले गरेकी दुव्र्यवहार सम्झेर सरिता मनमनै पछुताउन थाली ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button