कोरोना, चाडबाड र पढाई
निर्जला लम्साल
कक्षा ९, इलिप्स स्कुल, काठमाडौ ।
चीनबाट सुरु भएको कोरोनाले विश्वलाई नै यतिबेला गाँजेको छ । मान्छेहरु मरिरहेका छन् । दिनदिनै बिरामीहरु थपिइरहेका छन् तर अहिलेसम्म कोरोनाको औषधी पत्ता लागेर प्रयोगमा आइसकेको छैन । कोरोनले हामी पनि अछुतो रहन सकेनौँ । नेपालमा पनि धेरै मान्छे कोरोनकै कारण मरे । अहिले पनि मरिरहेका छन् ।
चैत्रबाट सुरु भएको लकडाउन कहिले खुल्दै कहिले फेरि लकडाउन हुँदै आइरहयो । स्कुलको परिक्षा सकिएपछि पढाइ के हुने हो भन्ने कुराको हामी अनुमान मात्रै लगाउन सक्ने अवस्थामा थियौँ । अहिले अनलाईनबाट पढाइ त भइरहेको छ तर, नियमित स्कुल गएर पढेजस्तो नहुने मैले आफैँले महसुस गरेको कुरा हो यो ।
सबैतिर बन्द भएर होला चाडबाड आए पनि खल्लो खल्लो लाग्ने रहेछ । नयाँ बर्ष आयो, गयो । त्यसपछि बर्खायाम सकिएर धमाधम चाडबाड आए तर रौनक आएन । कतिका विदेशमा भएका आफन्तहरु पनि घर फर्कन पाएनन् । कतिले हिँडेर लामो यात्रा गरेका समाचारहरु हामीले पढ्यौँ र हे¥यौँ । कति भोकै हिँडेको र कतिले बालबच्चाहरु रुहाउँदै हिँडेको पनि देखियो । अहिले पनि मान्छेहरुको मनमा २०७२ सालमा गएको भुकम्पमा जस्तै त्रास छ ।
कोरोनाको कहरमा हेर्दाहेर्दै आठ महिना बित्यो । कतिका आफन्त गुमे, कतिको रोजगारी गुम्यो । दशैँ आयो, गयो । तिहार आयो, गयो । मान्छेसँग मान्छे डराउन पर्ने अवस्था छ । नजिक बसेर दुःखसुखका कुरा गर्न सकिँदैन । थाहा छैन अझै कहिलेसम्म कसरी बाँच्न पर्ने हो ? कोरोनाका बिरामीहरुले उपचार नपाएर मरेको खबर सुन्दा साह्रै नराम्रो लाग्छ ।
दशैँमा सावधानीपूर्वक हामी सपरिवार घर नुवाकोट गयौँ । यसपाली गाडी रिजर्भ गरेर घरैसम्म गयौँ । मामाघरको हजुरआमा बित्नु भएको कारण टिकाटाला थिएन । नुवाकोट घरबाट हामी अलि ढिला फर्कियौँ । यो पल्ट दशैँमा घर जाँदा अलि लामो समय मैले गाउँमा बिताएँ । हजुरआमासँग कुराकानी गरेँ । उहाँका बाल्यकालका कुराहरु सुनेँ । बिहे गर्दा हजुरआमा जम्मा तेह्र बर्षको हुनुहुन्थ्यो रे । उहाँको कुरा सुनेर मलाई अचम्म लाग्यो । त्यो बेला छोरीलाई पढाउने चलन थिएन रे । छोरीको छिट्टै बिहे गरिदिन पाए धर्म हुन्छ भन्ने विस्वास थियो रे । हुन त हामीले अहिले पनि बालबिबाह भएको समाचारहरु पढ्ने गरेका छौँ । पढ्ने र खेल्ने उमेरमा बिबाह गर्दा त पढाइ पनि बिग्रन्छ र चाँडै गर्भवती भएर आफ्नो छोरीको ज्यान पनि जान सक्छ भनेर किन नबुझेका होलान् हाम्रो समाजका ति आमा बाबाहरुले ।
हजुरआमाले रमाइला कथाहरु पनि सुनाउनु भयो । दशैँमा घर गएको बेला हामीले धान काट्यौँ । भटमास पनि काट्यौँ । मैले बिभिन्न बोट बिरुवाहरुको नाम थाहा पाएँ । हजुरआमाले तुलसीको मठमा आकाशे बत्ति बाल्ने भनेर बाबा र अंकललाई रुख काटेर ल्याउन लाउनु भयो । आकाशे बत्ति कोजाग्रत पूर्णिमाको दिनबाट बाल्न सुरु गरेर ठूलो एकादशीको दिनसम्म बाल्नु पर्ने रहेछ । हरेक दिन साँझमा आकाशे बत्ति बालिने कुरा पनि मैले हजुरआमाबाट थाहा पाएँ ।
शहरको खानेकुरा भन्दा गाउँको खानेकुराहरु स्वास्थको लागि फाइदाजनक हुन्छ भनेर हजुरबाले भन्नु भयो । काठमाडौं फर्कँदा घरबाट मकै भुटेर ल्यायौँ । हाम्रो गाउँको घरमा निबुवा र भोगटे टन्नै फल्छ । हजुरआमाले निबुवाको अचार पकाउनु भएको रहेछ त्यो पनि लिएर आयौँ । मकै, चामल, चना, भटमास लगायतका अन्नहरु भुटेर पिँधेर खाजाको रुपमा सातु खाने गरेका छौँ हामीले । दशैँ रमाइलो गरि मानेर फर्कियौँ ।
दशैँको रमझम सकिने बितिक्कै तिहार आयो । तिहार काठमाडौमैँ मनायौँ । मैले मेरो भाइ निर्जललाई टिका लगाइदिएँ । तिहारको छुट्टि सकिएपछि फेरि अनलाइन कक्षा सुरु भएको छ । पढ्नु त छँदै छ जसरी पनि । सर–म्यामहरुले पनि दुःख गरेर पढाइरहनु भएको छ । तर सँगै पढेका कति साथीहरु इन्टरनेटको पहुँचमा नभएका कारण पढाई छोड्न बाध्य भएका छन् । अनलाइनमा पढाई त भइरहेको छ । तर, यही पढाईको भरमा हामीले अन्तिम परिक्षा दिएर अर्को कक्षा उक्लिन पाउँछौँ कि पाउँदैनौँ होला ? मलाई घरिघरि मनमा यस्तै कुरा आउँछ । पढाई छुटेका साथीहरु के गर्लान ? हामीले सकेको मेहनत त गरिरहेका छौँ तर, अनलाइन पढेर परिक्षा दिएर पास हुने हो कि नहुने हो ?
कोर्सको किताबबाहेक म अरु धेरै किताबहरु पनि पढिरहेकी छु । पछिल्लो समय म कविताका किताबहरु पढिरहेकी छु । छन त कोठामा धेरै किताबहरु छन् । नाटक, उपन्यास, कथा, निबन्ध, गीत, गजल, मुक्तकका किताबहरु प्रसस्तै छन् । म अलिअलि कविताहरु पनि लेख्ने कोसिस गर्दै छु । गीतहरु सुन्छु र गाउने कोसिस गर्छु । हामीसँग रामायण, महाभारतको किताब पनि छ । मैले रामायण चैँ अलिअलि पढेको छु तर महाभारत पढेकी छैन । अनलाइन कक्षा हुन्छ, गृहकार्य पनि गर्न पर्छ । केही समय अन्य किताबहरु पनि पढ्छु ।
लकडाउनले मान्छेहरुको दैनिकी बदलिएको छ । सोच पनि बदलिएको छ । मेरो पनि केही कुराहरु बदलिएका छन् । पढाई–लेखाइसँगै आफ्नो रुचिको बिषयमा समय दिन पाएकी छु । महामारीको समयलाई पनि हामीले सदुपयोग गरेर रचनात्मक बनाउन सकिने रहेछ । पढ्ने, लेख्ने, गीत गाउने, चित्र बनाउने वा अन्य केही काम गर्ने जो आफूलाई मन पर्छ ।
…
(प्रिय बालसाथी !
तिमीहरु पनि निर्जलाले जस्तै आफ्ना अनुभव लेख है । कथा, कविता वा निबन्ध लेख । चित्र पनि कोर । त्यसमा रंग पनि भर । नेपालनाम्चा तिमीहरुको प्रतिभा पोख्ने ठाउँ हो । नेपालनाम्चा अंकल बगैंचा हो भने तिमीहरु फूल । आफ्ना रचना नेपालनाम्चा अंकललाई पठाऊ है । अंकलको इमेल ठेगाना nepalnamcha@gmail.com हो ।)
हार्दिक बधाई छ निर्जला । तिम्राे कलम सँधै यसैगरी चलिरहाेस् ।
good job nirjala . keep up it