छोरीको चिठ्ठी: बुवा ! कोरोनापछि ढुक्कसँग रेसुङ्गा घुम्ने मन छ
कविता पन्थी
आदरणीय बुवा ! सादर नमस्कार ।
समयको कहरले दुनियाँलाई दुःख दिइरहेको बेलामा कुशल छु भन्न पनि सकिनँ । हजुरहरुको कुशलताको कामना गर्दछु । समय बितिरहेछ नजानिने गरेर । समयले हजुरको काखमा बसेर कथा सुन्ने त्यो सानी फुच्ची केटीलाई आज परिपक्व बनेको नाटक गर्न बाध्य बनाएको छ । विषम समय छ । हजुरले सुनाएका कथाहरूमा कहिल्यै यसप्रकारको समस्या सुनाउनुभएको थिएन । सधै साँझमा बरण्डामा बसेर अनेकौ कथा सुन्थ्यौ । कल्पना गरी गरी सुनाएका कथा पनि वास्तविक नै लाग्थे । कल्पनामै सही यस्तो कुरा त सुनिएकै थिएन ।
स्वास्थ्य शिक्षा पढाउने सरले पनि विभिन्न प्रकारका सरुवा रोगको बारेमा त पढाउनुभएको थियो तर यसप्रकारको रोग हुन्छ भन्ने कहिल्यै पढिएन । विफर, औलो जस्ता महामारीको कुरा त भएको हो तर अबको वैज्ञानिक युगमा फेरि कुनै महामारी आएर मानव सभ्यता माथि यसप्रकारको ताण्डव देखाउँला भनेर कहिल्यै सोचिएन ।
पारिजातको ‘शिरीषको फूल’ मैले राम्रोसँग नबुझेर सोध्दा हजुरले अस्तित्ववाद र विसंगतिवादका बारेमा बताउनुभएको थियो । संसारमा हामीलाई कत्ति न लाग्छ जीवन मेरो सोचाइ अनुरुप चलेको छ तर न जीवन हामीले सोचेअनुरुप चल्छ । न जन्म हाम्रो इच्छा हो न मृत्यु हाम्रो इच्छा अनुसार हुनेछ । महाभारतका महान पात्र भिष्मको इच्छा मृत्युको प्रसंग बाहेक अरु इच्छा मृत्युको कुरा सुनेकी छैन ।
बुवा अहिलेको समयजस्तो त्रासद समय त भोगिएको थिएन । घरनजिकै आइसोलेसन सेन्टर छ, दिनदिनै एम्बुलेन्स आवाज निकालेर ओहोरदोहोर गरिरहन्छन् । घरनजिकैकी हजुरआमा यही रोगका कारण बित्नुभयो । मानिसहरु निकै कम जुटे । जिउँदाको जन्ती मर्दाको मलामी भन्ने छिमेकीहरु सकेसम्म मलामी जान नपरे हुन्थ्यो जस्तो गरे । डर धेरै बढेको छ । ती आमाको दाहसंस्कार सैनिकहरूले गरे । मेरी साथी पनि यही रोगका कारण सुतेकी छ । म चाहेर पनि भेट्न जान सकेकी छैन । म आउँछु भनेर जिद्दी गर्दा पनि उसले नै नआऊ भनेर रोक्छे । बुवा म बिरामी हुँदा कति धेरै आफन्तजन अस्पतालमा आउनुहुन्थ्यो, त्यही माया र सद्भावले आधा रोग निको भएजस्तो लाग्थ्यो । अहिले त बिरामी साथीहरु आफन्तजनलाई फोन गर्दा पनि गार्हो हुन्छ कि जस्तो लाग्छ,यो रोगले धेरै नै समस्या गराउँछ रे । अस्पतालमा बेड पाइदैन, बल्लतल्ल बेड पाइए अक्सिजन पाइदैन । एकातिर प्रशासनले निषेधाज्ञा लगाएको छ, अर्कोतिर यसबाट सृजित समस्या ज्युँकात्युँ छन् ।मानवीय भावना, सामाजिक भावनामा खडेरी पर्ला जस्तो लाग्छ । महिमाले अफिसको झ्यालबाट खिचेको फोटो भन्दै एउटा फोटो पठाएकी थिई,गौर गरेर हेरे, पिसिआर टेस्ट गर्नेको लाइन रहेछ ।
हुन त बुवा हाम्रो पुस्ताले यस्ता धेरै समस्या देखेको छ, भोगेको छ । ठुला समस्याका अगाडि अरु समस्या साना लाग्ने । माओवादी जनयुद्धकालमा पनि कति डर थियो, ब्यारेकअगाडि घर, हरेक रातजस्तो सुनिने बम र गोलीका आवाजहरु, सँगै बसेर चिया खाएको सिआइडी अंकल १५ मिनेट पनि नहुँदै मारिनुभयो लगायतका त्रासद घटनाले त्यतिबेलाको बालमष्तिष्कमा पारेको असर मेटिएको छैन । तिजको दिन अर्घाखाँची आक्रमणमा परी मारिएका सैनिक, प्रहरीको चिदिचौरमा लामबद्ध शव, उनीहरूका परिवारजनको क्रन्दन चाहेर पनि बिर्सन सकेकी छैन । भुकम्पको पीडा पनि भोगियो ।
अब त लाग्न थालेको छ, मानव भएर जन्म लिइसकेपछि यस्ता पिडा गौण हुन् । हामीले चाहेर केही हुने होइन, त्यसो भन्दैमा परिस्थिति सँग भाग्ने भन्न खोजेको चाहिँ होइन । एकातिर चार्ल्स डार्विनको बाँच्नका लागि संघर्ष को कुरा मनमा आइरहन्छ । अर्कोतिर, गौतम बुद्धको चार आर्य सत्यको कुरा मनमा छाइरहन्छ । सोच्छु परिवर्तन नै जीवन हो, जीवनमा थुप्रै आरोहअवरोह आइहाल्छन् नि । हजुरले पढाएको गीतासार पनि याद छ मलाई । यी कुराहरुले त बारम्बार अशान्त हुन खोज्ने मनलाई शान्त बनाइदिन्छन् ।
यस्तो समय छ, स्वास्थ्यकर्मीहरु आफ्नो जीवनलाई दाउमा राखेर जुटेका छन्, उनीहरुलाई नमन गर्न मन लाग्छ । राजनीतिक नेतृत्व जनस्वास्थ्यप्रति अलि बढी संवेदनशील बनिदिओस् जस्तो लागेको छ । यो समयमा सबैको जीवनमूल्य एउटै हो भन्ने सोचेर सम्पन्नहरुले दुःख पाएकाहरुलाई सेवा र सहयोग गर्ने हो भने भगवान खोज्न मन्दिर मन्दिर धाउनुपर्ने थिएन होला । बुबाआमा आशा छ, समय छिट्टै परिवर्तन हुनेछ, एकदम दुखेको घाउ समयले निको गराए झैं यो समस्या पनि सकिनेछ । हजुरहरु आफ्नो ख्याल राख्नु होला । यो समस्या सकिएपछि त्यहाँ आएर ढुक्कसँग रेसुङ्गा घुम्ने मन छ ।
उही कविता ।
(तपाईं पनि आफ्ना कविता, रचना, लेख, दैनिकी, संस्मरण आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)
कति पाको छ है लेखनशैली ।
असाध्यै मन पर्यो, गुरुकुलको एक नछेत्र !