प्रेमपत्रः सम्झौताका दर्जन वर्ष
फ्रि फोरम
प्रिय सहयात्री गीता
आज तिम्रो र हाम्रो भेट भएको दिन । हाम्रो सम्बन्ध संस्थाको स्थापना दिवस । छोटो तयारीबाटै हामी सहयात्रा गर्न राजी भएका थियौँ । सम्झन्छु, त्यस बेला तिम्रो मसँग कुनै माग थिएन । माग नै हुँदा पनि दिने कुरा केही नदेखेरै माग गरिनौ सायद । एउटा साधारण मञ्चमा भएको कार्यक्रममा सहभागी भएर मेरो साँघुरो डेरामा भित्रियौ । दुईवटा डिग्रीका सर्टीफिकट र केही थान किताबबाहेक मसँग केही थिएन । तिमीले त्यसैको विश्वास गर्यौ । आज सम्म तिनै किताबको धुलो पुछपाछ गरिरह्यौ । किताब किनेर जति सुकै खर्च गरे पनि गाली गरिनौँ ।
नौमती बाजा नबजाइ, गरगहना र वस्त्र उपाहर नदिइ, भोजभतेरको परम्परागत जन्ते बाख्रो पनि नकटाई गरिएको त्यो विवाह कति विवाह थियो कति सम्झौता थियो त्यो थाहा भए तिमीलाई नै होला । त्यस सम्झौताका साक्षी श्यामप्रसाद शर्मा, भवानी घिमिरे, कृष्णप्रसाद पराजुली पिताम्बरा उपाध्याय पीयूष, श्यामदास वैष्णव, कृष्णचन्द्रसिंह प्रधान, केवलपुरे किसान, दैवज्ञराज न्यौपाने आदि अग्रजको साथ अब छैन । अरु धेरैको छँदैछ । सम्झौताले आज दर्जन वर्ष पूरा गरेछन् ।
मान्छेहरु थाहै नपाई यति वर्ष उति वर्ष बितेछ भन्छन् । हामी दुवै यी वर्ष विताउने सङ्घर्षमा छौँ । झगडा गर्न होस् वा प्रेम गर्न सँगसँगै छौँ । रमाइलो गर्न भन्दा आफ्नै सम्बन्ध बलियो बनाउन सङ्घर्षशील छौँ । हामीलाई त्यस मञ्चमा उपस्थित भएर आशीर्वाद दिनुहुने अभिभावक, गुरु, साहित्यकार बन्धुहरु र शुभचिन्तकहरुको आशीर्वाद रक्षामा लागिरहेका छौँ । हरेक पुरुषका निर्माणमा नारीको हात हुन्छ भन्छन् । मेरो निर्माणमा तिम्रो हात अझ बलियो बनोस् ।
हामी सकेको सबैलाई राम्रो नर्ग सकूँ । नसके नराम्रो नगरूँ । सङ्घर्ष गर्दागर्दै प्रेम गर्न नबिर्सूँ । हामीलाई हामी बनाउने सबैप्रति कृतज्ञ रहूँ । म तिमीलाई आरोग्य कामना गरिरहन सकूँ । तिमी मलाई आरोग्य कामना गरिरहन सक । अब त हामी पनि संसार चिन्न सक्ने मान्छे भएका छौँ । अझ हाम्रा आँखाहरू तिखा र दृष्टिकोण गहिरा बनाउन सकूँ । हाम्रा लागि भन्दा समाजका लागि केही दिन सक्ने मान्छे बनूँ ।
उही सहयात्री
रमेश शुभेच्छु
Thank you