कोरोना कहरमा यौन संयम
फ्रि-फोरम
श्रीरामसिंह बस्नेत
फोटोः अशोक सिलवाल
उनीहरुको विवाह भएको तीन महिना जति मात्र भयो । त्यसैले उनीहरु हनिमुन मुडमै थिए । घुमघाम, मोजमस्ती, फेरि दोह-याएर नआउने जीवनको यो अनमोल समयलाई भरपूर उपयोग गर्दै थिए । तर दुर्भाग्य, दुलाहालाई कोरोना पोजेटिभ देखियो ।
विवाहको आलिशान डबल बेडलाई त्यागेर होम आइसोलेसनका नाममा सानो कोठाको सानो खाटमा ऊ खुम्चिन बाध्य भयो । बैंसले धपक्कै बलेकी दुलहीलाई टाडैबाट हेरेर चित्त बुझाउनु पर्ने यो कस्तो बिडम्बना १ दुलहीलाई पनि हनिमुनको ह्याङ्ओभर नसकिदै दुलहासँगको यो अप्राकृतिक निर्मम दुरी कम पीडादायी भएको थिएन ।
ऊ घरी घरी दुलहाको आइसोलेसन कोठासम्म पुग्थी तर ढोकाबाटभित्र पस्ने आँट गर्दिन थिई । परिस्थितिलाई आँकलन गरेर दुवैका परिवारले सल्लाह गरी एउटा निर्णयमा पुगे– दुलहीलाई दुई हप्ताको लागि माइती पठाइदिने । विवाह गरेदेखि एक रात पनि नछुट्टिएकी नव यौवना दुलहीलाई यसरी माइती पठाउनुपर्दा दुलाहा रुन मात्र सकेन, दुलही पनि निन्याउरो मुख लगाउँदै भाईको बाइकमा बसी ।
…
यो कुनै कथा होइन, पोहरदेखि अहिलेसम्म हजारौं नवविवाहित जोडीले भोग्नु परेको पीडाको छोटो चित्रण मात्र हो । कोरोना महामारीले मानिस देखेर मानिस नै डराउनु पर्ने, भाग्नु पर्ने यो अनौठो धर्मसङ्कटको सिर्जना गरिदिएको छ । नसर्ने रोगमा त आफ्ना प्रियजनहरुको सानिध्यता पाइन्छ भने स्पर्श खुखबाट पनि मायाको तलतल मेटाउन सकिन्छ । तर कोरोना लगायतका सरुवा रोगमा भने आफ्ना प्रियजनकै जीवनलाई जोखिममा पार्ने पापकर्म गर्न सकिंदैन । कोरोनाको यस्तो कहर चलेको बेला यौनलाई कसरी व्यवस्थित गर्ने भन्ने प्रश्न गत वर्ष देखि नै संसारभर एक गम्भीर प्रश्नको रुपमा खडा भएको छ । यद्यपि कोरोनाको कारण सिर्जित अन्य दैनिक, सामाजिक, आर्थिक समस्याका दाँजोमा यौनको समस्या गौण होला तर नगण्य भने छैन ।
अरु विषयजस्तो यौन खुला बहसको विषय बन्न नसक्ने भएकोले व्यक्तिको भित्रभित्रै यस्ता समस्या गुम्सिएर रहेका हुन्छन् । मानिसको पहिलो आवश्यकता भोजन हो भने अन्तिम आवश्यकता ( वयस्कहरुको ) यौन नै हो ।
कोरोना कहरसँग सम्बन्धित यौनका दुई मूलभुत प्रश्न छन्– सङ्क्रमित नभएका स्वस्थ्य र सक्रिय पुरुष र महिलाहरुले आफ्नो यौन आवश्यकता कसरी सुरक्षित रुपमा पूर्ति गर्ने ? अर्को, सङ्क्रमित भएका पुरुष वा महिलाको यौन चाहनालाई कसरी व्यवस्थित गर्ने ?
पहिलो प्रश्नको सन्दर्भमा कोरोना महामारीका कारण मानिसहरु गत वर्षदेखि निस्क्रिय दैनिक जीवन बिताउन बाध्य भएका छन् । लकडाउन, निषेधाज्ञा, घरबाटै काम, कर्मचारी कटौती, काम बन्द, रोजगारी गुमेको अवस्था, आवागमन अवरुद्ध आदि कारणले मानिसहरुको संसार निकै साँघुरिएको छ । सक्रिय यौन जीवन बिताईरहेका स्वस्थ्य स्त्री, पुरुषका लागि यो अवस्थाले यौनप्रति बढि आशक्त हुनका लागि उर्बर मैदान दिन्छ । व्यस्त हुन नपरेपछि मस्त रहन चाहने मानिसको विश्वव्यापी स्वभाव हो ।
त्यसैले यस्तो परिस्थितिले बैध अबैध, उचित अनुचित यौन घटनाहरु बढन जान्छ । लकडाउनको अवधिमा यौन अपराधका घटनाहरु निकै बढनुको पछाडि कारण यही हो ।
विवाहित वा आपसी समझदारीमा यौन सम्बन्धमा रहेका स्वस्थ्य जोडीहरुका लागि त आफ्नो यौन आवश्यकता पूरा गर्नु त्यति ठूलो समस्या होइन । तर कोरोना जस्तो महामारीमा पनि कसरी सुरक्षित तवरले यो काम सम्पन्न गर्ने भन्ने प्रश्न महत्वपूर्ण छ । कतिखेर कसले कोरोना भाइरस आफूभित्र बोकेर ल्याउँछ भन्ने कुनै निश्चित नभएको अवस्थामा एकजनाबाट अर्कोमा जुनसुकै बेलामा पनि कोरोना सर्न सक्छ । त्यसैले यस्तो विषम परिस्थितिमा यौन संयम् अपनाउनु सबैभन्दा उत्तम उपाय हो । तर यो भन्न जति सजिलो छ , अपनाउन त्यति नै चुनौतिपूर्ण । किनकि आजका वयस्क मानिसहरुको शब्दकोषमा यौनसंयम भन्ने शब्द छैन, कुनै जमानामा थियो भने पनि अहिले डिलिट भईसकेको छ ।
एचआइभी र अन्य सरुवा यौन रोग जस्तो कोरोना प्रत्यक्ष यौन सँसर्गबाट सर्दैन तर यौन सँसर्गका बेला हुने निकटतम् शारीरिक सम्पर्कका क्रममा एउटामा भएको कोरोना भाइरस अर्कोमा सजिलै सर्छ । यसमा चुम्बन सबैभन्दा खतरा मानिन्छ । कोरोना सङ्क्रमितले आफ्नो जोडीलाई मुखमा गाडा चुम्बन गर्दा भाइरस सर्ने सम्भावना ९९ प्रतिशत हुन्छ । बरु मास्क र त्यसमाथि फेस शिल्ड लगाएर मुख आमने– सामने नहुने गरी सम्भोगरत हुँदा कोरोना नसर्न सक्छ भन्ने सुझाव यौनविज्ञहरुले दिएको पाइन्छ । महामारीका बेला जोडी यौनरत हुनुभन्दा यौन खेलौना, हातको प्रयोग, यौन संवाद, यौन साहित्य,कला आदि वैकल्पिक उपाय अपनाउन सकिन्छ भन्ने उनीहरुको धारणा छ । तर, यी पनि विवादरहित उपाय भने होइनन् ।
कोरोना कहर सुरु भएपछि विशेषगरी पश्चिमी मुलुकहरुमा ओरल सेक्स अत्यधिक प्रयोग भएको चर्चा सुनिएको थियो । विगत १६ महिनामा संसारभर कोरोनाको कहर अत्यधिक फैलिनुमा मानवीय असावधानी नै मुख्य कारण हो, त्यसमा असुरक्षित यौन क्रियाकलापको पनि मुख्य भूमिका रहेको छ ।
सङ्क्रमित व्यक्तिको यौन चाहनाको पूर्तिको सवाल पनि आफ्नो ठाउँमा महत्वपूर्ण देखिन्छ । यद्यपि यो व्यक्तिको अवस्थामा निर्भर गर्दछ । व्यक्ति यदि सक्रिय यौन जीवन बिताईरहेको तन्दुरुस्त युवा उमेरको छ, कोरोनाको लक्षण सामान्य छ, अर्थात् ज्वरो आएको छैन, स्वासप्रस्वासमा कठिनाई छैन, कोरोना पिसिआर टेस्टको भ्यालु २१ भन्दा माथि छ, अक्सिजन लेभल ९२ भन्दा माथि छ भने उसमा यौन चाहना हुनसक्छ । घरमै आइसोलेसनमा बसेर पौष्टिक आहारा खाईरहेको व्यक्तिमा यस्तो चाहना हुनु स्वभाविक हो । तर उसको चाहना पूरा गर्नका लागि उसको जोडीको स्वास्थ्य माथि खेलबाड गर्नुभने कुनै पनि दृष्टिले उचित हुँदैन, अपराध मात्र हुन्छ । त्यसैले कम्तीमा पनि पिसिआर टेस्टको रिजल्ट नेगेटिभ नआएसम्म यौन संयम नै अपनाउनु बुद्धिमानी हुन्छ । अझ नेगेटिभ आएको दुईहप्ता पछिमात्र त्यतातिर विचार गर्नु बेश हुन्छ । किनकि नेगेटिभ भईसक्दा पनि शरीर निकै कमजोर भएको हुन्छ । पहिलाकै जस्तो सामान्य अवस्थामा फर्कन कम्तीमा पनि तीन महिना लागेको अनुभव धेरै सङ्क्रमितहरुले गरेका छन् ।
कोरोना सङ्क्रमणको गम्भीर लक्षण जस्तै ज्वरो आउने, सास फेर्न कठिनाई, घाँटी दुख्ने, लगातार सुक्खा खोकी लाग्ने, पिसिआर टेस्टको भ्यालु २१ भन्दा कम, अक्सिजन लेभल ९२ भन्दा कम, ४५ वर्ष उमेर नाघिसकेको, पहिले देखि अन्य रोग जस्तै रक्तचाप, मधुमेह, थाइराइड, बाथ, युरिक एसिड आदिले सताईरहेको व्यक्तिलाई सङ्क्रमित अवस्थामा यौन चाहना हुँदैन । किनकि उसको शारीरिक र मानसिक अवस्था निकै शिथिल भईरहेको हुनाले यौन चाहना नहुनु स्वभाविकै हो । जीवन मृत्युको दोसाँघमा पुगेको बेला इन्द्रियहरुले पनि परिस्थिति बुझ्छन् र शान्त भएर नै बस्छन् । तसर्थ यो अवस्थामा यौन संयम अपनाउन कुनै कठिनाई हुँदैन । कोरोना सङ्क्रमणको आँकडा हेर्दा विश्वभरी नै महिलाभन्दा पुरुष बढि सङ्क्रमित भएको पाइन्छ । त्यसको मुख्य कारण पुरुषहरुको मोबिलिटी बढि हुनु र आत्मअनुशासनमा महिलाभन्दा पुरुष लापरवाह हुनु हो । यो यथार्थ यौन क्रियाकलापको मामिलामा पनि लागु हुन्छ । तसर्थ आफ्नो पति वा यौनसाथीलाई यस्तो विषम परिस्थितिमा यौनसंयमित राख्नमा महिलाहरुले निकै महत्वपूर्ण भूमिका खेल्न सक्छन्, जसबाट उनीहरुको आफ्नै र पुरुषको समेत जीवन रक्षा हुन्छ ।
कोरोनाको अहिलेसम्मको विश्वव्यापी अनुभव हेर्दा मानवीय असावधानीकै कारण यो अनियन्त्रित रुपमा फैलिरहेको छ । एक वर्षमै ३० लाख मानिसलाई अकाल मृत्यु मर्न बाध्य बनाएको यस महामारीको कहर अझ कहिलेसम्म जारी रहन्छ र अरु कति लाखले जीवन गुमाउनु पर्नेछ, त्यो यसैभन्न सकिन्न । २१ औं शताब्दीको विश्व व्यवस्थाले समेत नियन्त्रणमा लिन नसकेको यो भाइरस सिंङ्गो मानव जातिकै लागि इतिहासकै सबैभन्दा ठूलो चुनौति बनेको छ ।
यस्तो अवस्थामा यौन चाहनाको क्षणिक स्वार्थ पूर्ति गर्न आफ्नो र जोडीको जीवनलाई मृत्युको मुखमा पु-याउनुभन्दा धैर्य र संयम अपनाएर सुरक्षित दिनको प्रतीक्षा गर्नुनै सर्बथा उत्तम उपाय हो, जो अतिकति विवेक र आत्मबल भएमा असहज छैन ।
(बस्नेत यौन लेखकका रुपमा पनि परिचित छन् )